Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

मंसिर महिनामा बिहे गर्ने कि आन्दोलन ?

चाहे त्यो संविधान निर्माणका बेलामा भएका अधिकारवादी आन्दोलनहरू हुन् वा राष्ट्रियता, जनजीविका र सुशासनका माग सहितका वर्तमानका प्रदर्शनहरू, मंसिर महिनाले नेपाली समाजमा विद्यमान असन्तुष्टि, अपेक्षा र राजनीतिक ध्रुवीकरणलाई प्रतिविम्बित गर्ने एउटा महत्वपूर्ण मञ्चको काम गरिआएको छ ।
यज्ञप्रसाद शर्मा
५ मंसिर २०८२, शुक्रवार

परम्परागत रुपमा मंसिर महिना दुलही भित्र्याउने अर्थात् बिहेको महिना हो । ‘ओई, मंसिर आयो त के छ योजना’ भनेर विहेको प्रसङ्ग निकाल्ने चलन छ । ‘यसपालिको  मंसिर नकटाऊ है’ भन्दै सुझाव दिन्छन् मित्रहरुले । कृषकहरुका लागि मंसिर बाली उठाउने महिना । यो महिनामा मुसाले पनि सातवटी श्रीमती ल्याउँछ र धान ओसार्न लगाउँछ भन्ने लोकोक्ति छ ।

यसप्रकार नेपालको पात्रोमा मंसिर महिनाको आफ्नै सांस्कृतिक, कृषिगत र सामाजिक महत्व छ । तर अचेल मसिर महिनाको पहिचान थपिएको छ, त्यो हो आन्दोलनको महिना । दशैं, तिहार जस्ता महान् पर्वहरू भर्खरै सकिएको र किसानको खेतमा पाकेको धानबाली भित्र्याउने बेला आन्दोलनको कुराकानी हुन थालेको छ । 

यहीबेला मौसमले घुम्टो ओडेर जाडोको संकेत दिन थाल्छ । आँगनको घाम प्यारो लाग्न थाल्छ । मंसिरलाई सामान्यतया शान्त र सौम्य महिनाका रूपमा लिइन्छ । किनकि पारिलो घाममा बसेर परिवार र समुदाय बीचको सुमधुर प्रेममय वार्तालापले आपसी सम्बन्ध सुदृढ बनाउने महिना हो ।

लोकभाका हाल्दै बाली उठाउन गरिने अर्मपर्म र श्रमको विनिमयले सामुदायिक सम्बन्ध मजबुद बनाउने गर्दछ । तर, पछिल्ला केही वर्षदेखि मंसिर महिनामा पुरानो प्रचलन भन्दा भिन्न उत्पादन भन्दा आन्दोलन र विरोध प्रदर्शनको तयारी गरेको पाइएको छ ।

मंसिर महिनाले विगतको परिचय बदलेर ‘आन्दोलनको महिना’को परिचय बनाउने खतरा छ । किनकि अचेल मानिसहरू कृषि कर्ममा रमाउन छाडेका छन् । खेती कर्म घटेको मात्र होइन कृषि कर्ममा यन्त्रको बढ्दो प्रयोगले मानिसको भौतिक संलग्नता खेतीमा कमजोर बन्दै गएको छ । 

चाडपर्वपछिको फुर्सदिलो महिना

मंसिरमा आन्दोलन हुने कारण के हो ? कारणको खोजीमा बहुआयामिक विश्लेषण आवश्यक छ । पहिलो कारण हो, चाडपर्वपछिको फुर्सदिलो महिना । नेपाली समाजमा दशैं र तिहार दुई सबैभन्दा ठूला र महत्वपूर्ण पर्वहरू हुन् । यी पर्वहरूमा अधिकांश नेपालीहरू आफ्नो घरपरिवार र आफन्तसँगको भेटघाट, भोजभतेर र रमाइलोमा व्यस्त हुन्छन् । यस अवधिमा राजनीतिक मुद्दाहरूमा चासो वा सहभागी हुने फुर्सद कसैलाई हुँदैन ।

सरकार वा कुनै पनि आन्दोलनकारी पक्षले पनि चाडपर्वको समयमा प्रदर्शन गर्न चाहँदैनन् । किनकि त्यसले जनसमर्थन जुटाउनुको साटो घटाउने सम्भावना बढी हुन्छ । चाडपर्व सकिएपछि मानिसहरू सामान्य जीवनमा फर्कन्छन् । दैनिक जीविकाका समस्या, राजनीतिक गतिरोध, भ्रष्टाचार लगायतका मुद्दाहरूमा ध्यान दिन थाल्छन् ।

हिउँद लाग्दै जाँदा जनमानसमा गुम्सिएको असन्तुष्टि र आक्रोश आन्दोलनको माध्यमबाट बाहिर निस्कने अवसर पाउँछ । 

मौसमी अनुकूलता

आन्दोलनका लागि अनुकुल मौसम हुनु महत्वपूर्ण हुन्छ । मंसिर महिनामा नेपालको अधिकांश भागमा मौसम शीतल र सुख्खा हुन्छ । दिउँसोको समयमा न त गर्मीले पिरोल्छ न त झरीले बाधा दिन्छ । अत्यधिक चिसो पनि भइसकेको हुँदैन । यसले गर्दा देशभरबाट मानिसहरू आन्दोलनमा सहभागी हुनका लागि राजधानी वा प्रदेशका ठूला शहरहरूमा आउन र सडकमा उत्रिन सहज मान्छन् ।

फागुन–चैतको सुख्खा र तातो मौसम वा असार–साउनको झरीको तुलनामा मंसिरको मौसम जुलुश प्रदर्शनका लागि अनुकूल मानिन्छ ।


जनसहभागिताको सहजता

नेपालको ठूलो जनसंख्या कृषिमा आधारित छ र गाउँमा बस्छ । मंसिर महिना धानबाली भित्र्याउने मुख्य समय भए पनि, अधिकांश किसानले बाली भित्र्याइसकेका हुन्छन् । बाँकी रहेको काम यन्त्रको प्रयोग र गाउँलेको सहयोगमा सम्पन्न गर्न सकिने हुन्छ । यसपछि उनीहरूसँग केही फुर्सदको समय निस्किन्छ । त्यस फुर्संदको समयलाई राजनीतिक वा सामाजिक आन्दोलनमा सहभागी भएर सदुपयोग गर्दछन् ।

चाैथो  गाउँघरबाट ठूलो संख्यामा मानिसहरूको सहभागिताले कुनै पनि आन्दोलनलाई थप बलियो र प्रभावकारी बनाउँने गरेको छ ।

पाँचौं, सरकारमाथि दबाब बढाउने रणनीति

आन्दोलनकारी पक्षले पनि मंसिर महिनालाई विशेष रणनीतिक समयका रूपमा लिन्छन् । संसदको हिउँदे अधिवेशन प्रायः मंसिरको अन्त्यतिर वा पुसको सुरुमा सुरु हुन्छ । यस अवधिमा आन्दोलन गर्दा सरकारमाथि थप दबाब सिर्जना गर्न सकिन्छ । संसदमा पनि आन्दोलनका मुद्दाहरूले स्थान पाउने सम्भावना हुन्छ । 

नेपालको राजनीतिक इतिहासमा मंसिर महिनामा भएका केही महत्वपूर्ण घटना र आन्दोलनहरूले यस प्रवृतिलाई अझ बलियो बनाएका छन् । २०६२–६३ को जनआन्दोलनको पृष्ठभूमि र त्यसअघिका आन्दोलनहरूमा पनि मंसिरमा केही न केही महत्वपूर्ण राजनीतिक गतिविधिहरू भएका  थिए । विसं २०६२ मा दिल्लीमा तत्कालीन राजनीतिक दलहरू र विद्रोही माओवादीबीच भएको १२ बुँदे सम्झौता होस् वा वि.सं. २०६३ मा देशभित्रै भएको विस्तृत शान्ति सम्झौता मंसिर महिनामा नै भएको थियो ।

संविधान निर्माणका क्रममा, विशेष गरी २०७२ सालमा संविधान जारी हुनुअघि र पछि, विभिन्न जातीय समूह, मधेसवादी दल र अन्य पक्षले मंसिर महिनामा धेरै पटक आन्दोलन र प्रदर्शनहरू गरेका थिए । संघीयताको सीमाङ्कन, नागरिकताको विषय र अन्य अधिकारका मुद्दाहरूलाई लिएर तराई–मधेस लगायतका क्षेत्रमा मंसिरमा आन्दोलन हुँदै आएका हुन् । 

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा समावेश गरेपछि नेपालमा राष्ट्रियताको पक्षमा ठूला आन्दोलनहरू भए । ती आन्दोलनको लप्को पनि मंसिर महिना वरपर नै चर्केका थिए भन्न सकिन्छ । 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बनेपछि दुईपटक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएका छन् । ती दुवै चुनावहरू मंसिर महिनामा भए । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ नाम दिएर चलाएको आन्दोलनले मंसिर महिनालाई नै तताउने गरेको छ ।

प्रसाईंले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका कारण पीडित बनेका व्यवसायी र सर्वसाधारणको पक्षमा वकालत गर्दै, लघुवित्तका समस्याहरूलाई उजागर गर्दै र देशमा व्याप्त भ्रष्टाचार एवं बेथितिको अन्त्यको लागि देशव्यापी अभियान चलाउने गरेका छन् ।

उनले सुरुमा फागुनमा काठमाडौंमा ठूलो प्रदर्शन गरे । त्यसपछिका वर्षहरुमा निरन्तर आफ्ना अभियानलाई अगाडि बढाएका छन् । दुर्गा प्रसाईंले यस वर्ष पनि मंसिर महिनामा काठमाडौंमा बृहत प्रदर्शन गर्ने घोषणा गरेका छन् । उनको यो आह्वानले यसवर्ष पनि मंसिर महिना आन्दोलनको महिना बन्ने सम्भावनालाई बल पुगेको छ ।

तर उनलाई सरकारले गिरफ्तार गरेकाले आन्दोलनको स्वरुप कस्तो हुने हो भन्न सकिने अवस्था छैन । उनको आन्दोलनमा ग्रामीण भेगका नागरिक र राजतन्त्र तथा हिन्दु राष्ट्रको पक्षमा वकालत गर्नेहरूको सहभागिता उल्लेखनीय देखिने गरेको छ ।  

प्रसाईंको आन्दोलनले आर्थिक मुद्दालाई राजनीतिक मुद्दाका रूपमा उठाउँदै, नागरिकको दैनिकीमा परेको असरलाई मुखरित गर्ने प्रयास गरिरहेको छ । यसवर्ष  दुर्गा प्रसाईंको आन्दोलनले वर्तमान सरकारको वैद्यता, राजनीतिक प्रणाली, मुलुकको आर्थिक नीति र समग्र सुशासनका विषयमा प्रश्न उठाउने संभावना छ । 

मंसिर महिना राजनीतिक गतिविधि हुने र आन्दोलनको माहोल बनाउने विशेष समयका रूपमा स्थापित भएको छ । चाडपर्वपछिको फुर्सद, अनुकूल मौसम, ग्रामीण भेगबाट सहभागिताको सहजता र सरकारमाथि दबाब सिर्जना गर्ने रणनीतिक समयतालिका जस्ता बहुआयामिक कारणहरूले गर्दा यो महिना प्रदर्शन र विरोधका लागि उपयुक्त मानिदै आएको छ ।

चाहे त्यो संविधान निर्माणका बेलामा भएका अधिकारवादी आन्दोलनहरू हुन् वा राष्ट्रियता, जनजीविका र सुशासनका माग सहितका वर्तमानका प्रदर्शनहरू, मंसिर महिनाले नेपाली समाजमा विद्यमान असन्तुष्टि, अपेक्षा र राजनीतिक ध्रुवीकरणलाई प्रतिविम्बित गर्ने एउटा महत्वपूर्ण मञ्चको काम गरिआएको छ ।

दुर्गा प्रसाईंको पछिल्लो अभियानले पनि यसै प्रवृतिलाई निरन्तरता दिँदैछ । जबसम्म राज्यले विकास र समृद्धिको अभियानको ठोस कार्यक्रम ल्याउँदैन तबसम्म यस्तो अभियानले निरन्तरता पाइनै रहन्छ । हरेक वर्षको मंसिर महिनादेखि नै नागरिकले राजनीतिक नारा, जुलुस र जनप्रदर्शनको साक्षी बन्नुपर्ने बाध्यताबाट मुक्त गर्न सरकारले स्थानीय, प्रदेश र राष्ट्रिय स्तरको विकास अभियान सुरु गर्नु पर्दछ ।

जुन अभियान मंसिरबाट सुरु भएर बैशाखसम्म चलोस् । बाँकी महिना मानिसहरुलाई योजना कार्यान्वयन र भविष्यको तयारीमा लाग्न प्रेरित गरोस् । अन्यथा मंसिरको चिसो हावामा न्याय र अधिकारका लागि गुञ्जिने नाराहरूले लोकतान्त्रिक अभ्यास बलियो बनाउँला नबनाउला छुट्टै विषय हो तर नेपालको आर्थिक विकास र सामाजिक एकतामा भने नकारात्मक असर पार्ने निश्चित छ ।

 बिहेमा गएका र धानखेतमा काम गर्ने कृषकले समेत आन्दोलनको बारेमा चिन्तन गर्नुपरेपछि समुदायको हित र देशको विकासका लागि नागरिकले कहिले सोच्ने ? प्रश्न गम्भीर छ ।

(यज्ञप्रसाद शर्मा नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष हुन् ।)

View : 463

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved