विराटनगर नेपालका प्रमुख ऐतिहासिक, राजनीतिक, औद्योगिक र सांस्कृतिक केन्द्रहरूमध्ये अग्रस्थानमा रहेको शहर । मोरङ जिल्लाको प्रमुख शहर तथा कोशी प्रदेशको राजधानीका रूपमा यसको विशेष पहिचान छ । यसको इतिहास प्राचीनकालदेखि आधुनिक युगसम्म फैलिएको छ ।
विराटनगरको ऐतिहासिक पृष्ठभूमि
‘विराटनगर’ नाम महाभारत कालका राजा विराटसँग सम्बन्धित मानिन्छ । मान्यता अनुसार पाण्डवहरूले आफ्नो अज्ञातवासको समय विराटराज्यमा बिताएका थिए, र यही स्मृतिमा यो स्थानको नाम ‘विराटनगर’ राखिएको हो ।
औद्योगिक क्रान्तिको केन्द्र
विराटनगर नेपालकै पहिलो औद्योगिक केन्द्रका रूपमा विकास हुन थाल्यो । नेपालकै पहिलो जूट मिल — विराटनगर जुट मिल (स्थापना सन् १९३६) — यही शहरमा स्थापना भएको थियो । यसपछि अन्य उद्योगहरू विस्तार हुँदै जाँदा विराटनगरलाई नेपालको औद्योगिक राजधानी भनेर चिनिन थालियो ।
राजनीतिक आन्दोलनको केन्द्र
२००७ सालको ऐतिहासिक प्रजातान्त्रिक आन्दोलनमा विराटनगरको उल्लेखनीय भूमिका छ । विराटनगर जुट मिल हड्ताल नेपालको लोकतान्त्रिक आन्दोलनको प्रारम्भिक कोशेढुंगाका रूपमा इतिहासमा अंकित छ । यही भूमिबाट अनेक राजनीतिक नेतृत्व जन्मिए, जसले देशको दिशा परिवर्तन गरे ।
विराटनगरबाट बीपी कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, सूर्यबहादुर थापा, नगेन्द्रप्रसाद रिजाल, कीर्तिनिधि विष्ट, सुशीला कार्की प्रधानमन्त्री बन्न सफल भए, जसले यो शहरको राजनीतिक विरासतलाई अझ गौरवपूर्ण बनाएको छ ।
शिक्षाको केन्द्र
विराटनगर शैक्षिक दृष्टिले पनि अत्यन्त समृद्ध शहर हो । स्नातकोत्तर (डिग्री) क्याम्पस विराटनगरका डा भविन्द्र निरौलाका अनुसार डिग्री क्याम्पस विराटनगरबाट गुणनाथ गौतम (इतिहास), भूषण ढुंगेल (नेपाली), रिना सुराना तथा दीपिका दुगड (व्यवस्थापन) लगायतका विद्यार्थीहरू राष्ट्रियस्तरमा उत्कृष्ट स्थानमा रहेर स्वर्णपदक प्राप्त गर्न सफल भए ।
त्यस्तै, विज्ञान संकायका विद्यार्थीहरू– डा. भविन्द्र निरौला, सञ्जु पराजुली, डा. हेमन्ती भट्टाचार्य र गोविन्द भट्टराई पनि नेपाल सर्वोकृष्ट भई सम्मानित भएका छन् ।
महेन्द्र मोरङ क्याम्पस राजनीतिक रूपमा पनि प्रभावशाली केन्द्र रह्यो । यही संस्थाबाट अध्ययन गरेका धेरै व्यक्तिहरू मन्त्री, सांसद र उच्च पदमा पुगेका छन् ।
तत्कालीन एमालेबाट माधवकुमार नेपाल प्रधानमन्त्री बने, स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएका नेपाली कांग्रेसका विजयकुमार गच्छदार उपप्रधान तथा गृहमन्त्री बने, महेश आचार्य अर्थमन्त्री बने । स्ववियु कोषाध्यक्ष भई एमालेकी विद्या भण्डारी राष्ट्रपति भइन्, युवराज खतिवडा राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्री बने । मिनेन्द्र रिजाल रक्षामन्त्री भए ।
त्यस्तै, हरिनारायण चौधरी, पूर्व स्ववियु सभापति भएका भीम पराजुली, पूर्व स्ववियु सभापति ऋषिकेश पोखरेल, रामकुमार खत्री, सूर्यमा राई, हिक्मत कार्की, भक्ति सिटौला लगायतका नेताहरू पनि यही शैक्षिक संस्थासँग सम्बन्धित रहे ।
महेन्द्र मोरङ क्याम्पसमा अध्ययन गरेका नेकपा माओवादीका अमनलाल मोदी, जीवन आचार्य, विजय विश्वास, शिवकुमार मण्डलजस्ता नेताहरू पनि आफ्नो राजनीतिक यात्रामा स्थापित भएका छन् ।
व्यापारिक केन्द्रको रूपमा विराटनगर
विराटनगर भारतको जोगबनीसँग प्रत्यक्ष सीमासँग जोडिएको एक प्रमुख व्यापारिक नाका हो । यो शहर नेपाल–भारत व्यापारको ऐतिहासिक केन्द्रका रूपमा परिचित छ ।
पूर्वमा गोल्छा अर्गनाइजेशनले यहाँको औद्योगिक विकासमा उल्लेखनीय योगदान पु-यायो भने, हाल पनि सारडा ग्रुप, काब्रा ग्रुप, मुरारका ग्रुप, राठी ग्रुप, गोल्यान ग्रुप र चौधरी ग्रुप जस्ता उद्योग–व्यवसायिक समूहहरूले विराटनगरको आर्थिक पहिचानलाई बलियो बनाइरहेका छन् ।
विराटनगरको पहिचानलाई अगाडि बढाउने नेतृत्वका प्रयास
विराटनगरको रूपान्तरणमा विभिन्न मेयरहरूले आ–आफ्ना समयमा उल्लेखनीय योगदान दिएका छन् । रामकृष्ण भट्टराईदेखि रमेशचन्द्र पौडेल, अशोक कोइराला हुँदै संघीयतापछि भीम पराजुली र नागेश कोइरालासम्मका मेयरहरूले दिगो विकास र शहरको पहिचान सुदृढीकरणका लागि प्रयासहरू नगरेका होइनन् ।
तर पछिल्ला वर्षहरूमा विराटनगरको साख केही कमजोर हुँदै गएको देखिन्छ । आर्थिक गतिविधि सीमित भएका छन्, व्यावसायिक केन्द्रहरू काठमाडौं वा अन्य शहरतर्फ सरेका छन्, र सरकारी विद्यालय तथा उद्योगहरू क्षय हुँदै गएका छन् । शिक्षा र स्वास्थ्यमामा राजनीतिकरण र निजीकरणको प्रभावले पनि नगरको मूल संरचना प्रभावित पारेको छ ।
विराटनगरको रूपान्तरणका सम्भावना र दिशा
अब, कोशी प्रदेशको राजधानीका रूपमा विराटनगरको भविष्य उज्यालो बनाउन दीर्घकालीन योजना र सहकार्य आवश्यक छ । प्रदेश र संघीय सरकारबीच समन्वय गरी सहरको भौगोलिक दायरा विस्तार गर्दै नयाँ आवासीय क्षेत्र र हरियाली चक्रपथ निर्माण गर्नुपर्छ । सरकारी विद्यालयहरूको स्तरोन्नति र सुलभ शिक्षाको पहुँच विस्तार गर्न जरुरी छ । महेन्द्र मोरङ र डिग्री क्याम्पसलाई शैक्षिक उत्कृष्टताका केन्द्रका रूपमा पुनर्संरचना गर्नुपर्छ ।
विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन सकिन्छ । कोशी अस्पताललाई प्रदेशस्तरीय आधुनिक स्वास्थ्य संस्थाको रूपमा रूपान्तरण गर्नुपर्छ । शहीद मैदान र विराटनगर–१९ स्थित खेलमैदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिताको लागि स्तरीय बनाइनु आवश्यक छ । आदर्श पुस्तकालयलाई डिजिटल पुस्तकालयमा रूपान्तरण गर्दै अध्ययन–संस्कृतिको पुनर्जागरण गर्न सकिन्छ ।
विभिन्न जातजाति र संस्कृतिहरूको प्रतिनिधित्व गर्ने ऐतिहासिक संग्रहालय निर्माण गरी अध्ययन अनुसन्धानत्मक पर्यटन प्रवद्र्धन गर्नुपर्छ । सेवाग्राहीको भिड देखिने मालअड्डा, अदालत र सरकारी कार्यालयहरूलाई सुरक्षित र व्यवस्थित क्षेत्रतर्फ सारेर प्रशासनिक सुधार गर्नुपर्छ ।
निष्कर्षमा भन्दा विराटनगरको पहिचान केवल इतिहासमा सीमित छैन — यो भविष्यको सम्भावनासँग गाँसिएको विषय हो । यस शहरको विकासका लागि दीर्घकालीन रणनीति, जनसहभागिता, राजनीतिक इच्छाशक्ति र आधुनिक प्रविधिको संयोजन अपरिहार्य छ । यदि यी तत्वहरू प्रभावकारी रूपमा लागू गर्न सकियो भने, विराटनगर न केवल कोशी प्रदेशको राजधानी, बरु नेपालको आधुनिक विकासको नयाँ परिचय बन्न सक्छ ।
View : 446
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved