विराटनगर । बैकिङ करिअर सुरु गरेयता विराटनगरका बद्रिविक्रम अधिकारीका लागि दशैँले सधैँ एउटा तनाव दिन्थ्यो । आफ्ना ग्राहकदेखि इष्टमित्रसम्म, छरछिमेकदेखि आफन्तसम्मले दशैँका लागि नयाँ नोट माग गर्थे । सबैको माग पूरा गर्न नसकेपछि उनीसँग धेरै जना रिसाउँथे, धेरैजनासँग त भागेरै हिँड्नु परेको तितो अनुभव पनि उनीसँग छ ।
‘राष्ट्र बैंकले बैंकहरूलाई सीमित परिमाणमा मात्रै नयाँ नोट दिन्थ्यो तर माग गर्नेहरूको संख्या अधिक हुन्थ्यो’, प्राइम बैंक विराटनगर हनुमानदास रोड शाखाका प्रबन्धक अधिकारीले भने ‘सबैलाई भने जति दिने अवस्था हुन्नथ्यो । धेरै जना रिसाउने हुन्थे ।’ यसपटक भने उनलाई त्यस्तो नौबत आइलागेन । नेपाल राष्ट्र बैंकले यसपटक दशैँमा नयाँ नोटको साटो सुकिला नोटहरू मात्रै सर्वसाधारणका लागि उपलब्ध गराउने निर्णय गरेपछि पहिले जस्तो नयाँ नोटको नौबत झेल्न नपरेको बैंकहरूको अनुभव छ ।
कोशी प्रदेशभर ३० वटा शाखा भएको सिद्धार्थ बैंकका प्रदेश प्रमुख कमल बस्नेतको अनुभवमा गत वर्षसम्म नयाँ नोटले बैंकहरूलाई अलग्गै तनाव दिने गथ्र्यो । नयाँ नोट साट्नका लागि आइपुग्ने सर्वसाधारणको भीड व्यवस्थापन गर्न पनि शाखाहरूलाई धौ–धौ हुन्थ्यो । तर, यसपटक त्यस्तो चाप कुनै पनि शाखामा नदेखिएको बस्नेतले बताए ।
‘नयाँ नोट साट्ने बेलामा हरेक शाखाहरूमा ठूलो चाप हुन्थ्यो, बैंकको ठूलो समय र ऊर्जा नयाँ नोटको व्यवस्थापनमै खर्च हुन्थ्यो’, उनले भने ‘यसपटक कुनै पनि शाखामा त्यस्तो चाप भएन । अरुबेलाको दाँजोमा यसपटक प्रेसर नै भएन भन्ने अवस्था छ । हामीलाई शाखाहरूले गरेको रिपोर्टले त्यही देखाउँछ ।’
प्राइम बैंकका शाखा प्रबन्धक अधिकारीले दिएको जानकारीअनुसार उनको शाखाले मात्रै अघिल्लो वर्षसम्म दशैँमा ५० लाख बराबरका नयाँ नोट साट्ने गथ्र्यो । यसपटक पनि शाखाले बुधबारसम्ममा ४० लाख बराबरका सुकिला नोटहरू बाँडेको छ । ‘तर, गत वर्षको दाँजोमा यसपटक भीडभाड र तनाव भने ७० प्रतिशतले घटेको अनुभव भइरहेको छ’, अधिकारीले भने ‘दशैँको बेलामा यस्तो हुँदा पनि नौलो जस्तो लाग्ने रहेछ ।’
नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार दशैँका लागि मात्रै उसले अघिल्लो वर्ष १० अर्ब रूपैयाँभन्दा बढीको नयाँ नोट बजारमा पठाएको थियो । त्यसअघिका वर्षहरूमा सरदर ७–८ अर्बको नयाँ नोट बजारमा पुग्ने गरेको थियो । देशैभरी नयाँ नोट पुग्ने कारण दशैँमा नयाँ नोट नै चलाउने चलन स्थापित भइसकेको थियो ।
टीका लगाएर दक्षिणा दिंदा नयाँ नोट नै दिने चलन स्थापित भएका कारण सर्वसाधारणले हरेक दशैँमा नयाँ नोट नै खोज्थे । अहिले गाउँघरमा खुलेका धेरै सहकारीहरूदेखि सरकारी र निजी क्षेत्रका बैंक तथा अन्य वित्तीय संस्थाहरू पनि दशैंमा नयाँ नोटकै तनावमा हुन्थे । वित्तीय क्षेत्रका जानकारहरूका अनुसार सर्वसाधारणले दशैँमा खोज्ने नयाँ नोटले राज्यलाई व्ययभार भने हरेक वर्ष थप्दै लैजाने गरेको थियो ।
‘लागतको दृष्टिले हेर्ने हो भने दशैँमा अहिले जस्तै सुकिला नोटहरूले काम चलाउनु नै सबैभन्दा राम्रो हुन्छ’, प्राइम बैंकका शाखा प्रबन्धक अधिकारीले भने ‘किनभने नोट छपाइमा राज्यले ठूलो लगानी गरेको हुन्छ ।’
दशैँमा नयाँ नोटको अधिक खोजी हुने चलनका पछि राज्यले मुद्रा छाप्न रोजेको समयको साइनो जोडिएको छ । राणाकालीन प्रधानमन्त्री जुद्ध समशेरले विं सं. २००२ असोज १ गते एउटा अध्यादेश जारी गरेर सोही अध्यादेशमार्फत सदर मुलुकी खानाबाट नेपाली नोट जारी गर्ने र प्रचलनमा ल्याउन सकिने व्यवस्था गरेका थिए । त्यही समयदेखि ५, १० र एक सय रूपैयाँका नोट छापिएको र चलनचल्तीमा आएको राष्ट्र बैंकले प्रकाशन ‘सिक्स्टी इयर्स अफ नेपाल राष्ट्र बैंक’ मा उल्लेख छ ।
उक्त प्रकाशनमा उल्लेख भएअनुसार त्यसबेला ती नोट काठमाडौं उपत्यका र सीमित केही पहाडी जिल्लामा पुगेका थिए । त्यतिखेरसम्म दैनिक र सरकारी कारोबार समेत भारतीय मुद्रामै हुने गरेको विभिन्न दस्तावेजहरूमा अभिलेख पाइन्छ । भारतीय मुद्राको यही दबदबा कम गर्ने उद्देश्यले २०१३ साल वैशाखमा नेपाल राष्ट्र बैंक स्थापना भएको थियो ।
‘यसको मुख्य उद्देश्य नेपाली मुद्राको यथोचित व्यवस्थापन र प्रचलन बढाउनु थियो । सदर मुलुकी खानाले छापेको नेपाली मुद्राको दायित्व सबै नेपाल राष्ट्र बैंकले लियो । र, पहिलो पटक नेपाल राष्ट्र बैंकबाट २०१६ फागुन ७ गते एक, पाँच, दस र सय रूपैयाँको नोट छापियो’, नयाँ नोटको प्रचलनबारे लेखक विजयराज खनालले लेखेका छन् ‘सरकारले २०१७ साल जेठबाट मुलुकभित्रको कारोबारमा नेपाली मुद्राको मात्रै प्रयोग गर्ने निर्णय गर्याे । त्यतिखेरदेखि नै छापिएका नयाँ नोट दसैँमा साट्ने सुविधा दिइएको हो ।’ उनका अनुसार त्यो समय चाडबाडलाई जोडेर यसरी चलाइएको चलनले नै अहिलेसम्म निरन्तरता पाइरहेको हो ।
यो चलनमा यसपटकदेखि भने ब्रेक लागेको छ । वित्तीय क्षेत्रका जानकारहरू यसले राम्रो काम गर्ने बताउँछन् । नेपाली चाडबाड र रीतिरिवाजकै कारण पनि नेपाली नोटहरूको आयु चाँडो सकिने गरेको बैंकरहरूको बुझाइ छ । चाडबाड र पूजामा नोटको प्रयोग हुँदा चाँडै मैलो हुने, च्यातिने, झुत्रा पर्ने गरेको छ ।
यसरी दसैंमा बाहिरिएका नयाँ नोट करिब पाँच वर्षमै पुरानो भएर राष्ट्र बैंकमै फर्किन्छन् । पछिल्लो समय भने राष्ट्र बैंकले पुराना नोटबाट खाना बनाउन प्रयोग हुने ब्रिकेट समेत बनाएर बिक्री गर्ने गरेको छ ।
औसतमा सबै खाले मुद्रा छाप्न दुई रूपैयाँ ५० पैसा लाग्छ । त्यसैले नोटको जतन गर्न समेत राष्ट्र बैंकले सुझाउने गरेको छ । त्यसबाहेक चलनचल्तीमा रहेको नोट जलाउन, केरमेट नगर्न समेत आग्रह गर्दै आएको छ । नोट बिगारेमा तीन महिनासम्म जेल र ५ हजार रूपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था समेत छ ।
नयाँ नोट नपाइने सूचना बेलैमा पाएका कारण पनि धेरै सर्वसाधारणले यसपटक नयाँ नोटप्रति चासो देखाएनन् । ‘राष्ट्र बैंकले मात्रै भनेको भए त सर्वसाधारणसम्म कसरी त्यो सूचना प्रेषित हुन्थ्यो थाहा भएन’, बैंकर अधिकारीले भने ‘तर, अहिले सञ्चारमाध्यमहरूले यो सूचना प्रभावकारी रुपमा प्रेषित गरेका कारण पनि सर्वसाधारणले धेरै दुःख नगरेको र नपाएको देखिएको छ । यही चलनलाई निरन्तरता दिनु राम्रो हुन्छ ।’
View : 110
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved