Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
विचार

हिन्दू धर्मनै मानवतावादको जननी–३

मानव, धर्म र सनातन दर्शन

डा बाबुराम तिमल्सेना
२६ जेठ २०८२, सोमवार

मानव र धर्म एक–अर्काका परिपूरक हुन् । समाजमा यिनको नङ–मासुको जस्तो सम्बन्ध रहनुपर्छ । अधार्मिक व्यक्ति वास्तविक मानववादी हुन सक्दैन, ऊ केवल मानवतावादको नाटक गर्छ । दया, माया, प्रेम, सद्भाव, आदर, सत्कार र परोपकार मानव धर्मका मूल कानुन हुन्, जसबाट समाजको कल्याण हुर्कन्छ र मौलाउँछ ।

सच्चा मानवताको जग सनातन धर्ममा हुन्छ । यसका जरा, आँख्ला, हाँगा, पात, फूल र फल सबै हिन्दू धर्मसँग सम्बन्धित छन् । हिन्दू धर्म प्रकृति–प्रदत्त र प्रकृति–पूजक हो । सूर्य, चन्द्रमा, वनस्पति, ओखती, पृथ्वी, वायु, अग्नि, जल, आकाश जस्ता प्राकृतिक तत्वहरूलाई यसले देवता मान्छ । देवता मान्नुको अर्थ मानिसका लागि यी आवश्यक पदार्थ हुन् भन्नु हो ।

हिन्दू धर्मले ‘मपाइँत्ववाद’ लाई प्रोत्साहन गर्दैन । यसमा बौद्ध, जैन, मुस्लिम, इसाई, पारसीलगायत कुनै पनि धर्मप्रति भेदभाव छैन । यसको सरलताले समाजका जटिलताहरूलाई फुकाउँछ । कर्मकाण्डलाई साधन मात्र मानी दर्शनलाई सर्वोपरि स्थान दिन्छ । चित्त शुद्धिको व्यवस्था र आत्मालोचनालाई प्रायश्चित्त धर्म मान्दछ । ‘तँ ठूलो म ठूलो’ को संकीर्ण सोचभन्दा माथि उठेर यसले कुरा, तर्क, खण्डन र मण्डनका आधारमा सिद्धि र पुष्टि गर्छ । जीवलाई ब्रह्म र परब्रह्मसँग जोड्न साधन खोज्नु तथा मानव र मानवताप्रति रुचि राख्नु यस धर्मको सौन्दर्य हो ।

मानव जीवन र विभिन्न सूक्तिहरू 

मानव स्वभाव र जीवनका विविध पक्षबारे विभिन्न विद्वानहरूले आ–आफ्ना धारणा प्रस्तुत गरेका छन् –
‘मानिसलाई मानव वा दानव बनाउने काम मानिसले नै गर्छ ।’ – वर्डस्वर्थ
‘मानिस यौनको अभिलाषामा जीवनभर अपराध बोध गर्छन् ।’ – फ्राइड

‘उत्तम मानिस शब्द र चरित्रमा चुस्त हुन्छ ।’ – कन्फ्युसियस
‘आफ्नो अवगुण र अर्काको गुण देख्ने मानव महान् हुन्छ ।’ – सुकरात
‘मानिस रुँदै जन्मन्छ, असन्तुष्टि पोख्दै निराश भएर मर्छ ।’ – नेहरु

‘निच मानिससँग मित्रता वा प्रेम नगर । बलेको कोइलाले पोल्छ, निभेको छुँदा हात कालो हुन्छ ।’  –हितोपदेश
‘इमान्दार मानिस भगवानको सर्वोत्कृष्ट सिर्जना हो ।’ –अलेक्जेण्डर पोप
‘दया छैन, धर्म छैन, भाषा छैन, प्रेम छैन, चरित्र छैन, आत्मबल छैन, ऊ कुनै मानिस हो र ।’ –प्रेमचन्द
‘मानिस जति असल र महान् देखिन्छ, त्योभन्दा बढ्ता महान् बन्नुपर्छ । दिमागलाई अझ अनुशासनमा तालिम दिनुपर्छ । उसले पृथ्वीलाई सिंगार्नुपर्छ ।’   –आउब्री डेभ्वायर
दर्शन र जीवनका आधारभूत अवधारणाहरू 

दर्शन  ः दर्शनले भविष्य देख्छ, सुदूर भविष्यका विषयको कल्पना गर्छ र त्यो सत्यमा रूपान्तरण हुन्छ । यो प्रकृति, ईश्वर, ज्ञान, विज्ञान, वस्तु, जीवन र चेतनाको व्यापक विवेचना हो । ‘जे सत्य छ त्यसको खोजी गर र जे कल्याणकारी छ त्यसको साधना गर ।’ –भोल्टेयर

दया (कम्पासियन) : अर्काको दुःख, पीडा अनुभव गरी त्यसको उपचार गर्ने मनोभाव दया हो । यसमा संवेदनशील हुने र उद्धार तथा सहयोग गर्ने मनोदशा समावेश हुन्छ । ‘मानिस अरू मानिसलाई दया गर्छ भने त्यसले आफ्नै हित गर्छ तर निर्दयी मानिस आफ्ना खुट्टामा आफैं बञ्चरो प्रहार गर्दछन् ।’ –बाइबल

तृष्णा  ः यौनको भोक, भौतिक सुविधाको भोक, अझ बढीको इच्छा राख्नु र कहिल्यै तृप्त नहुनु तृष्णा हो । ‘वृद्धावस्थामा केश फुल्दै जान्छ, दाँत झर्दै जान्छ, आँखा, कानले काम गर्न छोड्छ, गाला चाउरी पर्न थाल्छन्, तर मन कहिल्यै बूढो हुँदैन ।’ – महाभारत (मनुष्य र पशुको हिंसा नगर भन्ने सुझाव यजुर्वेदको हो ।)
आचरण  ः व्यक्तिमा हुने अन्तर्य गुण आचरण हो । यसमा नैतिक दृष्टिबाट हेरिने राम्रो–नराम्रो काम, चरित्र, बानी–व्यहोरा, अनुशासन र कर्तव्यपालन पर्छन् । विभिन्न विद्वानहरूले आचरणलाई यसरी परिभाषित गरेका छन् :

‘आचरणले कुलीन, अकूलीन, कायर, वीर, पवित्र, अपवित्र के हो निक्र्यौल गर्छ ?’ –महात्मा गान्धी
‘विद्यालय आचरणको कारखाना हो ।’ – महात्मा गान्धी
‘आचरण ऐना जस्तो हो, हरेक मानिस आफ्नो प्रतिबिम्ब देख्छ ।’ – गेटे

‘आचरण बिनाको ज्ञान व्यर्थको भारी हो ।’ – हितोपदेश
‘ज्ञानी मानिस त्यही हो जो वर्तमानलाई राम्ररी बुझ्छ र परिस्थिति अनुसार आचरण गर्छ ।’ – विनोबा भावे
‘मानिस धेरै ज्ञान भएर पनि उसको आचरण त्यस अनुसार हुँदैन भने त्यो सारा ज्ञानले त्यस मानिसलाई बचाउँदैन ।’ – गौतमबुद्ध
‘मानिसको आचरणले उसको कुलको अनुमान लाग्दछ, भाषाबाट उसको मूल र देशको परिचय मिल्दछ । उसले गरेको आदर सम्मानबाट उसको हृदयको उदारता अनुमान लाग्दछ ।’ – कौटिल्य
वैदिक साहित्यका आयामहरू 

वेदका सन्तान (वेद)  : ‘ज्ञान’ को अर्थ बोक्ने वेदका चार मुख्य भाग छन् ः ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद । यिनको सम्बन्ध यज्ञसँग छ ।

ब्राह्मण ग्रन्थ  : यज्ञका गुण–दोष केलाउँदा ब्राह्मण ग्रन्थहरू जन्मिए । यी कर्मकाण्डको विवेचना गर्ने र यज्ञका विषयमा पुरोहितहरूका भनाइ समेट्ने ग्रन्थ हुन् ।
आरण्यक :  ब्राह्मण ग्रन्थको विवेचनाबाट आरण्यक नामको ग्रन्थ जन्मियो, जसको रचना वानप्रस्थीहरूले गरेका थिए ।
वेदाङ्ग : वेदको बराबरी वा सम्यक ज्ञान प्राप्त गर्ने कृति वेदाङ्ग हो । यसले वेदको अर्थलाई सुनिश्चित गर्दछ र वेद मन्त्रको उच्चारण, गान र अर्थबोधसँग सम्बन्धित छ । यसमा शिक्षा, छन्द, निरुक्त, मीमांसा, व्याकरण र ज्योतिष पर्छन् ।

शिक्षा : वेद मन्त्रको शुद्ध उच्चारणका लागि शिक्षा रचना गरिएको थियो । प्रत्येक वेदका आफ्नै शिक्षा ग्रन्थ छन् ।
छन्द : वेद मन्त्रको गायनलाई नियमित गर्ने छन्द हो । यसको व्यवस्थापन पिंगल शास्त्रले गर्छ, जसमा वैदिक र लौकिक छन्दको वर्णन हुन्छ ।
निरुक्त : शास्त्रको विवेचना र व्युत्पत्तिगत अर्थ गर्ने ग्रन्थ निरुक्त हो । यास्कमुनिले यसको भाष्य बनाएका थिए र सबै शब्द धातुबाट बन्ने महŒवपूर्ण निर्णय दिएका थिए ।
मीमांसा : यो पूर्व मीमांसा (कर्मकाण्ड, यज्ञयज्ञाङ्गको विश्लेषण) र उत्तर मीमांसा (ब्रह्मसूत्र, गीता र उपनिषद्का विषयमा खण्डन–मण्डन) गरी दुई भागमा बाँडिएको छ । यसले अनुमान, तर्क–वितर्कद्वारा कुनै विषयको मूलतत्व र वास्तविकता पत्ता लगाउँछ ।

व्याकरण : वैदिक भाषा र साहित्यका व्याकरण पक्षको चर्चा गर्दछ । पाणिनीका अष्टाध्यायी र उनीभन्दा अगाडिका वैयाकरणहरूका कृतिहरू यसमा महत्त्वपूर्ण छन् ।
ज्योतिष : सम्पूर्ण ब्रह्माण्ड र सौरमण्डलको अध्ययन गर्ने शास्त्र ज्योतिष हो । यसलाई ज्ञानको आँखा मानिन्छ र यसले खगोल तथा भूगोलको अध्ययन गर्छ । सूर्य सिद्धान्त यसको मूल ग्रन्थ हो ।
कल्पसूत्र :  वेदको कर्मकाण्डीय पक्षको नियमनका लागि ब्राह्मण ग्रन्थ बनेजस्तै ब्राह्मण ग्रन्थको व्याख्याका लागि कल्पसूत्र बनेका हुन् । यसमा आर्यको सामाजिक जीवन र चरित्रलाई स्तुति तथा निन्दाका आधारमा चित्रित गरिन्छ । कल्पसूत्र दुई प्रकारका छन् : श्रोत सूत्र (यज्ञको चित्रण) र स्मार्त सूत्र (गृह्यसूत्र र धर्मसूत्र) । स्मार्तका सूत्रका दुई भेद छन् ः गृह्यसूत्र (षोडश संस्कारको वर्णन) र धर्मसूत्र (राजा–प्रजाको कर्म, धार्मिक पद्धति, वर्णाश्रमका विधि–विधानको वर्णन ।) 

View : 589

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved