Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेशमा चुनावी संग्राम

बर्चस्व दोहोर्‍याउने र तोड्ने प्रतिस्पर्धा

यस पटकको निर्वाचनमा कोशीमा कांग्रेस, एमाले, नेकपाहरूकै वर्चस्व दोहोरिएला कि अरु कसैको ?
उद्‌घोष संवाददाता
१० फागुन २०८२, आइतवार

विराटनगर । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको मिति  नजिक आउँदै गर्दा कोशी प्रदेशका १४ जिल्लाका २८ वटै निर्वाचन क्षेत्रमा दल र उम्मेदवारहरूले सम्पूर्ण जोडबल लगाइरहेका छन् । निर्वाचनको नियमित क्यालेन्डर जेनजी आन्दोलनले बदलेर हुन लागेको यो निर्वाचनमा कोशी प्रदेशमा ३५ लाख ७४ हजार ३१० मतदाताले आफ्नो प्रतिनिधि छान्ने छन् ।

यस पटक कोशी प्रदेशमा ४१ वटा राजनीतिक दलका ४०४ जना  स्वतन्त्र ९१ जना गरी कुल ४९५ जना उम्मेदवार छन् ।  यीमध्ये जम्मा २८ जना प्रतिनिधिसभा पुग्ने छन् ।  यस पटक सबैभन्दा बढी मोरङ र सुनसरीमा ११०–११० जना उम्मेदवार छन् । मोरङका ६ वटा निर्वाचन क्षेत्रमा राजनीतिक दलबाट ८५ र स्वतन्त्र २५ तथा सुनसरीमा चारवटा निर्वाचन क्षेत्रमा ३८ स्वतन्त्र र राजनीतिक दलका ७२ जना उम्मेदवार छन् । सबैभन्दा कम सोलुखुम्बुमा १२ जना उम्मेदवार छन् ।

यस पटकको निर्वाचनको सरगर्मी उत्कर्षतिर अघि बढिरहेका बेला  २०४८ यताका सबै चुनावहरूमा अहिले कोशी प्रदेशमा पर्ने निर्वाचन क्षेत्रहरूको नतिजा कस्तो थियो ? २०४८ यताका चुनावी नतिजाको विवेचना गर्ने प्रयास उद्घोषले गरेको छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालमा सात पटक संसदीय निर्वाचन भइसकेको छ । जसमा पा“च वटा प्रतिनिधिसभा र दुई पटक सविधानसभा निर्वाचन भएको छ ।  

२०४८ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा देशभरिका २०५ निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसले ११० निर्वाचन क्षेत्रमा जितेर बहुमत हासिल गर्दा विराटनगरका गिरिजाप्रसाद कोइरालाले सरकारको नेतृत्व गरेका थिए । त्यो चुनावमा ६९ क्षेत्र जित्दै एमाले प्रमुख प्रतिपक्षी बन्यो ।  कम्युनिष्टहरूले चुनावमा राम्रो नतिजा ल्याएको भन्दै त्यसबेला अन्तर्राष्ट्रिय रुपमा चर्चा हुँदा एमाले अध्यक्ष विराटनगरकै मनमोहन अधिकारी थिए भने महासचिव मदन भण्डारी पनि मोरङ इटहराका थिए ।

अन्तरिम सरकारका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई काठमाडौंमा पराजित गरेका एमालेका तत्कालीन महासचिव  मदन भण्डारीको चर्चा चुलिएको थियो । २०४८ सालमा एमालेले देशभर ६९ सिट जित्दा अहिले कोशी प्रदेशमा पर्ने जिल्लाहरूका ३९ क्षेत्रमध्ये ३० वटा एमालेले  जितेको थियो । ११० सिट हासिल गरेर एकल बहुमत ल्याएको कांग्रेसले त्यसबेला कोशी प्रदेशका जिल्लाहरूमा नौ स्थान मात्रै जितेको थियो ।

तीमध्ये तराई क्षेत्रमा सुनसरी र मोरङमा ६ सिट तथा पहाडमा ओखलढुंगामा दुई र सोलखुम्बुमा एक सिट कांग्रेसले जितेको थियो । तत्कालीन मेची अञ्चलमा रहेका १२ वटै निर्वाचन क्षेत्र एमालेले जितेर सिङ्गै अञ्चललाई लालकिल्ला सावित गरेको थियो । 
त्यसपछि २०५१ सालमा मध्यावधि निर्वाचन भयो । मध्यावधिमा अहिलेको कोशी क्षेत्रमा २३ सिट जितेको एमाले देशभर ८८ सिट जितेर पहिलो दल भएको थियो । कांग्रेसले अहिलेको कोशी क्षेत्रमा २०४८ को चुनावमा भन्दा २०५१ मा नतिजामा थोरै सुधार गरेको थियो ।  मध्यावधिमा कोशीका ३९ सिटमध्ये  कांग्रेसले  १४ वटा जितेको थियो । राप्रपाले भने यस क्षेत्रमा दुई सिट जितेको थियो । 

२०५६ सालमा कांग्रेसले एमालेको केही गढ भत्काएको थियो । त्यो चुनावमा कोशीका २० स्थान जितेर कांग्रेस पहिलो दल बनेको थियो । पार्टी विभाजनको असर पूर्वका केही जिल्ला पर्दा एमाले १७ स्थानमा खुम्चिएको थियो । राप्रपा र सद्भावनाले एक-एक स्थान जितेका थिए । 

पहिलो संविधानसभा चुनावमा बाहेक पूर्वी पहाडी जिल्लाहरू एमालेको गढका रूपमा रहदै आएको छ । २०६४ सालको पहिलो संविधानसभा चुनावमा सशस्त्र विद्रोह छाडेर भर्खर शान्तिपूर्ण राजनीतिमा आएको नेकपा (माओवादी)ले देशव्यापी लहर पैदा गर्दा कोशी क्षेत्रमा एमालेको वर्चस्व तोडिदिएको थियो ।  उक्त चुनावमा प्रत्यक्षतर्फ देशभरका २४० क्षेत्रमध्ये १२० स्थान जितेर पहिलो दल बनेको माओवादीले कोशी क्षेत्रका ४४ स्थानमध्ये २२ वटा जितेको थियो ।

यस्तै, एमाले ८  र नेपाली कांग्रेस ७  स्थानमा खुम्चिएका थिए भने मधेस आन्दोलनबाट उदाएको मधेसी जनअधिकार फोरमले मोरङ र सुनसरीका सात स्थान जितेको थियो । २०६४ को चुनावमा समानुपातिकतर्फ पनि ५२ वटा दललाई उछिन्दै माओवादी पहिलो दल बनेको थियो । समानुपातिकमा हाल कोशी प्रदेशमा पर्ने जिल्लाहरूमा खसेको कुल सदर मत १९ लाख ४३ हजार ६१९ मध्ये साढे २६ प्रतिशत मत (पाच लाख १४ हजार ७१९) माओवादीलेप्राप्त गरेको थियो । त्यस्तै, एमालेले चार लाख ६४ हजार ३०५ मत र तेस्रो स्थानमा कांग्रेसले चार लाख ५१ हजार २७ मत पाएको थियो । 

२०७० सालमा भएको दोस्रो संविधानसभा चुनावसम्म पुग्दा कोशीको मात्रै नभई मुलुकभरी नै पासा पल्टियो । एमाले र कांग्रेस कोशी क्षेत्रमा आफ्नो पुरानो पकड फर्काउन सफल भएको त्यो निर्वाचनमा प्रत्यक्ष निर्वाचनतर्फ यस क्षेत्रका ४४ स्थानमध्ये एमालेले २३ र कांग्रेसले १७ स्थान जितेका थिए । जातीय पहिचानको विषयमा विवाद हुँदा पहिलो संविधानसभा विघटन लगत्तै एमालेका जनजाति नेताहरूले पार्टी छाडेका थिए । जसमा अधिकांश पूर्वी पहाडका स्थापित नेताहरू थिए । अशोक राई, रकम चेम्जोङ, अजम्बर राईहरूले पार्टी छोड्दा एमालेलाई पूर्वमा ठूलो धक्का पुगेको थियो ।

पहिलो संविधानसभा चुनावमा कोशीका जिल्लाहरूका निर्वाचन क्षेत्रहरूमध्ये आधा जितेको माओवादी २०७० को चुनावमा जम्मा एक स्थानमा खुम्चियो । राप्रपा, मधेसी जनअधिकार फोरम, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले पनि यस क्षेत्रमा एक-एक स्थान जितेका थिए । 

नयाँ संविधान जारी भएपछि २०७४ सालमा भएको पहिलो चुनावमा एमाले र माओवादीबीच गठबन्धन भएको थियो । जसमा प्रत्यक्षतर्फ एमालेले कोशी क्षेत्रका १७ स्थान जितेको थियो । गठबन्धनको अर्को दल माओवादीले पाँच स्थान जितेको थियो । यस्तै, झापामा एमालेसँग चुनावी सहकार्य गरेको राप्रपाले पनि एक सिट सुरक्षित गरेको थियो । झापा क्षेत्र नम्बर ३ मा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाई पराजित गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका थिए । कांग्रेस भने पाँच स्थानमा खुम्चिएको थियो । 

२०७९ सालको चुनावमा कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)सहितका पाँच दलले गठबन्धन गरेका थिए । त्यति हुँदा पनि प्रतिनिधिसभा निर्वाचनमा कोशी प्रदेशमा एमालेले आफनो प्रभाव कायम राख्न सफल भएको थियो । एमालेले प्रत्यक्षतर्फ कोशीका २८ निर्वाचन क्षेत्रमध्ये १३ सहित देशभरमा ४४ स्थान जितेको थियो । यस्तै, कांग्रेस ९, माओवादी केन्द्र तीन तथा राप्रपा, जनता समाजवादी पार्टी र स्वतन्त्र  एक–एक स्थानमा विजयी भएका थिए । उक्त वर्षको प्रदेशसभा निर्वाचनमा त कोशीमा एमाले पहिलो दल बनेको थियो । ९३ सदस्यीय कोसी प्रदेशसभामा उसले ४० सिट जितेको थियो ।  

२०७९ को चुनावमा एमालेबाट सांसद निर्वाचित सुवास नेम्वाङको निधन भएपछि इलाम जिल्लामा १५ वैशाख २०८१ मा उपनिर्वाचन भएको थियो । त्यसमा पनि एमालेले आफ्नो स्थान जोगाएको थियो । जनजाति बहुल क्षेत्रमा त्यसबेला पहिचानवादीहरूले डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाए पनि पहिचानको राजनीतिको विपक्षमा रहेको एमालेका उम्मेदवार नै विजयी भए । त्यो चुनावमा सुवास नेम्वाङका छोरा सुहाङ निर्वाचित भएका थिए ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ सिट संख्या (प्रत्यक्षतर्फ २८) र मतदाताका आधारमा प्रदेशहरूमध्ये तेस्रो स्थानमा पर्ने भए पनि कोशी प्रदेश कांग्रेस र एमालेको राजनीतिको केन्द्रमा रहँदै आएको छ । २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि लामो समय शासन गरेका कांग्रेस र एमालेका अधिकांश नेता कोशी प्रदेशकै जिल्लाका छन् ।  

एमालेको नेतृत्वमा पुग्ने अधिकांश नेता यही प्रदेशबाट हुने गरेका छन् ।  सशस्त्र विद्रोहबाट माओवादी नेता पुष्पकमल दाहाल राष्ट्रिय राजनीतिमा नआउँदासम्म एमाले र कांग्रेसको दबदबा थियो । जसको केन्द्र थियो– झापा र मोरङ । 
राजनीतिक विश्लेषक केशव  दाहाल प्रशासनिक रूपमा देशको राजधानी काठमाडौं भए पनि राजनीतिको राजधानी भने कोशी प्रदेश रहेको बताउँछन् । ‘कांग्रेस र कम्युनिष्टको राजनीतिको केन्द्र कोशी हो,’ दाहाल भन्छन्, ‘कांग्रेसमा कोइराला परिवार र एमालेमा झापाको प्रभाव निकै थियो । एमालेको वैचारिक र संगठिन प्रादुर्भाव नै कोशीबाट भएको हो ।’ 

एमालेको जन्म कोशी क्षेत्रबाटै भएको हो । २०२८ सालमा झापाका युवाहरूको सानो समूहले वर्गशत्रु सखाप पर्ने भन्दै हिंसात्मक गतिविधि गरेका थिए, जसलाई झापा विद्रोह भनिन्छ । उक्त समूह पछि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारीहरूको कोअर्डिनेसन केन्द्र बन्यो । ११ पुस २०३४ मा नेकपा (माले) गठन भयो ।  पञ्चायतकालमा भूमिगत राजनीति गरेका एमाले विद्यार्थी र युवाहरूमा आफ्नो प्रभाव विस्तार गर्दै राष्ट्रिय शक्तिका रूपमा विकास भएको थियो । २०४८ सालको संसदीय चुनावसम्म एमालेको प्रभाव देशका अन्य भागको तुलनामा पूर्वी क्षेत्रमै बढी थियो ।  मोरङ सुनसरीमा कांग्रेसको प्रभाव बलियो देखिदै आएको छ ।

यस पटक कांग्रेस, एमाले, नेकपा, रास्वपा, राप्रपा, श्रम संस्कृति, उज्यालो नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायतका शक्तिहरू चुनावी मैदानमा छन् । यस पटकको निर्वाचनमा कोशीमा कांग्रेस, एमाले, नेकपाहरूकै वर्चस्व दोहोरिएला कि अरु कसैको ? यसका लागि फागुन २१ पर्खनुपर्नेछ ।

View : 212

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved