Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

विचार :

राजनीति र भ्रष्टाचारको सुमधुर सम्बन्ध

नेपालमा थुप्रै भ्रष्टाचारका ठुलठुला फाइलहरू थन्किएका छन् । कसैले पनि हिम्मत र आँट गरेर ती फाइलहरू खोल्ने र अगाडि बढाउने कार्य गर्न सकिरहेका छैनन् ।
डीपी ढुंगेल
१७ कार्तिक २०८२, सोमवार

नारा छ ‘दुई रोटी र एक बटुको दाल कै लागि कसैले पनि भ्रष्टाचार गरिरहनु पर्दैन ।’ विगत ७० वर्षको इतिहास हेर्दा नेपालमा भ्रष्टाचार वृद्धि भएको राजनीतिक कारणले भएको पुष्टि हुन जान्छ । इतिहासले बोलिरहेको ७० वर्षसम्म कुनै पनि सरकारले आफ्नो अवधि पूरा गर्न सकेको छैन । सांसदहरूलाई बन्धक बनाएका छन् सांसदहरूले ।

आर्थिक प्रलोभन पारेर यता र उता तानेका छन् सरकार बनाउने खेलमा सरकार बनाउने खेलमा तल्लिन भएका दलहरू आजको स्थितिमा आइपुग्दा दलीय शीर्ष नेतादेखि दोस्रो तेस्रो नेतासम्मको जीवनशैली रहनसहन अलिसान भवन प्रशस्तै मात्रामा लगानी बैंकमा सञ्चयलगायतका गतिविधिले भ्रष्टाचार वृद्धि भएको छर्लङ्ग देखिन्छ ।

जेन्जी आन्दोलनको क्रममा बोराका बोरा रकम कोठाभित्रबाट निकालेर आगो लगाएको सबैले देखेकै हुन् । अझ कतिपयले त भन्न थाले एआईले बनाएको रकम र भिडियो । जाँचबुझ आयोगले काम गरिरहदा सायद सत्य र तथ्यको आधारमा प्रतिवेदन तयार पारी सार्वजनिक गर्नुपर्ने हुन्छ ।

दुःख लाग्छ, विगतका रायमाझी आयोग, मल्लिक आयोग, लाल आयोगलगायतले करोडौं रकम खर्च गरेर तयार पारेको प्रतिवेदन विगतका सरकारहरूले सरकारले सार्वजनिक गर्न आँट र हिम्मत गरेन । यसपाली चाहिं त्यस्तो नहोस् जस्ताको तस्तै नेपाली जनतालाई गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गरिनेको विकल्प छैन ।

भ्रष्टाचारीहरूको भ्रष्टाचार ढाकछोप गर्न विगतमा विभिन्न आयोगहरूले प्रतिवेदनहरू तत्कालीन सरकारलाई बुझाएता पनि तत्कालीन सरकारले आयोगका प्रतिवेदनहरू गोप्य राखेको थियो । देशको चिन्ता हामी सबैको चिन्ता । अबका दिनहरूमा हाहाहीही तरिकाले देश अगाडि बढ्न सक्दैन । 

भ्रष्टाचार र राजनीतिको गहिरो सम्बन्ध लाई सबैले अपराध मानि सामाजिक बहिष्कारको अभियान थालनी गर्नुपर्ने हुन्छ । भ्रष्टाचार निवारण गर्ने संघसस्था सरकारी निकायहरूले खुट्टा नकमाइकिन तेरो र मेरो नभनिकन विचार सिद्धान्तलाई पनि टाढा राखेर दूधको दूध पानीको पानी नीतिअनुसार अगाडि बढ्नुपर्ने आवश्यक देखिन्छ ।

प्रख्यात राजनीतिकशास्त्री मन्टेस्कुले भनेका थिए, ‘कार्यपालिका न्यायपालिका र व्यवस्थापिका अलग–अलग हुन् र एकअर्कासँग नजिकको सम्बन्ध गर्नु हुँदैन । 

‘यसैलाई शक्ति पृथकीकरणको सिद्धान्त पनि भनिन्छ । उनले सयौं वर्षअगाडि यो सिद्धान्त प्रतिपादित गरेका हुन्, यसको महत्व अहिले पनि उत्तिकै छ । राजनीतिशास्त्रका विद्यार्थीहरूले अध्ययनको क्रममा राजनीतिकारी राजनीतिशास्त्री, राजनीतिविद्, राजनीतिककर्मी फरक–फरक हुन् भनेर बुझेका हुन्छन् । तर हामीकामा सबैलाई एउटै डालोमा हालेर हेरिन्छ । 

कुरा भ्रष्टाचारको । भ्रष्टाचार एक अपराध र क्यान्सरभन्दा खतरनाक रोग हो । विशेषगरी दक्षिण एसियाका देशहरूमा यो रोग र अपराध फैलिने क्रम रोकिएको छैन । दक्षिण एसियाका मालदीप्स र भुटान बाहेक थोर बहुत सबै देशमा भ्रष्टाचार देखिएको छ ।

नीतिगत भ्रष्टाचार सबैभन्दा ठूलो खतरनाक हो । भ्रष्टहरूलाई कसैगरी पनि कानुनी कारबाहीमा ल्याउन नसकिने अवस्था हुनु दुखद हो । विगत ७० वर्षदेखि नेपालको सन्दर्भमा भ्रष्टाचारको मुद्दा तीव्र रूपमा उठेता पनि  तैं चुप मै चुप सिद्धान्त अपनाएका कारण आजको अवस्था आइपरेको हो ।

जेन्जी आन्दोलन पनि मुख्य रूपमा भ्रष्टाचारको विरूद्धको आन्दोलन हो । यहाँ भ्रष्टहरू थुप्रै भए तापनि कानुनी कारबाहीमा ल्याउन निकै कठिन परेको अवस्था छ । भ्रष्टाचारलाई राजनीतिकरण गर्ने परमपरा लोकतान्त्रिक देशमा सुहाउँदैन । रवि लामिछाने, बालकृष्ण खाँड, टोपबहादुर रायमाझी लगायतका उच्चतहका नेताहरू भ्रष्टाचारमा मुछिएका छन् ।

त्यसैगरी भर्खरै पूर्व सांसद देवीशरण भट्टचन सहकारी ठगी मुद्दामा अनुसन्धानमा छन् । अझ रमाइलो त केही उच्च तहका कर्मचारी र नेताहरू भ्रष्टाचारमा मुछिएका पनि उनीहरूलाई प्रहरी प्रशासनले खोजिरहेको र फेला नपरेको समाचारहरू हामी सुन्न पाउँछौं । तर उनीहरू आफ्नै घरपरिवारसित हाटबजार चोक तिर हिंडिरहेका हुन्छन् । यसैले प्रमाणित गर्छ राजनीतिसँग भ्रष्टाचारको सम्बन्ध गहिरो रहेछ भन्ने ।

नेपालमा थुप्रै भ्रष्टाचारका ठुलठुला फाइलहरू थन्किएका छन् । कसैले पनि हिम्मत र आँट गरेर ती फाइलहरू खोल्ने र अगाडि बढाउने कार्य गर्न सकिरहेका छैनन् । जस्तै गिरी बन्धु कि स्टेट भुटानी शरणार्थी काण्ड ललिता निवास जग्गा काण्ड बालुवाटार जग्गा काण्ड पोखरा विमानस्थल निर्माण काण्ड लगायतका एक दर्जनभन्दा बढी ठूला भ्रष्टाचारका फाइलहरू अझै खुलेका छैनन् । हजारौं सहकारी पीडित रहेका छन् । 

२–४ जनालाई मात्र कानुनी दायरामा ल्याएर यो समस्या समाधान हुनेवाला छैन । सहकारीको नामबाट करोडौं रकम हिनामिना गर्ने जो कोहीलाई पनि प्रचलित कानुन अनुसार कारबाही होस् भन्ने जनताको चाहना हो । तर यहाँ त तेरा र मेरा सत्तापक्ष र विपक्ष भन्दै कसै–कसैलाई जेलमा कोच्ने कसैकसैलाई छाडा छोडेर खुलेआम हिड्डुल गर्न दिने परम्परा पटक्कै सुहाउँदैन । 

नेपालको सबैभन्दा ठूलो नीतिगत भ्रष्टाचार नै खतरनाक हो । माथिल्लो तहका कर्मचारीहरू राजनीति दलका नेताहरूसँग नजिक भएकाले नीतिगत भ्रष्टाचार वृद्धि भएको देखिन्छ । सरकारमा रहेका दलले विपक्षी दलहरू निकट नेतालाई भ्रष्टाचारको बिल्ला भिडाउने र आफ्ना जति सबैलाई जोगाउने कार्यलाई पटक्कै नेपाली जनताले मन पराएका छैनन् । 

नीतिगत भ्रष्टाचारमा जडित सबैको कल्याण त हुँदैन कुनै न कुनै दिन उपरवाला (भगवान ) ले सजाय दिन्छन् जस्तो लाग्छ । जेएनजी आन्दोलनको क्रममा भदौ २४ गते लाखौं करोडौं रकम जलेर नष्ट भयो । ती सबै जलेका रकम भ्रष्टाचारको उपहार हुन सक्दछ ।

आखिर खान लगाउन त नेताहरूलाई निजामती सेवाका उच्च तहका व्यक्तिहरूलाई जिन्दगीभर पुग्छ नि तर पनि उनीहरू लोभले भ्रष्टाचारमा फसेका हुन्छन् । धेरै लोभ गर्नु पनि पाप हो । त्यसैले अहिंसावादी भारतीय अभियन्ता महात्मा गान्धीले भनेका थिए ‘तपाईंलाई चाहिने मात्र राख्नुहोस् । बाँकी गरिबदुःखीलाई दान गर्नुहोस् । देश विकासमा लाग्नुहोस् । तपाईं ले आवश्यक भन्दा बढी राख्नु भएको छ भने त्यो पाप हो ।’

भष्टाचार रोकथाम गर्न सक्रिय निकायहरूले निष्पक्षता नीति अपनाई अगाडि बढ्नु पर्ने को विकल्प छैन । समय बलवान छ, समयले बताउला आफ्नो कमजोरी । डिजिटल युगमा प्रवेश गरेका हामी अबका दिनहरूमा राजनीतिक यात्रा सुशासन विकास र समृद्धिको बाटोमा अग्रसर भएको छ । डिजिटल युगमा विद्यार्थी युवा सबै सचेत भएका छन् भने अबका दिनहरूमा शिक्षित समाजमा विकास र समृद्धिको बाटोमा अग्रसर हुन सबैलाई अनुरोध छ ।

भ्रष्टाचारीको कुनै जात हुँदैन । कुनै लिङ्ग हुँदैन । कुनै धर्म हुँदैन । केवल मात्र उसको स्वार्थ जोडिएको छ राजनीतिसँग । राजनीतिले एक दुई पटक जोगाए पनि अबका दिनहरूमा जगाउनेवाला छैन ।

चेतना भया ।

View : 408

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved