Biratnagar, Morang, Nepal
५ असोज २०८१, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

खस्किँदो अर्थतन्त्रको असरले उधारो कारोबारको चुनौती, उद्योगी व्यवसायीले सुरु गरे कानुन बनाउन लविङ

बाबुराम भण्डारी
१० माघ २०८०, बुधवार

Advertisement

विराटनगर । मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले ठोस प्रयास नगर्दा औद्योगिक व्यवसायिक क्षेत्रको अधिकांश लेनदेन कारोबार उधारो चलाउनु पर्ने बाध्यता बनेको छ । उधारो कारोबार निजी क्षेत्रका लागि नयाँ चुनौतिका रूपमा देखिएको छ । उद्योग व्यवसाय सम्वद्ध संघ संगठनहरू अहिले उद्योगी– व्यवसायीबीचकै उधारो कारोबारले निम्त्याएको समस्या व्यवस्थापनका लागि दिनहुँ जसो छलफलमा समय खर्चिन बाध्य भएको गुनासो गर्न थालेका छन् । 

सम्वद्ध उद्योगी व्यवसायीको हित र सदस्यहरूको क्षमता विकासमा केन्द्रित हुनुपर्ने जिल्ला तथा नगर उद्योग बाणिज्य संघका पदाधिकारीहरूले उद्योगी व्यवसायी बीचकै व्यवसायिक लेनदेन कारोबार मिलाउनमा दिनहुँ समय खर्चिनु परेको गुनासो गरेका छन् । उधारो कारोबारको समस्या बढेका कारण उद्योग संगठन मोरङले जिल्ला/नगर उद्योग वाणिज्य संघहरूसँग साझा पहलको प्रयास थालेको छ ।

‘उधारो समयमै तिरौं, व्यापारिक सद्भाव कायम राखौं’ भन्ने नारा नै तय गरेर संगठनले उधारो कारोबार व्यवस्थापनका लागि जिल्ला नगर संघहरूसँग सहकार्य सुरू गरेको हो । मंगलबार मोरङको विराटचोकमा आयोजित भेलामा उपस्थित भएका १० वटा जिल्ला नगर उद्योग बाणिज्य संघका अध्यक्षहरूले ६ बुँदे समझदारी नै गरेका हुन् । 

उनीहरूले तत्कालै उधारो कारोवारको नियमनका लागि स्पष्ट कानुनी व्यवस्था गर्न नेपाल सरकारसँग सामुहिक पहल गर्ने समझदारी गरेका हुन् । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले निजी क्षेत्रलाई माथि उठाउन सरकारी प्रयास नभएका कारण उद्योगी र व्यापारमा जोडिएका व्यवसायीहरू बीचकै कारोबारमा उधारो जोखिम बढेको बताए । 

उनले अधिकांशले व्यवसायीहरूले उधारो तिर्नै नसकेर नतिरेको र केहीले भने तिर्नै नचाहेर पनि उधारो नतिरेको दाबी गरे । जसका कारण अहिलेसम्म राम्रो व्यवसायिक कारोबारको छवि बनाएका उद्योगी व्यवसायीहरूलाई पनि अप्ठेरो परेको बताए । 

‘धेरैले तिर्न नसक्ने भएरै उधारो तिरेका छैनन्, केहीले चैं नचाहेर पनि तिर्दैनन्’ सुरानाले भने, ‘ अव फेयर बिज्नेश गर्नेलाई समेत अप्ठेरो पर्‍यो, व्यवसायिक वातावरण बिग्रिन थाल्यो, अब सामुहिक पहल गरौं भनेर छलफल सुरूवात गरेका छौं ।’ 
मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले उपझोक्तामा त्रयशक्ति घटेका कारण उत्पादित वस्तुको बिक्री हुन छाडेको बताए । जसका कारण उद्योगहरूले आफ्नो उत्पादन क्षमतालाई घटाउनु परेको र विस्तारै उद्योग नै बन्द गर्नुपर्ने अवस्था बन्दै गएको बताए । 

‘अर्थतन्त्र नाजुक अवस्थामा छ, भाडा तिर्न नसकेर सटरहरू बन्द हुँदैछन्, उपभोक्ताहरू दिनैपिच्छे विदेश उड्दैछन्’ रिजालले भने ‘यो समस्या एकै दिनबाट सुरू भएको होइन, तरपनि अब हरेक व्यवसायिक कारोबार स्वच्छ रूपमा हुन्छ भन्ने कुराको विश्वास हट्दैछ, अलिअलि बचेको नाफाको ९० प्रतिशत रकम बैंकको ब्याजमै सकिन्छ ।’ 

उनले भ्याट बिललाई नै कारोबारको अन्तिम तमसुक सरह मान्यता दिन सके उधारो कारोबारमा देखिएको चुनौति केही हदसम्म समाधान हुने बताए । 

इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले आर्थिक मन्दीका कारण उधारो कारोबारको समस्या जर्जर भएर आएको बताए । उनले व्यापारी–व्यापारीकै उधारो कारोबारले अहिले संघको कार्यालयहरूमा दैनिक छलफल गर्नुपर्ने अवस्था उत्पन्न भएको बताए । उनले दुर्गा प्रसाँईले ऋणको साँवा ब्याज तिर्नु पर्दैन भनेर चलाएको हल्लाको असर उधारो कारोबारमा समेत परेको दाबी गरे । 

‘अब त उधारो पनि तिर्नुपर्दैन जस्तो बुझाई बन्दै गएको छ, व्यापारी–व्यापारीकै चेक नसटेर समस्या बढ्दै गएको छ’ पराजुलीले भने, ‘संघको कार्यालयमा दैनिक छलफल गराउनु परेको छ, यो हाम्रो लागि नयाँ समस्या थपिएको छ ।’ 
विराट व्यापार संघका अध्यक्ष नरेश खत्रीले उधारो व्यवस्थापनमा उद्योगी व्यवसायीहरू आफैं समेत जिम्मेवार हुनुपर्ने बताए । सुन्दरहरैंचा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजालले उधारोमा सामान बिक्री गर्न चलेको होडबाजीका कारण कारोबारमा समस्या भएको दाबी गरे । 

उनले कुनैपनि वस्तु बिक्रीका लागि सम्बन्धित कम्फनीहरूले विक्रेतालाई लक्ष्य तोकेर दिने र वित्रेताले पनि उधारोमै भएपनि सामान बिक्री गर्न खोज्ने प्रबृत्ति अन्त्य हुनुपर्ने सुझाव दिए । उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारीले उधारो व्यवस्थापनका लागि निजी क्षेत्रको नेतृत्व गर्ने नेतृत्वकर्ताहरूले अग्रसरता लिएर कानुनी व्यवस्थाका लागि पहल गर्नुपर्नेमा जोड दिए । 

त्यसका लागि सम्वद्ध संघ संगठनहरूमा पनि एकताको भावना आवश्यक रहेको बताए । इनरूवा उद्योग बाणिज्य संघका अध्यक्ष वीरेन्द्र साहले उद्योग बाणिज्य महासंघ ठूला उद्योगी व्यवसायीहरूको संस्था जस्तै मात्रै भएकोले नगर जिल्ला तहका उद्योगी व्यवसायीहरूको समस्या समाधान हुन नसकेको बताए । उनले उधारोको समस्या पनि ठूला उद्योगीहरूकै कारण उत्पन्न भएको बताए । 

दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाँईले उधारो व्यवस्थापनको समस्याले जिल्ला तथा नगर उद्योग बाणिज्य संघहरूलाई समस्या थपिएको बताए । उनले सवै व्यवसायीहरूले उधारो व्यवस्थापनका लागि पहल गर्नुपर्ने बताए । 
अटो व्यवसायमा ८० प्रतिशतसम्म व्यापार खस्किएको अवस्थामा कम्पनीहरूले उधारोमा भएपनि बिक्री गर्न दवाव दिने गरेको बताए । 

उधारो उठाउन कानुनी रूपमा जाँदा थप आर्थिक क्षति हुने र समय पनि लाग्ने भएकोले सवै संघ महासंघ मिलेर समस्याको समाधान खोज्नुपर्ने र राज्यलाई उधारो व्यवस्था सम्बन्धी नीतिगत व्यवस्था गर्न दवाव दिनुपर्ने बताए । 

भेलामा सहभागी जिल्ला नगर उद्योग बाणिज्य संघका अध्यक्षहरूले उधारो व्यवस्थापनका लागि हस्ताक्षर गरेको सामुहिक पहलमा राजस्व सम्वन्धी विवादको समाधानका लागि राजस्व न्यायाधिकरण, बैंकहरूको ऋण असुलीका लागि ऋण असुली न्यायाधिकरण जस्ता निकायहरू रहेता पनि उधारो उठाउने सम्वन्धमा अहिलेसम्म कुनै न्यायिक निकाय नभएको भन्दै त्यसका लागि कानुनी व्यवस्था गर्न सरकारसँग पहल गर्ने सहमति गरेका छन् ।

View : 203

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved