Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

रोकिएन प्रतिबन्धित गाँजाको खुला कारोबार

नेपालमा गाँजा खुला गर्नुपर्ने आवाज प्रशस्त उठिरहेको छ । तर, यो बहसले न गाँजाको प्रतिबन्ध हटेको छ, न उत्पादन र कारोबार नै अन्त्य गरेको छ ।
उद्‌घोष संवाददाता
३० असार २०८२, सोमवार

विराटनगर । घडीको समयअनुसार असार २९ अर्थात आइतबार भर्खरै सुरु हुँदै थियो । मध्यरातको साढे १२ बजे मोरङको कटहरी चोकमा प्रहरी तैनाथ थियो । त्यहीबेला उत्तरबाट दक्षिणतिर आउँदै गरेको एउटा ट्रकलाई प्रहरीले चेकजाँच गर्छ ।

चेकजाँचका क्रममा प्रहरीले ट्रकबाट साढे ३१ क्वीन्टल (३१५० किलोग्राम) गाँजा फेला पार्छ । गाँजा फेला पारेको प्रहरीले त्यसरी गाँजा ल्याउने मानिसहरू भने फेला पार्न सक्दैन । खोजतलास भइरहेको जानकारी दिन्छ । 

जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार सञ्चारमाध्यमहरूलाई पठाएको सूचनाको विवरण हो यो । कोशी प्रदेशका हरेकजसो जिल्ला प्रहरी कार्यालयहरूको सामाजिक सन्जालमा आफ्नै पेज छ । ती पेजहरूमा प्रहरीले आफ्ना गतिविधिहरू पोस्ट गरिरहेको हुन्छ । 

त्यसबाहेक  ह्वाटस्एप, फेसबुक म्यासेन्जरमा ग्रुप बनाएर पत्रकारहरूलाई पनि जोडेको हुन्छ ।  यस्ता ग्रुपहरूमा पछिल्लो समय आउने धेरैजसो सूचना गाँजा बरामद भएको विषयसँग सम्बद्ध हुन्छन् । 

खासगरी मोरङ, सुनसरी र झापा प्रहरीले सधैँजसो गाँजा बरामद गरेको सूचना र फोटोहरू सञ्चारमाध्यममा पठाइरहेको हुन्छ । 

कटहरीबाट बरामद भएको ठूलो परिमाणको गाँजाको विवरण पनि प्रहरीले यसैगरी पठाएको हो । 

कटहरी–३ बाट को १ ख ४५१८ नम्बरको ट्रकभित्र १ सय ५ वटा बोरामा प्याक गरी राखेको ३ हजार १ सय ५० किलोग्राम गाँजा बरामद गरेको प्रहरी भनाइ छ । यसअघि असार २५ गते मात्रै मोरङकै धनपालथानबाट पनि प्रहरीले ठूलो परिमाणमा गाँजा फेला पारेको थियो । 

धनपालथान गाउँपालिका–१ को एउटा उखुबारीभित्र लुकाएको अवस्थामा ८०२ केजी गाँजा प्रहरीले फेला पारेको थियो । यसरी सयौं–सयौं केजी गाँजा फेला पारिरहने प्रहरीले सानो–सानो परिमाणमा धेरैपटक बरामद गरिसकेको छ । 

गाँजा बरामद भएको सूचना नै अब यति सामान्य हुन थालिसकेको छ कि, यो दिनहुँको नियमित क्रिया जस्तो भइसकेको छ । 

झण्डै महिना दिनअघि मात्रै सुनसरी प्रहरीले कोशी नदीको बगरमा गाडेर लुकाइ राखिएको अवस्थामा २ हजार केजीभन्दा बढी गाँजा बरामद गरेको सूचना तस्बिरसहित सार्वजनिक गरेको थियो । 

यी घटनाक्रमले देखाउने तथ्य एकै छ, कोशी प्रदेशमा गाँजाको ओसारपसार तीव्र छ । खासगरी धनकुटासहितका केही पहाडी जिल्लामा ठूलो क्षेत्रफलमा व्यावसायिक रुपमा गाँजाको खेती हुने विषयसँग सरकारी निकायहरू बेखबर छैनन् । उनीहरू अर्को तथ्यबारे पनि जानकार छन्, नेपालमा उत्पादित गाँजाको मुख्य बजार भारत नै हो । 

यद्यपि धनकुटाबाट लामो दुरी पार गरेर मोरङ, सुनसरी, झापा लगायतका सीमावर्ती जिल्लामा आइपुगेपछि मात्रै गाँजा प्रहरी नियन्त्रणमा पुग्छ । 

मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडाल धेरैजसो गाँजा उत्तरबाट दक्षिणतिर ल्याउने क्रममा मोरङ प्रहरीले समातेको बताउँछिन् । 

‘अहिलेसम्मको ट्रेन्ड हेर्दा गाँजा भारततिरै जानुपर्छ भन्ने लाग्छ’, उनले भनिन् ‘किनभने, स्थानीय बजारमा खपत हुने सम्भावना देखिन्न ।’ 

प्रहरी कहाँबाट यतिधेरै परिमाणको गाँजा नेपाल–भारत सीमासम्म आइपुग्छ भन्नेबारे खुलेर बोल्दैन । डिएसपी चुडालले त्यही भएर ‘उत्तरबाट दक्षिणतिर ल्याउँदै गरेको भेटिने’ बताएकी हुन् । 

जानकारहरूका अनुसार कोशीको पहाडी जिल्ला धनकुटा गाँजा खेतीका लागि कहलिएको ठाउँ हो । धनकुटाको ठूलो क्षेत्रफलको जमिनमा व्यावसायिक रुपमै गाँजाखेती हुँदै आएको छ । मुख्यतः सहिदभूमि गाउँपालिकासहितका क्षेत्रमा गाँजाखेती हुने गर्छ । 

‘त्यहाँका किसानले आफ्नो जमिनमा उत्पादित गाँजा हार्भेष्ट गरेर प्याकेजिङ गर्छन् अनि व्यापारीलाई बेच्छन्, व्यापारीले विभिन्न रुट प्रयोग गरेर भारततिर लैजाने हुन्’  प्रहरी स्रोत भन्छ ‘उनीहरूले ल्याउने क्रममा गाँजा समातिने हो ।’ 

एकातिर कयौं प्रहरी चेकपोष्ट पार गर्दै कहिले तरकारीले अनि कहिले तितेपातीले छोपिएर गाँजा सीमावर्ती क्षेत्रसम्म आइपुग्छ । बीचमा कुनै अवरोध नगर्ने प्रहरीले सीमा क्षेत्रमा आइपुगेपछि मात्रै कडाइ गर्छ । 

‘धनकुटामा गाँजा खेती हुन्छ भन्ने प्रहरी, प्रशासन र नेता सबैलाई थाहा छ, त्यहाँ सबैलाई बोट गनेर कमिसन पुग्छ भनिन्छ’, गाँजाबारे जानकार स्रोत भन्छ ‘तर, तराईमा आइपुगेपछि चाहिँ समातिन्छ । मान्छेहरूमा धेरैजसो भरिया समातिन्छन् । वर्षौंदेखि चल्दै आएको यो चक्र अहिलेसम्म चलिरहनुमा यही कमिसन र राज्यको उपल्लो तहको संलग्नता नै मुख्य कारण हो ।’ 

स्थानीयवासीले भने कि खेती गर्नै नदिनु, खेती लगाउन दिएपछि बजार पुर्याउन दिनुपर्ने आवाज लामो समयदेखि उठाउँदै आएका छन् । 

एमाले नेतासमेत रहेका पूर्वमन्त्री शेरबहादुर तामाङ र कोशी प्रदेशकी पूर्वमन्त्रीसमेत रहेकी तामाङ पत्नी उषाकला राईले गाँजा खुला गर्नुपर्ने आवाज सदनमै उठाएका थिए । 

उनीहरू दुवैले गाँजा औषधीय गुणले भरिपूर्ण वनस्पति भएको र विश्वका धेरै देशले खुला गरिसकेको भन्दै यसलाई प्रतिबन्ध लगाउन नहुने बताउँदै आएका छन् । 

औषधीय गुण भएको र किसानका लागि आयआर्जनको राम्रो स्रोत हुने पुष्टि भइसकेको भन्दै नेपालमा गाँजा खुला गर्नुपर्ने आवाज प्रशस्त उठिरहेको छ । तर, यो बहसले न गाँजाको प्रतिबन्ध हटेको छ, न उत्पादन र कारोबार नै अन्त्य गरेको छ । प्रतिबन्ध पनि कायम रहने, उत्पादन र कारोबार पनि जारी रहने हाँस्यास्पद अवस्थामा गाँजा रहेको लागुऔषधविरोधी अभियन्ताहरूको भनाइ छ । 

त्यसो त नेपालमा गाँजा प्रतिबन्धित हुनुको मुख्य कारण ‘हिप्पी’ हरू हुन् । दोस्रो विश्वयुद्धकै समयदेखि नेपाली गाँजा भारत र अन्य देशमा ‘ब्रान्ड’ का रूपमा स्थापित थियो । तर, सन् १९६० को दशकमा ‘हिप्पी’ युगको सुरुआत भएपछि राजधानी  काठमाडौंमा गाँजा सेवन गर्ने पश्चिमा ‘हिप्पी’ हरू आउन थाले । 

नेपालमा हिप्पी संस्कृति बढिरहेकै बेला सन् १९६१ मार्च अर्थात् २०१७ साल चैतमा संयुक्त राष्ट्रसंघीय मुख्यालयमा सम्पन्न सम्मेलनले अन्तर्राष्ट्रिय सन्धि ‘द सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स १९६१’ पारित गरेको थियो । त्यसले गाँजालाई पनि अफिम सरहको कडा लागूऔषध मान्दै प्रतिबन्ध लगाएको थियो ।  

सन्धि पक्षधर सदस्य राष्ट्रहरूले गाँजा खेती नियन्त्रणका लागि अग्रसरता लिनुपर्ने अनिवार्य व्यवस्था गर्दै औषधीय र अनुसन्धान प्रयोजन बाहेक गाँजामा प्रतिबन्ध लगाइयो । 

स्तो नीति अनुसार सन्धिको पक्षराष्ट्र नेपालले गाँजामा पूर्ण प्रतिबन्ध लगाउन सहयोग नगरेको भनेर राष्ट्रसंघ असन्तुष्ट थियो नै, हिप्पी बनेर काठमाडौं आएका कतिपय अमेरिकी नागरिक गाँजा सेवन गर्न यतै बस्न थालेपछि अमेरिकाले पनि गाँजामाथि प्रतिबन्ध लगाउन दबाब दिएको थियो । 

यसरी शक्तिराष्ट्रहरूको दबाबले २०३३ सालमा लागूऔषध नियन्त्रण ऐन जारी गरेर ‘गाँजाको खेती, उत्पादन, खरीद–बिक्री, निकासी, पैठारी, सञ्चय र सेवन गर्न’  प्रतिबन्ध लाग्यो । 

यो प्रतिबन्ध अहिलेसम्म पनि कायमै छ, यद्यपि कागजमा मात्रै रहेको विज्ञहरू बताउँछन् । एकातिर नेपालमा गाँजामाथि प्रतिबन्ध लगाउन दबाब दिने अमेरिका, क्यानडा लगायतका पश्चिमा मुलुकहरूले नै प्रतिबन्ध हटाए, नेपालमा भने प्रतिबन्ध कायमै छ । 

विकसित मुलुकहरूले गाँजाको प्रयोग मात्र खुला गरिरहेका छैनन्,  यसको उत्पादन र निर्यातबाट अर्थतन्त्र उकास्ने योजना पनि अघि सारेका छन् । 

अष्ट्रेलियाले गाँजाबाट बनेका औषधि निर्यात गर्न थालिसकेको अष्ट्रेलियाबाट प्रकाशित हुने दैनिक पत्रिका ‘सिड्नी मर्निङ हेराल्ड’ ले उल्लेख गरेको छ । 

प्रतिबन्धित लागूऔषधमा सूचीकृत गाँजा औषधिका रूपमा प्रयोग गर्न सकिने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएपछि विभिन्न मुलुकले प्रतिबन्ध हटाउने अभियान सुरू गरेका छन् । 

अमेरिकाको स्ट्यान्फोर्ड विश्वविद्यालयका वैज्ञानिकले गरेको एउटा शोधले शरीरमा क्यान्सरका कोष मार्न तथा लागूऔषध र रक्सीको लत छुटाउन गाँजा प्रभावकारी हुने देखाएको छ । 

‘गाँजाबारेको दोहोरो सरकारी नीति तत्कालै सच्याइनुपर्छ’, पूर्वमन्त्रीसमेत रहेका  नेकपा एसका नेता विरोध खतिवडाले अघिल्लो कार्यकालमा प्रतिनिधिसभा बैठकमै भनेका थिए ‘गाँजा प्रतिबन्ध नगरौं, यो आय आर्जनको सबैभन्दा सशक्त माध्यम हुन सक्छ । 

यदि प्रतिबन्ध लगाउने नै हो भने अहिले प्रहरीले केही ठाउँमा गएर गाँजा फाँड्ने काम जसरी गरिरहेको छ, त्यसलाई देशव्यापी बनाउँ । तर, यो काम सही हुने छैन ।’ 

View : 448

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved