Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

बढ्दैछ एन्जाइटीको समस्या

आर्थिक मन्दी, युवा पुस्तामा क्षमताअनुसार अवसरको कमीलगायतका सामाजिक अवस्थाका कारण मानिसहरू तनावपूर्ण दैनिकी बिताइरहेका छन्, जसले एन्जाइटीको समस्या बढाइरहेको चिकित्सकहरू बताउँछन् ।
जुनु भट्टराई
१६ फागुन २०८०, बुधवार

एआइको सहयोगमा तयार पारिएको तस्वीर ।

विराटनगर । विराटनगर–९ की रमा ढकाललाई बिनाकारण मन आत्तिने, त्यसै डर लाग्ने जस्ता समस्या देखिएको झण्डै दुई वर्ष भएको थियो । ४३ वर्षीया रमा लामो समय आफ्नो समस्या लुकाएर बसिन् । तर समस्या कम हुनुको सट्टा झन बढ्दै गयो ।

उच्च रक्तचापको औषधि समेत सेवन गर्दै आएकी उनलाई विस्तारै मुटु धेरै ढुकढुक गर्ने, छिटोछिटो सास फेर्ने, छाती भारी भएको महसुस हुने, घाँटीमा केही अडि्कएजस्तो लाग्ने जस्ता लक्षण देखिन थाले । रमाले परिवारको सल्लाहअनुसार धेरै पटक मुटुरोग विशेषज्ञ, फिजिसियनकहाँ जाँच गराइन् । तर मुटुमा कुनै समस्या देखिएन ।

मुटुको धड्कन तेज भएको महसुस गरेकै समयमा अस्पतालको इमरजेन्सीमा भर्ना भएर जाँच गराउँदा पनि धड्कनको गति सामान्य देखिएपछि चिकित्सकले मानसिक रोग विभागमा रेफर गरिदिए । 

शरीरमा कुनै समस्या नदेखिएपछि चिकित्सक तथा आफन्तको सल्लाहअनुसार मानसिक रोग विभागमा जाँच गराउन पुगेकी ढकाललाई मानसिक रोग विशेषज्ञले एन्जाइटीको समस्या भएको बताए । सामान्य परामर्शले काम नगर्ने अवस्थामा पुगेकी रमा अहिले चिकित्सकको सल्लाहमा एन्जाइटीको औषधि सेवन गरिरहेकी छिन् । 

त्यस्तै विराटनगर जतुवाकी कमला सापकोटामा पनि मानिसको जमघट हुँदा एक्कासी डराउने, मन त्यसै आत्तिने, मरिन्छ कि भन्ने सोच आउने जस्ता समस्या देखिन थाल्यो । दिनदिनै समस्या बढ्दै गएपछि परिवारको सदस्यलाई बताइन् । परिवारको सल्लाहमा मानसिक रोग विभागमा पुगेपछि उनलाई पनि एन्जाइटीको समस्या देखियो ।

‘सुरुमा मानसिक रोग विभागमा जाने भन्ने बित्तिकै आफूलाई असहज महसुस भएको थियो,’ कोशी अस्पतालको मानसिक रोग विभागमा भेटिएकी ३१ वर्षीया कमलाले उद्घोषसँग भनिन्, ‘लामो सममयसम्म आफ्नो समस्या लुकाएर राखेँ, तर मलाई भएको एन्जाइटी त अहिले धेरैलाई देखिएको समस्या पो रहेछ, यहाँ आएपछि बल्ल थाहा पाइयो ।’ 

मानसिक समस्या भन्ने बित्तिकै मानिसहरूमा मानसिक स्थिति ठिक नभएको भन्ने मानसिकता अझै पनि रहेकाले आफूजस्ता मानिसहरू समस्या अझै पनि खुलेर भन्न नसक्ने अवस्था रहेको रमाको धारणा छ । पछिल्लो केही वर्षयता एन्जाइटीको समस्या लिएर आउने बिरामीको संख्या बढ्दै गएको विभिन्न तथ्यांकहरूले देखाएको छ ।

विराटनगरस्थित कोशी अस्पतालको मानसिक रोग विभागमा आउने बिरामीहरूमध्ये ४० प्रतिशत एन्जाइटीका समस्या लिएर आउने बिरामीहरू रहेको अस्पतालका मानसिक रोग विशेषज्ञ डा प्रभात चालिसे बताउँछन् ।

भूकम्पको अवस्थापछि सरकारी तथा गैरसरकारी संस्थाहरूले पनि मानसिक रोग वा अवस्थाको ‘मेन्टल इलनेस’को जनचेतनामूलक कार्यक्रमहरू बढाएकाले पनि बिरामीहरू सचेत भएर मानसिक रोग विभागमा आउने गरेको हुन सक्ने डा.चालिसे बताउँछन् ।  

‘भूकम्पपछि कोभिड आयो, कोभिडको समयमा स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन लयायतका सरकारी तथा गैरसरकारी संस्थाहरूले पनि ‘मेन्टल इलनेस’मा बढ्दो देखिएको डिप्रेशन, एन्जाइटी जस्ता समस्याहरूको उपचारको महत्वको बारेमा प्रचारप्रसार गरेको कारण पनि बिरामीहरू बढ्दै गएका छन’्, डा चालिसे भन्छन् ।

नेपालमा ठ्याक्कै एन्जाइटीका कति बिरामी छन् भन्ने यकिन तथ्यांक नभए पनि क्लिनिकल प्राक्टिसलाई हेर्दा आर्थिक मन्दी, युवापुस्तामा क्षमताअनुसार अवसरको कमी लगायतका विभिन्न सामाजिक अवस्थाका कारण मानिसहरू तनावपूर्ण दैनिकी बिताइरहेका छन्, जसले एन्जाइटीको समस्या बढाइरहेको चिकित्सकहरू बताउँछन् ।  

एन्जाइटी डिसअर्डर भएमा मुटुको धड्कन बढ्ने, श्वास–प्रश्वास छिटो–छिटो हुने हुन्छ । यस्ता लक्षण देखेर मुटुमा ठूलो समस्या भएको ठानेर धेरै मानिस आत्तिन्छन् । तर, मानसिक रोगको लक्षण हो भनेर थाहा नहुन सक्छ । त्यसैले यदि कसैलाई यस्ता लक्षण देखिएको छ भने तुरुन्त मनोचिकित्सक तथा मनोपरामर्शदाताकहाँ पुगिहाल्न विज्ञहरूको सुझाव छ ।

संसारमा धेरै भन्दा धेरै मानिसहरूलाई लाग्ने रोगमध्ये ‘एन्जाइटी डिसअर्डर’ पनि प्रमुख समस्या मध्ये एक हो । विश्वब्यापी रुपमा झण्डै २० प्रतिशत मानिसलाई एन्जाइटी डिसअर्डरको समस्या देखा परेको पाइन्छ । 

कोशी अस्पतालका मनोचिकित्सक डा चालिसे यो समस्यालाई प्रायः साइकोसिस र न्यूरोसिस गरी दुई भागमा छुट्याइने बताउँछन् । उनका अनुसार यदि आफू बिरामी भएको चेत नहुने समस्यालाई साइकोसिस र आफू बिरामी भएको चेत हुने समस्यालाई न्यूरोसिस भनिन्छ । 

न्यूरोसिसमध्येको एक प्रमुख समस्या एन्जाइटी डिसअर्डर हो, जसमा डर चिन्ता, भय, बिना कारण दैनिक जीवनलाई नै कष्ट पर्ने गरी अनेकौं समस्या यो रोगमा देखिन्छ । एन्जाइटीमा शारीरिक, मनोवैज्ञानिक, व्यवहारिक लगायत सबै प्रकारका लक्षणहरू देखा पर्ने डा चालिसे बताउँछन् । 

‘यसमा कतिपय शारीरिक लक्षण यति कडा रुपमा देखा पर्छ कि बिरामीहरू त्यही शारीरिक लक्षणका आधारमा बिभिन्न रोगसँग सम्बन्धित विशेषज्ञकहाँ गएर बारम्बार जँचाइरहन्छन्’, डा चालिसे भन्छन्, ‘यस्ता लक्षणहरूमा विशेषगरी मुटु ढुकढुक गर्ने, मुटुको धड्कन तेजसँग चल्ने, सास छिटोछिटो फेर्ने, घाँटीमा केही अड्किएजस्तो हुने, खुट्टा झमझम गर्ने, छाती भारी हुने जस्ता लक्षणहरू देखिने गर्छन् ।’

मनोवैज्ञानिक लक्षणमा भने बिना कारण डर लाग्ने, मनमा बेचैनी छाउने, घवराहट हुने, म कतै लडिहाल्छु कि ? मरिहाल्छु कि ? जस्तो भ्रम आउने, केही कुरामा पनि ध्यान कम हुने, बिर्सने जस्ता लक्षणहरू देखिन्छन् । तर एन्जाइटी भएका मानिस सबैमा एकैखाले लक्षण हुन्छन् भन्ने पनि नहुने उनको भनाइ छ ।

मनोचिकित्सक डा चालिसेका अनुसार एन्जाइटी समयमै सम्बन्धित विशेषज्ञकहाँ गई परामर्श लिएको खण्डमा पूर्ण रुपमा निको हुन्छ ।

यसको उपचार औषधि सेवन र बिना औषधि दुवै प्रकारले हुन्छ । बिना औषधिको उपचारमा मनोपरामर्श, साइकोथेरापी जस्ता विधिद्वारा उपचार गरिन्छ भने औषधि खुवाएर गरिने उपचारमा विभिन्न प्रकारका औषधि जसले चाँडो एन्जाइटी बिनाको अवस्थामा पुर्याउँछ त्यस्ता औषधि दिइन्छ । 

‘उपचारमा बुझ्नुपर्ने कुरा एन्जाइटीको उपचार गर्दा जिन्दगीभर  औषधि खुवाउनुपर्छ, बानी पार्छ या लठ्ठ पार्छ जस्ता भ्रम मानिसहरूमा रहेको पाइन्छ त्यो एकदमै गलत हो,’ डा चालिसे भन्छन्, ‘हामी त्यस्तो बानी पार्ने औषधि कदापि दिदैनौं, हाम्रो प्राथमिकता भनेको सकेसम्म बिना औषधि निको पार्ने भन्नै नै हुन्छ ।’ 

एन्जाइटी एन्ड डिप्रेसन एसोसिएसन अफ अमेरिकाको (एडीए ए) को एक तथ्यांकअनुसार एन्जाइटी डिसअर्डर अमेरिकामा सबैभन्दा धेरै हुने मानसिक रोग हो । ऊक्त तथ्यांकले अमेरिकामा करिब ४० मिलियन व्यत्तिहरूलाई एन्जाइटी छ भन्ने देखाउँछ । यो विशेष गरी १८ वर्षभन्दा माथिकालाई हुने गरेको छ भन्ने कुरा पनि उल्लेख गरिएको छ । 

कोशी प्रदेशको अवस्था 

नेपाल हेल्थ रिसर्च काउन्सिलले नेपालमा जनवरी २०१९ देखि जनवरी २०२० सम्ममा नेशनल मेन्टल हेल्थ सर्भे गरेको थियो । स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य प्रतिष्ठानसँग मिलेर गरेको उक्त सर्वेक्षणमा सातै प्रदेशमा ९ हजार २०० वयस्क (१८ वर्ष भन्दा माथि)का र ५ हजार ८८८ सय युवा(१३–१७ वर्ष)सम्मकालाई सहभागी गराइएको थियो ।

राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० का अनुसार वयस्कमा सबैभन्दा बढी मानसिक रोगको समस्या भएका व्यक्ति कोशी प्रदेशमा रहेको पाइएको छ  ।

उक्त सर्वेक्षणमा कोशी प्रदेशमा १३.९ प्रतिशत, मधेश प्रदेशमा २.१, वाग्मती प्रदेशमा १२.० प्रतिशत, गण्डकी प्रदेशमा १०.७ प्रतिशत, लुम्बिनी प्रदेशमा १३ प्रतिशत, कर्णाली प्रदेशमा ११.७ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा ९.५ प्रतिशत छ । उमेरगत हिसाबमा हेर्दा सबैभन्दा बढी ५० देखि ५९ वर्षको मानसिक रोगको समस्या छ ।

सोही कार्यक्रमअन्तर्गत १३ देखि १७ वर्षका लागि लक्षित गरेर अर्को सर्वेक्षण पनि गरिएको थियो । जसमा पनि मानसिक रोगको समस्या भएका युवा सबैभन्दा बढी कोशी प्रदेशमै देखिएको छ । उक्त सर्वेक्षणअनुसार कोशी प्रदेशमा ११.४ प्रतिशत रहेको देखिएको छ भने मधेश प्रदेशमा १.७ प्रतिशत, वाग्मती प्रदेशमा ४.४ प्रतिशत, गण्डकीमा ५.१ प्रतिशत, लुम्बिनी प्रदेशमा ६.१ प्रतिशत, कर्णाली प्रदेशमा ४.९ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ३.९ प्रतिशत छन् ।

यस्तै वयस्कको सर्वेक्षणमा बढी पुरुषमा मानसिक रोगको समस्या देखिएको थियो भने युवाहरूको सर्वेक्षणमा भने बढी किशोरीहरूमा मानसिक रोगको समस्या देखिएको छ । ५.३ प्रतिशत किशोरीलाई समस्या हुँदा ५ प्रतिशत किशोरलाई समस्या देखिएको छ ।

एन्जाइटीबाट बच्नका लागि अचुक उपाय नभएता पनि केही सावधानीहरू अपनाए भने एन्जाइटी हुने सम्भावनालाई कम गर्ने डा चालिसे बताउँछन् ।

सन्तुलित भोजन खाने, दैनिक व्यायाम गर्ने, जाँड रक्सी चुरोट वा लागुपदार्थको सेवन नगर्ने, मेडिटेसन गर्ने, समयमा सुत्ने, समयमा उठ्ने, कुनै पनि समस्याको पहिचान गर्ने र लक्षण महसुस भए समयमा नै डाक्टरको परामर्श लिने गर्नाले समयमै यो रोग निको हुन्छ । सामान्य एन्जाइटीका लागि थेरापी वा मनोपरामर्शले काम गर्छ ।

बिरामीलाई निकै गाह्रो महसुस हुने जटिल खाले रोग भएको अवस्थामा औषधि लिनुपर्ने पनि हुन सक्छ । यस्तो समस्यालाई सामान्य सोच्दै बस्नाले पछि गम्भीर समस्या पनि निम्त्याउन सक्ने भएकाले सामान्य लक्षण देखिनासाथ सम्बन्धित विशेषज्ञसँग परामर्श लिनुपर्ने विज्ञहरूको सुझाव छ ।

View : 655

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved