वासुदेव विश्वास मत्स्य देशको मौलिक जानकार राख्ने व्यक्तित्व हुन् । यो एक खोजको विषय पनि हो । मत्स्य देशका विराट राजासँग विराट राजवंशी समुदाय जोडिएका छन्, जो मत्स्य देशका संस्कृति भूमि बसोबास गर्दै आएका भूमिपुत्र हुन् ।
मोरङको साबिक कञ्चनवारी गाउँ विकास समितिको बराजु प्रेम मण्डल, हजुरबुवा सोफी विश्वास, पिता सिद्धीलाल मण्डल राजवंशी र माता चन्द्रावती राजवंशीको कोखबाट विक्रम संवत् २००० सालमा जन्मनु भएका जेष्ठ सुपुत्र वासुदेव विश्वास राजवंशीको बाल्यकाल राजवंशी चोकको माटोमा लटपटिंदै, स्थानीय हावापानी, माटो र रूखबिरूवासँग दिनचर्या बिताउँदै कट्यो ।
जुन चोक अहिले विराट राजवंशी समुदायको पहिचान बनेको छ, त्यही चोकमा विराट राजवंशी समुदायको सांस्कृतिक झल्काउने सांस्कृतिक घरहरू उहाँको निवासमै संरक्षण र सम्बर्धन गरेको पाइन्छ ।
‘म सानै हुँदा आमा बित्नुभयो, मैले आमाको दूध खान पाए कि पाइनँ ? भन्ने कुरामा अनभिज्ञ नै छु र मेरो पालनपोषण छरछिमेकको साथ र सहयोगबाट भएको हो,’ उहाँको भनाइ छ । उहाँको एक भाइ समेतको बाल्यकालको दिनचर्या एकदमै दुःख एवं कष्टकर रूपमा बित्यो ।
विराट राजवंशी समुदायको बाक्लो बसोबास भएको यो क्षेत्रले उहाँको बाल्यकालको हरेक पाटोलाई रङ र स्वाद दिएको थियो । माटोले बनेका घरहरूबीचको खुल्ला चौरमा फुर्सदका बेला रमणीय दिनहरू साथीभाइहरूसँग बिताउने गर्नुहुन्थ्यो ।
उहाँका साथीहरू पनि प्रायः राजवंशी र स्थानीय समुदायका हुन्थे । यसले गर्दा उहाँले स्थानीय साथीहरूको समूह बनाएर खेलकुदमा सहभागी जनाउनु हुन्थ्यो ।
उहाँको परिवारमा तीन छोराहरू जेठा दीपकुमार राजवंशी, माहिला विश्वप्रकाश राजवंशी, कान्छा कर्णकुमार राजवंशी र छोरीहरू जेठी निर्मला राजवंशी, माहिली बिमलादेवी राजवंशी र कान्छी शिलादेवी राजवंशी छन् । उहाँकी धर्मपत्नी रूक्मणिदेवी राजवंशीले साथ र सहयोग अहिले पनि दिंदै आउनुभएको छ ।
उहाँको पिता सिद्धीलाल मण्डल राजवंशी नेपाली कांग्रेसको सचिव रहेर राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । तर कुन तहको सचिव भए भन्नेबारे खोजीकै विषय छ ।
उहाँको बाल्यकालका साथीहरू धनीलाल (झन्झट) राजवंशी र विशुनदेव राजवंशीसँग असाध्यै मिल्ने र एक आपसमा कुराकानी आदान–प्रदान गर्ने गर्नुहुन्थ्यो । यस बाहेक पनि अरू मिल्ने साथीहरू थिए । उहाँले बाल्यकालमा साथीहरूलाई एकदमै विश्वास गर्नुहुन्थ्यो । यसले गर्दा बाल्यकालमा गाउँघर घुम्न र खेल्नका लागि कुनै पनि समस्या थिएन ।
उहाँको घरमा नै हात्ती र घोडा पाल्ने भएकोले यिनै जनावरसँग साथी मान्दै खेल्ने गर्नुहुन्थ्यो र साथीहरूसँग रमाउने पनि गर्नुहुन्थ्यो ।
उहाँलाई साँझपख हजुरआमाले विराट राजवंशी लोककथा र वीरताका कथाहरू सुनाउनुहुन्थ्यो । यसले गर्दा आफ्नो समुदायको इतिहास र पहिचान बुझ्ने मौका पाउनुभयो ।
त्यस्तै गरी, राणा कालपछिको कञ्चनवारी गाउँ पञ्चायतको पहिलो विद्यालय गोग्राहा माध्यमिक विद्यालय हो । उहाँले सो विद्यालयमा अध्ययन गर्नुभयो । उहाँको विद्यालयमा अध्ययनका साथसाथै सामाजिक गतिविधिमा बढी सक्रिय रहने बानी थियो र सामाजिक सेवामा बढी चासो लिने गर्नुहुन्थ्यो । यसले गर्दा विद्यालय परिवार उहाँको काम र कर्तव्यप्रति प्रभावित हुने गथ्र्यो ।
त्यस विद्यालयका प्रधानाध्यापक उदितनारायण झा पनि उहाँको लगनशीलता र इमान्दारितालाई महत्त्व दिनुहुन्थ्यो ।यसले गर्दा उहाँलाई विद्यालय परिवारले अत्यन्तै माया गर्ने गर्थे, जुन उहाँका लागि स्मरणीय छ । उहाँले पढाइका साथसाथै सामाजिक सुधार कार्यमा अग्रसर हुँदै अगाडि बढ्नु भयो । उहाँले सामाजिक अभियानहरू प्रारम्भ गरेसँगै विराट राजवंशी समुदायका लागि विद्यार्थीकालदेखि नै उत्थान र विकासका लागि अग्रसर हुँदै आउनुभएको थियो ।
उहाँले बोलेका कुरा पूरा गर्ने प्रतिबद्ध व्यक्तित्व एवं जनहित कार्यका लागि सधैं अग्रसर रहने बानी भएकोले सामाजिक दायित्व निर्वाहमा कुनै कञ्जुसाई गरेको देखिंदैनन् । यसले गर्दा उहाँ जहिले पनि वैचारिक रूपमा अटल रहनुभएको छ । तर कहिलेकाहिं कुनै विषयमा घत परेको खण्डमा जिद्दी गर्ने उहाँको स्वभाव छ ।
उहाँको बाल्यकालमा संस्कृति, श्रम र निस्वार्थ मित्रताको बलियो जगमा बित्यो । यो बाल्यकालले उहाँलाई आफ्नो समुदायको मूल्य–मान्यता र माटोप्रतिको अगाध प्रेम सिकायो, जसले भविष्यमा उहाँको व्यक्तित्वलाई आकार दियो ।
उहाँको खेतीपाती प्रशस्त भएकोले कृषिमा आश्रित भएको देखिन्छ । उहाँ अहिले पनि आफैले उब्जाएको धान, चामल, गहुँ र तरकारी उत्पादन गरी उपभोग गर्दै आउनुभएको छ । उहाँले बाल्यकालमा खेतीपाती सम्बन्धी गतिविधिहरू नजिकबाट नियाल्नुभएको छ । यसले गर्दा आजको दिनसम्म आफ्नै खेतीको शुद्ध खाद्यान्न बस्तु उपभोग गर्दै आउनुभएको छ ।
उहाँले बोल्ने विराट राजवंशी भाषा असाध्यै मौलिक एवं शुद्ध रहेको छ । यसले गर्दा आज पनि विराट राजवंशी समुदायलाई भाषाबाट पहिचान दिएको छ । उहाँको शब्द, स्वर र लयले विराट राजवंशी भाषालाई अझ मिठास र सुनुम्–सुनुम् राखु जस्तो छ । यसले विराट राजवंशी समुदायको गौरव बढाएको छ ।
मत्स्य देश कालखण्डदेखि नै विराट राजवंशी समुदाय यस संस्कृति भूमिमा बस्दै आएका छन् ।
विराट राजवंशी पहिलो मूलवासी यस अर्थमा भन्न सकिन्छ कि राजवंशी समुदाय मोरङ, सुनसरी र झापामा मात्र नभएर फाटफुट विभिन्न जिल्ला हुँदै काठमाडौं उपत्यकासम्म फैलिएका छन् ।
काठमाडौं उपत्यकाका बसोबास गरिरहेका राजवंशीलाई नेवार भन्ने गरिन्छ तर इतिहास खोल्दै जाने हो भने त्यहाँका राजवंशी थर लेख्ने नेवार समुदायको सम्वन्ध मत्स्य देशका विराट राजासँग जोडिन पुग्छ ।
यसले के देखाउँछ भने तराईमा अरू आदिवासी भन्दा पहिले विराट राजवंशी समुदाय बसोबास गर्दै आएका हुन् । यसमा कुनै दुई मत छैन भनेर गहकिलो तरिकाले दाबी गर्दै आउनुभएको छ सबैका विश्वासिला वासुदेव विश्वास ।
त्यस्तै गरी, विराट राजवंशी विराटनगरकै मूल आदिवासी भएकोले यहाँ पुर्खौली जग्गा–जमिन विक्रम संवत् २०२० साल अगाडिसम्म प्रसस्तै थियो, जसले गर्दा विराट राजवंशी समुदायको जीवनशैलीमा खासै प्रभाव परेन । जब यो समुदायले अन्य समुदायलाई गाउँघर र टोलमा बसोबासका लागि आश्रय दिन थाल्यो, त्यतिबेलादेखि यिनीहरूको जग्गा र जमिन घट्दै गयो । यिनीहरूले आफ्नो सम्पत्ति मास्ने पारा कहिले छोडेनन् ।
विराट राजवंशी समुदायको शिक्षादीक्षातिर ध्यान कमै गएको पाइन्छ । देशमा जग्गा र जमिन सम्बन्धि ऐन, नियम र कानुन बन्यो । यसले यिनीहरूलाई जग्गा र जमिन मास्न सहज परिस्थितिको निर्माण गरिदियो ।
विराट राजवंशी समुदायको जग्गा र जमिन अभिलेख राख्ने खाता र बहीलाई ‘अठ्सठा’ भनिन्छ, जसलाई अहिले ‘मोठ’ भनिन्छ । यसले के देखाउँछ भने विराट राजवंशी समुदायको पहिलो अधिकार संस्कृति भूमिबाट लोप हुँदै आएका छन् भन्ने कुराहरू सबैका विश्वासिला वासुदेव विश्वासले गहन तरिकाबाट बताउनु हुन्छ ।
यो देशमा राणा, पञ्चायत र राजाले शासन गरे पनि विराट राजवंशी समुदायमा परिवर्तनको अनुभूतिहरू भएनन् । कुनै पनि शासन व्यवस्थाले साथ र सहयोग गरेनन् ।
राजा समेतले अधिकारका लागि आशा र भरोसा देखाउँदै विराट राजवंशी समुदायलाई वञ्चित गरेको सबैका विश्वासिला वासुदेव विश्वासले भन्दै आउनुभएको छ । यसले गर्दा विराट राजवंशी समुदाय अधिकारबाट बञ्चित हुँदै गए, यिनीहरूको जीवनस्तर खस्किदै गयो, जसले गर्दा अरू समुदाय भन्दा विराट राजवंशीको जीवनस्तर पनि पछि पर्दै गयो ।
राणाकालका ‘किचेन क्याबिनेट’ सम्मिलित गरिने डिठ्ठा दधिराम कोइराला, डिठ्ठा ज्ञानचन्द्र माझी र गोपीनाथ लप्टन लगायतकालाई विराट राजवंशी समुदायले आश्रय दिएका थिए । उनीहरूमाथि विराट राजवंशी समुदायको आशा र भरोसा थियो । तर ‘जसले शरण दियो, उसले मरण दियो’ भन्दै सबैको विश्वासिला वासुदेव विश्वास तिक्तता पोख्नुहुन्छ ।
संस्कृति चाडपर्वप्रतिको उत्साह
उहाँ बाल्यकालमा विराट राजवंशी समुदायको संस्कृतिसँग गहिरो रूपमा जोडिनु भएको थियो । उहाँको ठूलो घरपरिवार भएकोले वर्षभरि चाडपर्व उत्साह र उमङ्गका साथ मनाउने गर्नुहुन्थ्यो । सबैभन्दा लोकप्रिय पर्व सिरूवा अर्थात् नया“ वर्ष थियो । सोही दिन आफ्नै घर आ“गनको अगाडिको चौरमा भेला भई सांस्कृतिक नृत्य र लोक गीतका साथ गाउँभरिका मानिसहरू रमाउने गर्थे । सिरूवामा खेलिने ढोल र झ्याम्टाको आवाज उहाँको बाल मस्तिष्कमा गहिरो गरी गढेर बस्यो । कृष्ण जन्माष्टमीमा दही र फलफूलले भरिएको हाँडी फुटाउँदा साथीहरूस“गको प्रतिस्पर्धाले उहाँको बाल्यकाललाई रोमाञ्चक बनाउँथ्यो ।
हात्ती, घोडा, साथी र विद्यालय साथको बाल्यकाल
उहाँहरू दुई दाजुभाइ हुनुहुन्थ्यो । ती दुई जना प्रायः हात्ती र घोडास“ग फुर्सदको समयमा खेल्ने गर्थे । उहाँका भाइको घोडामा चढेर घुमफिर गर्ने शौक थियो । त्यस्तै गरी उहाँ विद्यालयबाट आइसकेपछि हात्ती र घोडालाई सहयोगीको रूपमा स्याहार र सुसार गर्नुहुन्थ्यो । उहाँ आफ्नो घरमा पालिएका हात्ती र घोडाको सवार गर्न रूची राख्नुहुन्थ्यो ।
विद्यार्थीकालका विश्वसिलो साथी
गाउँघरका मिलनसार साथीहरू धनीलाल राजवंशी (उपनाम झन्झट) र विशुनदेव राजवंशी थिए भने गोग्राहा माध्यमिक विद्यालयमा विद्यार्थी साथीहरू अत्यन्तै सहयोगी र कर्मठ टीका मण्डल राजवंशी र दरिलाल राजवंशी स्मरण आउने गर्छन् । बाल्यकालको मौलिक सृजनशीलता स्मरण नै छ, त्यतिबेला गरिएका सामूहिक कार्यहरू आज प्रेरणा बनेका छन् । जसले यो जीवनको क्रममा फरक अनुभूति दिएको छ । साथीहरू बीचको विश्वास र इमान्दारिता झल्कने गरेको छ । ती उर्जाहरूको आज महसुस हुँदै आएको छ ।
वासुदेव विश्वासका बाल्यकालका स्थानीय खेलहरू
छुर खेल ; यो खेल बाल्यकालमा खेलिने खेल हो । यस खेलमा दुई समूह हुने गरेको छ । कुनै समथर चौरीमा चारवटा वर्ग आकारको कोठा बनाई खेलिने छुर खेल हो ।
यस खेलमा एउटा समूहबाट एक जनाले अर्को समूहका खेलाडीहरूलाई छुने प्रयास गर्ने गर्छ । छुई सकेपछि, त्यो खेलाडी बाहिरिने गर्छ । यसैगरी अर्को समूहको पालो आउने गर्छ । सोही क्रममा आलोपालो भैराख्ने हुन्छ ।
अन्त्यमा, जुन समूहका खेलाडीहरू सबै बाहिरिने (आउट) हुन्छन्, सबै खेलाडी बाहिरिने समूहको हार हुन्छ । जुन समूहका खेलाडी बाहिरिएका हुँदैनन्, या बाहिरिएर (आउट भएर) पनि बाँकी रहन्छन्, त्यो समूहको जित हुने चलन थियो । सो खेलमा बाल्यावस्थादेखि किशोरसम्मका युवाहरू खेल्ने गर्दथे ।
गच्चरा ढोल खेल
यो खेल बगैचामा खेलिने खेल हो । यस खेलमा एउटा समूह हुने गर्छ । समूह मध्यबाट एउटा खेलाडीले खुट्टा उचालेर खुट्टा मुनिबाट सानो लठ्ठी अर्थात् लौरोलाई जति सकिन्छ त्यति बलले परसम्म फ्याक्ने गर्छ । एकजनाले लौरो फ्याकिसकेपछि सबैजना त्यो लौरी लिनका लागि दौडन्छन् । त्यो लौरी एक जनाले मात्र समात्न सफल हुन्छ । अरू सबै रूखमा चढ्छन् ।
लौरी समात्ने खेलाडीले रूखमा चढेका कुनै पनि खेलाडीलाई छुनै बित्तिकै आउट हुने गर्छ । यो क्रम जारी नै रहन्छ । अन्त्यमा, जो एउटा खेलाडी बाँकी रहन्छ, त्यो खेलाडीले पुनः अर्को खेल प्रारम्भ गर्ने गर्छ ।
हात्ती चुक्का
यस खेलमा सानो अथवा ठूलो चौर चाहिन्छ । कुनै पनि चौरमा सबै तिर धर्को तानेर दुई वटा कोठा बनाउनु पर्छ । सो दुई कोठामा एक–एक समूह हुने गर्छ । समूहको खेलाडी संख्याको आधारमा चौरीमा कोटा निर्माण हुने गर्छ । सबै खेलाडीहरू आ–आफ्नो कोठामा पसिसकेपछि, उनीहरू कोठा भित्र आपसी सल्लाह पनि गर्ने गर्छन् ।
कोठा बाहिर खेल हेर्ने दर्शक पनि हुने गर्छन् । दुई कोठाको बीचमा धर्को कोरेको हुन्छ, त्यस धर्कोलाई हात अथवा खुट्टाले छोएर अर्को समूहका खेलाडीलाई समातेर आफ्नो कोठामा ल्याउँदा आउट हुने, त्यस्तै अर्को समूहले हातले समाएर आउट गर्ने क्रमशः जारी रहन्छ । अन्त्यमा, जुन समूहका खेलाडी शुन्य हुन्छन्, त्यसको हार हुन्छ ।
धुधु रानी खेल
यो खेल गोलो घेरामा खेलिने खेल हो । यस खेलमा एक अर्काको हात समातेर गोलाकार रूपमा खेलाडीहरू उभिने गर्छन् । गोलाकारको बीचमा एक जना मध्य विन्दुमा उभिने गर्छ, त्यस बिन्दुबाट बीचको खेलाडीले गोलाकार रूममा उभिएका खेलाडीहरू छुने प्रयास गर्ने गर्छ ।
सबै खेलाडीहरू ‘धुधु रानी’ भन्दै आवाज निकाल्ने गर्छन् । जसलाई छुन्छ, त्यो खेलाडी गोलोघेराको बीचमा आई, अघिल्लो खेलाडी खेल भन्दा बाहिर निस्कन्छ । यस्तै क्रम जारी रहन्छ ।
धुवा लाठी खेल
यो खेल गाई–भैसी चराउँदा खेतबारीको मैदानमा खेलिने खेल हो । यसमा एउटा समूह बनाई सबैको हातमा लठ्ठी हुने गर्छ । त्यो लौरी (लठ्ठी) लाई कसैले पनि हातले छुन पाउँदैन । जसले हातले छुन्छ, त्यो खेलाडी आउट हुने गर्छ ।
समूह मध्य एक जनाले लौरी फ्याक्ने गर्छ, त्यो लौरीस“गै खेलाडीहरू कुद्ने गर्छन् । एक जना खेलाडीले फ्याकिएको लौरी अरू खेलाडीहरूले त्यो लौरीलाई लौरीकै मध्यबाट फ्याक्ने गर्छन् । लौरी फ्याकिसकेपछि, जसको लौरी हो त्यो लौरी लिन दौडन्छ । यदि लौरी समातिसकेपछि त्यो खेलाडीले कसैलाई छोएमा पनि क्रमशः खेल जारी नै रहन्छ ।
गुली डण्डा
यस खेलमा एउटा मात्र समूह हुने गर्छ, सबैले बाँसको डण्डा बोक्ने गर्छन् । एउटा खेलाडीले गुलीलाई डण्डाले ठ्याक्क लगाएर हुइक्याउने गर्छ । जसले त्यो गुलीलाई ठ्याक्क लगाउन सक्दैन, त्यो खेलाडी आउट हुने गर्छ । यो क्रम जारी नै रहन्छ ।
वासुदेव विश्वास मत्स्य देशको मौलिक जानकार राख्ने व्यक्तित्व हुन् । यो एक खोजको विषय पनि हो । मत्स्य देशका विराट राजासँग विराट राजवंशी समुदाय जोडिएका छन्, जो मत्स्य देशका संस्कृति भूमि बसोबास गर्दै आएका भूमिपुत्र हुन् । यसबारे ‘मत्स्य देशका विराट राजा र राजवंशीहरू’ नामक पुस्तकमा खोजमुलक इतिहास उल्लेख गरिएको छ, जसका लेखक लोकेन्द्र मल्ल हुन् ।
लोकेन्द्र मल्लको खोजलाई अझ प्रभावकारी बनाउन सबैको विश्वासिलो वासुदेव विश्वास राजवंशीको अध्ययन अनुसन्धानले विराट राजवंशी समुदायलाई छुट्टै पहिचान र चिनारी दिएको छ । जुन इतिहास खोज्दै जाँदा विराट राजवंशी समुदाय भौगोलिक अवस्थाले प्रमाणित गरिदिएको छ । जसको भेषभूषा, भाषा, लिपि, कला र संस्कृति फरक रहेको छ । तसर्थ यी देशका मूल आदिवासी हुन् ।
धार्मिक व्यक्तित्व र थानहरू
उहाँ सनातन धार्मिक व्यक्तित्व हुन् । विराट राजवंशी समुदायले मत्स्य देशको समयदेखि नै प्रकृति पूजन गर्दै आएका छन् । यसले गर्दा सबैको विश्वासिलो वासुदेव विश्वास आज पनि धार्मिक विश्वासमा अटल हुनुहुन्छ । उहाँको यो स्वभावले विराट राजवंशी समुदायलाई धार्मिक पहिचान पनि दिएको छ । मत्स्य कालदेखि नै विराट राजवंशी समुदाय ग्रामथानका देवी–देउतालाई पूजापाठ गर्दै आएका छन् ।
यस्तो संस्कृति भूमिसँग चिरपरिचित हुँदै आउनुभएका धार्मिक व्यक्तित्व वासुदेव विश्वासले आफ्नो सेरोफेरोका ग्रामथानलाई चर्चा–परिचर्चा गर्दै संरक्षण र प्रबन्धनतिर ध्यान दिन खोज्नुभएको छ ।
राजसती थान
विराट राजवंशी समुदायले पौराणिक कालदेखि नै देवी–देउताको नामबाट थानमा पूजाआजा गर्दै आएका छन् । यस थानमा मुख्य गरी परेवा र पाठा चढाउने चलन रहेको छ । साथै फलफूल, दही, पान, दूध, सुपारी र दुबो लगायतका पूजा सामग्री परम्परा रहदै आएको छ ।
उहाँ धार्मिक आस्था र विश्वाससँग जोडिएकाले ‘राजसती’ थान पूजा–पाठमा सक्रियता देखाउँदै आउनुभएको छ । यस थानको स्थापना गर्ने महापुरूष अर्थात् शक्तिशाली व्यक्ति हुन्, जसको नामबाट राजसती थान राखिएको हो । उहाँको थानप्रति श्रद्धा–भाव जोडिएको छ, जसले सदैव थान संरक्षण र प्रबद्र्धनतिर लाग्नुभएको छ ।
बुढुवा थान
उहाँको विचारमा सबैभन्दा पुरानो थान भएकोले ‘बुढुवा’ थान राखिएको हो । यो थान मत्स्यकालदेखि हुनुपर्छ भन्ने बुढापाकाले भन्दै आएका छन् । यस थानमा विराट राजवंशी समुदायको मौलिक संस्कृति झल्कने गरेको उहाँले बताउनुभएको छ ।
काजरमाजर थान
यो थान मत्स्य देशका मत्स्येन्द्रनाथकी बहिनी, त्यस कालखण्डका प्रसिद्ध नारी हुन्, जसले देशका लागि रक्षकको रूपमा योगदान दिएकी हुन् । यिनै प्रख्यात नारीहरूका नामबाट काजरमाजर थान राखिएको हो भने कुरा विराट राजवंशी समुदायका गाउँघरका बुढापाका र वासुदेव विश्वासले समेत जोड दिंदै आउनुभएको छ ।
View : 750
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved