विराटनगर । उपेक्षित उष्णप्रदेशीय रोगहरुलाई रोकथाम र नियन्त्रण गर्न ३ तहको सरकारले समन्वय गरेर अगाडि बढ्नु पर्ने सरोकारवालाहरुले बताएका छन् । कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा विश्व उपेक्षित उष्णप्रदेशीय रोगहरुको बारेमा विराटनगरमा पक्रकारसँग गरिएको अन्तरत्रियामा सरोकारवालाहरुले सो कुरा बताएका हुन् ।
अन्तरक्रिया कार्यकममा बोल्दै प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले उपेक्षित उष्णप्रदेशीय रोगहरु नियन्त्रण र निवारण गर्ने कुरामा ३ तहको सरकारले अपनत्व लिदै सबैको सहभागिता र सहकार्यमा अगाडि बढाउनु पर्नेमा जोड दिएका थिए ।
उनले उपेक्षित उष्ण प्रदेशीय रोग निवारणको क्षेत्रमा हासिल भएका उपलब्धिलाई निरन्तरता दिन र यस प्रकारका रोगको रोकथामका लागि समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्न, स्वास्थ्य क्षेत्र एवं सञ्चारकर्मीसँग सहकार्य गर्दै यसलाई स्वास्थ्य सेवासँगै एकीकृत गर्न आवश्यक रहेको बताए ।
उपेक्षित उष्ण प्रदेशीय रोगको निवारणका क्षेत्रमा केही उपलब्धि हासिल भए पनि अझै पनि थुप्रै चुनौती विद्यमान रहेको उनको भनाइ छ । यस्ता रोगहरु अधिंकाश पिछडिएको क्षेत्र तथा समुदायमा धेरै देखिने हुँदा अन्य रोगहरुको तुलनामा सधै ओझेलमा पर्ने गरेको बताए ।
फेयर मेड नेपाल नामक संस्थाका डम्बरसिंह गुरुडले नेपालमा उपेक्षित रोग निवारणका लागि अझै पनि आवश्यक जनचेतनाको कमी रहेको बताए । यस्ता रोगहरुको बारेमा राज्यबाट मात्र होइन स्वयम् बिरामीबाटै पनि उपेक्षित हुने गरेको पाइएको बताए । त्यसैले यस्ता रोगहरुको निराकरणका लागि सबै निकायसँग सहकार्यको आवश्यकता रहेको औल्याए ।
उपेक्षित रोगहरूको निदान, उपचार, नियन्त्रण तथा ऊन्मूलन कार्यक्रममा समुदायको सत्रिय सहभागिताको अभावमा लामो समयसम्म रोग लुकाएर बस्ने र बिरामीले औषधि सेवन नगरिदिने समस्या अत्यधिक हुँदा यस्ता समस्यालाई रोक्न प्रभावकारी बनाएर उपेक्षित रोगको रोकथाम र नियन्त्रण गर्नुपर्ने आवश्यक भएको औल्याए ।
त्यस्तैगरि फेक्ट नेपालका कार्यकम संयोजक कैलाशखाकी श्रेष्ठले कुनै समय नेपालमा नामै नसुनेको डेङ्गुजस्ता रोग हिजोआज देशव्यापीरूपमा फैलिएको भन्दै सबैको प्रयासबाट यस्ता रोगको रोकथाम र नियन्त्रण गर्नुपर्ने आवश्यक देखिएको बताए । उनले स्थानीय र प्रदेश सरकारले यस्ता रोगहरुको कार्यक्रमलाई प्राथामिकता नदिएका कारण उपेक्षित उष्णप्रदेशीय रोगको निवारणमा सोचे जस्तो उपलब्धी हासिल हुन नसकेको औल्याए ।
उपेक्षित यी १० वटा रोगलाई नियन्त्रण र निवारण गर्न ३ तहको सरकार बीच एकीकृत सहकार्यको आवश्यकता रहेको औल्याए । उनले स्वास्थ्य क्षेत्र जटिल र संवेदनशील क्षेत्र भएकोले यसलाई सुरक्षित राख्न ३ तहको सरकारको समन्वयसँगै पर्याप्त बजेट आवश्यक रहेको बताए ।
पत्रकार महासंघ मोरडका सचिव नेत्रपी अधिकारीले यी रोगहरुको बारेमा जनतामाझ जनचेतना फैलाउने खालका समाचार सम्प्रेषण गरी मिडियाको जिम्मेवारी पूरा गर्ने फ्रतिबद्धता ब्यक्त गरे ।
सो अन्तरत्रिया कार्यक्रममा निर्देशनालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीले कोशी प्रदेशको विश्व उपेक्षित उष्ण प्रदेशीय रोगहरुको अवस्था बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
विश्व स्वास्थ्य संगठनले २० प्रकारका रोगलाई उपेक्षित उष्णप्रदेशीय रोगको सूचीमा राखे पनि नेपालमा भने १० प्रकारका रोगलाई उक्त सूचीमा राखिएको छ । विशेषगरि गर्मी ठाउँ र सीमान्तकृत समुदायमा देखिने कुष्ठरोग, लुतो, हात्तीपाइले, रेबिज, कालाजार, सर्पदंश, माटोबाट सर्ने जुका, फित्तेजुका, डेंगु र चिकनगुनिया र खस्रे रोग जस्ता १० वटा रोगहरुलाई उपेक्षित रोगको रुपमा लिने गरेको छ ।
विश्व स्वास्थ्य संगठनले कुष्ठ रोग, डेंगु लगायतका २० वटा उपेक्षित रोगहरूको विसं २०८७ सम्म पूर्ण रूपमा नियन्क्रण गर्ने लक्ष्य लिइ सबै देशहरूलाइ नियन्त्रण कार्यत्रम सञ्चालन गर्न मार्ग दर्शन गरेको छ । यसको लागि सरोकारवालाहरूको सचेतना अभिबृद्धि गर्दै सहकार्य गर्ने अभिप्रायले हरेक बर्षको जनवरी ३० तारिखको दिनलाई विश्व उपेक्षित रोग दिवसको रुपमा मनाइने गरिएको हो ।
उपेक्षित उष्णप्रदेशीय रोगको निवारण, सहकार्य र एकता हाम्रो उदाहरण भन्ने मुल नाराको साथ यस बर्ष पनि माघ १६ गते (जनवरी ३० तारिक) का दिन विभिन्न कार्यक्रम गरी उपेक्षित उष्णप्रदेशीय रोग दिवस मनाइदै छ । यस बर्ष भने विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवस अहिले मनाऔं, एकसाथ मनाऔं, उपेक्षित उष्णप्रदेशीय रोगहरुमा लगानी बढाऔं भन्ने मुल नाराको साथ मनाइदै छ ।
के हो उष्ण प्रदेशीय उपेक्षित रोग ?
बेवास्ता गरिएका रोगहरुलाई उपेक्षित रोग भनिन्छ । उष्णप्रदेशीय भन्नाले सामान्य भाषामा गर्मी हुने क्षेत्र अर्थात देशहरु हुन् । कुनै कालखण्डमा यी रोगहरु उपेक्षित थिए । यो रोगको बारेमा कुनै पनि किसिमको बहस तथा वकालत हुँदैन थियो । गरिबी, अशिक्षा र अज्ञानतासँग जोडिएर हेर्ने गरिन्थ्यो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यी रोगहरुलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै वकालत सुरु गरेपछि २० वटा उपेक्षित उष्णप्रदेशीय देशहरुमा पाइने रोगहरुको सूचीकृतसमेत गर्यो ।
यी रोगहरु विभिन्न प्रकारका किटाणु, विषाणु, परजीवि, ढुसी र विषाक्त पदार्थहरुका कारणहरुले लाग्दछ । विश्वव्यापी रुपमा यस रोगबाट एक अर्बभन्दा बढी मानिसहरुलाई असर गर्ने गरेको डब्लूएचओको तथ्यांक छ ।
डब्लूएचओले सूचीकृत गरेका २० उपेक्षित उष्णप्रदेशीय रोगहरुमा डेंगु, चिकनगुनिया, रेबिज, खस्रे रोग, बुरुली अल्सर, यज, कुष्ठरोग, चागस रोग, लीपिंग सिकनेस, कालाजार, टेनियासिस र न्यूरो सिस्टिसर्कोसिस, गिनिया वर्म रोग), इसिनोकोकोसिस खानाजन्य ट्रीम्याटोडीयासिस, हात्तीपाइले, रिभर अन्धोपना, सिस्टोसिसोमियासिस, माटोबाट सर्ने जुका माइसेटोमा, क्रोमोब्लास्टोमाइकोसिस र अरु डिप माइकोसेस, सर्पदंश, लुतो र अरु इक्टोपारासाइट छन् ।
यी २० मध्ये नेपालमा कालाजार, हात्तीपाइले, कुष्ठरोग, डेंगु, रेबिज, सर्पदंश, माटोबाट सर्ने जुका, टेनियासिस र न्यूरोसिस्टिसरकोसिस, लुतो र अरु इक्टोपारासाइट, माइसेटोमा, क्रोमोब्लास्टोमाइकोसिस र अरु डिप माइकोसेस जस्ता उपेक्षित उष्णप्रदेशीय रोगहरु समस्याको रुपमा छन् ।
View : 238
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved