Biratnagar, Morang, Nepal
१६ वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

होलीमा दुई डाक्टरका सुझाव

आज रङ खेल्दै हुनुहुन्छ ? स्वास्थ्यका यी विषयमा ध्यान दिनुहोस् है !

जुनु भट्टराई
१२ चैत २०८०, सोमवार

विराटनगर । होली रङहरूको पर्व हो । होलीमा रङको धेरै नै महत्व हुने गर्दछ ।  होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङहरू लगाएर एक अर्कालाई रङ्गिन बनाउँछन् । तर उत्साहपूर्वक होली मनाइरहँदा रङमा भएको रसायनले हाम्रो छाला र आँखामा धेरै नै नोक्सानी गर्ने गर्ने भएकाले होली खेल्दा ध्यान पुर्‍याउनुपर्छ । त्यसैले होलीमा रङहरूसँग खेल्दा सावधानी अपनाउन नसके स्वास्थ्यमा कस्तो असर पुर्‍याउँछ त ? त्यस्ता समस्याबाट कसरी बच्ने भन्ने विषयमा विशेषज्ञ के भन्छन् :-

डा. बिबिशा बानिया, छाला रोग विशेषज्ञ

अनुहारको छाला निकै संवेदनशील हुन्छ । होलीमा प्रयोग गरिएको गुणस्तरहीन रङमा विभिन्न किसिमको केमिकलहरू मिलाइएको हुन्छ । जसले शरीरको छाला तथा अनुहारमा समस्या आउन सक्छ । रङहरूसँग खेल्दा राम्रो गुणस्तरीय रङ परेन भने छालामा बिभिन्न प्रकारका समस्याहरू देखा पर्दछन् । 

होली खेल्नुभन्दा अगाडि सबैले कपालमा तेल लगाउनु आवश्यक हुन्छ । तेल लगाउँदा कपालको जरादेखि नै टुप्पोसम्म लगाउनुपर्छ । तेल लगाइसकेपछि कपाललाई खुल्लै छोड्नुभन्दा पनि बाँधेर, जुरो बनाएर राखे कपाललाई अझ सुरक्षा मिल्छ । अर्को कुरा छालाको लागि भने नुहाएर पूरै शरीरमा लोसन लगाउनुपर्छ । लोसनले रङ डाइरेक्ट छालाको छिद्र भित्र पस्न पाउँदैन ।

लोसन लगाउँदा हातका खुट्टाका औंलाका च्याप, आँखाको किनारा, कानको पछाडि, भित्रपट्टि जहाँ रङहरू अड्कने सम्भावना रहन्छ, त्यस्ता ठाउँमा लोसन मज्जाले लगाउनु जरुरी हुन्छ । 

अर्को ख्याल राख्नुपर्ने कुरा, हाम्रो नङ्ग होली खेल्नुअघि काट्नु जरुरी हुन्छ । नङ्गले रङहरू लगाउँदा आफूलाई मात्र होइन अरुलाई पनि चोट लाग्ने सम्भावना हुन्छ  । त्यसैले यस्ता विषयमा समयमै ध्यान पुर्‍याउनु जरुरी हुन्छ । त्यस्तैगरी होलीको एक हप्ता कसैले पनि फेसियल लगायतका केमिकलजन्य लोसनहरूको प्रयोग नगरेकै राम्रो ।

किनभने होलीको समयमा छालामा केही समस्याहरू देखिरहेको हुन्छ । ती समस्याहरूबाट छाला सामान्य प्रकृतिमा फर्कन एक हप्ताको समय लाग्ने भएकाले एक हप्तासम्म केमिकलको प्रयोगबाट टाढै रहनु आवश्यक हुन्छ ।

होली खेलिसकेपछि सकेसम्म धेरै फिँज आउने प्रकारको स्याम्पोको प्रयोग गर्नुपर्छ । कपाललाई कन्डिन्सनरको प्रयोग गर्न बिर्सनु हुँदैन । नुहाइसकेपछि छालामा लोसनको प्रयोग गरेको खण्डमा छालालाई नरम तथा मुलायम राख्न मद्दत पुग्छ । रङका कारण एलर्जी हुने, छाला रातो हुने, पोल्ने फोका आउने समस्या देखिए तुरुन्त छालारोग विशेषज्ञ चिकित्सकको परार्मशमा औषधि उपचार गर्नुपर्छ । 

होलीको रङले हुनसक्ने असर

– एलर्जी हुने ।
– पानीको फोका आउने ।
– छाला पत्र–पत्र भएर निस्किने ।
– आँखा तथा मुख सुन्निने ।
– छाला पोल्ने समस्या देखिन सक्छ ।
होलीमा रङसँग खेल्दा आँखालाई जोगाऔं

डा. सुवाष पोखरेल, नेत्ररोग विशेषज्ञ

होलीमा रङहरूको प्रयोग बढी नै मात्रामा हुने गर्छ । बजारमा पाइने त्यस्ता रङहरूमा हानिकारक केमिकलहरू मिसाइएको हुन्छ । जुन केमिकल आँखामा वा छालामा परे विभिन्न प्रकारका समस्याहरू देखा पर्दछन् ।

हामीले प्रयोग गर्ने रङहरूमा लिड अक्साइड, कपर सल्फेट, मर्करीजस्ता हानिकारक रसायनहरूको मिसावट भएको हुन्छ । यस्ता रसायन परेको खण्डमा प्रतिक्रिया देखाएर आँखा रातो हुने, इरिटेसन हुने, आँखाको एलर्जी हुनेजस्ता समस्या देखिन थाल्छ । कसैकसैको आँखा बढी नै संवेदनशील देखिने हुनाले यस्ता रङहरूको प्रयोगले आँखाको ज्योति नै गुमेर अन्धोपनको समस्यासमेत देखिन सक्ने भएकाले रङहरूसँग खेल्दा सावधानी अपनाउनु अत्यन्तै जरुरी हुन्छ ।

होली खेल्दा कतिपय मानिसहरूले धुलो रङसँगै लिक्विड रङको प्रयोग गर्छन् । यस्ता रङहरूमध्ये सुख्खा रङ पनि प्रयोग गर्ने गरेको पाइन्छ । यस्ता रङहरूमध्ये लिक्विड रङ अझ बढी हानिकारक हुने गर्दछ । किनभने त्यसमा कडा खालको रसायन मिसाइएको हुन्छ, जुन एसिडभन्दा पनि बढी खतरनाक हुन्छ ।

यस्ता रङहरूले शरीरको भित्री भागसम्म छिटो असर पुर्‍याउँछ । त्यसैले, कसैले होलीको बहानामा यस्तो रङ जान–अन्जानमा प्रयोग गरेको खण्डमा नाईं भन्नु जरुरी हुन्छ ।

होलीमा रङसँग खेल्दा आँखाको लागि चस्माको प्रयोग गर्ने मानिसले अझ बढी सावधानी अपनाउनुपर्छ । यदि कन्ट्याक्ट लेन्सको प्रयोग गर्नुहुन्छ भने चस्माबाट सो लेन्स निकालेर होली खेल्दा राम्रो हुन्छ ।

रंगहरूको प्रयोगले आँखामा पुर्‍याउने असरमा सबैभन्दा धेरै आँखा रातो हुने, आँखामा इरिटेशन पैदा हुने, आँखा पोल्ने, आँखामा एलर्जी हुने आँखाको भिजन कम हुँदै जाने, आँखा खोल्न अप्ठ्यारो महसुस हुने जस्ता समस्याहरू बढी मात्रामा देखा पर्दछ ।

सावधानी अपनाउँदा अपनाउँदै समस्या देखिएमा के गर्ने ?

कहिलेकाहीँ  समस्याहरूबाट बच्न सावधानी अपनाउँदा–अपनाउँदै फनि समस्या निम्तिन सक्छ । यस्तो अवस्थामा जो व्यक्तिको आँखामा समस्या देखिएको छ, त्यो व्यत्तिले सबैभन्दा पहिले आफूलाई कुल राख्ने कोसिस गर्नुपर्छ ।

कोही व्यक्ति आफूमा सामान्य समस्या देखिएमा पनि आत्तिएर प्रेसर बढाइरहेको पाइन्छ, जसले शरीरको रक्त प्रवाहमा गडबढ भई थप समस्या निम्तिन सक्छ । त्यसैले सबैभन्दा पहिले आफूलाई सामान्य अवस्थामा राख्नु अत्यन्तै जरुरी हुन्छ । 

जहाँ त्यस्तो समस्या देखिएको छ, त्यस ठाउँबाट आफूलाई टाढा राख्ने अर्थात् भिडभाडबाट टाढै रहने कोसिस गर्नुपर्छ । यदि आँखामा कन्ट्याक्ट लेन्सको प्रयोग गरिएको छ भने राम्रोसँग साबुन–पानीले हात धोएर तुरुन्त कन्ट्याक्ट निकाल्नुपर्छ  ।

कन्ट्याक्ट लेन्समा लामो समयसम्म रङ रहिरह्यो भने त्यो रङमा भएको केमिकलले आँखाको सर्फेसलाई ड्यामेज गरिदिन्छ, त्यसैले कन्ट्याक्ट जतिसक्दो चाँडो निकाल्नुपर्छ ।

आँखामा रङ पसेको देखिएमा आँखालाई सफा पानीले पखाल्नुपर्छ । यसरी आँखा पखाल्दा जबरजस्ती भने पानी छ्याप्नु हुँदैन । यदि जबरजस्ती पानी छ्याप्यो भने आँखामा इन्जुरी गराउन सक्छ । त्यसैले, जति सकिन्छ आँखाबाट रङ हटाउन हल्केलामा पानी राखेर अथवा सानो धारा खोलेर सफा गर्न सकिन्छ ।

आँखामा रङ पस्यो भनेर जबरजस्ती कपडा वा टिस्युको प्रयोग गर्ने गल्ती गर्नु हुँदैन । यदि त्यस्तो गरेको खण्डमा घर्षणले अझ समस्या निम्त्याउन सक्छ ।

यदि लामो समयसम्म आँखा रातो हुने, हेर्न अप्ठ्यारो महसुस भएमा तुरुन्त नजिकैको आँखा अस्पताल तथा सम्बन्धित चिकित्सककहाँ गई परामर्श लिनु अत्यन्तै जरुरी हुन्छ । 

View : 305

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved