Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

खोज्दैछ व्यापार संघ– बजेटपछि गुमाएको अवसर

उद्घोष सम्वाददाता
२७ जेठ २०८१, आइतवार

विराटनगर । मोरङ उद्योग व्यापार संघको नयाँ नेतृत्व फेरिएसँग संघले नयाँ अभ्यास सुरु गरेको छ । यसअघि बजेट पूर्वको छलफलमा मात्र सीमित भएको संघले यस पटक बजेटपछिको छलफल पनि गरेको छ । 

मोरङ उद्योग व्यापार संघले संघीय सरकारको बजेट वक्तव्यपछि ‘बजेटपछिको चुनौती र गुमाएका अवसरहरू’ विषयमा शुक्रबार छलफलको आयोजना गरेको हो । उक्त छलफलका लागि सहजकर्तासहित तीन जना विज्ञहरूलाई संघले राजधानी काठमाडौंबाट झिकाएको थियो । चार जनाको प्यानल डिस्कसनमा एक जना स्थानीय उद्योगीको प्रतिनिधिका रुपमा संघका पूर्वअध्यक्षसमेत रहेको महेश जाजू थिए । त्यस्तै अन्य विज्ञहरूमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे र अर्थविद् डा. गोपीलाल न्यौपाने थिए । उनीहरूले नेपाली अर्थतन्त्रका अवस्था र बजेटले पारेको प्रभावका विषयमा फरक–फरक धारणा राखेका थिए । 

छलफलका क्रममा पूर्वअर्थमन्त्री समेत रहेका एमालेका सुरेन्द्र पाण्डेले सामाजिक सुरक्षालगायतमा भएको राज्यको खर्च लोकतन्त्रको मूल्य भएको जिकिर गरे । सामाजिक सुरक्षाका नाममा प्रवाह गरिएको भत्ताले समाजमा हुन सक्ने सम्भावित असन्तुष्टिलाई सम्बोधन गरेको उनले दलिल पेश गरे । अर्थविद् डा. गोपीलाल न्यौपानेले भने सामाजिक सुरक्षालगायतका नाममा गरिएको खर्च अनुत्पादक रहेको दावी गरे । उनले त्यसलाई खारेज गर्नुपर्ने राय प्रकट गरे ।

कांग्रेस महामन्त्री गगन थापाले सरकारले यस पटक ल्याएको बजेटमा सन्तोष गर्ने ठाउँ नभएको बताए । उनले यसअघि कांग्रेसका अर्थमन्त्रीले भनेजस्तो बजेट ल्याउन नदिएको गुनासो गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटक के गर्छन् आफूहरूले केही समय धैर्य गरेर हेर्ने बताए । 

उनले सत्तापक्षको बहुमतका आधारमा बजेटमा जे लेखे पनि पारित हुन्छ भन्ने मानसिकताले बजेट आयो पनि उल्लेख गरे । ‘बजेटमा आर्थिक वृद्धिदर र राजस्व संकलनका लक्ष्य सबै हावादारी छन्,’ थापाले भने, ‘बजेट पूरै हावादारी छ ।’ भ्याट छुटको सूची घटाउँदै जानुपर्नेमा बजेट उल्टो बाटो हिंडेको उनको आरोप छ । 

यस्तै एमाले नेता तथा पूर्वअर्थमन्त्री पाण्डेले केही वर्षदेखि घाटा बजेट आउन थालेको र आउँदैमा मुलुक ध्वस्त नहुने बताए । संसारका प्रायः मुलुकले घाटा बजेट ल्याउने गरेको उल्लेख गर्दै पाण्डेले घाटा बजेट ल्याए पनि ती मुलुकले आर्थिक वृद्धि गरेको दाबी गरे ।

‘अनुदान र राजस्वको दायराबाहिरबाट बजेट ल्याएपछि घाटा स्वतः हुन्छ । यसरी आउने बजेटलाई संसद्ले स्वीकृति दिदै आएको छ,’ पाण्डेले भने, ‘घाटा बजेट आउनेबित्तिकै नोक्सान भइहाल्छ भन्ने होइन । ऋण लिएर केमा लगानी गर्ने भन्ने पक्ष महत्वपूर्ण हो ।’ उत्पादनशील क्षेत्रमा लगानी गर्दा मुलुक धनी हुने र अनुत्पादक क्षेत्रमा लगानी गरे मुलुक गरिब हुने उनको भनाइ छ ।

अर्थविद् न्यौपानेले भने लाख रुपैयाँ आम्दानी गरेर डेढ लाख खर्च गर्ने स्थितिको बजेट नै घाटा बजेट भएको दाबी गरे । बजेटको राजस्व असुली र वैदेशिक सहायता लक्ष्य उदेकलाग्दो भएको उनले जनाए । ‘अघिल्लो वर्ष राजस्व असुली भएको आधार मानेर त्यसको लक्ष्य तोक्नुपर्थ्यो,’ न्यौपानेले भने, ‘करमाथि कर थपेर उद्योगी, व्यापारी र सर्वसाधारणलाई धराशायी बनाउने बजेटले सर्वत्र निराशा छाएको छ ।’

यस्तै उद्योगी एवं मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष महेश जाजूले ठूलो आकारको बजेट राम्रो हुन्छ भन्ने परम्परागत धारणाले बजेट आएकाले राजस्व असुली लक्ष्य पूरा हुन नसक्ने बताए । ‘गत वर्ष पनि सरकार लक्ष्यअनुसारको राजस्व असुली गर्न असफल रह्यो,’ उनले भने, ‘यसपालि झन् राजस्व असुली लक्ष्य बढाइएको छ, त्यो पूरा हुने सम्भव छैन ।’

छलफलमा बजेटले स्पन्ज आइरन, स्क्राबलगायत कच्चापदार्थमा गरिएको करवृद्धिले स्टिल उद्योगमा गरिएको अर्बौं रुपैयाँ जोखिममा परेको मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले गुनासो गरे ।

स्पन्ज आइरनमा कम्तीमा एक तहको भन्सार सुविधा नदिएसम्म स्टिल उद्योगले मेल्टिङ प्लान्ट सञ्चालन गर्न सक्ने स्थिति नरहेको उनको भनाइ थियो । छलफलमा अन्य उद्योगी व्यवसायीले पनि आ–आफ्ना क्षेत्रका समस्याहरू राखेका थिए ।

View : 121

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved