Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

भारूलाई विश्वव्यापी बनाउने नीतिले नेपालमा पार्ने प्रभाव

नेपालको कुल आयातको दुईतिहाई भन्दा अधिक हिस्सा भारतबाट हुन्छ भने नेपालले निर्यात न्यून गरे पनि यसको भारत प्रमुख साझेदार हो । यति मात्र होइन, नेपालले आफ्नो मुद्रा भारतीय रुपयेसँग स्थिर विनिमय दरमा तोकेको छ — १ भारतीय रुपये बराबर १.६ नेपाली रुपैयाँ । यस्तो अवस्थामा भारतको रुपये बलियो बन्ने निर्णयले नेपालका आर्थिक क्षेत्रहरूमा बहुआयामिक प्रभाव पार्ने आंकलन गर्न सकिन्छ ।
अधिवक्ता खुशीराज गौतम
२४ असोज २०८२, शुक्रवार

भारतले हाल दक्षिण एशियामा आफ्नो मुद्रा रुपयेलाई अन्तर्राष्ट्रिय व्यापारमा प्रयोग हुने बलियो माध्यमका रूपमा स्थापित गर्ने नीति अघि सारेको छ । यस योजनालाई भारतीय रिजर्भ बैंक (आरबीआई) ले सक्रिय रूपमा अघि बढाइरहेको अवस्थामा असोज  १५ गते गरेको निर्णयबाट यसलाई थप पुष्टि गरेको छ ।

भारतले अन्तर्राष्ट्रिय व्यापारका लागि रुपयेको उपयोग बढाउनेतर्फ निरन्तर प्रगति गरिरहेको र हालै तयार पारिएको दीर्घकालीन नीतिले अहिले अन्तर्राष्ट्रिय रूपमा एउटा तरङ्ग उत्पन्न गराएको छ ।

           विश्वमा अमेरिका र चीनबीचको व्यापारिक तनाव, रूस–युक्रेन बीचको लामो द्वन्द्व, इजरायल–गाजा युद्ध आदिका कारण विश्व अर्थतन्त्रमा फैलिएको अनिश्चितताले भारतलाई आफ्नै मुद्रा सुदृढ बनाउने निर्णय लिन प्रोत्साहन दिएको पनि हो ।

भारतको हालको स्थिति हेर्दा यो कदम स्वाभाविकै मान्नुपर्छ, किनभने भारतसँग अहिले करिब ७०० अर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्रा भण्डार रहेको र सेवा क्षेत्र अत्यन्त बलियो बनेको तथा चालू खातामा घाटा क्रमशः घट्दो क्रममा रहेको उल्लेख छ । 

 यी सबै आधारहरूले भारतलाई रुपयेलाई अन्तर्राष्ट्रिय बजारमा सुदृढ मुद्राका रूपमा प्रस्तुत गर्न सहयोग पुर्‍याइरहेको भए पनि भारतको यो मौद्रिक रणनीतिले नेपालजस्ता छिमेकी मुलुकका अर्थतन्त्रमा विभिन्न प्रत्यक्ष र अप्रत्यक्ष असर पार्ने निश्चित छ । 
नेपाल भारतसँग आर्थिक, व्यापारिक र मौद्रिक सम्बन्धमा गाढा रूपले बाँधिएको असल छिमेकी देश हो ।

नेपालको कुल आयातको दुईतिहाई भन्दा अधिक हिस्सा भारतबाट हुन्छ भने नेपालले निर्यात न्यून गरे पनि यसको भारत प्रमुख साझेदार हो । यति मात्र होइन, नेपालले आफ्नो मुद्रा भारतीय रुपयेसँग स्थिर विनिमय दरमा तोकेको छ — १ भारतीय रुपये बराबर १.६ नेपाली रुपैयाँ । यस्तो अवस्थामा भारतको रुपये बलियो बन्ने निर्णयले नेपालका आर्थिक क्षेत्रहरूमा बहुआयामिक प्रभाव पार्ने आंकलन गर्न सकिन्छ । 

          पहिलो प्रभाव, व्यापार र भुक्तानी प्रणालीमा पर्छ । यदि रुपये अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी मुद्रा बन्छ भने, भारतीय बैंकिङ प्रणालीमा आधारित भुक्तानी प्रणालीहरू अझ सशक्त हुनेछन् । नेपालका आयातकर्ताले भारतीय बैंकहरूमार्फत हुने व्यापारिक भुक्तानी सहज रूपमा गर्न सक्नेछन् ।

यसले लेनदेन लागत घटाउनेछ र भुक्तानी प्रक्रिया द्रुत बनाउनेछ । तर यसको उल्टो पक्ष पनि छ — रुपये बलियो बनेपछि भारतका वस्तु र सेवाहरू महंगा बन्ने सम्भावना रहन्छ, जसले नेपालका उपभोक्तामा प्रत्यक्ष असर पार्नेछ । नेपालका उद्योगहरूले भारतीय बजारमा प्रतिस्पर्धा गर्न कठिनाइ भोग्नेछन्, जसले नेपालको निर्यात क्षमतामा नकारात्मक असर पार्न सक्छ । 

          दोस्रो प्रभाव, वित्तीय क्षेत्र र विनिमय बजारमा पर्छ । नेपाल राष्ट्र बैंकले नेपाली रुपैयाँलाई स्थिर दरमा भारतीय रुपयेसँग जोडेको छ । यस्तो स्थिर प्रणाली भारतको अर्थतन्त्र बलियो हुँदा स्थिरता दिन सक्छ, तर रूपये अत्यधिक सुदृढ बनेपछि नेपालको मौद्रिक नीतिमा स्वतन्त्रता घट्ने सम्भावना रहन्छ । रुपये अत्यधिक बलियो हु“दा नेपालका वस्तुहरू अन्तर्राष्ट्रिय बजारमा अझै महंगा देखिनेछन्, जसले निर्यात घटाउने जोखिम ल्याउ“छ । नेपालका बैंक र वित्तीय संस्थाले पनि विनिमय दरका कारण केही नाफा–नोक्सानको अस्थिरता भोग्न सक्छन् । 

           तेस्रो असर, पर्यटन विप्रषण क्षेत्रमा देखिन सक्छ । भारतका पर्यटकहरू नेपालका लागि मुख्य स्रोत हुन् । यदि भारतीय रुपये बलियो रह्यो भने, भारतीय पर्यटकहरूको खरिद क्षमता बढ्नेछ र नेपालमा पर्यटन आम्दानीमा सुधार आउनेछ ।

भारतका मध्यमवर्गीय नागरिकहरूका लागि नेपाल अझ आकर्षक गन्तव्य बन्न सक्छ । तर, यसको विपरीत प्रभाव पनि देखिन सक्छ — यदि रुपये अत्यधिक बलियो भयो भने, भारतमा रहेका नेपाली श्रमिकहरूले पठाउने विप्रेषणको मूल्य घट्नेछ । यसले सीमावर्ती ग्रामीण अर्थतन्त्रमा असर पु¥याउनेछ जहा“ भारतीय  विप्रेषणलाई मुख्य आयस्रोत मानिन्छ ।

      अब प्रश्न आउँछ — नेपाली मुद्राको क्रयशक्तिमा यसले कस्तो असर पार्छ ? सकारात्मक पक्ष हेर्ने हो भने भारतीय रुपये बलियो बनेपछि भारतको अर्थतन्त्र स्थिर रहेमा नेपालको पनि मुद्रास्फीति दर नियन्त्रणमा रहन सक्छ । किनभने नेपालका अधिकांश उपभोग्य वस्तु भारतबाट आयात हुने भएकाले, भारतको मूल्य स्थिर रह्यो भने नेपालमा पनि वस्तुहरूको मूल्य बढ्दैन ।

साथै, भारतको सेवा निर्यात र ऊर्जा बजारमा वृद्धि भएमा नेपालले पनि त्यसबाट लाभ उठाउन सक्छ । तर नकारात्मक पक्ष पनि कम छैनन् । 

    रुपये बलियो हुँदा भारतीय मुद्रा विनिमयदरमा डलरको भाउ घट्न थाल्छ । नेपालको भारतसँग अकल्पनीय आयात निर्यात असन्तुलन छ । भारतका वस्तु डलरमा खरिद महंगा बन्ने भएकाले नेपालले तेस्रो मुलुकबाट आर्जन गरेको विप्रेषण डलर भूक्तानी बढी तिर्नुपर्ने हुन्छ । किनभने हाम्रो आयातको अधिकांश हिस्सा भारतबाट रहेकोमा सीमित डलर आर्जन पनि उपभोग्य बस्तुमा नै गुम्न थाल्छ ।

अर्कोतिर नेपाली उत्पादन अन्तर्राष्ट्रिय स्तरको नभएमा भारतीय बजारमा प्रतिस्पर्धा गुमाउ“दा नेपालका उत्पादक र निर्यातकलाई अझ ठूलो घाटा पुग्छ । दीर्घकालमा यस्तो अवस्था नेपालका विदेशी मुद्रा भण्डारमा अति दबाब सिर्जना गर्ने देखिन्छ । यी सबै पक्षलाई ध्यानमा राख्दै नेपालले यो परिस्थितिलाई अवसरका रूपमा उपयोग गर्न विशेष रणनीति तयार गर्न जरुरी छ । 

      यसका लागि नेपालले भारतस“गको स्थिर विनिमय दर नीतिलाई पुनरावलोकन गर्न आवश्यकता छ । अहिलेको १.६ को दरले लामो समयदेखि स्थायित्व दिएको भए पनि यसले नेपाललाई भारतीय मौद्रिक नीतिको प्रभावबाट पूर्णरूपमा बचाउन सकेको देखिदैन ।

यदि नेपालले सीमित उतारचढाव सहितको लचिलो दर (फ्लेग्जिवल पेग) नीति अपनायो भने, भारतको आर्थिक  नीतिगत परिवर्तनले ल्याउने बाह्य झटका केही हदसम्म नियन्त्रण गर्न सकिन्छ । अहिले भारतले आफ्नो डिजिटल भुक्तानी प्रणाली युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्दैछ । 

नेपाल राष्ट्र बैंकले आरबीआईसँग मिलेर भारत  नेपाल दुबै देशमा सीमित भुक्तानी गर्न मिल्ने गरी युपीआई प्रणाली निर्बाध लागू गर्न सकेमा दुवै देशको भुक्तानी र लेनदेन सहज हुनेछ । यसले व्यापारी, पर्यटक र लगानीकर्ताका लागि सुविधा पु¥याउनेछ र अनौपचारिक तथा कालो धनको लेनदेन पनि घटाउनेछ । 

       तत्काल रुपये बलियो हुँदा भारतीय बजारमा प्रतिस्पर्धा गर्न कठिन हुने स्वतः देखिने हुँदा नेपालले उत्पादन लागत घटाउने, करको दर कम गर्ने, दक्ष जनशक्ति विकास गर्ने, निर्यात उद्योगलाई प्रोत्साहन दिने र सस्ता वस्तु निर्यात गर्न द्रुतगतिमा रणनीति तयार गर्नुपर्छ । कृषिमा आधुनिकीकरण, ऊर्जा निर्यात, साना उद्योगहरूको प्रवद्र्धन, साना इलेक्ट्रोनिक बस्तु उत्पादनमा जोड, जडिबुटी उत्पादन र प्रशोधनमा सरकारी प्रयत्न प्रभावकारी हुनुपर्छ । त्यसको अतिरिक्त, पर्यटक ठगीमा अति सख्ती, बस्तु कालोबजारीमा शून्य सहनशीलता, पर्यटन क्षेत्र बिस्तार विकास र सूचीकरण, पर्यटन क्षेत्रमा स्थानीय मदिरा र होटल ब्यवसायमा अत्यधिक कर  छुट जस्ता सुधार तत्काल गर्नु पर्ने देखिन्छ ।

          चौथो, भारतले दक्षिण एशियाका छिमेकीहरूलाई वैकल्पिक फन्डिङ सुविधा दिने उल्लेख गरेको छ । यसलाई नेपालले सदुपयोग गर्न सक्नु पर्छ । भारतबाट सस्तो ब्याजदरमा उपलब्ध रकमलाई पर्यटन पूर्वाधार विकास, ऊर्जा र निर्यातमुखी उद्योगमा लगानी, डिजिटल अर्थतन्त्रमा लगानी आकर्षित गर्न सकिन्छ । नेपालले भ्रष्टाचार नियन्त्रण, आर्थिक र प्रशासनिक नीतिमा पारदर्शिता, राजनीतिक स्थिरता र लगानीमैत्री वातावरण सुनिश्चितता गरेमा यसबाट ठूलो लाभ लिन सक्छ । भारतको यो नीति केवल मुद्रा सुदृढीकरण मात्र होइन, क्षेत्रीय प्रभाव विस्तारको माध्यम पनि हो । 

दक्षिण एशियामा चीनको आर्थिक प्रभाव बढ्दै गइरहेको बेला भारतले रुपयेलाई क्षेत्रीय, अन्तर्राष्ट्रिय मुद्रा बनाउने लक्ष्य राख्नु स्वाभाविकै हो । यस्तो अवस्थामा नेपालले सन्तुलित नीति अपनाउनु पर्नेछ, जसले भारतस“गको आर्थिक सहकार्यलाई बलियो बनाउने तर राष्ट्रिय स्वार्थ सुरक्षित राख्ने दुवै उद्देश्य पूरा गरोस् । नेपालले भारतको मुद्रा नीति अनुसरण गर्ने मात्र होइन, आफ्नो मौद्रिक स्वायत्तता पनि सुदृढ गर्नुपर्छ । त्यसका लागि नेपाल राष्ट्र बैंकले विनिमय दर नीति, ब्याजदर र विदेशी मुद्रा व्यवस्थापनमा स्वतन्त्र र दीर्घदृष्टियुक्त नीति अवलम्बन गर्न अब ढिलाइ गर्न नमिल्ने देखिन्छ ।

        यससँगै, नेपालले वैकल्पिक साझेदारीहरू पनि विकास गर्नु पर्छ — जस्तै, चीन र दक्षिणपूर्वी एशियाली देशहरूसँग विनिमय सम्झौता, व्यापार विविधीकरण र डिजिटल भुक्तानीमा सहकार्य । दीर्घकालीन दृष्टिमा हेर्दा भारतको यो निर्णय दक्षिण एशियाको मौद्रिक सन्तुलनमा महत्वपूर्ण मोड बन्न सक्छ । यदि रुपये वास्तवमै अन्तर्राष्ट्रिय स्तरमा स्थिर र विश्वसनीय मुद्रा बन्न सफल भयो भने, यसले सिंगो क्षेत्रको आर्थिक संरचनामा नयाँ अध्याय सुरुवात गर्न सक्छ ।

नेपालजस्तो मुलुकका लागि यस्तो परिवर्तन जोखिम मात्र होइन, अवसर पनि हो । भारतको बलियो रुपये र स्थिर अर्थतन्त्रको छायामा नेपालले पनि आर्थिक स्थायित्व, मुद्रास्फीति नियन्त्रण र भुक्तानी प्रणाली सुदृढीकरणका क्षेत्रहरूमा बढी जागरुक हुन प्रोत्साहन मिल्ने भएकोले यसबाट लाभ लिन सक्छ । तर, यसका लागि नीति निर्माता र आर्थिक योजनाकारहरू सचेत हुन जरुरी छ । भारतको प्रत्येक मौद्रिक कदम नेपालका लागि नीतिगत चेतावनी हो — यसले देखाउँछ कि नेपालले विदेशी प्रभावस“ग तालमेल मिलाउँदै, आफ्नै मौद्रिक स्वायत्तताको सीमा विस्तार गर्नुपर्छ । 

         भारतको रुपये सुदृढीकरण केवल भारतकै सफलता होइन, नेपालका लागि पनि आर्थिक सोच, योजना र दिशा पुनर्निर्धारण गर्ने अवसर हो । नेपालले यो अवसर गुमायो भने बलियो छिमेकीको मौद्रिक निर्णयले छोटो समयमै नेपाली बजारमा गम्भीर असन्तुलन ल्याउन सक्छ, तर यदि नेपालले तयारीसहित सहकार्य र सुधारका कार्यक्रम अघि सार्‍यो भने यो परिवर्तन नेपालको आर्थिक स्थायित्वका लागि उपयोगी मोड बन्न सक्छ । यसकारण, भारतको मौद्रिक नीति परिवर्तनलाई आलोचना गरेर समय खेर फाल्ने  होइन, सन्तुलित समीक्षा र रणनीतिक सोच र उच्च सतर्कता सहितको मौद्रिक नीति अवलम्बन गर्नु नै नेपालको दीर्घकालीन हितमा हुनेछ । अस्तु ।

 


 

View : 521

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved