Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

एक अकल्पनीय जासुसी कथा

सुन्दरीको खेलमा तेहरानमा विध्वङ्श

उनीहरूले आफूलाई क्याथरिन मेडमले सरकारको आदेश छ भनेर जानकारी गराएपछि गोप्य ढङ्गले ड्रोन निर्माणमा जुटेको बताएका थिए । इरानकै प्राविधिक, इरानकै उपकरण लिएर इरानमाथि नै आक्रमण गरी ध्वस्त पार्ने उक्त कार्यलाई इजरायलले ‘अपरेसन ब्ल्याक अपरेशन’ नाम दिएको थियो । किनकि, ती सुन्दरी महिला प्रायः कालो पोशाकमै देखिन्थिन् ।
प्रभाषचन्द्र झा
१३ असार २०८२, शुक्रवार

इरान र इजरायलबीचको १२ दिने भीषण युद्ध अन्ततः युद्धविराममा परिणत भएको छ, जुन विश्व समुदायका लागि सुखद सन्देश हो । यदि यो युद्ध नरोकिएको भए, यसले तेस्रो विश्वयुद्धको भयावह रूप लिन सक्ने खतरा टड्कारो थियो । युक्रेन–रुस युद्ध चार वर्षदेखि जारी रहँदा र भारत–पाकिस्तानबीचको अघोषित युद्ध चार दिनमै युद्धविराममा परिणत भएको इतिहास साक्षी छ कि युद्धले सधैं विनाश मात्रै निम्त्याउँछ । जे भए पनि, मध्यपूर्वका यी दुई देशबीच तत्काल शान्ति स्थापना हुनु सकारात्मक कदम हो । यद्यपि, मध्यपूर्वमा स्थायी शान्तिका लागि इजरायल र हमासबीच पनि दिगो युद्धविराम हुनु अपरिहार्य छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले असार १० गते बिहानै आफ्ना ट्वीटमार्फत युद्धविरामको जानकारी दिएका थिए । तर, त्यसको दुई घण्टापछि इरानले युद्धविराम नभएको भन्दै इजरायलको बसिरा शहरमा क्षेप्यास्त्र आक्रमण गरेको थियो । अन्ततः कतारको मध्यस्थता र इजरायलमाथि अमेरिकाको कूटनीतिक दबाबपछि मात्रै युद्धविराम सम्भव भएको देखिन्छ ।

यो युद्ध नरोकिएको भए विश्वभर पेट्रोलियम पदार्थको उत्पादन र वितरणमा गम्भीर असर पर्ने थियो, जसले मूल्य आकासिने तथा वस्तु एवं खाद्य पदार्थको मूल्य अप्रत्याशित रूपमा वृद्धि भई समग्र विश्व व्यापारमा असन्तुलन उत्पन्न हुने खतरा थियो । विश्वको ठूलो परिमाणको तेल उत्पादक राष्ट्र मध्यपूर्वमै पर्छन्, र इरान पनि यसै क्षेत्रको महत्वपूर्ण कच्चा तेल र प्राकृतिक ग्यास उत्पादक देश हो ।

मध्यपूर्वको भूराजनीतिक अस्थिरता  : ऐतिहासिक पृष्ठभूमि र निरन्तर द्वन्द्व

प्रथम विश्वयुद्धको अन्त्यपछि सन् १९२० मा करिब सात सय वर्ष पुरानो ओटोमन साम्राज्यको विघटन भयो । त्यसपछि मध्यपूर्वमा जुन किसिमले अस्थिरता सुरु भयो, त्यो कुनै न कुनै रूपमा अहिलेसम्म कायमै छ । टर्की, जोर्डन, लेबनान, सिरिया, इजरायल र प्यालेस्टाइनको भूभाग ओटोमन साम्राज्यकै हिस्सा थियो । त्यसबेला न प्यालेस्टाइन थियो न त इजरायल नै ।

विगत आठ दशकदेखि मध्यपूर्वले अनगिन्ती युद्ध र द्वन्द्वहरू भोगेको छ । यी युद्धहरूमा लाखौं व्यक्तिको ज्यान गएको छ । पछिल्लो समय हमासमाथि इजरायलको आक्रमणमा विगत डेढ वर्षको अवधिमा ५० हजारभन्दा बढी मानिस मारिएका छन् । लेबनानको हिजबुल्लाह र यमनका हुती विद्रोही समूहले पनि बेलाबेलामा छिमेकी मुलुक इजरायलमाथि आक्रमण र प्रतिआक्रमण गर्दै आएका छन् ।

यहूदीहरूले सन् १९४८ मा आफूले ओगटेको भूमिमा इजरायल नामक देशको स्थापना गरेपछि, त्यसलाई आफ्नो पैतृक भूमि दाबी गर्दै आएका छन् । त्यसलगत्तै इजरायलका छिमेकी मुलुकहरू मिश्र, जोर्डन, सिरियाका साथै इराक मिलेर एकैपटक आक्रमण गरेका थिए । यो नै पहिलो अरब–इजरायल युद्ध थियो ।

त्यसपछि, सन् १९६७ मा पुनः अरब–इजरायलबीच छ दिनसम्म युद्ध चल्यो, जसलाई ‘छ दिने युद्ध’ भनिन्छ । सन् १९७३ मा मिश्र र सिरियाले इजरायलविरुद्ध ‘योम किप्पुर युद्ध’ सुरु गरे । यी सबै लडाइँमा इजरायलको जित भयो ।

यसरी हेर्दा, इजरायल सन् १९४८ देखि निरन्तर रूपमा युद्धमा होमिएको देखिन्छ । पछिल्लोपटक इरानसँगको युद्धमा दुवै मुलुकले क्षेप्यास्त्र र ड्रोनको व्यापक प्रयोग गरे । करिब दुई हजार किलोमिटर टाढा रहेका यी दुई देशबीच आकासे युद्ध भयो ।

इजरायलको पक्षमा नवौं दिन जेठ ७ गते अमेरिकाले इरानको तीन ठाउँमा अवस्थित परमाणुबम निर्माण केन्द्रमा अति शक्तिशाली बी–२ बमवर्षक विमानबाट बस्टर बम खसालेको थियो । यो बम सतहलाई चिर्दै ६० मिटर मुनि पुगेर विस्फोट हुने क्षमता राख्छ । अमेरिकाले ती परमाणुबम निर्माणस्थलहरू ध्वस्त गरेको दाबी गरेको छ । त्यसको जवाफमा तेस्रो दिन इरानले कतारस्थित अमेरिकन सैन्य शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको थियो ।

युद्धको मूल कारण : परमाणु महत्वाकांक्षा र प्रतिशोध

इरानमाथि इजरायलको पछिल्लो आक्रमणका मुख्य दुई कारण देखिन्छन् । पहिलो, अमेरिका र इजरायलले इरानको परमाणुबम निर्माण कार्यक्रमलाई असफल पार्नु थियो । दोस्रो, इरानसँग इजरायललाई प्रतिशोध साध्नु थियो ।

विश्वमा नौ वटा मुलुक परमाणु अस्त्रले सुसज्जित छन् । इरानले रुस र चीनलाई घनिष्ठ मित्र तथा अमेरिका र इजरायललाई कट्टर शत्रु ठान्छ । इरानको सोचाइ के देखिन्छ भने, यदि ऊ परमाणुबम निर्माण गर्न सफल भयो भने मध्यपूर्वमा अमेरिकाको प्रभाव निस्तेज हुनेछ र मुस्लिम राष्ट्रहरूमा आफ्नो प्रभुत्व स्थापित हुनेछ ।

विश्वका ५७ राष्ट्रमा मुस्लिमको बाहुल्यता छ, जसमध्ये मध्यपूर्वमा १७ राष्ट्र पर्छन् । मध्यपूर्वका राष्ट्रहरूमध्ये इरान मात्र शिया मुस्लिम बाहुल्य राष्ट्र हो ।

सन् २०२३ अक्टोबर ७ मा हमासले अप्रत्याशित रूपमा इजरायलभित्र प्रवेश गरी आक्रमण गरेको थियो । त्यस क्रममा इजरायलका १ हजार २०० भन्दा बढी व्यक्ति मारिएका थिए, जसमा १० जना नेपाली पनि सामेल थिए । हमासले एक नेपालीसहित २०० भन्दा बढीको अपहरण गरेको थियो । सो घटनापछि हमासविरुद्ध इजरायलको आक्रमण अहिलेसम्म जारी छ ।

इरानका धार्मिक नेता आयातुल्ला रोहल्ला खुमेनीले यहूदीहरूले प्यालेस्टाइनको भूमि कब्जा गरेकाले उनीहरूलाई जुनसुकै हालतमा त्यहा“बाट धपाउने धम्की पटक पटक दिएका छन् ।

इजरायल र हमासबीच युद्ध चरम अवस्थामा रहेको बेला एक वर्षअघि इरानले पनि अप्रत्याशित रूपमा ब्यालेस्टिक क्षेप्यास्त्रले आक्रमण गरेको थियो । इजरायलको राजधानी तेलअबिबलगायत विभिन्न शहरमा १८१ वटा क्षेप्यास्त्र आक्रमणले गर्दा एक दर्जनभन्दा बढी व्यक्ति मारिएका थिए ।

इजरायलले सो आक्रमणको २३औं दिन इरानमाथि १०० भन्दा बढी लडाकु विमानमार्फत बम प्रहार गरी प्रतिशोध साधेको थियो ।

यसका साथै, इरानको सहयोग पाएका इजरायलको उत्तरी छिमेकी देश लेबनानमा रहेका हिजबुल्लाह लडाकु सङ्गठन (शिया मुस्लिम सैन्य सङ्गठन) र यमनमा रहेका हुती लडाकु सङ्गठनले दर्जनौं पटक इजरायलमाथि रकेट र क्षेप्यास्त्रबाट प्रहार गरेका थिए । इरानले आफूमाथि आक्रमण गराउनका लागि यी समूहहरूलाई अस्त्रशस्त्रका साथै सैन्य तालिमसमेत दिने गरेको देखेर इजरायलले इरानमाथि आक्रमण गरी आफ्नो शक्ति प्रदर्शन गरेको मानिन्छ ।

सुन्दरीको जालमा इरानी सैन्य अधिकारी ; एक अकल्पनीय जासुसी कथा

युद्ध केवल सैन्य शक्तिले मात्रै जितिंदैन । शत्रुमाथि आक्रमण गर्ने उचित समय, शत्रुको कमजोरीबारे सटिक जानकारी र ठोस रणनीति हुनु आवश्यक हुन्छ । इजरायलको गुप्तचर संस्था मोसादले यस्ता सटिक जानकारी उपलब्ध गराउन र शत्रु राष्ट्रमा सञ्जाल फैलाउन माहिर मानिन्छ ।

करिब दुई वर्षअघि इजरायलले इरानमाथि आक्रमण गर्ने निर्णयमा पुगेको देखिन्छ । यसका लागि इजरायलले आफ्ना जासुसी संस्था मोसादमार्फत इरानको शक्ति र कमजोरीबारे जानकारी लिन इरानभित्र सक्रियता बढायो । मोसादले योजनाबद्ध ढङ्गले ठोस रणनीतिका साथ जासुसी गर्न दुई वर्षअघि एक फ्रान्सेली महिलालाई इरानको राजधानी तेहरानमा खटाएका थिए । ती महिलाले आफ्नी रङ्गरूपको जालमा इरानका उच्च सैनिक अधिकारीलाई यसरी फसाइन कि उम्कने अवसर दिइनन् । उनको सुन्दरता र वाकपटुताको चक्रव्यूहमा फसेर इरान त हल्लियो नै, विश्व जगत नै अचम्भित भयो । ती सुन्दरी फ्रान्सेली मूलकी क्याथरिन पेरेज शेकड हुन् ।

मोसादको योजनाअनुसार, फ्रान्सबाट उनी तेहरान पुगिन् । आफू इसाई धर्म परित्याग गरी मुस्लिम धर्म अपनाउने चाहना व्यक्त गरिन् । उनले आफूलाई शिया समुदाय मन परेकाले नै इरान आएको बताइन् । एक त फ्रेन्च महिला, त्यसमाथि शिक्षित एवं अति सुन्दरी, धर्म परिवर्तन गर्न खोजेको सुनेर उनलाई सम्मानसहित विधिवत धर्म परिवर्तन गराएर मुस्लिम बनाइयो ।

त्यसपछि, आफ्नो योजनालाई मूर्त रूप दिन उनी इरानी सेनाका एक उच्च पदाधिकारीकी पत्नीसँग मित्रता गर्छिन् । मित्रता प्रगाढ भएपछि क्रमिक रूपमा उनीहरूका घर पुगेर ‘को कहा“ सुत्छन्’ भन्ने जानकारी प्राप्त गर्छिन् । त्यसपछि, उनी ती महिलाका सैनिक पतिस“ग हिमचिम बढाउँदै खाटसम्म पुग्छिन् ।

उनको मोबाइल डेटा चोरी गर्छिन् । सेनाका चार–पाँच अधिकारीलाई विश्वासमा लिएपछि ती सुन्दरीले इरानलाई अझ सशक्त बनाउनका लागि अतिआधुनिक ड्रोन निर्माण गर्नुपर्छ भनेर योजना सुनाउ“छिन् । ती महिलाको बोल्ने शैली र सुन्दरतामा डुबेका सेनाका उच्च अधिकारीहरूले ड्रोन निर्माणका लागि उपकरणलगायतका व्यवस्था मिलाउँछन् ।

इरानको राजधानी तेहरान शहरको बीच भागमा एउटा दुईतले घर भाडामा लिएर विधिवत रूपमा रक्षा मन्त्रालयको बोर्ड झुण्ड्याइन्छ । इरानकै इन्जिनियरलगायत कर्मचारी बहाल हुन्छन् । उनीहरूलाई मासिक तलब र परिचयपत्र पनि उपलब्ध गराइन्छ ।

सयौंको संख्यामा ड्रोन निर्माण कार्य सम्पन्न भएपछि, जेठ ३० गते मध्यरातमा तेहरानको सो निर्माण भवनबाटै सेनाका उच्च अधिकारीहरू सुतेकै ठाउ“मा ड्रोनको आक्रमण हुन्छ । सात जना उच्च अधिकारी मारिन्छन् । सोही दिन आकाशबाट इजरायलले विभिन्न सैन्य शिविर र परमाणुबम निर्माणस्थलहरूमा आक्रमण गर्दा १० जना वैज्ञानिक मारिन्छन् ।

तेहरानबाट नै ड्रोन आक्रमण भएको खबरले इरानी सरकार हत्प्रभ भयो । ड्रोन निर्माणको लागि आदेश दिने पाँच सैन्य अधिकारीमध्ये तीन जना त मारिएका थिए भने, बाँचेकाहरूले आफूलाई इरान सरकारको आदेश पालन गरेको जानकारी गराएपछि सबै चकित परेका थिए ।

उनीहरूले आफूलाई क्याथरिन मेडमले सरकारको आदेश छ भनेर जानकारी गराएपछि गोप्य ढङ्गले ड्रोन निर्माणमा जुटेको बताएका थिए । इरानकै प्राविधिक, इरानकै उपकरण लिएर इरानमाथि नै आक्रमण गरी ध्वस्त पार्ने उक्त कार्यलाई इजरायलले ‘अपरेसन ब्ल्याक अपरेशन’ नाम दिएको थियो । किनकि, ती सुन्दरी महिला प्रायः कालो पोशाकमै देखिन्थिन् ।

बेपत्ता भएकी ती महिलालाई पक्राउ गर्न इरान सरकारले पुरस्कारको घोषणा गरेको छ । इरानले तीनजना मोसादका जासुसलाई फा“सी दिइसकेको छ भने, करिब ७०० जनालाई पक्राउ गरी छानविन सुरु गरेको छ ।

युद्धको महँगो मूल्य  : आर्थिक विनाश र मानवताको कलंक

आजको युद्ध अति नै महंगो हुन्छ । अहिले क्षेप्यास्त्रको प्रयोग सामान्यजस्तो लाग्छ । एउटा लामो दूरीको एक ब्यालेस्टिक क्षेप्यास्त्रको लागत कम्तिमा दस लाख डलर पर्छ । इजरायल र इरानबीचको युद्धमा कम्तिमा दुवैतर्फ गरी दुई हजार क्षेप्यास्त्र प्रहार भएको अनुमान गरिन्छ ।

क्षेप्यास्त्रको तुलनामा ड्रोन धेरै सस्तो हुन्छ । ती क्षेप्यास्त्र र ड्रोनलाई आकाशमै नष्ट गर्ने आइरन डोम लगायतका प्रतिरक्षा प्रणालीका अस्त्रहरूको एउटाको मूल्य कम्तीमा १२ देखि १५ लाख डलर पर्छ । त्यो एकपटक मात्र क्षेप्यास्त्रलाई ध्वस्त गर्छ, र फेरि अर्को क्षेप्यास्त्रलाई ध्वस्त गर्न अर्को आइरन डोमको उपयोग गर्नुपर्छ । भारतले पाकिस्तानमाथि आक्रमण गरेको एउटा ब्रह्मोस क्षेप्यास्त्रको मूल्य ३४ करोड रुपैया“ पर्छ ।

एक तथ्याङ्कको आधारमा इजरायललाई दैनिक इरानसँगको युद्धमा २० करोड डलर खर्च हुने गर्दथ्यो भने, सोही अनुपातमा इरानको पनि युद्धमा खर्च भएको अनुमान गरिन्छ । अब आफै अनुमान गर्नुहोस् कि युद्ध कतिको आर्थिक विनाशकारी हुन्छ । त्यतिकै होइन, एउटा क्षेप्यास्त्रलाई सुरक्षित राख्नका लागि कम्तिमा बर्सेनि दस हजार डलर खर्च पर्छ । युद्ध मानवताका लागि कलंक हो भन्ने भावना जागृत गराउनु आजको आवश्यकता हो ।

View : 437

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved