परिवर्तनको पुल्टोका साथ देशलाई उज्यालो छर्ने लक्ष्य लिएर उदाएका राजनीतिक दलहरूका विचारधारा आजसम्म आइपुग्दा फिक्का हुँदै गएका छन् । देशमा व्याप्त रहेको शोषण, अत्याचार, दमन, निरंकुशता जस्ता दुर्गन्धरुपी समस्यालाई निर्मूल पार्ने सोच लिएर नेपालका केही राजनीतिक दलहरू उदाएका हुन् । राणाशासन, पञ्चायती व्यवस्थालाई हटाउन सक्नुमा राजनीतिक दलकै एउटा ठूलो भूमिका रह्यो ।
जनताको दबाइएको आवाज खुल्ला पार्ने, देशलाई सही बाटो देखाउने आदि काम गर्न राजनीतिक दलको उदय भयो । तर, अहिले उही राजनीतिक दलका कोग्ल्याँटो नेतृत्वकर्तामा खराब आचरण, शून्य नैतिकता र अमानवीयता हावी भएका छन् । सोही कारण आज देशका राजनीतिक पार्टीहरूको अन्तर्राष्ट्रियस्तरमा बेइज्जत भएको छ ।
जनताले विश्वास गरेका, परिवर्तनका मूल आधार ठानेका दलहरूबाट देशले सुशासन, विकासको ठूलो अपेक्षा गरेका थिए । तर, समयको तीब्र बेगसँगै आज राजनीतिक दलहरुमा खोक्रो आदर्श र विकासको न्यून सम्भावना देखिएको छ ।
राजनीतिक दल अकर्मण्य हुनुको एउटा कारण हो पार्टीभित्रको गुट र उपगुट । लोकतान्त्रिक व्यवस्थामा स्वविचार र स्वदृष्टिकोण हुनु ठीक हो । तर, जब सो विचारहरू पार्टी हितको निमित्तभन्दा एकलकाटे स्वभावमा लागू हुन्छ तब संगठन खण्ड–खण्डमा विभाजन हुन्छ । संस्था बलियो बनाउने आधार भनेका एक अर्काको विचार, धारण जस्ता आपसी समझदारीले हैन र ? यी तत्वहरू व्यवहारमा लागू हुन सकेका छैनन् । फलस्वरूप अहिले दलभित्र विचारको साट्टो व्यक्तिवाद, सकारात्मक प्रतिस्पर्धाको साट्टो प्रतिशोध, र सहकार्यको साट्टो स्वार्थपन हावी भएको देखिन्छ ।
त्यसैगरी अहिलेको कालखण्डमा नेताहरू पद र शक्तिमा दीर्घकालसम्म जबर्जस्ती बसिरहँदा नयाँ पुस्तामा असन्तुष्टि जन्मिएको छ । उनीहरूमा पनि केही गर्ने सोच हुन्छ । म्याद सकिएका भन्दा युवा नेताको दूरदृष्टि राम्रो हुन्छ । तर, तातो खून दौडिएका ती युवाहरुमा त्यो अवसर आएको छैन । सोही कारण आज राजनीतिक दलहरुमा उराठ लाग्दो अवस्थाको उदय भएको छ ।
युवा नेतृत्वको न्यास्रोले ग्रसित कांग्रेस
देशलाई निरंकुश, तानाशाह शासनबाट बाहिर ल्याउन ठूलो भूमिका खेलेको नेपाली कांग्रेस अहिले आफ्नै आन्तरिक कमजोरीका कारण संकटमा परेको छ । पार्टीभित्र गुट र उपगुटको जरो यति गहिरो बसेको छ कि शीर्ष नेतादेखि विद्यार्थी संगठनसम्ममा मतभेद र असहमतिको अवस्था सिर्जना भएको छ । लोकतान्त्रिक पार्टी भनेर चिनिएको कांग्रेसभित्र अब विचारभन्दा व्यक्तिको हित ठूलो बनेको छ । र, पार्टी सभापति शेरबहादुर देउवाको ‘हामी एक ढिक्का हौ’ भन्ने भनाइ भनाइमै सीमित छ ।
कुनै पनि विषयको ठोस निष्कर्ष निस्कन नसक्नु, निर्णयमा अस्पष्टता र एकमतको अभावले कांग्रेस भित्रभित्रै कतिसम्म खोक्रो छ भन्ने बुझिन्छ । पार्टीको १५ औं महाधिवेशनको विषयलाई लिएर केन्द्रीय समितिको बैठक बसेर टुंग्याउने भनिएपनि पार्टीको महाधिवेशन हुने की नहुने भन्ने पक्षमा मतभेदको अवस्था सिर्जना भएको छ ।
नेपालको पुरानो, इतिहास बोकेको यो पार्टी आज नयाँ पुस्ताका दृष्टिमा पुरानो सोचको भारी बिसाउन नसकेको पार्टी बन्दै गएको छ । समयअनुसार परिवर्तन गर्न नसक्ने प्रवृत्तिले कांग्रेस आधुनिक प्रतिस्पर्धामा पछि परेझैं लाग्छ ।
त्यसैगरी यही वेगमा कांग्रेसका कार्यहरू अगाडि बढ्दै गए, मतभेदको अवस्था हुँदै गयो भने संस्थापन पक्ष र इतर पक्षबीच मारामारको अवस्था सिर्जना नहोला भन्न सकिन्न । त्यसैगरी देशप्रति वफादार मानिएको पार्टीलाई पनि बद्नामको ‘ट्याग’ न लाग्ला भन्न सकिन्न ।
लामो इतिहास बोकेको कांग्रेसले टुटफुटको अवस्था झेलिसकेको छ । पुनः अर्को पटक फुटेर टुक्रा टुक्रा नहोला भन्न सकिन्न । यो कुराले चोक, चोकमा चर्चा पाएको छ । विभिन्न मत पनि पाएको छ ।
अब कांग्रेस तर्न सक्ने उपाय भनेको महामन्त्री गगन थापालाई पार्टी सभापति बनाउनु । किनभने थापा युवा नेता हुन्, र राजनीतिक विवादबाट टाढा छन् । सोही कारण उनी जनप्रिय पनि छन् । उनी सभापति बनेमा पार्टीमा आधुनिकता, पारदर्शिता र युवा केन्द्रित सुधार ल्याउने सम्भावना प्रबल देखिन्छ । उनको नेतृत्वले कांग्रेसको कार्यशैलीमा गति, नयाँपन र युवाको सहभागिता बढ्ने छ । जसले युवापुस्तामा राजनीतिप्रतिको आशा पुनः जगाउन सक्छ ।
तर, यसले भोलिको दिनमा पुराना पुस्ताका नेतृत्वकर्ताले असहज महसुस गर्लान् । फेरि अर्को आन्तरिक विभाजन (गुटबन्दीको) जोखिम बढ्न सक्ने पनि देखिन्छ ।
अस्ताउने बेलाको मधुरो घाम एमाले
समाज सुधारको पक्षमा क्रियाशील भूमिका खेलेको पार्टी एमाले हो । समाजमा राम्रो छवि बनाउँदै गणतन्त्रको अनुसरण गर्ने पार्टी पनि एमाले नै हो । त्यसैगरी कुनै समय व्यापक चर्चा र पार्टी कार्यकर्ता कमाएको देशको ठूलो राजनीतिक दल एमाले हो । वृद्धभत्ता एमालेले दिलायो भन्ने कुरामा आजसम्म पनि वृद्धवृद्धा एमालेलाई नै मन पराउँछन् पनि । तर पनि एमाले आज अस्ताउँदो घाम जत्तिकै भएको छ । पार्टी अध्यक्षताको विवादित कर्मले आज एमाले बदनाम भएको छ ।
त्यसैगरी दुनियाँ काण्डहरुमा मिसिएको पार्टी अध्यक्षको नामले पार्टीको छवि बिगार्यो । गुरुबन्धु टी स्टेट काण्ड, ललितानिवास काण्ड जस्ता काण्डहरु गरी एमालेले पार्टीकै हालत ठीक राख्न सकेन । भदौ २३ को नरसंहारमा केपी शर्मा ओलीको पनि नाम जोडिएको छ । त्यो जाँचबुझ आयोगले प्रष्ट पार्नेछ ।
अहिलेको नेकपा एमाले पार्टी संस्थापकहरुको पथबाट बाहिरिएर आफ्नै दम्भीपनमा अडिग छ । निजी आदर्श निर्माण गर्न खोज्ने प्रवृत्ति एमालेमा एक खराब दाग जत्तिकै भएर बसेको छ । कैयौ कार्यकर्ता पार्टी अध्यक्षको दम्भीपन र खोक्रो आदर्शताको कारण एमाले पार्टी त्याग्न बाध्य भएका हुन् ।
एक ढिक्का रहेको नेकपा एमालेले पार्टीका केही असल, निष्ठावान कार्यकर्ताका गुमायो । कारण वर्तमान पार्टी अध्यक्षको मै हुँ भन्ने प्रवृत्ति । लामो समयदेखि एउटै थालमा खाना खाँदै आएका झलनाथ, केपी ओली र माधवकुमार नेपाल जस्ता नेताहरुले फरक थालको व्यवस्था गर्नुपर्ने परिस्थितिको सिर्जना भयो । यसले पार्टी फुट्यो । एकीकृत समाजवादी, एमाले छुट्टाछुट्टै भए । कार्यकर्ता स्वतः हराउँदै गए । कार्यकर्ता पनि राम्रो लागेकाहरुलाई पछ्याउँदै गए । यसरी एमाले टुक्रा टुक्रामा बाँडियो ।
अन्त्यमा केही गर्ने अठोटका साथ अघि बढेको एकीकृत समाजवादी पार्टी हरायो । झलनाथ, माधवकुमारलाई पछ्याउँदै क्रान्ति गर्ने सोचमा लागेका पार्टी कार्यकर्ता पनि आज व्यर्थ भएछ भन्ने सोचमा चिन्तित छन् । एमालेमा जाऊँ त के के को आधारमा जाऊँ, पुष्पकमल दाहालको छाता ओढ्न नेपाली समाजवादी पार्टीतिर पनि कसरी जाऊँ भन्ने दोधारमा छन् । त्यो कारण हो वर्तमान पार्टी एकता । माओवादी, एकीकृत समाजवादी र अन्य साना दलका पार्टी कार्यकर्ता यता न उताका भएका छन् । यो सबैको कारण पनि नवएकीकरण नै हो ।
माओवादीसहितका नौ धूर्त दल
देशको विषम परिस्थितिमा कैयौं पार्टीलाई एक बनाई केही गर्ने सोच उदाएको छ– नेपाली कम्युनिष्ट पार्टीमा । माक्र्सवाद–लेलिनवादको सिद्धान्तलाई देशको परिस्थिति अनुसार कार्यान्वन गर्ने भनेर पार्टीको प्रतिबद्धतापत्रमा जनाइएको छ । तर, ती १० दलमध्ये केहीलाई जनताले चिनेकै हुन् । समयले स्वच्छ छबि भएका र युवा नेता मागिरहेको बेलामा एकबाहेक सबै सत्तरी कटेका वृद्धहरु पार्टीको शीर्ष स्थानमा छन् । र, संयोजकदेखि लिएर सहसंयोजकसम्म विवादरहित पनि छैनन् ।
समयको मागअनुरूप जान नसक्नु यो दलको पनि समयसीमा धेर छैन भन्ने संकेत हो । पुष्पकमल दाहालको व्यवहार बुझेकै हुन् सबैले । त्यसैले अहिले राजनीतिक दलहरुको पनि अस्मितामा आँच आइरहेको बेलाम दश घटक मिलेर बनेको पार्टीको पनि आयु लामो छैन । माधवकुमार नेपाल अहिले पनि पतञ्जली जग्गा प्रकरणको मुद्दा खेपिरहेकै छन् ।
आजको आवश्यकता भनेको राजनीतिमा नवीनतम सोच, नवप्रबर्तनको अठोट र देशलाई सही बाटोमा डोर्याउन सक्ने संकल्पको हो । नकि विवादै विवादले घेरीएका राजनीतिक दलको । अहिले राजनीतिक दल कुनै सही छैनन् । सबै आफ्नै आन्तरिक वा बाहिरी कारण र द्वन्द्वले बिरामी छन् । विगतको समयमा माओवादी र एमाले मिलेर नेकपा भएकै हुन् । विचार मिलेन, स्वभाव मिलेन र दुवै पुनः टुक्रिए । आज फेरि एकीकृत समाजवादी, माओवादी र अन्य दल मिलेर एक ढिक्का भएर नेपाली कम्युनिष्ट पार्टी भएका छन् । यो हुइँया कतिदिन को लागि हो ? त्यो हेर्न बाँकी छ ।
नेपालका राजनीतिक दलहरूले विगतमा ठूलो योगदान दिएका छन् । त्यो हो देशमा संघर्ष गर्दै गणतन्त्र ल्याउने, देशबाट निरंकुश शासन हटाउने, र जनताको अधिकार सुनिश्चित गर्ने । तर, आजका दिनमा ती दलहरू दिशाहीन र कमजोर बनेका छन् । जनताको अपेक्षा र दलहरूको व्यवहारबीच ठूलो अन्तर देखिएको छ ।
राजनीतिक दलहरुमा व्यापक आन्तरिक फेरबदलको आवश्यकता छ । अब राजनीतिक दलहरूले आत्ममूल्यांकन गर्नुपर्छ । सच्चा सेवा, पारदर्शिता, नैतिकता र जिम्मेवारी पुनः स्थापित गर्दै देशको हितमा केन्द्रित भयो भने मात्रै जनताको गुमेको भरोसा फिर्ता आउँछ । नत्र अहिलेको जस्तै राजनीतिक खिचलो रहिरह्यो भने अबको दिनमा कसैले पनि पार्टीप्रति हेर्दा पनि नहेर्लान् ।
देशको भविष्य पुराना नेताहरूको स्वार्थमा होइन, नयाँ पुस्ताको सत्यनिष्ठामा निर्भर छ ।
अहिले राजनीतिक सुधारको लागि निकै कम समय छ । राजनीतिक दलहरु नष्ट हुने बेला भइसकेको छ । यदि राजनीतिक दलहरूले यो अन्तिम अवस्थामै भए पनि सुधार गरे, विचारलाई पुनर्जीवित गरे र जनतालाई प्राथमिकता दिए भने नेपाल फेरि राजनीतिसहितको उज्यालो दिशामा अघि बढ्न सक्छ ।
अब हामीले गर्नु पर्ने भनेको प्रधानमन्त्री ‘साइकल’ हटाउने प्रयत्न गर्ने हो । सधैं तीन भागमा विभाजित सरकारको नेतृत्वकर्ता बन्ने अवसर अब हरेक दलका प्रतिनिधिमाझ पुग्नु पर्छ । अवसर निर्वाचन हो । हाम्रो काम पनि राम्रो र निष्ठावान प्रवृत्ति भएकाहरूलाई भोट हालेर जिताउन सक्नु पर्छ । तर, मान्छे हेरेर, उनीहरूको विगतको कर्म हेरेर । त्यसैगरी अहिलेसम्म पनि संसद पुनस्र्थापना गर्ने भनेर ढोल पिटेकाहरु पनि निर्वाचनमा सहभागी हुन जरुरी छ । संसद पुनस्र्थापना त भइहाल्छ नि, निर्वाचनपश्चात । यो बार–बारको संसद पुनस्र्थापना गर्ने भन्ने कुराले एउटा कुरा प्रमाणित गरेको छ, त्यो हो अब पुनः उही ठाउँमा पुग्दिन कि भन्ने चिन्ता ।
विगतमा जनताले आँखामा पट्टी बाँधेर भोट हाले । अब हाल्दैनन् कि भन्ने भय पनि संसद पुनर्स्थापना गर्न खोज्नेहरुमा छ । समयले सबैकुरा देखाउँछ । अहिलेको आवश्यकता भनेको निर्वाचन शान्तिपूर्ण तरिकाले गराउनतिर हातेमाले गर्ने ।
राजनीतिक दलबिना नेपालजस्तो देशमा विकासको कल्पना पनि गर्न सकिंदैन । त्यसैले, त्यसका लागि राजनीतिक दलहरूले आफ्नो चरित्र बदल्नुपर्ने देखिन्छ ।
नत्र भने, वर्तमान अवस्थाले देखाइसकेको छ कि जब दलहरू अकर्मण्य हुन्छन्, तब जनताले आफैं परिवर्तनको बाटो रोज्छन् । यही चेतावनी हो आजको राजनीतिक परिवेशको । अब सुधार वा पुनः विद्रोहको बीचमा कुनै विकल्प छैन ।
View : 890
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved