Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

दशैंको मुखमा राइस मिल बन्द, बजारमा भारतीय चामल छ्याप्छ्याप्ती

सशस्त्र प्रहरी र नेपाल प्रहरीको सेटिङमा भित्रिने चामलको परिमाण छुट्टै छ । भारतीय चामल नेपालका राइस मिलको भन्दा कम्तीमा दुई सय रुपैयाँ सस्तो पर्दछ ।
उद्घोष सम्वाददाता
८ असोज २०८१, मङ्गलवार

विराटनगर ७, असोज । अवैध बाटोबाट आयात हुने भारतीय चामलको मूल्यसँग प्रतिस्पर्धा गर्न नसकेर नेपालका राइस मिलहरु धमाधम बन्द हुन थालेका छन् ।

विराटनगरदेखि इटहरी आसपाससम्मका जम्मा दशवटा ठूला राइस मिल सञ्चालनमा रहेकोमा अवैध रुपमा भित्रिने गरेको भारतीय चामलको तुलनामा नेपालका मिलले उत्पादन गर्ने चामल महंगो पर्ने हुँदा उद्योगीहरुले राइस मिल नै बन्द गर्न थालेका छन् ।

राइस मिल सञ्चालकहरुका अनुसार मोरङको मटेर्वा नाका देखि सुनसरीको अमडुवा नाकाबाट गरी झोले, पोकेहरुले मात्रै दैनिक पाँच हजार बोरासम्म चामल भारतीय बजारबाट ल्याउने गर्दछन् ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको सेटिङमा भित्रिने चामलको परिमाण छुट्टै छ । भारतीय चामल नेपालका राइस मिलको भन्दा कम्तीमा दुई सय रुपैयाँ सस्तो पर्दछ ।

नेपाल सरकारले चामलमा नौ प्रतिशत भन्सार र अढाई प्रतिशत अग्रिम आयकर लगाएको छ । थप अन्य खर्चसमेत जोड्दा वैध बाटोबाट ल्याउँदा भारतीय चामल पनि महंगो पर्न आउँछ ।

त्यसैले अवैध बाटो भएर भारतीय चामल भित्र्याउनेहरुले बजारमा भारतीय चामल छ्याप्छ्याप्ती पारेका छन् । राधाकृष्ण राइस मिलका सञ्चालक सुधीर अग्रवाल चामलको अवैध व्यापारले नेपाली उद्योगीलाई अत्यन्तै संकटमा पारेको बताउँछन् ।

बोहरा इण्डष्ट्रिजका सञ्चालक अविनाश बोहरा नेपालको बजारमा भारतबाट चामल, दाल, मरिच, केराउ आदि खाद्य बस्तु भरमार रुपमा भित्रिरहेको बताउँछन् ।

भारतको केराउ नेपालमा आयात गर्न प्रतिबन्ध लगाइएको छ । तर नेपालको बजारमा केराउ जति खोज्यो त्यति पाइन्छ । यसरी भित्रिने खाद्यवस्तुले उपभोक्तालाई त केही राहत होला, नेपाली उद्योगीहरु भने थला पर्ने छन् ।

कुनै समयमा विराटनगर र त्यसको आसपासमा डेढ दर्जन भन्दा बढी ठूला राइस मिलहरु थिए । तेल मिलहरु पनि दर्जन भन्दा बढी थिए ।

त्यसबेला नाम चलेका राइस मिल र आयल मिलहरुमा जुगल आयल मिल, गोपाल आयल मिल, अम्बिका आयाल मिल, नारायण आयल मिल, हीरा आयल मिल, लोहिया तेल मिल, बाबा आयल मिल, अटल तेल उद्योग, महादेव आयल मिल, कालिका आयल मिल, आदि थिए ।

त्यसैगरी राइस मिलहरुमा हिमालय राइस मिल, गुहेश्वरी राइस मिल, अच्यूत राइस मिल, नारायण राइस मिल, गोपाल राइस मिल आदि थिए । अहिले धेरैको नाम निशान छैन ।

ती मिलबाट उत्पादित चामल भारतको केरला, बंगलादेश आदि ठाउँमा निर्यात हुन्थ्यो । अहिले यहाँको आवश्यकतालाई धान्न भारतीय चामलमा निर्भर रहनु परेको छ ।

View : 203

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved