Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

राजनीतिमा ‘भाउजूवाद’ को अनौपचारिक हस्तक्षेप

नेताका निकटस्थहरूले शक्तिको दुरुपयोग गरी अवैध तरिकाले सम्पत्ति आर्जन गर्ने गरेको आरोप लाग्नु सामान्य भइसकेको छ । नीतिगत भ्रष्टाचारलाई बढावा दिने र आर्थिक अनियमितालाई ढाकछोप गर्ने कार्यमा उनीहरूको अप्रत्यक्ष भूमिकाले दण्डहीनता बढाएको छ ।
२२ मंसिर २०८२, सोमवार

देशको राजनीति अहिले नातावाद, कृपावाद, वंशवाद, अंशवाद र परिवारवादजस्ता अनेक वादहरूको चक्रव्यूहमा फसेको छ । यसले गर्दा राजनीतिमा निराशा पैदा गराएको छ । दलहरूको राजनीतिक बाटो स्पष्टता, दूरदर्शिता र सुशासनको दिशातिर जानुको सट्टा यिनै विभिन्न वादहरूमा अल्मलिएको छ ।

यी सबै वादहरू सदैव सत्ता र शक्तिको केन्द्रमा रमाएका छन्, जसले गर्दा यिनीहरूले राजनीतिक सिद्धान्त, आदर्श र मूल्य–मान्यता गुमाउँदै आएका छन् ।

राजनीति नागरिकलाई सशक्त र बलियो बनाउनका लागि हो, तर यहाँ राजनीतिक शक्तिलाई व्यक्तिगत लाभको साधन बनाइएको छ । त्यो लाभले नागरिकलाई विपन्नताको बाटोतिर लैजान मद्दत गर्दछ ।

दलीय प्रणालीबाट हुने सेवा प्रवाहको प्रभावकारिता नागरिकसम्म पुग्न सकेको छैन, जसले गर्दा परम्परागत दलीयवाद हाबी हुँदै आएको छ ।

भाउजूवादको हाबी र नीतिगत विचलन
राजनीतिक दलहरूको नीति र नेतृत्वलाई बलियो बनाउन सबैको पहिचान, अस्तित्व, सामूहिकता र अपनत्वजस्ता तत्वहरूको सशक्त संयोजन हुनुपर्छ ।

यसले राजनीतिक ऊर्जा उत्पादन गरी नागरिक सशक्तीकरणमा मद्दत पुर्‍याउँछ । तर अहिलेको राजनीति विभिन्न वादहरूको मध्यबाट परिवारवादमा जकडिएको छ, जसले गर्दा राजनीतिक बाटोमा भ्रष्टाचार, बेथिति, अत्याचार र ढिलासुस्तीजस्ता तत्वहरूले नकारात्मक असर पार्दै गएका छन् ।

अहिलेको राजनीतिक अवस्था र व्यवस्थामा विशेषगरी परिवारवादभित्र ‘भाउजूवाद’ को चर्चा–परिचर्चा एकदमै बढ्दै गएको छ । राजनीतिक दलभित्र ’भाउजूवाद’ को नेतृत्व कुनै दलमा प्रत्यक्ष छ भने कुनैमा अप्रत्यक्ष भूमिकामा देखिएको छ ।

पुरानो राजनीतिक संस्कारमा, २०४६ सालसम्मको राजनीतिक परिवर्तनका लागि ’भाउजूहरू’ प्रेरणाको स्रोत थिए । उहाँहरूको निस्वार्थ र त्यागको भावनाले राजनीतिक बाटो सन्तुलित थियो । उहाँहरूले जहाँनियाँ शासन र राजतन्त्रको विरुद्ध तथा प्रजातन्त्र ल्याउन काँधमा काँध मिलाएर योगदान दिएको इतिहास छ ।

कुनै प्रकारका राजनीतिक बाधा र अवरोध उत्पन्न नगर्नका लागि कर्मठ र कर्मयोगी भएर राजनीतिक धर्म निर्वाह गर्दै आएका दलका पत्नीहरू (भाउजूहरू) ऊर्जा र शक्तिको प्रतिबिम्बका रूपमा देखिनुहुन्थ्यो । तर आज यिनै संस्कार र संस्कृति राजनीतिबाट टाढिंदै गएका छन् ।

नेपाली राजनीतिमा ‘भाउजूहरू’को अनौपचारिक हस्तक्षेप
राजनीतिमा लामो समयदेखि सत्ताको मोह, परिवारवाद र अनधिकृत हस्तक्षेपको प्रवृत्तिले समस्या ग्रसित भएको छ । यसमा नेताका पत्नीहरू अर्थात् ‘भाउजूहरू’को भूमिकालाई विशेष गरी निम्न किसिमले दृष्टिगत गर्न सकिन्छ :

अदृश्य शक्तिको केन्द्र : नेताका श्रीमतीहरूको भूमिका ‘प्रथम महिला’ मा मात्र सीमित छैन । उनीहरू पतिको शक्ति र पहुँचको आडमा अदृश्य शक्तिको केन्द्रका रूपमा काम गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

निर्णायक प्रभाव  : महत्त्वपूर्ण राजनीतिक नियुक्ति (राजदूत, संवैधानिक निकायका प्रमुख), मन्त्रिपरिषद् विस्तार र ठूला परियोजनाहरूको ठेक्कापट्टा जस्ता संवेदनशील निर्णयहरूमा उनीहरूको अनौपचारिक दबाब र सिफारिस निर्णायक हुने चर्चा व्यापक छ । यसले योग्यता र क्षमताका आधारमा गरिनुपर्ने निर्णयहरूलाई व्यक्तिगत सम्बन्ध र स्वार्थबाट निर्देशित गराउँछ, जसले राज्य संयन्त्रमा चरम भ्रष्टाचार ल्याउँछ ।

‘पहुँचको बिन्दु’ : नेताका श्रीमतीहरूले विशेषगरी कर्मचारी र व्यापारीहरूका लागि ‘पहुँचको बिन्दु’ का रूपमा काम गर्छन् । उनीहरूमार्फत नेतासम्म पुग्ने र काम गराउने ‘लबिङ’ समूहहरू सक्रिय हुन्छन् । यसले औपचारिक राजनीतिक प्रणालीलाई किनारामा पार्ने गर्छ ।

वंशको राजनीति : कतिपय अवस्थामा, नेताका श्रीमतीहरू आफैं पनि सक्रिय राजनीतिमा प्रवेश गरी ‘वंशको राजनीति’ लाई निरन्तरता दिने माध्यम बनेका छन् । यसले दलभित्रको आन्तरिक लोकतन्त्रलाई कमजोर बनाउँछ ।

विकृति, विसङ्गति र दण्डहीनता
राजनीतिक शक्तिमा परिवारवादको हावी र ‘भाउजूहरू’को हस्तक्षेपका कारण गम्भीर विकृति र विसङ्गति भित्रिएका छन्  :

आर्थिक अनियमिता  : नेताका निकटस्थहरूले शक्तिको दुरुपयोग गरी अवैध तरिकाले सम्पत्ति आर्जन गर्ने गरेको आरोप लाग्नु सामान्य भइसकेको छ । नीतिगत भ्रष्टाचारलाई बढावा दिने र आर्थिक अनियमितालाई ढाकछोप गर्ने कार्यमा उनीहरूको अप्रत्यक्ष भूमिकाले दण्डहीनता बढाएको छ ।

सार्वजनिक सेवामा ह्रास : परिवारवादबाट ’भाउजूहरू’को राजनीतिक नियुक्ति र प्रशासनिक सरुवा–बढुवा नातावाद र व्यक्तिगत स्वार्थमा केन्द्रित बन्न पुग्छ । यसले राज्य संयन्त्रमा योग्य र इमानदार व्यक्तिहरूको स्थानमा चाप्लुसी गर्नेहरू हावी हुन्छन्, जसले सार्वजनिक सेवाको गुणस्तरमा ह्रास ल्याउँछ ।

जवाफदेहीता शून्य : अनौपचारिक शक्ति केन्द्रहरूले गोप्य रूपमा काम गर्ने हुँदा सम्पूर्ण राजनीतिक प्रक्रिया अपारदर्शी बन्न पुग्छ, जसले गर्दा जवाफदेहीता शून्य हुन्छ ।
 

सत्ताको मोह र देशमा निम्तिएका संकट
सत्ता र शक्तिको चरम मोहले देशको राजनीतिमा विनाशकारी घटनाहरू निम्त्याएको छ । ‘जेन–जी आन्दोलन’ जस्ता घटनाहरू नेतृत्वको व्यक्तिगत महत्वात्कांक्षा र नैतिकताको स्खलनको प्रतिफल हो ।

राजनीतिक अस्थिरता  : जब नेताहरूले व्यक्तिगत र पारिवारिक स्वार्थलाई राष्ट्रिय हितभन्दा माथि राख्छन्, तब राजनीतिक दलभित्र आन्तरिक कलह बढ्छ । सत्ता साझेदारी, मन्त्रिपरिषद् अदलबदल र पार्टी विभाजन जस्ता अस्थिरताका घटनाहरूलाई प्रायः आर्थिक लेनदेन र निहित स्वार्थले प्रभावित पारेको छ ।

राज्यकोषको दुरुपयोग : सत्ताको आडमा ठूला परियोजनाहरू (जस्तैः विमानस्थल, जलविद्युत्, सडक) मा ठेकेदार र नेताका परिवारबीचको अपारदर्शी सा“ठगा“ठले राज्यकोषको ठूलो रकम दुरुपयोग भएको छ ।

लोकतन्त्रप्रति निराशा : जब नागरिकहरूले देख्छन् कि राजनीति केही सीमित परिवार र समूहको जागीर बनेको छ, तब उनीहरूमा लोकतन्त्रप्रति घोर निराशा पैदा हुन्छ । स्वतन्त्र उम्मेदवारहरूको उदय र राजनीतिक दलप्रतिको बढ्दो अविश्वास यसै निराशाको उपज हो ।

विधिको शासन कमजोर  : राजनीतिक शक्तिको आडमा भएका गम्भीर अपराध र भ्रष्टाचारका घटनाहरूमाथि कानूनी कारबाही नहुने वा प्रभावित हुने अवस्था सिर्जना हुन्छ, जसले विधिको शासनलाई कमजोर बनाउँछ ।

निष्कर्षमा नेपालको राजनीतिलाई दूषित बनाउने कारकहरू धेरै छन्, जसमा नेताका धर्मपत्नीहरू अर्थात् ‘भाउजूहरू’को अनौपचारिक हस्तक्षेप एउटा महत्वत्पूर्ण पाटो हो । यद्यपि, यो समस्याको समाधान व्यक्तिगत दोषारोपणमा भन्दा पनि संस्थागत सुधारमा निहित छ ।

राजनीतिक दलहरूले आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्छ, सम्पत्तिको स्रोत पारदर्शी बनाउनुपर्छ, र पदमा पुग्ने व्यक्तिहरूको नैतिकता तथा आचरणमा कडाइ गर्नुपर्छ ।

राजनीतिको शुद्धीकरणका लागि जवाफदेहीता, पारदर्शिता र विधिको शासन अपरिहार्य छ । अन्यथा, सत्ताको लोभ र परिवारवादको जालमा फसेको राजनीतिले देशलाई निरन्तर अस्थिरता र आर्थिक संकटको दलदलमा धकेली रहनेछ ।

                                                                     (रामसुन्दर राजवंशी नेपाली कांग्रेस, विराटनगर–११ समितिका सभापति हुन् ।)

View : 492

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved