Biratnagar, Morang, Nepal
१० माघ २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

संघीयताको सफलता

वडावासीको आड र भरोसा बन्दैछ विराटनगरको वडा नम्बर १४

उद्‌घोष सम्वाददाता
१० माघ २०८१, बिहिवार

Advertisement

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष सूर्यनारायण महतो बिहान ११ बजेतिर जसै आफ्नो कार्यकक्षभित्र प्रवेश गरे, सेवाग्राहीको एउटा हुलले घेरिन पुगे । कसैको नागरिकताको सिफारिस गराउनु थियो, कसैको भुक्तानीको पत्रमा तोक लगाउनु थियो । 

एक जना सेवाग्राही उपचार सहयोगका लागि सिफारिश लिन आइपुगेका थिए भने अर्को एउटा समूह नै थियो, जसले टोलको बाटोको स्तरोन्नतिका लागि आफ्ना माग राख्नु थियो । 

‘तिमी पढ्दैछौ नानी ?’, नागरिकताको सिफारिश लिन आएकी एक जना किशोरीलाई वडाध्यक्ष महतोले सोधे । किशोरीले आफ्नै मातृभाषामा पढिरहेको जवाफ दिइन् । उनलाई हौस्याउँदै वडाध्यक्षले थपे ‘ल यसपालि पनि तिमीहरू जस्तै पढिरहेका छोरीहरूलाई हामी साइकल उपहार दिदैछौं । राम्रोसँग पढ्नू ।’ यति भनिसकेर उनले ती किशोरीको सिफारिशमा हस्ताक्षर गरेर उनलाई बिदा गरे । उज्यालो अनुहार बनाउँदै ती किशोरी नागरिकता पाउने आशामा त्यहाँबाट बाहिरिइन् । 

यसरी पाँच जना सेवाग्राही र एउटा समूहसँगको काम टुंग्याएपछि उनी उद्घोषसँग कुराकानी गर्न तयार भए । 

‘आज एक जना वडावासी विरामी भएर अस्पताल राखेका कारण उहाँलाई हेर्न गएको थिएँ, आइपुग्न अलि ढिलो भयो’, घडीले बिहानको ११ बजाउँदै गर्दा उनले भने ‘ढिलोमा पनि साढे दशमा यहाँ आइपुगेन भने मान्छेहरूको काम बिग्रिहाल्छ ।’ 

यति भन्दाभन्दै उनी फेरि सेवाग्राहीहरूबाट घेरिए । उनीहरूका समस्या सुन्नेदेखि सुझाव दिनेसम्मका कुराकानी सुनिरहँदा लाग्थ्यो महानगरका वडाध्यक्षहरू मन्त्रीभन्दा धेरै व्यस्त हुने रहेछन् । 

वडाध्यक्ष महतोको यो व्यस्तताले केवल एक जना जनप्रतिनिधिको समयको खपत मात्रै दर्शाउँथेन, त्यहाँ सेवा लिइरहेका नागरिकको सन्तुष्ट अनुहारले स्थानीय सरकारको उपादेयता पनि झल्काउँदै थियो । वडावासीहरू बीचबाटै चुनिएर आएका प्रतिनिधि भएकाले एकले अर्कालाई चिन्न पनि सकस थिएन । त्यसैले धेरैको काम सहजै गतिमा भइरहेको थियो । 

जतिबेला मुलुक संघीयता कार्यान्वयनको चरणमा थियो, त्यसबेला भनिन्थ्यो ‘अब गाउँ–गाउँमा सिंहदरबार ।’ संघीयता नरुचाउने एउटा समूहले यो नारालाई नराम्ररी उडायो । जब संघीयता कार्यान्यवन भएर यसका इकाइहरूले काम गर्न थाले, आलोचकहरू धेरैले संघीयताले दिन थालेको द्रुत सेवामार्फत उत्तर पाइसकेका छन् । 

विराटनगर महानगरपालिका वडा नम्बर १४ संघीयताको सफलता र अवसर चिहाउने एउटा झ्याल बन्न सक्छ । आउनुहोस्,  संघीय नेपालको  एउटा तल्लो इकाई अर्थात वडा सरकार र उसले गरेका कामहरू चिहाउँ, जसले जनतालाई घरदैलोमै पुगेर सेवा मात्रै दिइरहेको छैन, वडाको विकासका लागि अहोरात्र सशक्त पैरवी पनि गरिरहेको छ । वडावासी नागरिकलाई सेवासुविधा दिएर मात्रै नभई, जन्मदेखि मृत्युसम्म स्थानीय सरकार साथैमा रहेको सन्देश पनि दिइरहेको छ ।

यसले वडावासीलाई बलियो आड र भरोसा दिएर संघीय व्यवस्था बलियो तुल्याउन दर्बिलो जग हालिरहेको छ ।  

विराटनगर–१४ वासी नागरिकको अनुभवले पनि भन्छ, स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भएर यहाँसम्मको यात्रा तय गर्दा गाउँटोलमा स्थानीय सरकारको प्रत्यक्ष उपस्थिति देखिएको छ । 

‘केही समस्या पर्यो अथवा विकास निर्माणको केही माग गर्नुपर्यो भने वडाध्यक्षदेखि वडा सदस्यहरूसम्म सजिलै माग राख्न सकिएको छ, आफ्ना कुरा सुनाउन पाइएको छ’ स्थानीयवासी कारी मियाले भने ‘सिफारिश लिनेदेखि अरु सरकारी काममा पनि भन्झट छैन ।’

खेतीकिसानी गरेर जीविकोपार्जन गर्दै आएका कारी मिया र उनीजस्तै हजारौं वडावासीहरूको साझा अनुभव यही हो । स्रोत अभावको सकसले ठूला माग पूरा गर्न नसक्नु बेग्लै कुरा, अन्यथा कुनै बेला घरअघिको बाटोमा एक ट्रयाक्टर बालुवा खन्याइदिन आग्रह गर्दा पनि महिनौंसम्म मुद्दा सुनवाइ नहुने समस्या पूरापूर हटेको छ । एउटा सिफारिशका लागि दशतिर धाउँदै दुःख झेल्नुपर्ने सास्तीको अन्त्य भएको छ । 

‘हाम्रो मुख्य उद्देश्य नै वडावासी नागरिकलाई सकेसम्म छिटो–छरितो सेवा प्रदान गर्ने भन्ने रहेको छ’, वडाध्यक्ष सूर्यनारायण महतोले भने ‘सोही उद्देश्य प्राप्तिका लागि हामी जनप्रतिनिधिको टिम र कर्मचारी वर्ग सदैव सजग रहने गरेका छौं ।’ 

२०४९ मा मनोनित नगर सदस्य र २०५४ मा निर्वाचित वडा सदस्य बनेका महतो २०७९ को निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनको पाँच सदस्यीय जनप्रतिनिधि टिममा दिनाकुमार यादव, सम्तलीदेवी विश्वास, पुनमदेवी राम र वासुदेव शर्मा दुलाल छन् । 

‘योजना छनोट गर्नेदेखि, बजेट विनियोजन गर्नेसम्म, कुनै नयाँ योजना बनाउँदादेखि भएकै संरचनाहरूको सुधारका कुरामा पनि हामी जनप्रतिनिधिहरूबीच अहिलेसम्म कुनै बेमेल छैन’, वडा सदस्य पुनमदेवी रामले भनिन् ‘वडाध्यक्षसहित हामी सबै एकताबद्ध भएर वडाको विकास र वडावासीलाई राम्रो सेवा दिन तयार रहेर बसेका छौं ।’ 

शिक्षामा सुधार 

भनिन्छ, कुनै पनि ठाउँको वास्तविक अवस्था पत्ता लगाउने हो भने त्यहाँको शैक्षिक अवस्था नियाले पुग्छ । विराटनगर १४ ले पछिल्लो समयमा शिक्षामा सुधारका लागि जे जति प्रयास गरेर उपलब्धि हात पारेको छ, त्यो लोभलाग्दो अवस्थामा छ ।

कुल १३ हजार ९ सय जनसंख्या भएको यो वडामा एउटा माध्यमिक विद्यालय र दुई आधारभूतसहित तीन वटा सामुदायिक विद्यालय छन् । एउटा मदरसा पनि भएको वडामा तीन वटा संस्थागत र एउटा गुरुकुल मावि पनि छ ।

मुख्यतः यादव, नुनिया, राजवंशी, ठाकुर, केवट, धानुक, साह, ब्राह्मण, क्षेत्री, मगर, लिम्बू, ऋषिदेव, पासवान र राम समुदायको बसोबास रहेको वडाको सामाजिक बनावट मिश्रित छ । यहाँका यिनै नागरिकका सन्तानले पढ्ने सामुदायिक विद्यालयको अवस्था सुधारमा अहिलेको जनप्रतिनिधि टिमले कार्यभार सम्हाल्ने बित्तिकैदेखि ध्यान केन्द्रित गरेको छ । 

वडाध्यक्ष महतो र उनको टिमले २०७९ को निर्वाचनमा जित हात पारेर जिम्मेवारी सम्हानासाथ लिएको पहिलो कदम थियो, वडाको जनता बाल आधारभूत विद्यालयलाई अंग्रेजी माध्यम बनाउने । 

‘हामी आएको पहिलो वर्ष नै कक्षा ३ सम्म अंग्रेजी माध्यममा पढाइ सुरु गर्ने योजना कार्यान्वयन गर्यौं’, वडाध्यक्ष महतोले यसको औचित्य खुलाउँदै सुनाए ‘आर्थिक रुपमा सक्नेहरूले अंग्रेजी माध्यममा पढाइ हुने निजी विद्यालयतिर छोराछोरी पढाउँछन् । तर, सामुदायिकमा नानीहरू पठाउने अभिभावकको मनमा अंग्रेजी माध्यम पढाउन सकिएन भन्ने हिनभावना नआवोस् भनेर हामीले यो अभियान थाल्यौं । अहिले यसको परिणाम राम्रो भएको छ ।’  

जनता आधारभूत विद्यालयले दिएको जानकारीअनुसार दुई वर्षयता अंग्रेजी माध्यममा पढाइ थालेपछि स्कुलमा भर्नादर बढेको छ । विद्यार्थी र अभिभावकको आकर्षण बढेकै कारण यो सम्भव भएको विद्यालयको भनाइ छ । अहिले यो आधारभूत विद्यालयमा पढिरहेका ५ सयभन्दा बढी विद्यार्थीको संख्याले नै बताउँछ, वडाको योजनाको सुखद् परिणाम । 

‘हामी अन्य सामुदायिक विद्यालयमा पनि यस्तै योजना अघि सारेर कार्यान्वयन गर्ने चरणमा आइपुगेका छौं’, वडाध्यक्ष महतोले थपे ‘सकेसम्म वडाका सबै सामुदायिक विद्यालयलाई नमूना बनाउने प्रयासमा हुनेछौं ।’ 

गाउँटोलमा छोरीहरूले बीचैमा पढाइ छाड्ने क्रम चलेको दृश्यले अभिभावकसहित जनप्रतिनिधिहरूलाई पनि चिन्तित तुल्याएको थियो । यो क्रम अन्त्य गर्न वडाले छोरीहरूको शिक्षामा सघाउने योजना अघि सार्यो । 

‘हामीले जिम्मेवारी सम्हालेको पहिलो वर्ष कक्षा १० उत्तीर्ण गरेका छात्राहरूलाई १०–१० हजार नगद सहयोग उपलब्ध गरायौं’, वडाध्यक्ष महतोले भने ‘अर्को वर्ष सामुदायिक विद्यालय तह सकेर उच्च शिक्षा लिने ३२ जनालाई साइकल उपलब्ध गरायौं ।

यो कार्यक्रमलाई हामीले यसवर्ष पनि निरन्तरता दिएका छौं । यो पटक ५ जना स्नातक र १० जना ११ मा भर्ना हुने छात्राहरूलाई साइकल प्रदान गर्दैछौं ।’ वडाध्यक्ष महतोका अनुसार छोरीहरूको शैक्षिक स्तर उकास्न वडाले यस्तो योजना अघि सारेको हो । 

शिक्षाका लागि विद्यालयमा आकर्षित गर्न मात्रै होइन, शिक्षित युवाको भविष्य सुरक्षित पार्न पनि वडाले सहयोगी भूमिका निर्वाह गरिरहेको छ । सरकारी सेवामा जान चाहने युवाहरूलाई लक्षित गरेर वडाले लोकसेवा र शिक्षक सेवा आयोगको तयारी कक्षाहरू निःशुल्क प्रदान गर्दै आएको छ । यो सेवालाई यसपटक पनि वडाले निरन्तरता दिएको वडाध्यक्ष महतोले जानकारी थिए । 

विकास निर्माणलाई प्राथमिकता, सामाजिक सुरक्षामा जोड

विराटनगर महानगरको सबैभन्दा ठूलो वडा हो ४, त्यसपछिको ठूलो भूगोल रहेको वडा १४ नै हो । वडाले यो ठूलो भूगोललाई सीमित स्रोत र साधनले पुर्याउनुपर्ने बाध्यता रहेको बताएको छ । साना–ठूला गरी ३६ वटा टोल भएको वडामा हरेक टोललाई आवश्यकताका आधारमा समानुपातिक रुपमा बजेट विनियोजन गरिएको वडाको भनाइ छ ।

‘हामीले सुरुमै बर्खामा हिलोमुक्त सडक बनाउने अभियानलाई प्राथमिकता दियौं’, वडाध्यक्षले भने ‘त्यस्तै पानी जमेर दिने दुःखबाट वडावासीलाई छुटकारा दिलाउन पक्की नाला बनाउने काम पनि गर्यौं ।’ बाटो कालोपत्रे गर्नेदेखि सानो बाटाहरूमा आरसीसी ढलानसमेत गरिरहेको वडाले बाँकी सडकहरूलाई पनि धुलो र हिलोमुक्त तुल्याउने लक्ष्य लिएको छ । 

विराटनगर १४ ले वडावासीको स्वास्थ्य अवस्था सुधारका लागि पनि सक्दो पहल जारी राखेको छ । जसअनुसार पाठेघरको उपचार, निःशुल्क आँखा उपचार शिविरलगायतका स्वास्थ्य सेवा नियमित रुपमा प्रदान गरिरहेको छ । यसबाहेक वडामा रहेको एउटा स्वास्थ्य केन्द्रबाट वडावासीलाई नियमित स्वास्थ्य सेवा दिइरहेको वडाले यही वर्ष वडाका ५० जना पाका नागरिकको आँखाको निःशुल्क शल्यक्रिया गर्ने प्रबन्ध मिलाएको छ ।

१५ वटा मठमन्दिर, एउटा कविर आश्रम, ५ संघसंस्था सक्रिय रहेको वडामा कुल २७ सय ४८ घरपरिवारको बसोबास छ । नागरिक सुरक्षाका लागि पनि वडाले काम गरिरहेको छ । 

‘हामीले वडाका १२ ठाउँमा सीसी क्यामेरा राखिसकेका छौं’, वडाकी सचिव पृथ्वीकुमारी बस्नेतले भनिन् ‘१२ वटै ठाउँमा वडाले निःशुल्क वाइफाइको प्रबन्ध पनि गरेको छ । ६० स्थानमा फलैंचा निर्माण भइसकेको छ ।’ वडा सचिव बस्नेत जनप्रतिनिधिहरूको एकताबद्ध प्रयासमा कर्मचारी प्रशासनले पनि उत्साही बनेर काम गरिरहेको बताउँछिन् । 

खेलकुदलाई प्रोत्साहन 

विराटनगर १४ को जतुवा अनेकौं कारणले चिनिएको ठाउँ हो । यो ठाउँलाई चिनाउने पछिल्लो सेलिब्रेटी खेलाडी हुन् क्रिकेटर ललित राजवंशी । जतुवाको धुले मैदानबाट क्रिकेट सिकेर अहिले राष्ट्रिय टोलीको महत्वपूर्ण सदस्य बनिसकेका ललितलाई वडाले ५० हजार नगदसहित सम्मान गरिसकेको छ ।

ललित जस्तै प्रतिभाहरूको खोजीका लागि र स्थानीय खेलाडीहरूको क्षमता तिखार्नका लागि दुई वर्षयता विराटनगर १४ ले हरेक वर्ष जतुवा प्रिमियर लिग क्रिकेट आयोजना गरिरहेको छ । यसबाहेक मदन भण्डारी स्पोर्टस् एकाडेमीको सहयोगमा जिल्लास्तरीय कवड्डी प्रतियोगितासमेत वडाले आयोजना गरिसकेको छ । 

‘हामी हाम्रो वडाका बालबालिकाहरूको शैक्षिकसहित सम्पूर्ण पाटोको उन्नति चाहन्छौं, आजका बालबालिका नै हाम्रो भविष्य हुन्’, वडाध्यक्ष महतोको दृढता छ ‘हामी उनीहरूलाई क्रिकेट, फुटबल लगायत उनीहरूका रुचिको खेदकुदका विषयमा सहयोग र समन्वय गरिरहेका छौं । यसको दायरा अझै फराकिलो पार्ने तयारीमा छौं ।’ 

कृषि क्षेत्रको सकस 

सीमित स्रोत साधन तर असीमित आवश्यकता, वडाको सबैभन्दा ठूलो बाध्यता रहेको बताउने वडाध्यक्ष महतो नलुकाइ भन्छन् ‘हाम्रो वडाको जनसंख्याको सबैभन्दा ठूलो हिस्सा नै किसानको छ । तर, स्रोतको सीमितताले भने जसरी अझै किसानलाई सहयोग गर्न पाइएको छैन ।’

त्यसो त वडाले अहिलेसम्म किसानलाई सकेसम्म सहुलियत दिने, विभिन्न किसिमका तालिमहरू प्रदान गर्ने कार्य गर्दै आएको छ । च्याउखेती तालिम दिएको वडाले तालिम लिएकाहरूलाई जीविकाको बलियो आधार तयार पारिदिएको छ । 

‘यसपटकदेखि हामीले किसानलाई जसरी पनि अनुदानमा डिप बोरिङ दिने, त्यो प्रयोग गर्दा लाग्ने विद्युत महसुलमा छुट दिने अनि मलबीऊ तथा मलखादमा पनि सहयोग गर्ने योजना लागू गर्ने सोचमा छौं’, वडाका जनप्रतिनिधिहरूको एकै स्वर छ ‘हामी प्रयासमा छौं, हेरौं कति सफल हुन्छौं ।’

मन्ठापोखरी, रानीमाई पोखरी लगायतका पर्यटकीय स्थलसमेत रहेको वडालाई आफूहरूको कार्यकालमा उदाहरणीय बनाउने प्रतिबद्धता जनप्रतिनिधिहरूको छ । 

‘हामी वडावासीलाई सेवा सुविधा छरितो रुपमा प्रदान गर्न र वडालाई सबै दृष्टिले बलियो बनाउने प्रयासमा छौं’, वडाध्यक्ष महतोले भने ‘यसका लागि हामी आम वडावासीको साथ लिएर अघि बढ्नेछौं । वडाहरू बलियो भए देश र व्यवस्था बलियो हुने कुरामा हामी प्रष्ट र विश्वस्त पनि छौं ।’

View : 116

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved