Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

मोवाइलको बढ्दो प्रयोगले बालबालिकामा विकराल बन्दै 'मायोपिया' को समस्या

जुनु भट्टराई
३ वैशाख २०८१, सोमवार

विराटनगर । घरमा हुँदा विराटनगरकी ८ वर्षीया रुजी ढकालको अधिकांश समय मोवाइलमै बित्ने गर्दथ्यो । आमा र बाबा दुबै जना जागिरेकी सन्तान रुजीको सानैमा देखिएको मोवाइलको लतले अहिले गम्भीर समस्या निम्तिएको छ ।

केही समयदेखि ८ वर्षीय रुजीकोे दैनिक गतिविधिमा आलश्यता मात्र होइन, मोवाइल हेर्दा आँखाको निकै नजिक लगेर हेर्ने, आँखा चिम्रो बनाउने जस्तो क्रियाकलाप देखिन थाल्यो । रुजीले आफूले पहिले जस्तो सफा रुपमा आँखा नदेख्ने बताएपछि भोलिपल्ट नै छोरीलाई लिएर उनकी आमा रामलाल गोल्छा आखा अस्पताल पुगिन्  ।

चिकित्सकले बालिकालाई ‘मायोपिया’ अर्थात् दृष्टिदोष भएको बताए । लामो समयदेखि उनलाई टाढाको वस्तु स्पष्टसँग नदेख्ने समस्या भइरहेको थियो । चिकित्सकले उनलाई आवश्यक परेको ‘पावर’अनुसारको चस्मा बनाउन सल्लाह दिए । त्यसयता उनले चस्मा लगाइरहेकी छन् ।

विराटनगरकी रुजी जस्तै इटहरीका रघुनाथ घिमिरेका ९ वर्षीय छोरा अंशुमन घिमिरेलाई खाना खाँदा होस् या फुर्सदको समय मोवाइल हातमै हुन्थ्यो । लामो समयसम्म मोवाइलमै झुण्डिने र मोवाइल हेरिसकेपछि आँखा चिम्रो पर्ने र चिडचिडाउने समस्या देखिन थालेपछि आँखाको समस्याले पो हो कि भनेर एकदिन रघुनाथले छोरालाई नेत्ररोग विशेषज्ञ कहाँ लगेर देखाए । नभन्दै अशुंमनको आँखामा मायोपियाको समस्या देखियो । ७ महिनादेखि रुजीजस्तै अशुंमन पनि चिकित्सकको सल्लाहअनुसार पावरवाला चस्माको प्रयोग गर्दै आएका छन् । 

आँखामा समस्या भएर चश्मा लगाउनेको संख्या अहिले निकै बढिरहेको छ । बालबालिका, वयस्क र वृद्ध सबै उमेरका धेरै व्यक्तिले चश्मा लगाएको देखिन्छ । कसैलाई टाउको दुख्ने, कसैको नजिकको दृष्टि कमजोर भएर, कसैलाई टाढाको दृष्टि कमजोर भएर चश्मा लगाउनुपर्ने अवस्था हुन्छ । जसमध्ये पनि  धेरैले टाढाको दृष्टि कमजोर भएर चश्मा लगाएको पाइन्छ । टाढाको दृष्टि कमजोर हुने समस्यालाई चिकित्सकीय भाषामा मायोपिया भनिन्छ । 

पछिल्लो समयमा अन्य कारणबाहेक मोवाइल, ग्याजेट, कम्प्युटर, स्क्रिनलगायत घरभित्र खेल्ने, नजिकको काममा बढी समय दिने गतिविधिमा बढोत्तरीले गर्दासमेत नेपालमा पनि बालबालिकामा मायोपिया बढ्दो रहेको रामलाल गोल्छा आँखा अस्पतालका निर्देशक तथा नेत्ररोग विशेषज्ञ डा. सुवास पोखरेल बताउँछन् । 

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को एक अनुसन्धानले विश्वभर मायोपियाको समस्या तीव्र गतिमा बढ्दै देखाएको छ । हाल विश्वभर एक अर्ब ४० करोडभन्दा बढी मानिस यो रोगबाट पीडित छन् । यति मात्र होइन, अनुसन्धानका अनुसार सन् २०५० सम्ममा यो संख्या बढेर पाँच अर्ब पुग्ने पूर्वानुमान गरिएको छ । मायोपिया आखाको टाढाको दृष्टि कमजोर हुने समस्या हो । मायोपिया भएमा टाढाको दृश्य धमिलो देखिन्छ, तर पूर्ण रुपमा नदेखिने भन्ने चाहिं नहुने चिकित्सकहरु बताउछन् ।

(डब्लूएचओ)का अनुसार मायोपियाबाट ती बालिका मात्रै नभएर विश्वमा करिब २ अर्ब ६० करोड मानिस पीडित छन् । सन् २०५० सम्म यो संख्या बढेर ५ अर्ब हुने अनुमान गरिएको छ । जसमध्ये करिब १० प्रतिशत व्यक्तिहरूमा मायोपिया गम्भीर समस्याको रूपमा देखा पर्नेछ । र, यसकै कारण दृष्टिविहीन हुने सम्भावना उच्च रहन्छ ।

मायोपियाको उपचारका लागि विश्वमा १ खर्ब २६ अर्ब १५ करोड ५९ लाख ७७ हजारभन्दा बढी अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ । डब्लूएचओले विश्वमा मायोपियाको समस्याको गति बढ्दै गएको जनाएको छ । 

चिकित्सकीय भाषामा टाढाको दृष्टि दोषलाई ‘मायोपिक’ भन्ने गरिन्छ । यसमा टाढाको वस्तु स्पष्ट रुपमा देख्न नसक्ने समस्या हुने नेत्ररोग विशेषज्ञ डा. सुवास पोखरेल बताउँछन् । 

डा. पोखरेलका अनुसार मायोपियाले टाढाको वस्तुमा ध्यान केन्द्रित गर्ने क्षमतालाई प्रभावित पार्छ । गम्भीर मायोपियाले ग्रस्त व्यक्तिले केही इन्च टाढाको वस्तुलाई मात्र स्पष्ट देख्न सक्छन् भने सामान्य रूपले प्रभावित व्यक्तिले केही फिटसम्मको वस्तुलाई पनि पहिल्याउन सक्छन् । यो सामान्यत बाल्यकाल वा किशोरावस्थामा बढी देखिने उनको भनाइ छ । 

मायोपिया वंशानुगत समस्याका रूपमा हुने गरेको पनि पाइएको छ । आमा वा बुबामध्ये कसैलाई मायोपिया भएको भए सन्तानलाई समेत यो समस्या हुने जोखिम हुन्छ  । आमा वा बुबा वा दुवैलाई मायोपिया भए सन्तानमा यो समस्या हुने सम्भावना धेरै बढी हुन्छ  । आमा वा बुबामध्ये एकलाई मायोपिया भए सन्तान पनि यसबाट पीडित हुने सम्भावना बढी रहने डा. पोखरेल बताउँछन् । 

धेरै बेरसम्म कम्प्युटरमा काम गर्नु, पुस्तक धेरै नजिक राखेर पढनु, लामो समयसम्म टेलिभिजन हेर्नु, मोवाइल वा अन्य स्क्रिनमा बढी समय व्यतित गर्नुले मायोपियाको जोखिम बढाउँछ ।

‘आँखाको गोला धेरै लामो भएमा वा कोर्निया (आँखाको अगाडिको स्पष्ट आवरण) धेरै घुमाउरो भएमा मायोपियाको समस्या हुने गर्छ । ‘मायोपिया हुँदा टाढाको वस्तु धमिलो वा अस्पष्ट हुने गर्छ,’ डा. पोखरेल भन्छन्, ‘तर, नजिकको वस्तु भने सजिलैसँग देख्न सकिन्छ । नजिकको वस्तु हेर्दा बालबालिकालाई कुनै पनि समस्या हुँदैन ।’

दृष्टि कमजोरीको प्रमुख कारण र अन्धोपनको दोस्रो ठूलो कारणका रुपमा मायोपियालाई मान्ने गरिएको छ । बालबालिकाको शारीरिक र आँखाको विकास हुँदै गर्दा विभिन्न कारणले यो समस्या बढ्दै गएको भनिए पनि के कारणले हुन्छ भन्ने पत्ता नलागेको डा.पोखरेलको भनाइ छ । 

चिकित्सकहरूका अनुसार मायोपियाको सबैभन्दा प्रमुख लक्षण टाढाको वस्तु स्पष्ट नदेख्नु नै हो । आँखा चिलाउने, टाढाको चीजहरू धमिलो देख्ने, बारम्बार आँखा मिच्नु, टाउको दुख्ने, आखाबाट आँशु आउनु, आँखा बढी झिमझिम हुनेजस्ता लक्षण देखा पर्छ ।

नेत्ररोग विशेषज्ञका अनुसार मायोपिया हुनुको प्रमुख कारण वंशाणुगत हो । परिवारका सबै सदस्यले चश्मा लगाएको छ भने पछिल्लो पुस्तामा जन्मजात मायोपियाको समस्या भएको हुन सक्छ । त्यस्तै आँखाको साइज ठुलो भएमा पनि मायोपिया हुन्छ । सामान्यतया आँखाको अगाडिदेखि पछाडिसम्म लम्बाइ २४ मिलिमिटर हुन्छ । त्योभन्दा बढी अर्थात् २५–२६ मिलिमिटर हुँदा मायोपिया हुन्छ । यसमा आँखा लाम्चो आकारमा हुने भएर त्यसको फोकस म्याकुलामा हुँदैन ।

तर, यसलाई सामान्य, मध्यम र उच्च गरी तीन प्रकारमा विभाजित गर्ने गरिएको डा. पोखरेल बताउँछन् । उनका अनुसार चस्माको पावर माइनस १ सामान्य मायोपिया, माइसन १ देखि ३ सम्मलाई मध्यम मायोपिया भन्ने गरिन्छ । त्यस्तै माइनस ३ भन्दा माथिलाई उच्च अर्थात् हाई मायोपिया भएको भन्ने गरिन्छ ।

‘उच्च मायोपियाले ग्लुकोमा, मोतियाबिन्दु र रेटिनल डिटेचमेन्ट अर्थात् रेटिना च्यातिने वा प्वाल पर्ने जोखिम बढाउन सक्छ,’ डा. पोखरेल भन्छन्, ‘जसले गर्दा अन्धोपना निम्त्याउन सक्छ । त्यसैले उच्च मायोपिया भएका व्यक्तिहरूले नियमित रूपमा तीन वा छ महिनामा आँखाको जाच गराउन जरुरी हुन्छ ।’

मायोपिया भएको समयमै पत्ता लगाउन सकिए त्यसबाट निम्तिने खतराबाट भने जोगिन सकिने डा. पोखरेल बताउाछन् । साना बालबालिकाको आँखाको जाँच अनिवार्य गराउनुपर्ने, स्कुलमा प्रत्येक वर्ष नयाँ कक्षा सुरु हुनुअगाडि बालबालिकाको आँखा जाँच जरुरी भएको उनी बताउँछन् । डा. पोखरेल भन्छन्, ‘स्कुल पढ्ने कति बालबालिकाले आफै पनि भन्न सक्छन् । तर, साना बालबालिकाले भन्न सक्दैनन् । यसका लागि अभिभावकले उनीहरूको आँखा जचाउन लैजानुपर्छ ।’

यसबाहेक चिकित्सकको सल्लाहअनुसार विभिन्न विकल्प अपनाउन सकिन्छ । पछिल्लो समय कन्ट्याक्ट लेन्स, लेजर सर्जरी पनि गर्न सकिन्छ । लेजर सर्जरी भने सबै व्यक्तिमा गर्न नसकिने पनि हुन सक्छ । कन्ट्याकट लेन्स भने चिकित्सकको सल्लाहअनुसार सबैले प्रयोग गर्न सकिने डा. पोखरेल बताउँछन् ।

View : 1217

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved