Biratnagar, Morang, Nepal
२३ साउन २०८३, शनिवार
+977 21 450305, 515728, 578305
विचार

पूविकाे भेडेटार भ्रमण

अनुसन्धान, नेतृत्व र जीवन व्यवस्थापनको जीवित पाठशाला

२२ साउन २०८३, शुक्रवार

Advertisement

विद्यार्थी जीवनमा शैक्षिक भ्रमणलाई म प्रायः नियमित अध्ययनको तनावबाट केही समयका लागि मुक्त हुने अवसरका रूपमा बुझ्थें।

अध्यापन पेसामा प्रवेश गरेपछि पनि मेरो धारणा धेरै हदसम्म त्यही रह्यो— कक्षाकोठाभन्दा बाहिरको वातावरणले विद्यार्थीमा नयाँ ऊर्जा, आपसी सम्बन्ध र सिकाइप्रतिको उत्साह बढाउँछ।

 

तर, पूर्वाञ्चल विश्वविद्यालय (पूर्वी) को व्यवस्थापन संकायअन्तर्गत दर्शनाचार्य (एमफिल) अध्ययनका क्रममा सम्पन्न भेडेटार भ्रमणले मेरो यो बुझाइलाई पूर्णतः नयाँ आयाम दियो।

यो केवल घुमफिर थिएन; अनुसन्धान, नेतृत्व, व्यवस्थापन, दर्शन र मानवीय सम्बन्धलाई प्रत्यक्ष अनुभव गर्ने जीवित पाठशाला थियो।

 

विद्यार्थी जीवन पार गरिसकेपछि एउटा प्रतिष्ठित विश्वविद्यालयमा उपप्राध्यापक, केन्द्रीय परीक्षा व्यवस्थापन शाखा प्रमुख, सिर्जनशील लेखक तथा अनुसन्धानकर्ताको भूमिकामा रहे पनि, पूर्वाञ्चल विश्वविद्यालयको एमफिल अध्ययनमा पुनः प्रवेश गर्दा मैले आफूलाई केवल एक साधारण विद्यार्थीका रूपमा प्रस्तुत गर्ने

प्रयास गरें। ज्ञानको यात्रामा पद वा जिम्मेवारीभन्दा सिक्ने चाहना, जिज्ञासा र विनम्रता नै ठूलो हुन्छ भन्ने अनुभूति यस यात्राले थप गहिरो बनायो।

मभन्दा अनुभवी, विद्वान् र विशिष्ट व्यक्तित्वहरूलाई गुरुका रूपमा पाउने अवसरले समर्पण, शालीनता र निरन्तर सिकिरहने संस्कार नै वास्तविक शैक्षिक उत्कृष्टताका आधार हुन् भन्ने जीवन्त शिक्षा दियो।

मेरो विश्वासमा गुरु ज्ञानका अक्षय स्रोत हुन्।

 

तर, त्यो ज्ञान तब मात्र सार्थक रूपमा प्राप्त गर्न सकिन्छ, जब विद्यार्थी स्वयं जिज्ञासु, विनम्र, अनुशासित र समर्पित भावका साथ गुरुको सान्निध्यमा पुग्छ।

सम्मान, निष्ठा र सिक्ने तत्परताले मात्र ज्ञानलाई सूचना होइन, जीवन रूपान्तरण गर्ने शक्तिमा परिणत गर्दछ। यही सत्यलाई यस शैक्षिक यात्राले व्यवहारमै अनुभूति गरायो।

 

वीरगन्जबाट विराटनगरसम्मको लामो यात्रा अध्ययनप्रतिको प्रतिबद्धताको निरन्तरता थियो।

औपचारिक कक्षाहरू अन्तिम चरणमा पुग्दै गर्दा धरान हुँदै भेडेटार जाने अवसर मिल्यो। यसअघि न धरान पुगेको थिएँ, न भेडेटार नै। त्यसैले, यो यात्रा नयाँ भूगोलको परिचय मात्र नभई अनुसन्धानको निरन्तर दबाबबाट केही समय मानसिक ताजगी प्राप्त गर्ने माध्यम पनि बन्यो।

 

भ्रमणको अघिल्लो दिनसम्म हामी ‘इकोनोमेट्रिक्स’ जस्तो चुनौतीपूर्ण विषयको गहन अध्ययनमा व्यस्त थियौं। अध्ययनको तनावपछि प्रकृतिको काखमा पुगेको त्यो क्षणले काम र जीवनको सन्तुलनको महत्त्व पनि सम्झायो।

प्रभावकारी अनुसन्धानकर्ता बन्न निरन्तर अध्ययनसँगै मानसिक सन्तुलन पनि उत्तिकै आवश्यक हुन्छ भन्ने अनुभूति यस यात्राले गरायो।

 

यात्राको क्रममा एक सहपाठीको प्रतीक्षामा हामी सबै— झन्डै १९ जना एमफिल शोधार्थी, त्रिभुवन विश्वविद्यालयका सेवानिवृत्त विषय विज्ञ प्राध्यापक डा. नवराज कंडेल, पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. उत्तमकुमार रेग्मी तथा एमफिल तथा पीएचडी कार्यक्रम निर्देशक प्रा.डा. जीवनकुमार ढकालसँगै विराटनगरको चर्को गर्मीमा धैर्यपूर्वक सँगै उभिएका थियौं।

त्यो दृश्यले नेतृत्वसम्बन्धी धेरै पुस्तकले सिकाउने कुरा व्यवहारमै देखायो। सेवाभावयुक्त नेतृत्वले सेवा, विनम्रता र सहकार्यसँग जोड्छ भने पारदर्शी नेतृत्वले प्रेरणा, विश्वास र सम्बन्ध निर्माणलाई केन्द्रमा राख्छ।

यहाँ पदको दूरी थिएन, समानता, धैर्य र मानवीय संवेदनाको अभ्यास थियो। त्यस क्षण मैले महसुस गरें— साँचो नेतृत्व आदेश दिनु होइन, उदाहरण बन्नु हो।

 

अनौपचारिक संवाद: सबैभन्दा प्रभावकारी कक्षा

भेडेटारको शीतल साँझमा चिया, कफी, हल्का नास्ता र आत्मीय संवादसँग बिताएका क्षणहरू कुनै औपचारिक गोष्ठीभन्दा कम थिएनन्।

अनुसन्धान, इकोनोमेट्रिक्स, तथ्याङ्कशास्त्र, व्यवस्थापन, दर्शन, वित्त र लेखाशास्त्रका जटिल विषयहरू सहज भाषामा छलफल भए।

 

दिनभरको अध्ययनको दबाब केही हलुका त भयो नै, तर संवादमार्फत सिकाइ अझ गहिरो बन्यो।

विशेष कुरा के थियो भने, करिब २० जना शोधार्थीमध्ये प्रत्येकको मनोभाव बुझ्ने, सबैलाई बोल्ने अवसर दिने, बीच–बीचमा हासो–ठट्टा गर्दै फेरि विषयगत छलफलमा फर्कने शैलीले सहभागी सिकाइ र अनुभवात्मक सिकाइको उत्कृष्ट उदाहरण प्रस्तुत गर्‍यो।

कक्षाकोठाभन्दा बाहिर पनि ज्ञान निर्माण हुन सक्छ भन्ने कुराको प्रत्यक्ष अनुभूति भयो।

 

पुस्तकभन्दा पनि जीवन्त पाठ

हामी सबैले सम्पूर्ण आदरणीय प्राध्यापकहरूको गरिमामय उपस्थिति अपेक्षा गरेका थियौं।

समयको व्यस्तताका कारण सबै गुरुहरूको सहभागिता सम्भव भएन। तथापि, उपस्थित प्राध्यापकहरूले आफ्ना विद्यार्थी जीवनका संघर्ष, असफलता, अनुसन्धानका चुनौती र सफलताका अनुभव खुला रूपमा पस्कनुभयो।

ती अनुभवहरू हाम्रो लागि कुनै मूल्य तिरेर किनिएको पुस्तकभन्दा कम थिएनन्। व्यवस्थापनशास्त्रमा अनुभवबाट प्राप्त हुने ज्ञानलाई अत्यन्त मूल्यवान् मानिन्छ। यस्तो ज्ञान पुस्तकमा पूर्ण रूपमा लेख्न सकिंदैन, अनुभवी व्यक्तिको जीवनयात्राबाट मात्र हस्तान्तरण हुन्छ। त्यस दिन हामीले त्यही अमूल्य सम्पत्ति प्राप्त गर्यौं।

 

यस यात्राको अर्को प्रेरणादायी पक्ष प्राध्यापकहरूको स्पष्ट सन्देश थियो— एमफिल वा पीएचडी केवल नामअगाडि ‘डाक्टर’ लेख्ने यात्रा होइन।

अनुसन्धान समाज, शिक्षा, अर्थतन्त्र, प्रशासन र व्यवस्थापनका समस्याको समाधान खोज्ने बौद्धिक जिम्मेवारी हो।

 

दर्शनशास्त्री सुकरातले भनेझैं, ‘ज्ञानको मूल्य त्यसको प्रयोगमा हुन्छ।’ त्यस्तै, व्यावहारिक दर्शनले पनि ज्ञानलाई व्यवहारमा उपयोगी बनाउन जोड दिन्छ।

यही भावलाई प्राध्यापकहरूले सरल तर प्रभावी रूपमा प्रस्तुत गर्नुभयो। अनुसन्धानको अन्तिम लक्ष्य प्रकाशन मात्र होइन, समाजलाई उपयोगी नीति, विचार र समाधान दिनु हो भन्ने सन्देशले हामीलाई थप जिम्मेवार बनायो।

 

धरानबाट भेडेटार उक्लिंदै गर्दा तल फैलिएको धरान सहर, हरियालीले ढाकिएका पहाड, कुहिरो र बादलबीचको यात्रा आफैंमा प्रेरणादायी थियो।

प्रकृतिले पनि व्यवस्थापनका धेरै सिद्धान्त सिकाउँछ। परिवर्तनलाई स्वीकार गर्ने क्षमता, परिस्थितिअनुसार अनुकूलन, दीर्घकालीन दृष्टिकोण र सन्तुलन कायम गर्ने कला— यी सबै प्रकृतिका मौन पाठ हुन्।

 

पूविकाे अनुसन्धान संस्कृति

यस भ्रमणले मलाई सबैभन्दा बढी प्रभावित गरेको पक्ष भनेको आदरणीय प्राध्यापकहरू, कार्यक्रम निर्देशक तथा व्यवस्थापन संकायका डिनमा देखिएको असाधारण विनम्रता, सरलता र आत्मीयता थियो। उच्च शैक्षिक पद र लामो अनुभवका बाबजुद उहाँहरूले प्रत्येक शोधार्थीसँग समान सम्मान, मित्रवत् व्यवहार र खुला संवाद कायम गर्नुभएको शैलीले अनुसन्धान संस्कृतिको वास्तविक स्वरूप देखायो।

 

व्यवस्थापनका आधुनिक सिद्धान्तहरू— विशेषतः मानव सम्बन्ध सिद्धान्त र भावनात्मक बुद्धिले सम्मान, विश्वास र आत्मीय सम्बन्धलाई संस्थागत सफलताको आधार मान्छन्। यस भ्रमणमा ती सिद्धान्तहरू पुस्तकका पानामा होइन, व्यवहारमा देखिए।

मेरो दृष्टिमा भेडेटार भ्रमण एउटा साधारण शैक्षिक भ्रमण थिएन। त्यो अनुसन्धान, नेतृत्व, दर्शन, व्यवस्थापन र मानवीय सम्बन्धको संगम थियो।

त्यहाँ सिकाइ पुस्तकभन्दा अनुभवमा, औपचारिक व्याख्यानभन्दा संवादमा, र पदभन्दा व्यवहारमा आधारित थियो।

 

यदि विश्वविद्यालयहरूले यस्ता अनुभवमूलक शैक्षिक अभ्यासलाई निरन्तरता दिन सके भने उनीहरूले केवल दक्ष अनुसन्धानकर्ता मात्र होइन, संवेदनशील, नैतिक, सहकार्यमा विश्वास गर्ने र समाजप्रति उत्तरदायी शैक्षिक नेतृत्व पनि निर्माण गर्न सक्नेछन्।

उच्च शिक्षाको वास्तविक सफलता डिग्री वितरणमा होइन, यस्ता जीवन्त सिकाइका अवसर सिर्जना गर्नमा निहित हुन्छ।

भेडेटारबाट फर्किंदा म केवल रमाइलो यात्राको सम्झना लिएर होइन, अनुसन्धानलाई समाजसँग जोड्ने नयाँ दृष्टिकोण, नेतृत्वलाई व्यवहारमा उतार्ने प्रेरणा र जीवनभर साथ रहने अमूल्य सिकाइ लिएर फर्किएको थिएँ।

 

(लेखक  दिपेश कर्ण पूर्वी दर्शनाचार्य अध्येता र मधेश विश्वविद्यालयका उपप्राध्यापकसमेत हुन्।)

View : 147

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved