विराटनगर । शुक्रबारदेखि मोरङ व्यापार संघको आयोजनामा आफ्नै नामको ब्राण्डको मोरङ व्यापार संघ (एमबीएस) एक्स्पो–२०२३ हुँदैछ । विराटनगर-२ शंकरपुर मार्गमा एक्स्पोको तयारी पुरा भएको छ ।
सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउन र राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा स्वदेशी उत्पादनहरुको प्रवर्द्धन गर्न एक्स्पो महत्त्वपूर्ण अवसर बन्ने आयोजकको विश्वास छ । राजनैतिक रुपमा मात्रै नभई आर्थिक रुपमा समेत ऐतिहासिक नगरी विराटनगरमा मेला, महोत्सव, प्रदर्शनी आदि आयोजनाले निरन्तरता पाउँदै आएका छन् । जहाँबाट व्यवसायको प्रवर्द्धन, नेपाल व्यापार रणनीति निर्माण र कोशी प्रदेशमा उत्पादित वस्तुहरुको अन्तर प्रादेशिक उत्पादन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा एक्स्पो आयोजक टिमको छ । एक्स्पो मुल आयोजक मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालसँग यसै सेरोफेरोमा उद्घोषकर्मी ध्रुव भट्टराईले गरेको कुराकानी :
आर्थिक मन्दीको अहिलेको अवस्थामा ‘मोरङ व्यापार संघ एक्स्पो’ लगाउने तयारीलाई कसरी बुझ्ने ?
हो यो आर्थिक मन्दीको अवस्था छ । हामी यस विषयमा जानकार छौं । तर एक्स्पोको आवश्यकता किन पर्यो भन्ने सन्दर्भमा सबैभन्दा पहिला त यस्तो एक्स्पोमा केही–केही समस्याको कुराहरु बोल्ने सक्ने प्लेटफर्मको कुराहरु बनाउन सकिन्छ ।
महत्त्वपूर्ण कुरा छ, भोलि (शुक्रबार) प्रधानमन्त्री आउनु हुँदैछ, हाम्रो अर्थव्यवस्था कुन अवस्थामा छ, भोलि शुक्रबार प्रधानमन्त्री समक्ष सार्वजनिक गर्नेछौं । र, हामी कुन अवस्थामा यस्तो खालको प्रदर्शनीस्थलमा विराट एक्स्पो गर्न पर्ने अवस्था आयो भनेर पनि बताउने छौं भोलि हामी, र अर्को कुरा हामीले एकदम आर्थिक शिथिलता छाएको अहिलेको अवस्थालाई एक्स्पोको माध्यमबाट भए पनि आर्थिक कारोबार चलायमान बनाउन खोजेका छौं ।
आर्थिक रुपमाले मुलुक नै जर्जर भएको अहिलेको यो अवस्थाका बीचमा एक्स्पोको माध्यमबाट भए पनि आर्थिक उत्थान गर्ने उद्देश्य अनुरुप हामीले यो एक्स्पोको तयारीमा जुटेका छौं ।
मान्छेले अब खर्च गर्नु हुँदैन है आर्थिक मन्दी छ भनिरहेको अवस्थामा मान्छेले चाहिं खर्च गर्ने बानी एउटा जुन हुन्छ, खर्च नै गरेन भने यो मन्दी झन तल जान्छ, त्यसकारण खर्च गरेर यसलाई रिभल्व गर्न एकदम जरुरी छ । इकोसिष्टममा फ्रिज भएर बसेको पैसा इकोसिष्टममा बाहिर ल्याउन जरुरी छ ।
यो ल्याउदा के हुन्छ भने आम्दानीको स्रोत पनि बढ्दै जान्छ, र खर्च गर्ने शक्ति पनि बढ्दै जान्छ, यसले पूरा अर्थतन्त्रलाई चलयमान बनाउँछ । यो अर्थशास्त्रलाई बुझ्न सबैभन्दा जरुरी छ ।
जस्तै यस्ता खालको एक्स्पो, व्यापारिक महोत्सवहरुको आयोजना भइरहदा चाहिं अर्थतन्त्रमा चाहिँ के टेवा पुग्छ ?
–यस्ता खालका एक्स्पोहरुले खरिद बिक्रीमा राम्रो हुन्छ एउटा कुरा, सबैभन्दा ठूलो कुरा चाहिं के भने, यस्ता एक्स्पोहरुमा नयाँ प्रोडक्टहरु देखिन्छ, बिक्रेताले अवश्य उत्पादहरु खरिदका लागि विदेश जाने या कता जाने भन्ने चक्करमा लाग्नु पर्दैन, यसले यही एक्स्पोमा यो प्रोडक्ट पाइँदो रहेछ यही बिक्री हुने रहेछ भनेपछि मैले मेरो ठाउँमा गएर यो प्रोडक्ट उत्पादन गर्न सके भनेदेखि म यही स्थानीय ठाउँमा बसेर काम गर्न सक्छु, भन्ने भावनाको बिकास हुन्छ ।
हामीले पटक–पटक जब यस्ता खालका एक्स्पो गर्छौं तब यस्ता खालका एक्स्पो, व्यापारिक महोत्सवहरुले नयाँ व्यवसायीहरु जन्माउन मद्दत पनि गर्छ ।
घरीघरी आयोजना हुने यस्ता व्यापारिक महोत्सव र एक्स्पोले उद्योगी व्यापारीहरुले चाहिं कसरी लाभ लिन सक्छन् ?
यस्ता खालका एक्स्पो, महोत्सवले पक्का पनि हामी जस्ता उद्यमीहरुले प्रत्यक्ष रुपमा लाभ लिन सकिन्छ । हामीले उत्पादन गरेको बस्तुको यसअघि बजार प्रवर्द्धन गर्दा अत्यन्तै खर्चिलो हुने गरेका थियो, टिभी, प्रिन्ट मिडिया, अनलाइन जस्ता सञ्चार माध्यममा या अरु चिजको माध्यमबाट, यहाँ एक्स्पोमा भने अबलोकनकर्ताले प्रत्यक्ष रुपमा हेर्न पाउने भए, त्यसले गर्दा सबै जना उद्योगी व्यवसायीलाई आफ्नो नयाँ उत्पादन देखाउन खोज्छन्, किनभने त्यो देखेपछि बिक्ने हो, अर्थात आफ्नो धेरै ठुलो लगानी पनि भएन, ४० हजारको एउटा स्टलमा चार लाख पब्लिकलाई देखाउन सक्नु चानचुने कुरा होइन, एउटै प्लेटर्फममा त्यो पनि १०–११ दिनको भित्रमा, त्यसले के गर्छ भने मान्छे त्यसपछि ‘मास पब्लिसिटी’ शुरु भई हाल्छ ।
फोटो खिच्ने, प्रोडक्टको लोगो देखिन्छ, नेपालभरीका उपझोक्ताहरुले देख्छन्,त्यसले त्यो बस्तुको बित्री बढुवा हुन्छ । हैन भने नेपालमा जुन किसिकले एक्स्पोहरु बिस्तार भइरहेको छ, यसले पक्का पनि उद्योगी व्यवसायीले उत्पादन गरेको प्रोडक्टहरु प्रबर्द्धन हुँदैन थियो भने कुनै पनि मान्छे यति ठूलो खर्च गरेर कोही पनि आउँदैन थियो । यस्ता महोत्वसका माध्यमले उद्योगी व्यवसायीले आफ्नो व्यापार व्यवसायलाई बढावा दिएको सबैमा विश्वास दिलाएको छ ।
निजी क्षेत्रको एकल प्रयासमा यस्ता खालका ठूला व्यापारिक महोत्सव आयोजना गर्दै आउनु भएको छ,तर राज्यको तर्फबाट के कस्तो सहयोगको अपेक्षा छ ?
–वास्तवमा यस्ता खालका महोत्सव, एक्स्पो गर्दा ठूलो धनराशी खर्च हुने गर्दछ । यो लगानीमा राज्यको तर्फबाट सहयोगको अपेक्षा पक्कै पनि हुन्छ । केही नभए पनि राज्यको तर्फबाट व्यापार व्यवसाय प्रवर्धनका लागि गरिने यस्ता महोत्सव, एक्स्पोहरु आयोजना हुँदा अलिअलि सपोर्ट गरि दिए हुन्थ्यो भन्ने अपेक्षा हुन्छ नै ।
मुख्य हाम्रो मुद्दा के हो भने हामीले लिएको प्रदर्शनीस्थलको जग्गामा राज्यले एउटा निश्चित बजेट छुटाइदिएर त्यहाँ ह्याङ्गरहरु बनाउने बजेट दिएमा हुने थियो । त्यो रकमले पदर्शनीस्थल निर्माण गर्न सहज हुने थियो । जसले गर्दा महोत्सवका लागि खर्च कम हुन्थ्यो, एउटा स्टलको ४० हजार लिनु पर्ने थिएन, सालमा चाहिं १०–१२ वटासम्म यस्ता एक्स्पो गर्न सक्छौ, थोरै रकममा उद्योगी व्यवसायीहरुको सामानहरु राखेर, अवलोकनकर्ताहरुलाई पनि एकदम थौरै टिकट दरमा हाम्रो उत्पादनहरु देखाउन सक्ने मौका पाउने अवसर मिल्छ ।
निजी क्षेत्रबाट जहिले पनि प्रदर्शनीस्थलको माग हुँदै आएको छ, तर, अहिलेसम्म पूरा भएको छैन । प्रदर्शनीस्थलको अभावमा यस्ता कार्यक्रम गर्न कस्तो कठिनाइ हुँदो रहेछ ?
–धेरै ठूलो अप्ठ्यारो हुँदो रहेछ । हामीले अस्थायी संरचनाको लागि प्रत्येक वर्ष ठूलो धनराशि खर्च गर्नु परेको अवस्था छ । एक पटक मेला लगाउन लाखौं रुपैयाँ खर्च गरिएको हुन्छ । त्यसपछि त्यो संरचना त्यसैखेर जान्छ । मेला लगाउने स्थानमा पूरा झाडी थियो । त्यो पन्छाउन मात्र हामीले पाँच लाख रुपैयाँभन्दा बढी खर्च गरेर अहिले सम्याउने काम भएको छ । यसरी अन्य विभिन्न सामानहरुमा खर्च छ ।
यदि सरकारले एउटा प्रदर्शनीस्थल भएको भए एक पटक खर्च गर्दा सधैंको लागि हुने थियो । तर, अहिलेसम्म भएको छैन । हामीले पटक–पटक राज्यसँग प्रदर्शनस्थलको माग गरेका छौं । तर, बिडम्बना भन्नुपर्छ, अहिलेसम्म पूरा हुन सकेको छैन । हरेक वर्ष एक्स्पो लगाउँदा व्यवस्थापनमा मात्र अढाइ करोड बढी खर्च हुने गरेको छ ।
राज्यलाई भन्दा नलागेपछि उद्योग संगठन र मोरङ व्यापार संघ मिलेर अहिले जग्गा हेरेका छौं । केही व्यक्तिले राजनीति गरेको कारणले त्यहाँ प्रदर्शनीस्थल बनाउन सकिएको छैन ।
आगामी दिनमा आफ्नो जग्गामा प्रदर्शनीस्थल बनाउन हामी लागिपरेका छौं । सम्भवतः अर्को साल स्थायी संरचनामा एक्स्पो लाग्नेछ ।
विराट एक्स्पो आयोजना गर्न गइरहेको सन्दर्भमा पनि राज्यका तीन तहका सरकारबाट कुनै प्रकारको सहयोग पाउनु भएको छ ?
–हैन, स्थानीय सरकार अर्थात विराटनगर महानगरपालिकाबाट केही आर्थिक सहयोग प्राप्त हुने प्रतिबद्धता आएको छ, तर धेरै ठूलो रकम छैन । केन्द्र र प्रदेश सरकारबाट कुनै प्रकारको आवश्वासन आएको छैन । स्थानीय सरकारले पनि धेरै ठूलो राजस्व संकलन गर्न नसकिरहेको भन्ने कुरा बाहिर आएको छ, त्यसैले पनि हामीले स्थानीय सरकारबाट पनि धेरै ठूलो सहयोगको अपेक्षा पनि गरेको छैन ।
केही थोरै मात्रामा मात्र अपेक्षा गरेका छौं, उहाँहरुले प्रतिबद्धता पनि गर्नु भएको छ । कम्प्लिीमेन्ट्रीका रुपमा भन्नु भएको छ, त्यसले हामीलाई धेरै ठूलो सहयोग त पुग्दैन, तर स्थानीय सरकारको साथ चाहिं छ भन्ने सन्देश चाहिं जान्छ ।
देशको प्रमुख औद्योगिक नगरी विराटनगरमा अहिले उद्योग व्यवसायको स्थिति कस्तो छ ?
–विराटनगर औद्योगिक नगरीमा रहेको उद्योग धन्दा कलकारखाना समस्याग्रस्त अवस्थामा छन् र समस्यासँग जुधिरहेका छन् । विराटनगरले ६–७ जना प्रधानमन्त्री दिए पनि यहाँ अहिलेसम्म एउटा प्रर्दशनीस्थल बन्न सकेको छैन, औद्योगीक क्षेत्र स्थापनाको लागि जग्गा उपलब्ध हुन सकेको छैन । विराटनगरमा रहेको विमानस्थलाई अन्तर्राष्ट्रियस्तरको बनाउने बिषयमा राज्य तहको अहिलेसम्म ध्यान खिच्न सकेको छैन ।
चक्रपथको अवस्था उस्तै छ । विराटनगर जुन रुपमा अगाडि बढ्नु पर्ने थियो, विकास र पूर्वाधारको हिसाबले त्यो कुरामा विराटनगर लामो समयदेखि मृत शहरको रुपमा रहदै आएको छ । संघीय सरकारले बजेट विनियोजन गर्दा विराटनगर सधैं उपेक्षामा पर्दै आएको छ ।
विराटनगर मुलुकको दोस्रो ठूलो शहर थियो, आज निकै पछाडि परिसकेको छ । हामीले चुनेर पठाएका माननीयहरुले खास गरी काम नगरिदिएका कारण अहिले पनि विराटनगर रुग्ण अवस्थामा छ । विराटनगरले जुन अवस्थामा सरकारलाई राजस्व तिरिरहेको छ सोही अनुरुप हामी कहाँ पनि बजेट आईदिनु पर्छ भन्ने हाम्रो चाहना सधै हुन्छ र सोही कुरा सिंहदरबारलाई सुनाउन चाहन्छु अब विराटनगरलाई बजेट विनियोजन गर्दा उपेक्षा नगरियोस् ।
View : 157
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved