विराटनगर : कोशी प्रदेशमा मन्त्री पदको सपथ लिएर मन्त्रालयको जिम्मेवारी नपाएका विना विभागीय मन्त्रीहरू फुसर्दिला बनेका छन् । मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरूलाई जिम्मेवारी तोक्ने कुरामा चासो नदिदा मन्त्रीहरू फुसर्दिला बनेका हुन् । उनीहरू लामो समयदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको एक कोठामा बसेर दिन काट्दै आएका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले दुई पटक गरी नियुक्त गरेका सबै तीन मन्त्री अहिले जिम्मेवारीविहीन छन् । गठबन्धनभित्र मन्त्रालयको भागबण्डा नटुंगिएको कारण मन्त्रीहरू गणेश उप्रेती, शम्शेर राई र कमलप्रसाद जबेगुले जिम्मेवारी नपाएका हुन् । पछिल्लो समय मन्त्रीहरूलाई जिम्मेवारी तोक्ने विषयमा गठबन्धन दलभित्र छलफलसमेत नभएको बताइएको छ ।
कोशी प्रदेशको मुख्यमन्त्री कार्की बनेसँगै उनको मन्त्रिमण्डलमा कांग्रेसका शम्शेर राई मन्त्री बनेका थिए । उनी मन्त्री बनेको ४३ दिन बितिसक्दासम्म विना विभागीय मन्त्रीको रुपमा नै कायम छन् । उनी गएको असोज २७ गते मन्क्री नियुत्त भएका थिए । सोही दिन मन्क्रीमा नियुत्त भएका एमालेका रामबहादुर राना मगरले भने काक्तिक १८ गते राजीनामा दिए ।
एमालेका ३९ र कांग्रेसका विद्रोही ८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुत्त भएका कार्कीले गठबन्धन दल माओवादी र नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराएको भन्दै एमालेका मन्त्री रानाले राजीनामा दिएका थिए । मुख्यमन्त्री कार्कीले कात्तिक १७ गते माओवादीबाट उप्रेती र नेकपा एसबाट जबेगुलाई मन्क्री नियुत्त गरेका थिए । यद्यपि मन्त्रीद्वय उप्रेती र जबेगुले मन्त्री पदको सपथ लिएर एक महिना पुग्न लाग्दा समेत जिम्मेवारी पाएका छैनन् ।
विना विभागीय मन्त्रीहरूलाई कार्यालय समयमा बस्नका लागि मुख्यमन्त्री कार्यालयमा नै कार्यकक्ष बनाइएको छ भने आवासको आ–आफनो तरिकाले स्वयम् मन्त्रीहरूले नै व्यवस्था मिलाएका छन् ।
विना विभागीय मन्त्रीहरूका लागि मुख्यमन्त्री कार्यालयमा राजनीतिक सल्लाहकारको कार्यकक्ष, प्रमुख सल्लाहकारको कार्यकक्ष र मुख्यमन्त्रीको स्वकीय सचिवको कार्यकक्ष उपलब्ध गराइएको छ ।
मुख्यमन्त्री कार्यालयमा कार्यकक्ष बनाइए पनि तोकिएको जिम्मेवारी नभएकाले मन्त्रीहरू फुर्सदिला बनेका छन् ।
उनीहरू विभागीय मन्त्रीको झण्डा हल्लाएर भने हिंडिरहेका छन् । मन्त्रीहरूले मन्त्रालयको जिम्मेवारी नपाएका कारण उनीहरू बेरोजगारजस्तै बनेका छन् । काम केही नभएकाले उनीहरू प्रायः निजी र पार्टीको काममा हिंड्ने गरेका छन् । कोही भने दिनभरि क्वाटरमै बसेर दिन कटाउँदै छन् । मन्त्रालय नतोकिदा मन्त्री भएजस्तो अनुभूति नै नहुने विना विभागीय मन्त्रीहरू बताउँछन् ।
‘मन्त्री भए पनि जिम्मेवारी नहुँदा जनताको गुनासो सम्बोधन गर्ने भूमिका पनि नहुँदो रहेछ,’ एक मन्त्रीले भने ‘प्रदेशसभा र मन्त्रिपरिषद् बैठकमा सहभागी हुने बाहेक खासै काम छैन ।’
मुख्यमन्त्री कार्की भने प्रदेशसभाबाट विश्वासको मत लिएलगत्तै सरकारी क्वाटरमा सरेका छन् । सुनसरी–मोरङ सिँचाइ आयोजनाको परिसरमा रहेको क्वाटरमा मुख्यमन्त्री कार्की बस्दै आएका छन् ।
विना विभागीय रहेका मन्त्रीहरूमा सबैको विराटनगरमा घर छैन । मन्त्री उप्रेतीबाहेक अरु मन्त्रीहरू भाडाको घरमा बसिरहेका छन् । उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तोकेबमोजिमका मन्त्रालयका सवारी साधन भने प्रयोग गरेका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ईश्वरकुमार गिरी अहिले मुख्यमन्त्री कार्यालयले तोकेका गाडीहरू नै बिना विभागीय मन्त्रीहरूले प्रयोग गरिरहेको बताउँछन् ।
सचिव गिरीले भने, ‘मन्त्री भएपछि सरकारी क्वाटर भएको अवस्थामा सुविधा लिन सक्ने भए पनि सरकारी क्वाटर नभएकाले मन्त्रीज्यूहरूले आ–आफ्नै तरिकाले बसोबासको बन्दोबस्ती मिलाउनुभएको हुन सक्छ ।’
मुख्यमन्त्री कार्कीले मन्त्रीहरूलाई जिम्मेवारी नदिदा स्वयम् मुख्यमन्त्री कार्कीले हाल ६ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । दलीय भागबण्डा मिलाउन नसक्दा मुख्यमन्त्री कार्कीले स्वास्थ्य मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् ।
View : 221
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved