योग अर्थात् ‘जोड ।’ मेरो आध्यात्मिक यात्रा पनि जोड नै हो । म अलिक सानै उमेरमा नै यो दिव्य कर्ममा जोडिने अवसर पाएको थिएँ । सायद यो मेरो भाग्य भनूँ या त जीवनको मार्गदर्शन । कोही स्वयं राम्रो र सबल पक्षमा जोडिन्छन् त कोही मार्गनिर्देशन गरिदिने व्यक्तित्वको साथ पाएर सत्मार्गमा जोडिन्छन् । म पनि लगभग यस्तै साथ पाएर नै जोडिएकी थिएँ ।
म एक पुस्तक व्यवसायी हुँ, साथमा म आफ्नो कर्मसँगै पारिवारिक जिम्मेवारीमा तल्लीन थिएँ । बिहान आफ्नो घरको काम गर्दै धर्म पनि निर्वाह गर्नुपर्ने थियो ।
यही बीचमा २०६१–२०६२ सालदेखि नै टिभीमा हाम्रो आदरणीय स्वामी रामदेव बाबाजीको आस्था च्यानलमा योगसम्बन्धी कार्यक्रम आउने गथ्र्यो । म पनि आफ्नी आमासँग बसेर स्वामीजीको दिव्य वाणीलाई सुन्ने र मनन गर्ने गर्थें । यसैगरी आमाछोरीको दिनचर्या चलिरहेको थियो, तर निरन्तर अभ्यास हुन पाएको थिएन ।
योग कक्षामा प्रवेश र हरिद्वार यात्रा
त्यतिबेला बिहानको समयमा भने ५ किलोमिटरसम्म पैदल यात्रा तय गर्ने बानी बसिसकेको थियो । बिहान घरमा कोही नउठ्दै आफ्नो नित्य कर्म गरेर परिवारलाई सुतेकै अवस्थामा नै बाहिरबाट घरको मुल प्रवेशद्वार बन्द गरेर निस्कन्थें ।
चाबी चाहिं भित्रबाट हातले भेटाउने ठाउँमा अड्याएर छेउमा देवकी काकी आमासँग पैदल घुम्न जान्थें । यसै बीचमा मेरो भेट देवकी आमाकी बहिनी गंगा निरौलासँग हुन पुग्यो । उहाँसँगै योग कक्षामा जाने अवसर मिल्यो ।
त्यतिबेलाका गुरुहरू अत्यन्त शान्त र शालीन हुनुहुन्थ्यो । त्यहाँ योग गर्दागर्दै मैले अधिवक्ता कैलाश रेग्मीज्यू अध्यक्ष भएको टोलीमा जाँदा हरिबाबु दाहाल र गोविन्द खड्काज्यूसित हरिद्वार जाने अवसर पाएँ । मैले सम्झँदा याद आइरहने ध्रुव गुरु र कुमारी आमा पनि हुनुपर्ने हो । समग्रमा मेरो पहिलो यात्रा सुखद नै रह्यो, किनकि यात्रा कुनाकन्दराको, त्यो पनि छिमेकी राष्ट्रको थियो ।
घरिघरी दुःख, सुख र सम्झनालायक पल त भइहाल्छन् । म त्यो समयलाई समय अनुरूप नै गएको सम्झन्छु, किनकि मेरा लागि दिग्गज व्यक्तित्वहरूसँगको यात्रा थियो, म सानो भएकोले सबैले माया र स्नेह दिनुभएको थियो ।
त्यो यात्रामा मैले सम्झनुपर्ने त धेरै हुनुहुन्थ्यो, तर म ढुक्कका साथ भन्न सकेको छैन, किनकि ठूलो परिवार भएर हरिद्वारको यात्रा गरेका थियौं । मैले आफ्ना बच्चाहरूलाई घरमै छोडेर गएकाले बच्चाहरूको अधिक यादले सताइरहन्थ्यो, तर पनि पारिवारिक साथ र सहयोगले केही मात्रामा म ढुक्क नै थिएँ ।
निरन्तरता र आरोग्यको प्राप्ति
यसरी हरिद्वारको यात्रापछि निरन्तर योग यात्रामा लागिरह“दा मैले महान हस्ती आदरणीय सुरेश अग्रवालज्यू र आदरणीय शिल्पा प्याकुरेलज्यू जस्ता योगका महान योद्धासँग काम गर्ने अवसर पाएँ । मैले मेरो टाउको दुख्ने बिमारी र ग्यास्ट्रिक योग गरेर नै ठीक पारेकी थिएँ । जे भए पनि मेरो योग यात्रा खुसी र उल्लासमय नै रह्यो ।
सुरेश दाइ र म कति ठाउँमा दाजु–बहिनी भएर पनि योग सिकाउन जाने गथ्र्यौं । दाइलाई कसैले योग सिकाउन आउनुस् भन्दा ‘जुना बहिनीलाई पनि साथमा लिएर जाने’ भनेर मलाई सम्झनुहुन्थ्यो । यो यात्रा त अहिलेसम्म पनि जारी नै छ । यसरी मलाई सम्झनु भएकोमा दाइलाई धन्यवाद दिन चाहन्छु ।
तर मेरो परिस्थिति सहज नबनिदिंदा म कुनै पनि पदमा बस्न असमर्थ रहें । सायद भगवानलाई पनि अरू नै मञ्जुर थियो होला ।
एक कुशल, शालीन र प्रस्ट वक्ता आदरणीय गुरुमा शिल्पा प्याकुरेलज्यूको नेतृत्वमा विराटनगर महानगर समितिको सदस्य भएर हरेक दिन योगका गतिविधिहरूमा साथमा साथ र हातमा हात मिलाएर अघि बढिरहें, अनि अहिले पनि त्यसरी नै अघि बढिरहेको छु ।
मलाई खुसी लाग्छ, त्यस्ती सभ्य, शालीन र भद्र व्यक्तिसँग काम गर्न पाएकी छु । आशा छ, आउने आगामी दिनहरूमा पनि यसरी समाजको सेवा गर्दै अघि बढिरहन पाऊँ ।
पतञ्जलि योग परिवार अहिले आफ्नै परिवार जस्तै लाग्छ र त्यहाँका दिव्य योगी मनहरूसँग मेरो सम्बन्ध अझ सुमधुर हुँदै जाओस् भन्ने भगवानसँग प्रार्थना गर्दछु । लेख्नुपर्ने कुराहरू त धेरै थिए । मलाई साथ र सहयोग गर्नुहुने सम्पूर्ण गुरुहरूलाई सम्झदै मेरा दुई शब्दहरू यहीं बिट मार्दछु । ॐ । (विराटनगर योग दर्पण–२०८२)
(लेखिका जुना नेपाल पतञ्जली योग समितिकी योग प्रशिक्षक हुन् ।)
View : 355
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved