Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

बहिरा विद्यालयमा इन्जिनियरिङ विस्थापित, होटल व्यवस्थापनको तयारी

उद्घोष सम्वाददाता
२८ कार्तिक २०८१, बुधवार

विराटनगर । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन भइरहेको बहिरा विद्यार्थी पढ्ने विद्यालयबाट सिभिल इन्जिनियरिङको पढाइ विस्थापित गरेर होटल व्यवस्थापनको शिक्षा दिने तयारी गरिएको छ ।

देशको राजधानी काठमाडौं बाहिर पोखरामा मात्रै बहिरा माध्यमिक विद्यालय भएकाले पूर्वी नेपालमा रहेका बोल्न र सुन्न नसक्ने विद्यार्थीलाई शिक्षा लिन गाह्रो भएको बेला १९ वर्षअघि विराट बहिरा माध्यमिक विद्यालय विराटनगरमा स्थापना भएको थियो ।

बहिरा विद्यार्थीलाई इन्जिनियरिङको शिक्षा लिन असहज भएकाले कार्यक्रम विस्थापित गरिएको हो । होटल व्यवस्थापनको तयारीले विद्यार्थी उत्साहित देखिएका छन् ।

बहिरा विद्यार्थीलाई पनि इन्जिनियर बनाउने अभियान लिएर १० वर्षअघि सो विद्यालयले ९ देखि १२ कक्षासम्म सञ्चालन गर्दै आएको शिक्षा कार्यक्रम असफल भएपछि अब होटल व्यवस्थापनको पढाइको तयारी गरेको छ । इन्जिनियरिङका लागि गरिएको लगानी खेर गएपछि दुखी देखिएका अभिभावक यसै वर्षबाट कक्षा ११ र १२ मा होटल व्यवस्थापन पढाइको तयारी गरिएकाले खुसी देखिएका छन् । 

होटल व्यवस्थापन विषयको कार्यक्रम सञ्चालन गर्न बजेट, विद्यार्थी र शिक्षक दरबन्दी चाहिने भएकाले विद्यालयले मंगलबार गरेको छलफल कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आवश्यकताअनुसार कन्जुस्याइँ नगरी सहयोग गर्ने आश्वासन दिए । 

‘इन्जिनियरिङ नचलेकाले स्कुलले होटल व्यवस्थापन अपनाएको छ, विद्यार्थीलाई वेटर बनाउने मात्रै नभई दक्ष जनशक्ति उत्पादन गराउनुपर्छ’ कोइरालाले भने । 

उनले आवश्यकताअनुसार सहयोग गर्ने बताए पनि विद्यालयले विद्यार्थीबाट पढाइ शुल्क लिनुपर्ने अवस्था देखिएको जनाएको छ । 

नयाँ विषय सञ्चालनका लागि तत्काल न्यूनतम ३५ लाख रुपैयाँ खर्च हुने देखिएको छ । कतिपय अभिभावकले आङ्खना सन्तान पढाउने विद्यालयलाई आर्थिक सहयोग गर्ने बताएपनि केहीले घरबाट विद्यालयसम्म जाने यातायात खर्चसमेत नभएको बताएका छन् ।

मकवानपुरको हेटौंडाबाट आएका अभिभावक सुब्बासिंह तामाङले विद्यालयले बोलाएकाले आएको बताउँदै विराटनगरसम्म आउन ऋण खोज्नुपरेको बताए । 

‘हेटौंडामा छोराले ७ सम्म पढेपछि विराटनगरमा पढाएँ, एसईई सकियो अब होटल व्यवस्थापन पढाउन मन छ । तर पैसा छैन’ तामाङले भने । नेपाल सरकारले १२ कक्षासम्मको शिक्षा नि.ःशुल्क गरे पनि प्राबिधिक शिक्षाका लागि विद्यालयहरूले केही रकम लिने गरेका छन् ।

नेपाल बहिरा महासंघका केन्द्रीय महासचिव सीताराम ओझाले बहिरा विद्यार्थीबाट होटल व्यवस्थापन शिक्षाका लागि शुल्क लिइए त्यो मान्य नहुने बताए । ‘सरकारले जिम्मा लिनुपर्छ, अभिभावकसँग पैसा लिन मिल्दैन’ उनले सांकेतिक भाषामा भने । राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष नवीन डंगोल हुनेखाने अभिभावकले स्वेच्छाले विद्यालयलाई आर्थिक सहयोग गरे पनि अन्य अभिभावकबाट शुल्क लिइए स्वीकार्य नहुने बताउँछन् ।

काठमाडौं पूर्वमा बहिरा विद्यार्थी पढ्ने माध्यमिक तहको विद्यालय नभएकाले कोशी बहिरा संघको पहलमा प्लान नेपालले सहयोग गरेपछि विराटनगरमा बहिरा मावि स्थापना भएको थियो । प्राविधिक शिक्षाले बहिरा विद्यार्थी आत्मनिर्भर हुने भएकाले २०७१ देखि सञ्चालन गरिएको सिभिल इन्जिनियरिङको पढाइ असफल भएपछि महानगरले सो विषय जनपथ माविमा मिसाएको छ ।

‘होटल व्यवस्थापनको पढाइपछि हातमा सीप भए बहिरा विद्यार्थीले जीविकोपार्जन गर्न सक्छन्’ विषयका विज्ञ मनोज राजवंशीले भने ‘देशभरमा २४ वटा बहिरा विद्यालय छन्, होटल व्यवस्थापन सञ्चालन गर्ने यो पहिलो विद्यालय हुनेछ ।’ 

शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक गौतमका अनुसार होटल व्यवस्थापन विषयको ११ र १२ कक्षामा शिक्षक दरबन्दी नभएकाले विद्यालयलाई थप आर्थिक भार पर्ने देखिएको छ ।

देशभरका २५ जिल्लाका विद्यार्थी पढ्दै गरेको बहिरा माबिबाट हालसम्ममा एसएलसी र एसईई गरी २ सय ५९ जना उत्तीर्ण भइसकेका छन् ।

प्रधानाध्यापक मिनु अधिकारीका अनुसार, २०८० को एसईईमा ३० जनाले परीक्षा दिएकोमा २६ जना उत्तीर्ण भएका थिए । ती सबै विद्यार्थी यसै विद्यालयमा ११ कक्षा अध्ययन गर्न इच्छुक देखिन्छन् । सकेसम्म विद्यार्थीलाई निःशुल्क प्राबिधिक शिक्षा दिइने विद्यालयका अध्यक्ष तथा शिक्षासेवी मीना जोशीले बताइन् ।

View : 138

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved