Biratnagar, Morang, Nepal
१९ मंसिर २०८१, बुधवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगरमा व्यवसायी दीपक मल्होत्राको प्लटिङ, मेयर कोइरालाले गरे बिक्रीको उद्‌घाटन

यो प्लटिङमा ८ धुरदेखि एक कठ्ठासम्मका ६९ वटा प्लटहरू बिक्रीमा रहेको व्यवसायी ध्रुव घिमिरेले बताए । उनले कोशी राजमार्गतिरको प्रति धुर ३० लाखसम्म र पछाडिपट्टि प्रति धुर २० लाखसम्म मुल्य निर्धारण गरिएको जानकारी दिए ।
१६ साउन २०८१, बुधवार

विराटनगर । विराटनगर–११ स्थित बसपार्क दक्षिणपट्टि रत्ना होटलसँग जोडिएको जग्गामा तयार पारिएको बहुप्रतिक्षित ‘प्लटिङ’ को बुधबारदेखि बिक्री खुला गरिएको छ । 

चर्चित व्यवसायी दीपक मल्होत्रासहित विराटनगरकै पुष्पलाल चोकका घरजग्गा व्यवसायी ध्रुव घिमिरे र सुरेन्द्र बहादुर सिंहले संयुक्त रुपमा तयार गरेको प्लटिङको बिक्री सुरु भएको हो ।

प्लटिङ स्थलमै बुधबार आयोजित उद्‌घाटन कार्यक्रममा ट्यालेन्ट रिक्युटमेन्ट एण्ड हाउजिङ प्रालिका अध्यक्ष एवं व्यवसायी मल्होत्राले प्लटको बिक्री खुला गरिएको घोषणा गरे । 

४८ कठ्ठा १३ धुर क्षेत्रफल रहेको उक्त जग्गा व्यवसायी मल्होत्रा सहितको समुहले विराटनगर महानगरपालिकाका वर्तमान मेयर नागेश कोइरालासँग दुई वर्षअघि खरिद गरेका थिए । उक्त जग्गा पोखरीका रुपमा रहेको थियो । जग्गा व्यवसायी मल्होत्राको नेतृत्वमा खरिद भएपछि त्यहाँ करिव ६ करोड रुपैयाँ थप लगानी गरेर आवास क्षेत्रका रुपमा विकास गरिएको घरजग्गा व्यवसायी ध्रुव घिमिरेले जानकारी दिए ।

प्लटिङको बिक्रीको उद्‌घाटन पनि मेयर कोइरालाले नै गरेका हुन् । विराटनगरका घर जग्गा व्यवसायीको बाक्लो उपस्थिति तथा निजी क्षेत्रका प्रतिनिधिहरुको सहभागीतामा प्लटिङको बिक्री खुला भएको घोषणा गरिएको हो ।

मेयर कोइरालाले विराटनगरमा अव्यवस्थित ठाउँमा गएर बस्ने र सुविधा मागिहाल्ने चलन रहेको भन्दै यो प्लटिङले सुविधायुक्‍त ठाउँमा पनि जग्गा खरिद गरेर बस्न र सुविधा उपभोग गर्न सकिने सन्देश दिएको बताए ।

जग्गा कारोबारमा बैंकले लगानी गर्न नमान्ने अवस्थामा पनि व्यवसायीहरूले आँट गरेर विराटनगरलाई व्यवस्थित शहरका रुपमा विकास गर्न जग्गा व्यवस्थित गरिएको बताए । 

व्यवसायी मल्होत्राले रियल स्टेट क्षेत्रमा करिव ३० वर्षदेखि संलग्न रहेको र पूर्वमा इटहरी पछि विराटनगरमा पनि व्यवसाय विस्तार गरेको जानकारी दिए । उनले विराटनगरमा व्यवसायिक कम्प्लेक्स र आफ्नो निजी घर पनि बनाउने सोचमा रहेको जानकारी दिए ।

‘विराटनगरमा अत्याधिक मेरो लगानी छ, विराटनगरमा घर पनि बनाउँछु’ उनले भने, ‘जग्गामा लगानी गर्दा बैंकले १२५ प्रतिशत जोखिम मुल्याङ्कन गरेर ब्याज महँगो बनाइदिन्छ, यस्तो अवस्थामा पनि लगानी गरेर आजबाट बिक्री सुरु गरिसक्यौँ ।’

प्लटिङ उद्घाटनमा विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, घरजग्गा व्यवसायी घनश्याम पोखरेल लगायतले व्यवसायको सफलताको शुभकामना दिँदै विराटनगरमा लगानीको क्षेत्र वृद्धि गर्न व्यवसायी मल्होत्रासँग आग्रह गरेका थिए । 

यो प्लटिङमा ८ धुरदेखि एक कठ्ठासम्मका ६९ वटा प्लटहरू बिक्रीमा रहेको व्यवसायी ध्रुव घिमिरेले बताए । उनले कोशी राजमार्गतिरको प्रति धुर ३० लाखसम्म र पछाडिपट्टि प्रति धुर २० लाखसम्म मुल्य निर्धारण गरिएको जानकारी दिए । उनले मुल सडक २६ फुट रहेको र सहायक सडक २० फुटको रहेको बताए । साथै बुधबारदेखि एक हप्ताभित्र बुकिङ गर्ने खरिदकर्ताहरुलाई १० प्रतिशत छुट दिइने उनले बताए ।

View : 1009

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved