पृथ्वीबाट ग्रहहरू धेरै टाढा छन् भनेर त हामीले सुन्दै आएको हो । ताराहरू त झन् धेरै टाढा छन् भनेर पनि हामीले सुनेका छौं । आकाशको सूर्य पनि एउटा तारा नै हो तर यो तारा चाहिं पृथ्वीबाट अरू तारा भन्दा निक्कै नजिक भएकोले यो यति उज्यालो र ठूलो देखिएको हो भन्ने पनि हामीले बुझेकै छौं । तर, ब्रह्माण्ड यति विशाल छ, अन्तरिक्षमा नजिक भनेको पनि हाम्रो लागि टाढै हुन्छ ।
हाम्रो सौर्यमण्डलभित्र हाम्रो नजिकको छिमेकी ग्रहहरूदेखि सौर्य मण्डलबाहिर टाढाका आकाशगंगाहरू सम्मका दूरीहरू कति हो कति टाढा छन् । वैज्ञानिकहरूले आफ्ना हिसाबकिताबले खुट्याएर ती दूरीहरूको जुन नतिजा दिन्छन् त्यो सुनेर हाम्रो एकछिन दिमाग हल्लिन्छ ।
आउनुहोस् हामी हाम्रो आकाशगंगा ग्यालेक्सीको बाहिरी फेरोमा रहेको हाम्रो गृह ग्रह पृथ्वीबाट हाम्रो यात्रा सुरू गरौं । हाम्रो सौर्यमण्डल भित्रका दूरीहरू खगोलीय एकाइ ( एस्ट्रोनोमिकल युनिट वा एयू) मा नापिन्छ । पृथ्वी सूर्यबाट लगभग ९ करोड ३० लाख माइल (करिब १५ करोड किलोमिटर) को दूरीमा अवस्थित छ । सूर्य र पृथ्वीबीचको यो दूरीलाई नै १ एयू मानिन्छ ।
सूर्यबाट निस्केको प्रकाशलाई पृथ्वीसम्म आइपुग्न अर्थात १ एयूको दूरी पार गर्न ८ मिनेट २० सेकेन्डको समय लाग्छ । तसर्थ, याद राख्नुस् सूर्यतिर फर्केर जुन क्षण तपाईं छठको अर्घ्य चढाउँदै हुनुहुन्छ, त्यो त्यस क्षणभन्दा ८ मिनेट २० सेकेण्ड पुरानो सूर्य हो ।
अब अगाडि बढ्दै हेर्दै जाऊँ, हाम्रो चट्टाने छिमेकी मंगल ग्रहले सूर्यबाट औसत १.५ एयूको दूरीमा रहेर सूर्यको परिक्रमा गर्छ । ग्याँस दैत्य दुई ग्रह बृहस्पति र शनि सूर्यबाट क्रमशः ५ र १० एयूको दूरीमा छन् । हेर्नुस् त– सूर्यबाट चारवटा ग्रह कटेर पाँचौं ग्रह बृहस्पति पुग्न जति दूरी छ, त्यत्ति नै दूरी बृहस्पतिबाट शनिसम्म पुग्न छ ।
प्लुटो नामक आकाशीय पिण्ड, जसलाई पहिले ग्रह मानिन्थ्यो तर पछि वैज्ञानिकहरूले त्यसलाई विभिन्न कारणले ग्रहको दर्जा दिन छाडे, सूर्यबाट टाढाको यस्तो क्षेत्रमा छ जहाँ अत्यन्त चीसोले जमेका अरूअरू पनि अनगिन्ती साना पिण्डहरूले सूर्यकै परिक्रमा गर्ने गर्दछन् । हाम्रो सौर्य मण्डलको त्यो क्षेत्रलाई ‘काइपर बेल्ट’ भन्ने नाम दिइएको छ । त्यो काइपर बेल्ट सूर्यबाट ३० देखि ५० एयू टाढा छ ।
अब त सौर्य मण्डलको अन्तिम सीमामा हामी पुगिसक्यौं । ल अब त्यहाँबाट पनि बाहिर निस्कौं । तर त्यसभन्दा बाहिर अर्को आकाशीय पिण्ड भेट्टाउन हामीले अघिको भन्दा धेरै नै लामो यात्रा गर्नु पर्छ ।
अघि उल्लेख गरेका दूरीहरू घरभित्र एक टेबुलमा रहेको एउटा स्याउ र अर्को टेबुलको अर्को स्याउ बीचको दूरी जस्ता छोटा दूरी थिए । अलि लामै दूरीमा भए पनि कोठाभित्रको टेबुलको एउटा स्याउ र बारीको अम्बाको बोटमा फलेको एक अम्बा बीचको दूरी जत्तिको थियो । त्यसैले त्यो दूरीलाई एयूमा नापियो ।
तर, सौर्य मण्डलबाट बाहिर निस्केपछि आउने सबैभन्दा नजिकको ताराको दूरी भनेको विराटनगरको एउटा स्याउ र धरानमा अर्को स्याउ बीचको दूरी जस्तो हुन्छ । अरूअरू ताराहरूको दूरी एउटा स्याउ विराटनगरमा छ, अर्को स्याउ काठमाडौंमा छ, अर्को नयाँ दिल्लीमा, अर्को बेइजिङमा, बगदादमा, लण्डनमा, न्यू योर्कमा भने जस्तो टाढा टाढाको दूरी हुन्छ । त्यसैले त्यस्तो दूरीलाई एयूमा नापेर सकिंदैन । त्यसलाई नाप्न प्रकाश वर्षको दूरीले नाप्नु पर्छ ।
समयको जम्मा एक सेकेण्डको सानो अवधिमा प्रकाशको किरणले तीन लाख किलोमिटरको दूरी पार गर्छ । यस हिसाबले प्रकाशको किरणले एक वर्षमा जति दूरी पार गर्छ, त्यसलाई एक प्रकाश वर्ष भनिन्छ । हिसाब गरेर हेर्दा एक प्रकाश वर्ष बराबर करिब ९.७ ट्रिलियन किमी रहेछ भन्ने थाहा पाइन्छ ।
ल त हाम्रो यात्रा अझै अगाडि बढाऔं । सूर्यबाट सबैभन्दा नजिकको तारा प्रोक्सिमा सेन्चुरी हो । यो तारासम्म पुग्न हामीले पृथ्वीबाट ४.२४ प्रकाश वर्ष टाढाको दूरी पार गर्नु पर्छ । ल अब ४.२४ लाई ९.७ ट्रिलियन (९७ खर्ब)ले गुणन गरौं । हिसाब गर्दै रिंगटा लाग्ला जस्तो छ । त्यै पनि सबैभन्दा नजिकको तारा रे !
विचार गर्नुस् है– त्यो प्रोक्सिमा सेन्चुरी जसलाई अहिले कुनै वैज्ञानिकले पृथ्वीबाट हेर्दैछ, त्यो अहिलेकै समयमा आकाशमा भएको तारा होइन, त्यो त अहिलेभन्दा ठ्याक्कै ४.२४ वर्ष पुरानो तारा हो । किनकि २.२४ वर्ष पहिले प्रोक्सिमा सेन्चुरीबाट निस्केको प्रकाश मात्र तपाईंको आँखामा अहिले पर्दैछ । अहिलेको प्रोक्सिमा सेन्चुरी हेर्न त अबको ठ्याक्कै ४.२४ वर्ष कुर्नु पर्छ । तर याद राख्नुस् यो ब्रह्माण्डको नापजोखमा यति दूरी त ढुंगा फ्याँक्दा खस्ने जति दूरी मात्रै हो । यति छोटो दूरी त यस्तो कल्पनै गर्न गाह्रो लामो छ भने झन् टाढा टाढाका ताराहरूको दूरी कस्तो होला ?
हाम्रो सौर्य मण्डल जुन ग्यालेक्सीमा छ, त्यो ग्यालेक्सीको नाम आकाशगंगा हो जसलाई अंग्रेजीमा मिल्की वे भनिन्छ । यसभित्र करिब एक खर्ब ताराहरू छन् । यी मध्ये सबैभन्दा नजिकको तारा प्रोक्सिमा सेन्चुरी ४.२४ प्रकाश वर्ष टाढा छ भन्ने कुरा त हामीले गर्यौं तर अब बुझौं यी एक खर्ब तारा कोही दश प्रकाश वर्ष टाढा छन्, कोही सय प्रकाश वर्ष टाढा छन्, कोही हजार प्रकाश वर्ष टाढा छन् । खर्बवटा तारा भनेपछि कोही कति टाढा, कोही कति टाढा । तर, कुरो आयो सबैभन्दा टाढा कतिसम्म जाने त ? आकाश गंगाको एक छेउबाट अर्को छेउसम्मको दूरी कति छ त ? उत्तर हो– एक लाख प्रकाश वर्ष ।
अर्थात, आकाशगंगाको एक छेउको ताराबाट पारीपट्टी अर्को छेउको तारासम्मको दूरी छिचोल्न यदि हामी कुनै प्रकाशको गतिमा चल्ने रकेट चढेर जान तम्सियौं भने याद राखौं है– त्यत्ति टाढा पुग्न हामीलाई एक लाख वर्ष लाग्छ । रकेटमा तेल चाहिं अलि धेरै लाग्ला । बरू पैसा पो अलि महंगो पर्ला कि ?
तर जे होस्, कल्पनाको रकेटमा चढेर भए पनि हामी आकाशगंगाको अर्को छेउ पुग्यौं । ल अब हाम्रो ग्यालेक्सी अर्थात आकाशगंगाको सेरोफेरो पार भयो । तर अब हामी यो पनि विचार गरौं–हाम्रो यो आकाशगंगा त ब्रह्माण्डमा मानिसले देख्न सकेको अर्बौं ग्यालेक्सीहरू मध्येको एक ग्यालेक्सी मात्रै हो । यस्ता ग्यालेक्सी अरू कति छन् कति ।
ल अब आकाशगंगाबाट पनि बाहिर निस्कौं । अब यसबाहिरका दूरीहरू साँच्चै अकल्पनीय छन् । यहाँबाट सबैभन्दा नजिकैको अर्को ग्यालेक्सीको नाम हो– एन्ड्रोमिडा ग्यालेक्सी जो पच्चीस लाख प्रकाश वर्ष टाढा छ । जाने हो भने जाऊँ है साथी हो । झोलामा खानेकुरा चाहिं टन्नै बोकौं । पच्चीस लाख वर्षको यात्रा हो नि ।
यहाँ हामीले यो कुरा भुल्नु हुँदैन, जुन एन्ड्रोमिडा ग्यालेक्सीलाई हामी आज पृथ्वीबाट देखिरहेका छौं, त्यो आजभन्दा पच्चीस लाख वर्ष पुरानो एन्ड्रोमिडा ग्यालेक्सीको छवि हो । आज यो कस्तो छ भन्ने कुरा त पच्चीस लाख वर्ष पछिका मान्छेले मात्र देख्ने छन् ।
जसै हामी ब्रह्माण्डको अझै अझै गहिरो दूरीतिर भासिन्छौं, त्यहाँ पुगेर हाम्रो सौर्य मण्डल त सहारा मरूभूमिमा बालुवाको एउटा कण जत्तिकै मात्र रहेछ भन्ने देख्छौं । त्यहाँबाट हामी ग्यालेक्सीका समूह–समूह र ती समूहहरूले बनेका महासमूह देख्छौं ।
अर्थात, एकअर्काबाट जति नै टाढा रहे पनि ग्यालेक्सीहरूको समूह–समूह महासमूह हुन्छ भन्ने हामी बुझौं । त्यसलाई अंग्रेजीमा ग्यालेक्सीका क्लस्टर र सुपरक्लस्टर भनिन्छ । हाम्रो आकाशगंगा भर्गो सुपर क्लस्टर अन्तर्गत पर्दछ । भर्गो सुपरक्लस्टरको एक छेउबाट अर्को छेउको दूरी चाहिं कति छ त ? धेरै छैन, दश करोड प्रकाश वर्ष मात्रै छ ।
यसभन्दा पनि अगाडि, शक्तिशाली दूरवीनहरूद्वारा अवलोकन गरिएका सबैभन्दा टाढाका आकाशगंगाहरू अझै अर्बौं अर्ब प्रकाश वर्ष टाढा छन् । तिनीहरूको प्रकाशले हाम्रो टेलिस्कोपहरूमा आइपुग्नु अघि कल्पनातीत युगौंसम्म ब्रह्माण्ड पार गरिसकेको छ भन्ने कुरा हामीले भुल्नु हुँदैन ।
यसरी आज हामीले दूरवीनहरूबाट देख्ने त्यति टाढाको दूरीबाट आएका प्रकाशले हामीलाई ब्रह्माण्डको त्यति नै प्राचीन दृश्य देखाइरहेका छन् । भन्नाको मतलब, जति जति टाढाको दृश्य हामी देख्छौं त्यो यस ब्रह्माण्डको त्यति त्यति नै पुरानो दृश्य हो । तसर्थ, यहाँबाट हामीले देख्ने धेरै टाढाको दृश्य यो ब्रह्माण्डको शुरूवाती वाल्यकालको अवस्थाको दृश्य हो ।
मजाको कुरा त के छ भने यति विशाल यी दूरीहरूले ब्रह्माण्डमा हामी मनुवाहरूलाई हाम्रो सानो कण जत्रो स्थानको अनुभूति गराइदिन्छन् । पृथ्वीबाट ग्रहहरू, ताराहरू, र आकाशगंगाहरूको दूरीहरू अन्वेषण गर्नु भनेको हाम्रो जादुमय ब्रह्माण्डमा रमाइलो, साहसिक भ्रमण गर्नु जस्तै हो, जहाँ दूरीको प्रत्येक मापनले ब्रह्माण्डबारे हाम्रो बुझाइलाई अझै अझै फराकिलो बनाउँदै हामीलाई यसको विशाल आकार र सुन्दरताको प्रशंसाको अनुभूतिमा मुग्ध बनाइदिन्छ ।
मेरो आफ्नो निजी विचार चाहिं– ईश्वरको प्रशंसा भनेको यही विशाल ब्रह्माण्डको प्रशंसा गर्नुमा छ । जसरी रामायणको प्रशंसा नै वाल्मिकीको प्रशंसा हो, जसरी रचयिताको महत्व उसको रचनाको महानतामा निहित हुन्छ, त्यसै गरी ईश्वरको महत्व यो सम्पूर्ण ब्रह्माण्डको विशाल दूरीहरूमा नहेरी देख्नै सकिंदैन ।
View : 258
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved