Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

रोहिंग्या प्रवेश रोक्न पूर्वका नाकामा उच्च सतर्कता

उद्‌घोष संवाददाता
१९ मंसिर २०८२, शुक्रवार

विराटनगर । तीन दिनअघि मात्रै जिल्ला प्रशासन कार्यालय सिरहाले एउटा सार्वजनिक सूचना जारी गर्दै नेपाल–भारत सीमा क्षेत्रबाट शंकास्पद व्यक्तिहरु नेपाल भित्रन सक्ने सम्भावना रहेको औंल्यायो ।

सिरहा प्रशासनको संकेत म्यानमारका रोहिंग्या शरणार्थीहरुप्रति लक्षित थियो । किनभने पछिल्लो समयमा रोहिंग्या शरणार्थीहरुको नेपाल आगमन बढेको सूचना गृहमन्त्रालयमा पुगेको छ । 

पूर्व र दक्षिणका नाकाहरुबाट रोहिंग्याहरु नेपाल भित्रिरहेको सूचना प्राप्त गरेपछि नै मन्त्रालयले सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन जिल्ला प्रशासनहरुलाई निर्देशन दिएको थियो । 

कोशी प्रदेशको उदयपुरसँग साँध जोडिएको मधेश प्रदेशको जिल्ला सिरहा प्रशासनले ‘शंकास्पद व्यक्तिहरु अवैध ढंगबाट प्रवेश गर्न सक्ने’ सम्भावना औंल्याउँदै सूचना निकाल्नुको कारण यही हो । 

कोशीका झापा, मोरङ, सुनसरीका सुरक्षा अधिकारीहरुका अनुसार नाकामा कडाइ गर्न मन्त्रालयको निर्देशन छ । तर, सुरक्षा अधिकारीहरुका अनुसार अहिलेसम्म रोहिंग्याहरु प्रवेश गरेको कुनै सूचना छैन ।  झापा मोरङ र सुनसरीका प्रहरी अधिकारीहरु पनि अहिलेसम्म कुनै सूचना नभएको बताउँछन् । 

रोहिंग्या शरणार्थीको प्रवेश रोक्न सीमावर्ती नाकाका जिल्ला प्रशासनहरुले भारतसँग जोडिएका सीमानाकामा सुरक्षा जाँचमा कडाइ गरेका छन् । भारतमा अवैध रुपमा बस्दै आएका रोहिंग्याहरु विभिन्न समयमा नेपाल प्रवेश गरिसकेका छन् । 

हाल भारतमा मतदाता शुद्धीकरणका लागि स्पेसल इन्टेन्सिभ रिभिजन (एसआईआर) कार्यक्रम चलिरहेको छ । त्यो कार्यक्रमले प्रभावित हुने भएपछि रोहिंग्यालगायत भारतमा अवैध रूपमा बस्दै आएका बंगलादेशीहरु पनि नेपाल आउन थालेको सूचना सुरक्षा निकायको छ ।

कोशीका विराटनगरस्थित रानी नाका, मोरङका अन्य सबै नाकाहरु सुनसरीको कोशी ब्यारेज नाका, झापाका काँकडभिट्टा, भद्रपुर लगायतका नाकाहरुमा चेकजाँच कडाइ भइरहेको छ । यद्यपि खुला र लामो नाकाहरु भएकाले सुरक्षा चुनौती बढ्ने गरेको छ । 

सीमामा खटिएका सुरक्षाकर्मीले नाकाबाट आउनेको परिचयपत्र चेकजाँच गर्ने, शंका लागेकालाई उनीहरू आएको र जान लागेको ठाउँबारे विस्तृत वितरण लिने काम गरिरहेका छन् । 

रोहिंग्या शरणार्थी भारतीय आधार कार्ड बनाएर विभिन्न नाकाबाट नेपाल आइरहेको भन्ने सूचनाका आधारमा चेकजाँचमा कडाइ गरिएको सीमामा खटिएका सुरक्षा अधिकारीहरूले बताएका छन् ।

नेपालमा करिब ६ सय रोहिंग्या अवैध रूपमा प्रवेश गरी बस्दै आएको बताइन्छ । भारतसँग १४४ किलोमिटर खुला नाका भएको झापा बंगलादेशबाट पनि नजिकको जिल्ला हो । 

यो खतरालाई आँकलन गरेर प्रशासनले नाकामा सुरक्षाकर्मी तैनाथ राखेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । सशस्त्र प्रहरी र नेपाल प्रहरीले नाकामा आवतजावत गर्नेमाथि निगरानी गरिरहेका छन् । 

मधेशको सप्तरीदेखि पर्सासम्म आठ जिल्लाका भारतसँग सीमा जोडिएका ४५६ किलोमिटर खण्डमा चार दिनदेखि चौबीसै घण्टा चेकजाँच भइरहेको महोत्तरीको बर्दीवासस्थित सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनीले जनाएको छ । 

रोहिंग्या अल्पसंख्यक मुस्लिम समुदाय हो, जो बौद्ध धर्मावलम्बीहरूको बाहुल्य रहेको म्यानमारमा शताब्दीऔंदेखि बसोवास गर्दै आएका छन् । 

यो समुदायलाई विश्वकै सबैभन्दा पीडित अल्पसंख्यकका रूपमा चित्रण गरिन्छ । दक्षिण एसियाली मुलुक म्यानमारमा अझै पनि ११ लाख रोहिंग्या मुस्लिम छन् । 

म्यानमार सरकारले तयार पारेको आधिकारिक १३५ जनजातिको सूचीमा उनीहरू अझै अटाउन सकेका छैनन् । प्राय सबै रोहिंग्या राखिने राज्यको पश्चिमी तटमा बसोवास गर्छन् र म्यानमार सरकारको अनुमतिबिना अर्को राज्यमा जान प्रतिबन्ध छ । 

यो राज्य म्यानमारकै सबैभन्दा गरिब राज्य हो, जहाँ आधारभूत सेवा र अवसरहरूको चरम अभाव छ । म्यानमारमा जारी पछिल्लो हिंसा र अत्याचारका कारण हजारौं रोहिंग्या म्यानमारबाट भागेर छिमेकी मुलुक बंगलादेशमा आश्रय लिइरहेका छन् ।

इतिहासकारहरूका अनुसार रोहिंग्या १२औं शताब्दीदेखि नै म्यानमारमा बसोवास गर्दै आएका छन् । एक सय वर्ष पुरानो बेलायती शासनकालमा (१८२४ देखि १९४८ सम्म) भारत र

बंगलादेशबाट ठूलो संख्यामा श्रमिक आप्रवासी म्यानमार ओइरिएका थिए । 

सन् १९४८ मा बेलायतबाट म्यानमार स्वतन्त्र घोषित भएपछि संघीय नागरिकता ऐन पारित भयो । जसमा कुन जनजातिलाई नागरिकता दिने भन्ने उल्लेख थियो । तर, रोहिंग्याहरू सो सूचीमा अटाएनन् । सन् १९६२ को सैन्य ‘कु’पछि रोहिंग्याका लागि नाटकीय व्यवस्था सुरु भयो । 

सरकारले सम्पूर्ण नागरिकहरूले अनिवार्य रूपमा राष्ट्रिय दर्ता कार्ड लिनुपर्ने नयाँ प्रावधान सुरु गर्यो । तर, रोहिंग्यालाई भने केवल विदेशी परिचयपत्र दिइयो, जसले उनीहरूका रोजगारी र शैक्षिक अवसरमा अंकुश लगाइदियो । 

सन् १९८२ मा नागरिकतासम्बन्धी नयाँ कानुन पारित भएपछि त्यसले रोहिंग्यालाई राज्यबिहीन बनायो । म्यानमार सरकारको दमनकै कारण सन् १९७० पछि झन्डै लाखौं रोहिंग्या म्यानमारबाट भागेका छन् । त्यहाँबाट विभिन्न देश जाने क्रममा नेपालमा पनि उनीहरुको प्रवेश भइसकेको छ । 

अहिले भारत र बंगलादेशबीचको सम्बन्ध चिस्सिएको छ । जसका कारण भारत सरकारले पश्चिम बंगाल र बिहारको सीमानाकामा सुरक्षा कडाइ गरेको छ । नेपालबाट बंगलादेश जोड्ने सीमानाकाको दुरी जम्मा २२ किलोमिटर मात्र छ ।

‘चिकेन नेक’ भनिने सो ठाउँबाट रोहिंग्या र बंगलादेशी मुस्लिमहरु आवत–जावत गर्ने हुँदा भारत सरकारले सुरक्षा सतर्कता बढाएको छ । 

भारतको सो कदमपछि रोहिंग्या र बंगलादेशीहरु नेपाल प्रवेश गर्ने सम्भावना बढेर गएको हो । त्यसैले नेपाल सरकारले पनि सीमानाकामा कडाइ गर्न थालेको हो ।

View : 203

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved