–कुमुदमोहन झा
नेपालको दक्षिणी भूभाग विशेष गरी मिथिलाञ्चल, सांस्कृतिक विविधता र सृजनात्मक कलाका लागि परिचित क्षेत्र हा । यस क्षेत्रको एउटा अमूल्य कलारूप हो मिथिला चित्रकला, जसलाई मिथिला पेन्टिङ पनि भनिन्छ । मिथिला चित्रकलालाई मधुबनी चित्रकला पनि भनिन्छ । यो केवल चित्र होइन, मैथिल समाजको जीवनशैली, धार्मिक आस्था र सामाजिक सोचको दर्पण हो ।
अहिले यो परम्परागत कलाले आफ्नो सीमित भित्ताबाट निस्केर अन्तर्राष्ट्रिय बजारमा आर्थिक सम्भावनाको नयाँ अध्याय सुरु गरेको छ ।
मिथिला चित्रकला हजारौं वर्ष पुरानो कला हो । जनकपुरधाम यस कलाको सांस्कृतिक केन्द्र मानिन्छ, जहाँ राजा जनकको दरबारमा विद्वान र कलाकारहरूको संरक्षण भएको उल्लेख हिन्दू धर्मग्रन्थहरूमा पाइन्छ ।
मिथिलाञ्चलका जिल्लाहरू बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, सिरहा, महोत्तरी, सप्तरी, सुनसरी र मोरङ यस परम्पराका धरोहर हुन् ।
परम्परागत रूपमा यो कला घरका भित्ताहरूमा बनाइन्थ्यो । विशेष गरी महिलाहरूले विवाह, पूजा, उत्सव र सामाजिक अनुष्ठानका अवसरमा भित्तामा चित्र कोर्थे । ‘कोहबर चित्र’ विवाहको प्रतीक मानिन्छ, जसले वैवाहिक बन्धन र सृजनशीलताको अभिव्यक्ति गर्दछ ।
मिथिला चित्रकलामा प्रयोग हुने आकृतिहरू केवल सौन्दर्यका लागि होइन अपितु धार्मिक, दार्शनिक र सामाजिक अर्थ बोकेका हुन्छन् । सीताराम , राधाकृष्ण, सूर्य, चन्द्रमा, माछा, मयूर, फूल, वृक्ष आदिबाट जीवन, प्रेम, उर्वरता र सामञ्जस्यको भाव व्यक्त गरिन्छ ।
कलात्मक स्वरूप र अभिव्यक्तिको विविधता
मिथिला चित्रकलाको विशेषता यसको रङ, रेखा र प्रतीकात्मकतामा निहित छ । कलाकारहरूले प्राकृतिक स्रोतबाट रङ बनाउँछन् – बेसारबाट पहेंलो, कोइला वा कालो माटोबाट कालो, नीम वा पातबाट हरियो, फूलबाट रातो र निलो ।
यसले कलालाई पर्यावरणमैत्री बनाउँछ । चित्रकलाका प्रमुख शैलीहरू यसप्रकार छन् ः
यी शैलीहरूले मिथिला चित्रकलालाई सांस्कृतिक गहिराइ र कलात्मक विविधता प्रदान गर्छन् ।
परम्परागत कलाबाट आधुनिक उद्यमतर्फ
पहिले भित्ताभरि सीमित यो कला अहिले क्यानभास, कपडा, कागज, काठ र धातुमा उतारिन थालिएको छ । बजारको माग अनुसार मिथिला कलाले नयाँ स्वरूप लिंदैछ । मिथिला चित्रकला भित्तामा मात्र होइन झोला, कपडा, साडी, कार्ड, टिसर्ट, होटेल सजावट र फेशन डिजाइनसम्म फैलिएको छ ।
यो रूपान्तरण महिलाहरूका लागि आर्थिक सशक्तीकरणको अवसर बनेको छ । धेरै महिलाहरू घरमै बसेर चित्र बनाउन थालेका छन्, जसले उनीहरूलाई घरेलु आम्दानी, आत्मनिर्भरता र उद्यमशीलता प्रदान गरेको छ ।
नेपाल र भारतका सीमावर्ती क्षेत्रमा मिथिला चित्रकलाका समूह, सहकारी संस्था र घरेलु उद्योगहरू बिस्तार हुँदै गएका छन् ।
जनकपुर महिला विकास केन्द्र (जनकपुर वुमेन्स डेभलपमेन्ट सेन्टर), मिथिला आर्ट इन्स्टिच्युट (मिथिला कला संस्था) लगायतका संस्थाहरूले यस कलालाई व्यावसायिक रूप दिन सहयोग गरेका छन् ।
आर्थिक सम्भावना
घरेलु उद्योग र स्वरोजगार : मिथिला कला ‘न्यून लागत, उच्च महत्त्व’ को उत्पादन हो अर्थात् कम लगानीमा सुरु गर्न सकिने र उच्च मूल्य प्राप्त हुन । महिलाहरूले घरमै बसेर तर सीपका माध्यमबाट उत्पादन गर्न सक्ने भएकाले यसले कुटिर उद्योगको स्वरूप पाएको छ । सहकारी मोडलमा सामूहिक उत्पादन गर्दा लागत घट्छ र बजार पहुँच बढ्छ ।
बजार र माग : घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा मिथिला कलाको माग तीव्र गतिमा बढ्दैछ । पर्यटकहरूले नेपालको मौलिक हस्तकलामा विशेष रुचि देखाउ“छन् । विदेशी बजारमा नेपाली हस्तकला ( ह्याण्डमेड आर्ट अफ नेपाल) ब्रान्ड अन्तर्गत मिथिला कलाका उत्पादन इट्सी, अमाजोन, दराज जस्ता ई–कमर्स साइटहरूमा बिक्री भइरहेका छन् ।
पर्यटनसँग सम्बन्ध : मिथिला कला सांस्कृतिक पर्यटनसँग प्रत्यक्षरूपमा जोड्न सकिन्छ । जनकपुर, राजविराज, लहान, विराटनगर, बीरगञ्ज जस्ता स्थानहरूमा आर्ट ग्यालरी, कार्यशाला र प्रदर्शनी आयोजना गरेर पर्यटकहरूलाई सांस्कृतिक अनुभव दिन सकिन्छ । ‘आर्ट एण्ड कल्चर ट्रेल’ जस्ता अवधारणाबाट आन्तरिक पर्यटनमा नयाँ आकर्षण सिर्जना गर्न सकिन्छ ।
निर्यात सम्भावना : नेपालको हस्तकला निर्यातको महत्वपूर्ण हिस्सा चित्रकला र वस्त्रस“ग सम्बन्धित छ । मिथिला पेन्टिङ उत्पादनलाई ‘वातावरणमैत्री कला’ वा ‘सांस्कृतिक कुटनीति उत्पादन’ (कल्चरल डिप्लोमेसी प्रोडक्सन) का रूपमा ब्रान्डिङ गर्न सकिन्छ । सरकारी नीतिगत समर्थनले यसलाई दक्षिण एशियाली सहयोग संगठन (सार्क), दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) र युरोपेली बजारसम्म पुर्याउन सक्ने सम्भावना प्रबल छ ।
प्रवद्र्धनका रणनीति र व्यावसायिक मोडल
डिजिटाइजेसन र प्रविधि एकीकरण : मिथिला चित्रकलालाई डिजिटल आर्ट, एनउफटी, ग्राफिक्स डिजाइन जस्ता नयाँ माध्यममा रूपान्तरण गर्न सकिन्छ । यसले युवापुस्तालाई आकर्षित गर्छ र अन्तर्राष्ट्रिय पहुँच बढाउँछ ।
ई–व्यापार र अनलाइन बजार : कलाकारहरूलाई ई–कमर्स प्रशिक्षण दिई फेसबुक, इन्सट्राग्राम, इट्सी, दराज, अमाजोन ह्यान्डमेड जस्ता प्लेटफर्ममा उत्पादन बिक्री गर्न सकिन्छ ‘मेड इन मिथिला’ (मिथिलामा बनेको) जस्तो ब्रान्ड सिर्जना गरेर डिजिटल मार्केटिङ बढाउनु पर्छ ।
सीप विकास र तालिम : व्यावसायिक तालिममा उत्पादन विकास, प्याकेजिङ, ग्राहक सेवा, ब्रान्डिङ र डिजाइन नवप्रवर्धन सिकाउन सकिन्छ ।
फेशन, आन्तरिक सजावट र डिजिटल सञ्चार माध्यमसँग सम्बन्ध जोडेर नयाँ उत्पादन विकास गर्न सकिन्छ ।
सहकारी र सामाजिक उद्यम : मिथिला कलाकारहरूका लागि सहकारी संस्था निर्माण गरी सामूहिक उत्पादन र बिक्री प्रणाली विकास गर्न सकिन्छ । सामाजिक उद्यम मोडलबाट सामाजिक प्रभावसहित आर्थिक लाभ पनि सम्भव हुन्छ ।
सरकारी नीति, शिक्षा र संस्थागत भूमिका
सांस्कृतिक सम्पदा संरक्षण : मिथिला कलालाई राष्ट्रिय सांस्कृतिक सम्पदा सूचीमा समावेश गर्नुपर्छ । संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन ‘युनेस्को’को अमूर्त सांस्कृतिक सम्पदा (आईसीएच) को सूचीमा दर्ता गर्न पहल गर्न सकिन्छ । पुराना चित्र र शैलीहरूको डिजिटल अभिलेख तयार गर्नुपर्छ ।
शिक्षा प्रणालीमा समावेश : विद्यालयदेखि विश्वविद्यालय तहसम्म मिथिला कला र लोककला सम्बन्धी विषय समावेश गर्न सकिन्छ । युवाहरूलाई छात्रवृत्ति, प्रशिक्षण (इन्टर्नशिप) र उद्यम तालिम उपलब्ध गराउनुपर्छ ।
आर्थिक नीति र कर सहुलियत ः लघु तथा घरेलु उद्यमका रूपमा मिथिला कला व्यवसायलाई कर छुट, सस्तो ऋण र व्यवसाय दर्तामा सहजीकरण प्रदान गर्नुपर्छ ।महिला उद्यमीलाई राहत र तालिम सहयोग आवश्यक छ ।
स्थानीय सरकारको भूमिका : प्रदेश र स्थानीय तहले कला केन्द्र, तालिम केन्द्र र सांस्कृतिक केन्द्र स्थापना गर्न सक्छन् । वार्षिक कला मेला र स्थानीय ‘ब्रान्डिङ’ अभियान सञ्चालन गर्नुपर्छ ।
अन्तर्राष्ट्रिय प्रवर्द्धन र कूटनीतिक अवसर
मिथिला कलालाई सांस्कृतिक कूटनीतिको माध्यम बनाउन सकिन्छ । नेपाल सरकार, दूतावास, र गैर–आवासीय नेपाली संघ (एनआरएनए) मार्फत अन्तर्राष्ट्रिय कला प्रदर्शनी र सांस्कृतिक आदानप्रदानमा सहभागिता बढाउनुपर्छ ।
युनेस्को, सार्क सांस्कृतिक केन्द्र तथा अन्तर्राष्ट्रिय कला संस्थासँग सहकार्य गरेर मिथिला चित्रकलालाई विश्व स्तरमा मान्यता दिलाउन सकिन्छ । यसका लागि सरकारी सांस्कृतिक संस्थानहरूले ‘मिथिला कला प्रवर्द्धन कोष’ स्थापना गर्न सकिन्छ ।
सामाजिक सशक्तिकरण र लैङ्गिक दृष्टिकोण
मिथिला चित्रकला महिलाहरूको सृजनात्मकता र आत्म अभिव्यक्तिको माध्यम हो । व्यवसायीकरण मार्फत यो महिला सशक्तिकरण र आर्थिक आत्मनिर्भरताको प्रमुख साधन बन्न सक्छ । समूहगत उत्पादन, सहकारी मोडल र तालिम प्रणालीले ग्रामीण महिलाको आय वृद्धि र सामाजिक प्रतिष्ठा बढाउँछ युवाहरूका लागि पनि यो उद्यमशीलताको नयाँ अवसर हो ।
सीप, बजार, र प्रविधिको संयोजनमार्फत सांस्कृतिक रोजगार सिर्जना गर्न सकिन्छ ।
चुनौतीहरू र समाधानका उपाय : बजार पहुँच र प्रविधिको कमी, मौलिकता र नक्कली उत्पादनबीचको प्रतिस्पर्धा, नीति र वित्तीय समर्थनको अभाव, युवा पुस्ताको घट्दो चासो यस प्रमुख चुनौतीहरू हुन् ।
सम्भावित समाधानहरू : बौद्धिक सम्पत्ति अधिकार संरक्षण, सांस्कृतिक उद्यमशीलता नीति निर्माण
अनलाइन प्रमाणीकरण प्रणाली, संयुक्त ब्रान्डिङ र निर्यात सहयोग हुनु पर्दछ ।
मिथिला कला केवल कला होइन यो मिथिलाञ्चलको आर्थिक सम्भावना, सामाजिक सशक्तिकरण र सांस्कृतिक पहिचानको संगम हा । सही नीतिगत दिशा, प्रविधिको प्रयोग र बजार प्रवर्द्धनका माध्यमबाट यस कलाले हजारौं महिला र युवालाई रोजगारी दिन सक्छ, स्थानीय अर्थतन्त्रलाई सशक्त बनाउन सक्छ र नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्न सक्छ ।
View : 350
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved