तस्विरमा २०८० सालको पुसमा शान्ति आधारभूत विद्यालय पछाडि देखिएको हात्तीका समूह हो ।
गत साता उर्लावारी–३ मंगलबारे रामनगर चोकमा हात्तीले स्थानीय उमेश चौधरीको भण्डारण गरेको अन्नक नष्ट ग¥यो । विगत दशकदेखि सञ्चालन गर्दै आएको उनको मिलमा भण्डारण गरिएका खाद्यान्न हात्तीले क्षति गरेको हो । हरेक वर्ष जसो उर्लावारीको वडा नम्बर ३ मा कहिले एउटा त कहिले बढी संख्यामा हात्ती बस्ती प्रवेश गरेर क्षति गर्ने गरेको छ । गत वर्ष पनि मदन भण्डारी अस्पताल क्षेत्रमा हात्ती प्रवेश गरेको थियो । हात्ती धपाउनका लागि भनेर अघिल्लो वर्ष वडाध्यक्ष भीष्म बुढाथोकीसहितको जनप्रतिनिधिको टोली बक्राहा खोलामा रातभर जाग्राम बसेको थियो ।
बस्तीमा हात्ती प्रवेश गरेर क्षति गरेको वडा नम्बर ३ मात्रै होइन । उर्लावारीको वडा नम्बर १,२,४ हात्तीका कारण बढी नै प्रभावित वडाका रूपमा लिन सकिन्छ । हरेक वर्ष यी वडाहरूमा हात्तीले घर भत्काइदिने, भण्डारण गरेको अन्न खाइदिने र बाली नष्ट गरिदिंदै आएको अवस्था छ । उर्लावारीको अन्य वडाहरूमा पनि हात्तीले दुःख दिने गरेको छ । केही वर्षअघि हात्तीको बथान वडा नम्बर ८ र ९ नम्बर क्षेत्रमा देखिएको थियो । हात्तीका कारण नगरमा ज्यानको क्षति भएको छैन ।
उर्लावारीको उत्तरी क्षेत्रमा चुरेको क्षेत्रको घना जंगल छ । उत्तरमा मधुमल्ला, मंगलबारे, सुनझोडा, जाँतेका जंगलसहित धेरै सामुदायिक वनहरू यहाँ छन् । सुनझोडा, बक्राहा, सोल्टी, तेली, मावा उर्लावारीका मुख्य नदी छन् । हात्तीले गर्ने क्षति सन्दर्भमा यहाँका वडा नम्बर १ का वडाध्यक्ष तिलक पाण्डे र २ नम्बर वडाका वडाध्यक्ष राजन क“डेल पहिलादेखि नै भुक्तभोगी छन् ।
कहाँबाट आउँछन् उर्लावारीमा हात्ती ?
उर्लावारीको हात्तीसँगको साइने अहिले मात्रै हैन धेरै पहिलादेखि नै हो । तर पछिल्ला वर्षहरूमा भने हात्तीको आगमन बढी हुन थालेको भान हुन्छ । पहिला पहिला २–३ वर्षमा बस्ती प्रवेश गर्ने हात्ती अचेल वर्षमा २–३ पटक देखिनु सामान्य हो । यस क्षेत्रमा हात्तीको आउजाउ (फ्रिक्वेलन्सी) बढेको छ । नेपालमा हात्ती विशेष गरेर ४ वटा मुख्य बासस्थानको रूपमा विभाजन गरिएको छ । जसमा पूर्वी संख्या (कोशीपूर्व), मध्यको संख्या(चितवन–पर्सा, बारा–रौतहट), पश्चिमी संख्या (बाँके–बर्दिया) र सुदूरपश्चिमको संख्या (कर्णाली पश्चिम शुक्लाफाँटा ।)
अब चर्चा गरौं पूर्वका हात्तीका । भारतको पश्चिम बंगाल हँदै मेची नदी तरेर झापाको बाहुनडाँगीबाट नेपाल प्रवेश गर्छन् । समूहमा प्रवेश गर्ने यी हात्ती झापा, मोरङ, सुनसरी, उदयपुर, सिन्धुलीसम्म पुगेका घटना छन् । पछि उनीहरू सोही रूट हँदै फर्कन्छन् । समूहमा प्रवेश गर्ने यी हात्ती बेलाबेला समूहबाट छुट्टिएर बस्ती प्रवेश गर्छन् । कहिले खानाको खोजीमा, कहिले बथानबाट छुट्टिएर त कहिले समूहबाट आफैं निस्किएर नेपालकै जंगलमा बस्ने गर्छन् । विशेष गरेर यी हात्तीहरू झापाका विभिन्न जंगलहरूमा बस्ने तथा कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पनि बस्ने गरेका छन् । बसाइसराइका क्रममा नेपालमै रैथाने हात्तीको रूपमा विचरण गर्नेको संख्या झापामा मात्रै करिब १ दर्जनभन्दा बढी पुगेका छन् । यस्ता हात्ती खानाको खोजीमा बस्ती प्रवेश गर्ने गरेका छन् । बस्ती बस्दा घरगोठ क्षति गर्ने तथा कहिले मानिसकै ज्यान लिने गरेको अवस्था छ ।
उर्लावारीमा पनि यी हात्ती आफ्नो बथानबाट छुट्टिएर बस्ती प्रवेश गरेका छन् । कहिले काँही समूहमा पनि आउने गर्छन् । उर्लावारीका मंगलबारे, सालबारी, डुब्रे, सिरूझार, सुनझोडा,थापाडाँगी, पुरानो मंगलबारे, लक्ष्मीझार,सूर्य चोक, मेचेडाँगी, टप्पुलगायत अन्य क्षेत्रमा हात्ती बर्सेनि आउने गर्छन् । बथानबाट छुट्टिएर एक्लिएको हात्तीले नै बस्तीमा बिगार गरेको अवस्था छ । समूहको हात्तीले विशेष गरेर कृषि बाली नोक्सान गरेको देखिन्छ भने एक्लिएर आएको हात्तीले घर भत्काएको, भण्डारण गरिएका अन्न खाएका घटनाहरू छन् । तसर्थ समूह वा एक्लै भएको हात्तीलाई जथाभावी रूपमा जिस्काउने तथा चलाउने काम गर्नु घातक सावित हुन सक्छ ।
दुई वर्ष अघि उर्लावारी–१ लक्ष्मीझारको बस्तीमा प्रवेश गरेको हात्तीलाई स्थानीयवासीले हो–होल्ला गर्दै लखेटेको भिडियो निकै नै ‘भाइरल’ भयो । सुन्दरहरंैचा नामक फेसबुक पृष्ठमा सन् २०२३को डिसेम्बर १६ मा अपलोड भएको उक्त भिडियो आजको मितिमा हेर्दा ४ लाख ७० हजार भ्युज छ । भिडियोबाट पनि प्रष्ट हुन्छ हात्ती सन्दर्भमा हामी कति असंवेदनशील छौं भनेर । कसैले यो सोचेन कि उक्त हात्ती फर्किएर स्थानीयलाई लखेटेको थियो भने गम्भीर हुन्थ्यो ।
उर्लावारीसँगै मोरङमा मानव हात्ती द्वन्द्वका घटनामा वृद्धि
हात्तीले परम्परागत रूपमा प्रयोग गर्दै आएको जैविकमार्गमा पुल, सडकलगायत संरचनाहरू निर्माण भएका छन् । जसका कारण हात्तीले आफूले प्रयोग गर्दै आएको बाटो परिवर्तन गर्दा क्षति हुने गरेको देखिन्छ । बाटो परिवर्तन गर्ने क्रममा गाउँबस्ती प्रवेश गर्दा जनधनको धेरै नै क्षति हुने गर्छ । कहिलेका“ही समूहबाट छुट्टिएर पनि बस्ती पर्ने गरेका छन् ।
बसाइ सराइ गरेर आउने हात्तीको संख्या पनि बढ्दो छ । झापा जिल्लाको सन्दर्भ जोड्ने हो भने रैथाने हात्तीको संख्या बढ्दो अवस्थामा छ । जिल्ला वन कार्यालय झापाका अनुसार ५ वर्षयता परम्परागत हात्तीको संख्या तेब्बर भएको छ । २०७५ सालमा करिब एक दर्जन हाराहारीको संख्यामा हात्ती रहेकामा हाल उक्त संख्या ३० भन्दा धेरै छ । यी हात्ती भारतबाट खानाको खोजीमा नेपाल प्रवेश गर्दा र यतै बस्न थालेपछि संख्या बढेको हो । विशेष गरेर यी हात्ती आहाराकै लागि नेपालमा बसोबास गर्न थालेका हुन् । यसो पुष्टि पनि पछिल्ला वर्षहरूमा झापालगायत अन्य जिल्लाहरूमा हात्तीको विभिन्न स्थानमा देखिन थालेका छन् । धान, मकैलगायतका बालीहरूमा यी भीमकाय स्तनधारीको उपद्रो बढ्दो छ ।
मोरङकै सन्दर्भ जोड्ने हो भने पछिल्लो एक वर्षमा मात्रै ५ जनाले हात्तीको आक्रमणमा परी ज्यान गुमाएका छन् । साउनको पहिलो साता मात्रै बेलबारीमा ४५ वर्षीया अमिना राजवंशी घर नजिकैको खेतमा पानी हाल्न गएको बेला हात्तीको आक्रमणमा परी मृत्यु भयो । यस्तै यही वर्ष बेलबारी–१० भाउन्नेका ४१ वर्षीय अमित लिम्बूको जंगली हात्तीको आक्रमणमा परी गम्भीर घाइते भए ।
गत आर्थिक वर्ष २०८१–८२मा जिल्लामा ३ महिलासहित ५ जनाले हात्तीको आक्रमणमा परी ज्यान गुमाए । मृतकहरूमध्ये सुन्दरहरैंचा, बेलबारी र लेटाङ नगरपालिका थिए । वन कार्यालयको तथ्याङ्क हेर्ने हो भने २०६८ सालयता जिल्लामा हात्तीको आक्रमणबाट १७ जनाको ज्यान गएको छ भने ९ वटा हात्ती मृत अवस्थामा फेला परेका छन् । जिल्ला पछिल्ला वर्षहरूमा हात्तीको उपद्रो बढ्दो अवस्थामा देखिन्छ ।
सह–अस्तित्वको खाँचो
कुनै समय यस्तो थियो जतिबेला झापाको बाहुनडाँगीमा हात्तीको आक्रमणबाट घाइते र मृत्यु भएका घटनाहरू धेरै आउँथे । अहिले यस्ता घटना कम भएका छन् । गत वर्ष यस लेखका लेखकद्वयले झापामा मानव हात्ती द्वन्द्व र यसले कृषि क्षेत्रमा पारेको असर सम्बन्धीको अनुसन्धान गर्ने क्रममा पनि यही निष्कर्ष निकाल्यो । स्थानीयवासीसँगको छलफलमा बाहुनडाँगीवासीले मावन–हात्ती सहअस्तित्व सम्बन्धी अभ्यस्त भएको बताएका थिए । उनीहरूले हात्तीको आनीबानीसँग यसको विचरण सम्बन्धी बुझ्न थालेपछि हात्तीलाई जथाभावी जिस्काउने तथा उसलाई असर गर्ने किसिमका कार्यहरू रोकेपछि
द्वन्द्व कम भएको बताएका थिए । त्यहाँका वडाध्यक्ष समेत रहेका मेचीनगरपालिका–१४का अर्जुन कार्कीले द्वन्द्व कम गराउन वैकल्पिक खेती प्रणाली पनि अवलम्बन गर्न थालिएको उल्लेख गर्दै द्वन्द्वलाई अवसरको रूपमा लिएको बताएका थिए ।
हात्ती देख्ने बित्तिकै त्यसलाई लखेट्ने प्रवृत्ति व्याप्त छ । सिठ्ठी बजाएर, पटका पड्काएर, राँको बालेर हात्तीलाई तर्साउने कार्यले हात्ती झन् उत्तेजित हुन्छ । जसका कारण हात्ती आक्रमक भएर जिउ धनको क्षति हुन्छ । करेसाबारीमा लगाइएको नाङ्गो तारका कारण हात्ती धरापमा परेर मरेको अवस्था छ । यस्तो अवस्थामा कृषक पनि विद्युतीय धराप थापेर हात्ती मारेको अभियोगमा जेल गएका घट्ना छन् ।
साथै कृषक स्वयम् यस्ता विद्युतीय धरापमा पर्ने जोखिम हुन्छ । हात्तीले खाने अन्नबालीको विकल्पमा अन्य खेती प्रणाली अवलम्बन गर्न सकिन्छ । जस्तो कि अहिले हात्ती तथा अन्य वन्यजन्तुले अन्नबाली खाएपछि त्यसको विकल्पमा बेसार खेती गर्ने, खोर्सानी लगाउने, कागती खेती पनि कृषकहरूले लगाउन थालेका छन् ।
प्राकृतिक बासस्थान विनाश हँदा हात्तीलाई पर्याप्त आहारा पुग्दैन साथै बस्ने ठाउँ पनि कम हुन्छ । हात्ती धेरै लामो यात्रा गर्दै हिंड्ने जीव हो । एउटा ठूलो भूपरिधिमा ऊ ओहोरदोहोर गर्छ । आउजाउ हुने क्षेत्रमा अनुगमनका लागि टावर निर्माण गर्दा पूर्व सूचना गराउन सकिन्छ । यस्तै, चुरे फेदीमा रहेका जिल्लाका जंगलमा हात्ती हिंड्ने गरेका छन् । जंगल अतिक्रमण रोक्दै जोखिमयुक्त बस्ती स्थान्तरण गराउन पनि सकिन्छ । साथै, त्यस्त स्थानहरूको पहिचान गरेर पूर्व सूचना प्रणालीको विकास गर्ने, संरक्षण शिक्षा प्रदान गर्ने, हात्ती द्वन्द्व सम्बन्धीका पुस्तिका तयार गर्ने र सहअस्तित्व सम्बन्धमा जानकारी गराउन सके द्वन्द्व कम गराउन सकिन्छ । संकेत बत्तीको जडान, र्यापिड रेस्पोन्स टिमको निर्माण, साइरन टावर निर्माण गरेर अनुगमन गर्ने हो भने हात्तीसँग हुने मुठभेड हटाउन सकिन्छ । यस्तै एकीकृत सूचना प्रणालीको विकासले सूचना आदनप्रदान गर्न पनि सहज हुन्छ ।
सरकारले वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका,२०८० पनि जारी गरेको छ ।
जस अनुसार गम्भीर घाइते, घाइते, मृत्यु तथा अन्नबाली क्षतिलाई राहत दिने गर्छ । जस अनुसार वन्यजन्तुको आक्रमणमा परेर सामान्य घाइते भए २० हजार, गम्भीर घाइतेलाई २ लाख र मृत्यु भएमा १० लाख रूपैयाँसम्म राहत दिने उल्लेख छ । यस्तै कृषि बालीमा भएको क्षतिलाई १० हजारदेखि ३० हजर रूपैयाँसम्म दिने गर्छ । यस्तै घर गोठमा भएको क्षति २० हजार रूपैयाँ राहत स्वरूप दिने गर्छ ।
समूहमा बस्न रूचाउने हात्ती मानिसमा जस्तै जन्मदा खुशी हुने, मृत्युमा वियोग हुने अनि मृत शरीरको आसपासमा धेरै समयसम्म नजिक बस्ने जस्ता क्रियाकलापहरू देखाउँछ । जंगलमा हात्तीले आफ्नो सुँडको मद्दतले रूखका हाँगाहरू भाँचेर जमिनमा रहेका स–साना विरूवाहरूका लागि प्रकाशको पहँच दिलाइदिन्छ । जसका कारण साना बिरूवाहरूले प्रकाश पाउँछन् र प्रकाश संश्लेषण प्रकिया सुरू हुन्छ अनि राम्रोसँग हुर्कन्छन् । हात्तीले विरूवा तथा झाडी सफा गरेर नयाँ विरूवा हुर्कनका लागि पनि वातावरण तयार गरिदिन्छ । हात्तीले जंगलमा प्रायः केही ठाउँ खाली राखेर विरूवा खाने परिपाटीका कारण नयाँ वनस्पतिहरू उम्रने गर्छन् । विरूवा खाने क्रममा प्राकृतिक रूपमा बाटो निर्माण हुन्छ, जुन बाटो अन्य वन्यजन्तुहरूले प्रयोग गर्छन् ।
हात्तीको परागसेचनमा पनि भूमिका हुन्छ । केही प्रजातिका रूखहरूमा हात्तीका कारण बिरूवाको अंकुरणमा मद्दत गर्छ । हात्तीले गोब्य्राउँदा वनस्पतिका बीउहरू पनि हुन्छन् । हात्ती हिंड्दा बन्ने डोब (छाप) स–साना किरा प्रजातिका जीवहरूका लागि उपयुक्त बासस्थान हो । त्यस्ता डोबहरूमा ती जीवहरू बस्छन् ।
हिन्दु धर्म संस्कृतिमा हात्तीलाई भगवान गणेशको रूपमा पुजिने गरिन्छ । मानिसका लागि हात्ती र स्वास्थ्य पारस्थितिकीय प्रणालीका लागि हात्ती आवश्यक पर्ने भएकाले यसको संरक्षणसँगै बढ्दो द्वन्द्व घटाउन सहअस्तित्व जरूरी छ ।
(विज्ञान तथा वातावरण लेखकसमेत रहेका वातावरणविद् पोखरेल हाल राष्ट्रिय प्रकृति संरक्षण कोषमा संरक्षण अधिकृतको रूपमा कार्यरत छन् । वातावरणविद् ढकाल जैविक विविधता, जलवायु परिवर्तन, विपद् र फोहोरमैला सम्बन्धी अनुसन्धानमा संलग्न छिन् ।)
govindapokhrel90@gmail.com
View : 386
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved