जब सन् २००८ देखि व्यापक रुपमा सूचना र प्रविधिको विकास भयो तबदेखि नै अहिलेको नयाँ पुस्ता प्रविधिको क्षेत्रमा बढी अभ्यस्त हुन थाल्यो । सामाजिक सञ्जालको व्यापक विकास र विस्तारले विश्वलाई ‘ग्लोवल भिलेज’ को रुपमा विकास गर्यो । संसारका जुनसुकै कुनामा घटेका सकारात्मक र नकारात्मक घटना जसको जानकारी राख्न अहिलेको पुस्ता अभ्यस्त भयो । विज्ञान र प्रविधिको विकास सँगसँगै अहिलेको उत्तरआधुनिकतावादतर्फ आकर्षित हुन थाल्यो ।
विश्व साम्राज्यवाद र विस्तारवादले निर्माण गरेको सामाजिक प्रणाली र मान्यतालाई अहिलेको पुस्ताले गहिरो रुपले अनुशरण गर्न पुग्यो । सूचना र प्रविधिको क्षेत्रमा विकास भैरहेको एआई प्रविधिको विकास र अनुशरणले कुनै पनि विषयको परिणाम तत्काल हुनुपर्ने र त्यसकै खोज र सोचमा विश्व परिवेशसँगै नेपाली नयाँ पुस्ताको लत बसेको छ ।
कतिपय क्षेत्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना अन्तर्गत कार्यान्वयनमा जाँदा तिनका परिणामहरु क्रमशः देखिने र उपयोग हुँदै जाने विषय हुन्छन् । परिणाम देखिने अवस्थासम्म आइपुग्दा धेरै चरण पार गरेको हुन्छ । प्रारम्भिक चरणदेखि परिणाम देखिने चरणसम्म विभिन्न व्यक्ति र संस्थाहरुले भूमिका निर्वाह गरेका हुन्छन् । तर, जसको नेतृत्वमा परिणाम आयो, सबैसर्वे सर्वा उही हो भन्ने मान्यतामा अहिलेको पुस्ता रमाई रहेको छ ।
इतिहास, संस्कार, संस्कृति, परम्परा, आफ्नो समाजको मौलिकता र पहिचान गौण बन्न पुग्यो । यो नै साम्राज्यवादको मूल विशेषता हो । अरुको संस्कार, संस्कृति, परम्परा, रितीरिवाज, रहनसहनमाथि नवउदारवादको जामा पहि¥याएर पश्चिमा संस्कार संकृतितर्फ आकर्षित गर्ने कार्य तीब्र बन्यो । त्यसकै षड्यन्त्रकारी जालभित्र हाम्रा नयाँ पुस्ता बहकिरहेको छ ।
नेपाली समाजमा आफ्नो स्वार्थ पूरा गर्न जस्तोसुकै असामाजिक क्रियाकलापमा संलग्न हुनसक्ने अवस्थाको विकास भैरहेको कुरा नेपाली राजनीतिको पहिलो र दोस्रो पुस्ताले ठीक ढंगले बुझ्न सकेन । पहिलो पुस्ता आफ्नो लामो संघर्ष र अनुभवमै रमाई रह्यो । दोस्रो पुस्ताले नयाँ पुस्ताका माग पूरा गर्न जताततै आत्मसमर्पण र चाकरी गर्ने अवस्थामा गुज्रिरह्यो । पहिलो र नयाँ पुस्ता बीचमा पेलिएर बसेको दोस्रो पुस्ता आफ्नो दृष्टिकोण, क्षमता र अनुभव जो आफूसँग छ, त्यसप्रति विश्वस्त हुनसकेन ।
साम्राज्यवादले विकास गरेको पूँजीवादी चरित्रभित्रै रमाउने दोस्रो पुस्ता हरेक क्षेत्रमा नेतृत्व लिनसक्ने अवस्थामा रहेन । पछिल्लो पुस्ता दलाल र बिचौलियाबाट घेरिएको छ । दोस्रो पुस्ता तिनै बिचौलिया र दलालबाट फाइदा लिने पहिलो पुस्ताको चाकरीमा व्यस्त छ । यसले समाजलाई गहिरो विखण्डनको मोडतर्फ धकेलिरहेको छ ।
अहिलेको नयाँ पुस्ता सामाजिक सञ्जालमा मात्र व्यस्त छ । आफ्नो परम्परा, रितीरिवाज, पारिवारिक सुख, दुख, नाता, संवन्ध जस्ता समाजका सुन्दर पक्षबाट अलग र वेखवर बनेको छ । पुस्ताको वर्गीकरण गर्ने र समाजमा विग्रह गराई आफ्नो साम्राज्यवादी पञ्जा दह्रो बनाउने अभियान विगत १०० वर्षदेखि अमेरिकी साम्रँज्यवादले विश्वभर आफ्नो नवउदारवादी परियोजनका रुपमा समानता, अधिकार, मूलप्रवाह जस्ता शब्दावलीको प्रयोग गर्दै सबै क्षेत्रमा आक्रमण गरिरहेको छ ।
संस्कार, संस्कृति, परम्परा, व्यवहार, अर्थव्यवस्था, राज्यसत्ता, सुरक्षा निकाय, कर्मचारी प्रशासन, नागरिक समाज, प्रवुद्धवर्ग, पेशागत संघसंस्था सबै क्षेत्रमा आफ्ना प्रतिनिधि पुर्याई आक्रमण गर्न सफल भएको छ । समाज विग्रह, राज्यसत्ता पंगु, न्यायप्रणाली भेदभावपूर्ण, सुरक्षा निकाय निस्प्रभावी ( प्यारालाइज) , कर्मचारी संयन्त्र भ्रष्टाचार, ढिलासुस्ती र कर्मकाण्डी बनाउन सफल भएको छ ।
यी यावत साम्राज्यवादी षड्यन्त्र बुझ्न र नियन्त्रण गर्न नेपालका साशनसत्ता सञ्चालन गर्ने प्रमुख दलहरु पूर्ण रुपमा असफल भएका छन् । अहिलेको नयाँ पुस्ताले व्यक्तिलाई देवत्वकरण गर्न लागेको छ । आफ्ना अभिभावक, नातागोता, वावुआमा दुश्मन देख्ने, अक्षम देख्ने र साम्रँज्यवादीले योजनाबद्ध रुपले ‘सेलिब्रेटी’को रुपमा अगाडि सारिएका पात्रहरु उनीहरुको रोजाइमा परेका छन् ।
युवापुस्तालाई स्वार्थ र कुण्ठाले तीब्र रुपमा अराजकतातर्फ लाग्ने अवस्थाको विकास भैरहेको छ । युवापुस्ताको अहिलेको मनोभाव बुझ्न नसक्दा जेनजीको आन्दोलनको नाममा देशले अकल्पनीय क्षति ब्यहोर्न पुगेको छ । नेपाली समाज अहिले ठीक र बेठीक छुट्याउनेभन्दा राजनीतिक दलका सबै नेताहरुप्रति धारेहात लगाएर चोकचोकमा बसेर अपराधी कुरा गर्न बाध्य भएका छन् । यो अवस्था देशका लागि गम्भीर परिस्थिति हो ।
राष्ट्रिय जनावर गाई काट्न पाउने वकालत गर्ने र सर्वोच्चमा रिट दर्ता गर्ने पात्र निस्कलंक र सक्षम व्यक्तिको पगरी गुथाइएर गृहमन्त्री बनाइएको छ । पुराना दल र परिवर्तनमा आफ्नो सम्पूर्ण जीवन खर्चेका नेताहरुलाई उपदेयता सकिएको (डेटएक्सपाए) भाष्य निर्माण गर्ने र साम्रँज्यवादीले वर्गीकरण गरेको उमेर समूहलाई नाराको रुपमा स्थापित गर्ने परिचालित समूह र व्यक्ति नया“ पुस्ताको रोजाइमा परेका छन् ।
तसर्थ साम्राज्यवादीले उत्पादन गरेका समाजका ऐजेरुप्रति नेपाली समाज आकर्षित भैरहेको यो गम्भीर अवस्थालाई सुक्ष्म ढंगले मनन गर्नु र त्यसको भण्डाफोरतर्फ तर्कयुक्त ढंगले अगाडि बढ्नु अनिवार्य भएको छ । सत्ताको दुरुपयोग गरेर समाज विस्तार गर्ने र देशको अस्तित्व सिध्याउन लाग्ने गोर्भाचोभपन्थीलाई मूलधारबाट तुरुन्त अलग्याउने र जनताको बिग्रेको मनोभावलाई परिवर्तन ल्याउने, सबै राजनीतिक दलले आफ्नो परिमार्जित क्रियाकलाप अगाडि बढाउनुपर्छ ।
उमेर नम्बर हो, युवा भन्नाले शारीरिक र मानसिक रुपले स्वस्थ व्यक्तिलाई सम्झन पर्छ भन्ने भाष्यलाई स्थापित गर्दै विभिन्न उमेर समूहलाई योग्यता, क्षमता र लगनशीलतको आधारमा पार्टीको मूलधारमा समेट् अब ढिलो गर्नुहुन्न ।
निर्वाचनपछिको सांसदले पारदर्शिता, छिटो सेवा प्रवाह, सामाजिक न्याय, रोजगारी सिर्जनामा ठोस कार्यक्रम, कृषिमा आधुनिकीकरण र कृषि उपजमाथिको विचौलिया प्रथाको अन्त्य गर्ने ठोस कार्यक्रम तयार गर्नुपर्छ । अहिलेको युवापुस्ताको मनोभावना समेट्ने खालका कार्यक्रमलाई प्राथमिकतामा राख्नु पर्दछ ।
सबैखाले साम्राज्यवादीद्वारा सञ्चालित सामाजिक संस्था बन्द गर्न वा कडा नियन्त्रणभित्र राखेर मात्र सञ्चालन गर्न दिने (सोभियत मोडल) लागू गर्ने व्यवस्था गर्नुपर्छ । सबैखाले साम्रँज्यवादी सर्तअनुरुपका अनुदान, ऋण लिन बन्द गर्दै वैकल्पिक स्रोतको खोजी गर्न ढिलो गर्नु हुन्न ।
जेनजी आन्दोलनको नाममा राष्ट्र जलेको छ । राष्ट्रियता हारेको छ । देश ‘डिपस्टेट’को पञ्जामा परेको छ । सबै राज्य संयन्त्र निकम्मा बनेका छन् । सबै राज्य सञ्चालन प्रणाली ध्वस्त बनेका छन् । गलत मान्यता र भाष्य निर्माण भैरहेका छन् । यी तमाम प्रतिकुलतासँग जुद्धै देशलाई सही ‘लिक’मा ल्याउने प्रमुख भूमिका दलहरुकै हो । सबैको ध्यान यसतर्फ केन्द्रित होस् । यसैमा मात्र देशको भविष्य अडेको छ ।
View : 477
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved