Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रतिनिधिसभा चुनाव

उदयपुर–१ : परम्परागत लडाइमा नयाँको इन्ट्रीले प्रतिस्पर्धा रोचक

उद्‌घोष संवाददाता
६ फागुन २०८२, बुधवार

विराटनगर । प्रतिनिधिसभा निर्वाचन नजिकिदै गएको छ । चुनावी तिथि जति नजिक आउँदैछ, दल र उम्मेदवारहरूले आफ्नो प्रचार अभियानलाई तीव्रता दिइरहेका छन् । यही क्रममा दुई निर्वाचन क्षेत्र भएको कोशीको जिल्ला उदयपुर पनि चुनावी ज्वरोले तातिएको छ । 

२०७९ को आमनिर्वाचनमा देखिएको मत–मनोविज्ञान, दलहरूको आधार क्षेत्र र समानुपातिक मतको झुकाव हेर्दा यस पटकको प्रतिस्पर्धा अझ रोचक बन्ने देखिन्छ  । 

उदयपुरको क्षेत्र नं. १ भौगोलिक रूपमा बेलका, चौदण्डीगढी र त्रियुगा नगरपालिका समेटिएको मिश्रित निर्वाचन क्षेत्र हो । पहाडी र तराई भूगोल मिलेको सामाजिक संरचना, जातीय–समुदायगत विविधता र दलहरूको परम्परागत पकड अनि यस पटक उठिरहेको परिवर्तनको नाराले यस पटकको निर्वाचन प्रतिस्पर्धात्मक हुने देखिन्छ ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रमा प्रत्यक्षतर्फ मुख्य प्रतिस्पर्धा कांग्रेससहितको गठबन्धन र एमालेबीच केन्द्रित थियो । त्यसबेला कांग्रेसका डा.नारायण खडका विजयी भएका थिए । 

उनले ३१ हजार २७० मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी मन्जुकुमारी चौधरीले २८ हजार ८९१ मत पाएका थिए । मतान्तर ठूलो नभए पनि कांग्रेसले आफ्नो पकड क्षेत्र गठबन्धनको सहयोगमा जोगाउन सफल भएको थियो ।

यद्यपि  समानुपातिक मत परिणामले भने फरक सन्देश दिएको थियो । समानुपातिकतर्फ यो क्षेत्रमा एमाले पहिलो शक्ति बनेको थियो । 

एमालेले २३ हजार ८ सय ३६ मत पाउँदा कांग्रेसले १९ हजार ४ सय ७६ मत पाएको थियो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ९ हजार ७ सय ३९ मतसहित तेस्रो बनेको  थियो । 

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ हजार ३ सय ७५, जनता समाजवादी पार्टी, नेपालले १ हजार ८ सय ७९ र नेकपा (एकीकृत समाजवादी) ले १ हजार ६ सय २८ मत पाएका थिए । 

यसबाट के देखिन्छ भने प्रत्यक्षमा कांग्रेस विजयी भए पनि दलगत आधार मतको हिसाबले एमाले कमजोर थिएन । गठबन्धनको गणित र उम्मेदवारको व्यक्तिगत छविले २०७९ को परिणाम निर्धारण गरेको विश्लेषण त्यतिबेलै गरिएको थियो । 

फागुन २१ मा हुन लागेको निर्वाचनले पुनः पुरानै प्रतिस्पर्धालाई नया“ रूप दिएको छ । यस पटक कांग्रेसबाट विदुर बस्नेत, एमालेबाट दुर्गाकुमार थापा, नेकपाबाट बलदेव चौधरी, रास्वपाबाट  पारशमणि गेलाल, राप्रपाबाट सुभासचन्द्र खड्का, नेमकिपाबाट विष्णुबहादुर खत्री, जनमोर्चाबाट लिलकुमार राई उम्मेदवार छन् ।

त्यस्तै मंगोल नेशनल अर्गनाइजेसनबाट विक्रम राई, संयुक्त नागरिक पार्टीबाट सुरेश राई, गोकर्ण राई (नेपाल जनमुक्ति पार्टी), राजेशकुमार राई (श्रम संस्कृति), अमृतबहादुर खत्री (नेपाल कम्युनिस्ट पार्टी (माओवादी), अर्जुन तामाङ (उज्यालो नेपाल पार्टी), कुशेश्वर चौधरी (नेपाली जनता दल), गणेशकुमार राई(जनता समाजवादी पार्टी), मनोजकुमार पौडेल(आम जनता पार्टी), प्रशान्तकुमार राई (नागरिक सर्वोच्चता पार्टी)बाट उम्मेदवार छन् । यसरी १७ जना विभिन्न दलबाट चुनावी मैदानमा उत्रेको उदयपुर–१ मा  देवराज रोका एक मात्र स्वतन्त्र उम्मेदवार छन् ।

कांग्रेसका उम्मेदवार बस्नेत पार्टीमा बलियो पकड भएका मानिन्छन् । एमालेका  थापा  स्थानीय तहको नेतृत्व सम्हालेका कारण संगठन र कार्यकर्ता परिचालनमा अनुभवी मानिन्छन् ।

पारसमणि गेलाललाई उम्मेदवार बनाएको र २०७९ मा उदाएको  रास्वपाले  यस पटक ग्रामीण क्षेत्रमा समेत प्रभाव विस्तार गर्ने प्रयास गरिरहेको छ । 

चुनावी दौडमा रहेका दलहरूको दावी–प्रतिदावी आफ्नै ठाउँमा छन् । कांग्रेस २०७९ को जितलाई निरन्तरता दिने रणनीतिमा छ । यस पटक वाम मत बिभाजित भएको भन्दै कांग्रेस उत्साही सुनिन्छ । 

एमाले भने समानुपातिकमा आफू पहिलो शक्ति भएको तथ्य देखाउँदै ‘यस पटक प्रत्यक्ष पनि हाम्रो’ भन्ने अभियानमा छ । रास्वपाले भने परम्परागत दलप्रतिको असन्तुष्ट मत तान्ने लक्ष्य लिएको देखिन्छ । 

२०७९ को समानुपातिक मतलाई आधार मान्ने हो भने एमालेको कोर मत करिब २४ हजार वरिपरि देखिन्छ । कांग्रेसको आधार करिब १९–२० हजारको हाराहारीमा छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीको मत एकै ठाउँ भएको भन्दै त्रियुगाका पूर्व मेयरसमेत रहेका नेकपा उम्मेदवार चौधरी पनि आशावादी छन् ।

स्थानीय तहको नेतृत्व, विकास आयोजना, सडक–सिँचाइ–रोजगार जस्ता मुद्दा पनि चुनावी एजेन्डामा छन् । त्रियुगा र बेलका क्षेत्रमा शहरीकरण र पूर्वाधार विकासको मुद्दा बलियो छ भने चौदण्डीगढीतर्फ कृषि र उद्योगसँग जोडिएका प्रश्न उठिरहेका छन् ।

अहिलेसम्मको चुनावी इतिहार हेर्दा उदयपुर–१ मा कांग्रेस र एमालेबीच पालैपालो प्रतिस्पर्धा हुँदै आएको छ । तर, पुराना प्रतिस्पर्धीहरू नारायण खडका र मञ्जु चौधरी दुवै यस पटक मैदानमा छैनन् ।

उम्मेदवारको व्यक्तित्व प्रभाव, संगठन संरचना र जातीय–समुदायगत सन्तुलनले यहाँ परिणाम उल्ट्याउने गरेको इतिहास छ ।

२०७९ मा कांग्रेसले प्रत्यक्ष जिते पनि समानुपातिकमा एमाले अघि हुनु ‘अन्तरनिहित असन्तोष’ को संकेत मानिएको थियो । त्यही असन्तोषलाई एमालेले यस पटक ‘परिवर्तनको जनादेश’ का रूपमा व्याख्या गरिरहेको छ ।

कांग्रेस भने ‘स्थिरता र अनुभवी नेतृत्व’ को नारासहित मतदाता समक्ष पुगेको छ । गणितीय हिसाबले हेर्दा यो क्षेत्रमा ‘क्लोज फाइट’ नै देखिन्छ । २०७९ को मतान्तर ठूलो थिएन । समानुपातिक परिणामले एमालेको आधार बलियो देखाए पनि प्रत्यक्षमा उम्मेदवारको छवि निर्णायक बन्न सक्छ ।

रास्वपाको पनि बलियो उपस्थितिले प्रतिस्पर्धा बहुपक्षीय बन्ने निश्चित छ । यदि यस पटक मत  काटाकाट तीव्र भयो भने सानो मतान्तरले पनि परिणाम उल्टिन सक्छ ।

उदयपुर–१ मा २०६४ मा माओवादीले जीत हात पारेयता सधैँ  कांग्रेसले जित्दै आएको छ । २०७०, ७४ र ७९ मा जीतको ह्याट्रिक गरेका कांग्रेसका खडका र ७४ र ७९ मा उनीसित पराजित एमालेकी चौधरीबाहेककै चुनावी लडाइ यस पटकको यहाँको एक मुख्य विशेषता बनेको छ ।

समानुपातिकमा अगाडि रहेको एमालेले प्रत्यक्षमा बाजी मार्ला कि २०७९ को विरासत जोगाउँदै कांग्रेसले निरन्तरता देला ? १६ वाम घटक मिलेको नेकपाले नतिजा आफ्नो पक्षमा पार्ला कि दलहरूप्रतिको आक्रोशको मत आशा गरिरहेको रास्वपाले जीतको खुसी साच्न पाउला ? यी प्रश्नको उत्तर फागुन २१ मा यो क्षेत्रका १ लाख ४२ हजार ८०४ जना मतदाताले प्रकट गर्ने जनमतले दिनेछ ।

View : 218

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved