विराटनगर । गएको ३७ वर्षदेखि कोशीटप्पुमा हुँदै आएको जलचरा गणना यस वर्षको पुस २५ (जनवरी १०) बाट हुने भएको छ । सगरमाथाको उचाइभन्दा माथिबाट उडेर साइबेरियादेखि आउने खोया हाँसको बथान बढ्दै गएको कोशीटप्पुमा चरा अध्ययन र अवलोकनका लागि विश्वभरका मानिस आउने गरेका छन् । नेपालमा सबैभन्दा बढी जातका चरा पाइने कोशीटप्पुको यस वर्षको गणनामा पहिलो पटक प्रदेश सरकारको प्रत्यक्ष सहभागिता हुने भएको छ ।
यस वर्षको गणनामा कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले चराको गणना र त्यसबाट प्राप्त प्रतिफलमा चासो लिएको छ । कोशी पंक्षी समाजको अगुवाइमा कोशीटप्पु वन्यजन्तु आरक्ष, नेपाली सेना र चराका जानकारहरू भएर हरेक वर्ष गणना हुँदै आएको छ । आकाशमा उड्ने र पानीमा डुब्ने चराको गणना कसरी हुन्छ भनेर हरेक क्षेत्रले चासो लिने गरेका छन् ।
कोशी प्रदेशका पर्यटन मन्त्री गणेश उप्रेतीले यस वर्षको चरा गणनामा आफू पनि सहभागी हुने बताए । पंक्षी समाजका अध्यक्ष चक्र तिम्सिनाको आग्रहलाई स्वीकार गर्दै उनले गणनामा सहभागी हुने र मन्त्रालयबाट पनि त्यसमा सहयोग रहने जानकारी दिए । कोशीटप्पुमा जलचरा गणनाका लागि जलमार्ग र नदी किनार दुबै तर्फबाट गणक परिचालन गरिन्छ ।
मानिस र पाल्तु चौपायाको चहलपहलले कोसीटप्पुमा बर्सेनि जलचरा घट्दो क्रममा छ । एकै ठाउँमा हजारको संख्यामा जलचरा देखिने गरेकोमा अचेल ससाना झुण्ड मात्रै पाइने गरेका छन् । पंक्षी समाजका पूर्वअध्यक्ष अनिष तिम्सिनाका अनुसार कोशीमा चराको संख्यामा असर गरे पनि प्रजातिमा कमी आएको छैन ।
युरोपदेखि उडेर जाडो छल्न आउने चराका कतिपय प्रजातिले बच्चा कोरलेर लैजाने गरेका छन् । कोशी पंक्षी समाजको अगुवाइमा गरिने गणनामा बराहक्षेत्र नगरपालिका, कोशीटप्पु लर्निङ ग्राउण्डस, राष्ट्रिय प्रकृति संरक्षण कोष, हिमाली प्रकृति, कोशी पंक्षी अध्ययन केन्द्र, कोशीटप्पु वन्यजन्तु आरक्ष, नेपाली सेना, केटीके बेल्ट, जेडएसएल नेपाल, नेपाल पंक्षीविद् संघलगायतका संस्थाको संलग्नता रहदै आएको छ ।
कोशी नदी किनारको दुबै भागबाट गणना सम्पन्न गरेर सप्तरी र उदयपुरका जलाशय तथा सुनसरीको बर्जुताल, तालतलैया र मोरङको बेतना सिमसारमा पनि गणना गरिने गरिएको अध्यक्ष चक्र तिम्सिनाले बताए । बर्जुतालमा पर्यटकका लागि बढी डुंगा चलाइएकाले गएका वर्षको तुलनामा यस वर्ष कम चरा पाइने समाजको अनुमान छ ।
विश्वमा पाइने चरामध्ये नेपालमा ८ सय ९२ प्रजातिका पाइन्छन् भने कोशी टप्पुमा मात्रै ५ सय ३५ प्रजातिका पाइन्छन् । पंक्षी समाजका पदाधिकारीले कुनै पनि नयाँ चराको आगमन भएको देखेमा त्यसको फोटो खिचेर रेकर्डका लागि केन्द्रमा पठाउने गरेको छ । समाजको गणनाको तथ्याङ्कलाई सरकारलेसमेत मान्यता दिंदै आएको छ ।
View : 186
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved