Biratnagar, Morang, Nepal
६ वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

डब्लुएचओद्वारा मेनेन्जाइटिसविरुद्ध निर्देशिका जारी

जुनु भट्टराई
४ वैशाख २०८२, बिहिवार

विराटनगर । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मेनेन्जाइटिस रोगको समयमै पहिचान, प्रभावकारी उपचार र दीर्घकालीन हेरचाह सुनिश्चित गर्नका लागि पहिलो पटक विश्वव्यापी निर्देशिका सार्वजनिक गरेको छ । 

मेनेन्जाइटिस रोगका कारण हुने मृत्युदर र अपांगता घटाउने उद्देश्यले तयार पारिएको यस निर्देशिकाले वैज्ञानिक प्रमाणमा आधारित सिफारिसहरू समेटेको छ ।

सन् २०१९ मा मात्रै विश्वभर अनुमानित २५ लाख मेनिजाइटिसका घटनाहरू रिपोर्ट भएका थिए, जसमा २६ लाख ब्याक्टेरियल मेनेन्जाइटिसका केशहरु देखिएका थिए र तीमध्ये करिब २ लाख ४० हजार व्यक्तिको मृत्यु भएको थियो । 

दिमाग र मेरुदण्डलाई घेरेर सुरक्षा गर्ने झिल्लीहरूमा संक्रमण भएर हुने रोग ‘मेनेन्जाइटिस’ नेपालमा समेत बढ्दो अवस्थामा देखिएको चिकित्सकहरु बताउँछन् । 

नोवेल शिक्षण अस्पताल विराटनगरका बरिष्ठ न्यूरोलोजिष्ट डा. प्रकाश काफ्ले मेनेन्जाइटिसलाई समयमै नचिन्ने हो भने यो ज्यानै जाने खतरनाक रोग बन्न सक्ने बताउँछन् । 

डा. काफले भन्छन्, दिमाग र मेरुदण्डलाई घेर्ने मेनिन्जेस नामक झिल्लीमा ब्याक्टेरिया, भाइरस वा अन्य संक्रमणले गर्दा सुन्निने अवस्थालाई मेनेन्जाइटिस भनिन्छ । समयमै पहिचान र उपचार हुन नसके बिरामीको मृत्यु समेत हुन सक्छ ।

उनका अनुसार मेनेन्जाइटिस दुई प्रकारको हुन्छ—ब्याक्टेरियल र भाइरल । भाइरल मेनेन्जाइटिस धेरैजसो आफैं निको हुने भए पनि ब्याक्टेरियल मेनेन्जाइटिस भने गम्भीर हुने र अस्पतालमै भर्ना गरेर एन्टिबायोटिकको माध्यमबाट उपचार गर्नु पर्ने हुन्छ ।

मेनेन्जाइटिस भएको खण्डमा बिरामीको टाउको दुख्ने, ज्वरो आउने, घाँटी कडिने, उज्यालो हेर्न नसक्ने, वाकवाकी लाग्ने र बान्ता हुने लगायतका समस्या देखिन्छन् । 

ससाना बालबालिकामा निरन्तर रोइरहने, दूध खान नचाहने र शरीर सुस्त देखिने जस्ता लक्षण देखिन सक्ने डा. काफ्ले बताउँछन् । 

‘समयमै उपचार गरिए बिरामी निको हुन्छ तर उपचारमा ढिलो गरेमा दिमागमा असर पुग्न सक्छ, आधा शरीरमा पक्षघात आउन सक्छ वा बिरामी बेहोस भएर मृत्यु समेत हुन सक्छ,’ उनी भन्छन् । 

कडा ज्वरो आएर टाउको असाध्यै दुख्ने जस्ता लक्षण देखिएमा तत्काल अस्पतालमा जाँच गराउन समेत डा. काफ्लेले आग्रह गरे ।

नयाँ निर्देशिकाको महत्व

डब्लुएचओद्वारा सार्वजनिक भएको उक्त निर्देशिकामा महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले भनेका छन्, ब्याक्टेरियल मेनेन्जाइटिसले संक्रमितमध्ये प्रत्येक छ जनामा एक जनाको ज्यान लिन्छ र धेरैलाई दीर्घकालीन स्वास्थ्य समस्यामा पार्छ, त्यसैले यो नयाँ निर्देशिकाको कार्यान्वयनले जीवन बचाउन, दीर्घकालीन हेरचाहमा सुधार ल्याउन र स्वास्थ्य प्रणाली सुदृढ बनाउन सहयोग पुर्‍याउनेछ ।

उनले यस रोगले जुनसुकै उमेर समुह, स्थान वा व्यक्तिलाई असर गर्न सक्छ, तर न्यून तथा मध्यम आय भएका मुलुकहरू र ठूलो महामारी फैलिएका क्षेत्रहरूमा यसको भार अझै उच्च रहेको उल्लेख गरेका छन् ।

नयाँ निर्देशिकाले एक महिना भन्दा माथिको उमेर भएका बालबालिका, किशोर किशोरी र वयस्कहरुमा देखिने सामुदायिक स्तरमा उत्पन्न मेनिन्जाइटिसको पहिचान, उपचार र दीर्घकालीन हेरचाह सम्बन्धी स्पष्ट सिफारिसहरू प्रदान गरेको छ । यसले ब्याक्टेरियल र भाइरल दुबै प्रकारका मेनिन्जाइटिसका लागि एकीकृत उपचार विधि प्रस्तुत गरेको छ  ।

सन् २०३० सम्ममा मेनिन्जाइटिसलाई पराजित गर्ने लक्ष्य

सन् २०३० सम्ममा मेनिन्जाइटिसलाई पराजित गर्ने अभियान अन्तर्गत यस निर्देशिकाले मेनेन्जाइटिस महामारी अन्त्य गर्ने, खोप मार्फत रोकथाम गर्न सकिने म्यानिन्जाइटिसका घटना ५० प्रतिशतले घटाउने, मृत्युदर ७० प्रतिशतले  घटाउने र दीर्घकालीन असर झेलिरहेका व्यक्तिहरुको जीवन स्तर सुधार गर्ने लक्ष्य लिएको छ । यो निर्देशिका सबै आयस्तरका देशहरूका लागि अत्यन्त महत्वपूर्ण उपलब्धि हो, नोबेल अस्पतालका न्यूरोलोजिस्ट डा. काफ्ले भन्छन् । 

विशेषगरी नेपाल जस्ता विकासशील देशहरुमा जहाँ स्वास्थ्य सेवाहरू सीमित छन् र मेनिन्जाइटिसको पहिचान र उपचारमा ढिलाइ हुन्छ, त्यहाँ यस निर्देशिकाले एकरूपता ल्याउने र उपचारको स्तर सुधार गर्ने छ ।

उनी थप्छन्, मेनिन्जाइटिसका कारण हुने जटिलताबाट पीडित परिवारहरूले लामो समयसम्म आर्थिक, सामाजिक र मनोवैज्ञानिक चुनौतीहरूको सामना गर्नुपर्छ । यस निर्देशिकाले प्रभावित व्यक्ति र परिवारहरूलाई आवश्यक मनोसामाजिक सहयोग र पुनस्र्थापना सेवाहरूको पहुँचमा सुधार ल्याउनेछ ।

नयाँ निर्देशिकाले यो रोगको द्रुत पहिचान, प्रभावकारी उपचार, रोकथाम, निगरानी, दीर्घकालीन हेरचाह र जनचेतना अभिवृद्धि जस्ता पाँच प्रमुख क्षेत्रहरूमा समन्वयात्मक प्रयास आवश्यक पर्ने स्पष्ट गरेको छ ।

यस निर्देशिका स्वास्थ्यकर्मी, नीति निर्माता, शैक्षिक संस्था तथा सामाजिक संघ संस्थाहरूले आफ्नो कार्यक्षेत्रमा क्षमता अभिवृद्धि, शिक्षा तथा अनुसन्धानमा समेत प्रयोग गर्न सक्ने उद्देश्यले तयार पारिएको हो ।

डब्लुएचओले यस निर्देशिका मार्फत देशहरूलाई म्यानिन्जाइटिसको उपचार, हेरचाह र दीर्घकालीन व्यवस्थापनमा सुधार ल्याउने महत्वपूर्ण उपकरण उपलब्ध गराएको छ ।

View : 37

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved