Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

टिप्पणी

ती भूमिगत गिरोह र यी लुसिफर

बन्धु पोखरेल
१४ माघ २०८२, बुधवार

विराटनगर । ओली, देउवा, प्रचण्डले पटकपटक प्रधानमन्त्री बन्ने अवसर पाएझै कुनै बेला पञ्चायतदेखि प्रजातन्त्रकालसम्म गरी पाँच पटक प्रधानमन्त्री हुने मौका सूर्यबहादुर थापाले पाएका थिए ।

थापा अहिले जीवित छैनन् । तिनै थापा जब उनी पदबाट हट्थे तब नया“ भाष्य सिर्जना गर्थे । पञ्चायती राजनीतिको उत्तराद्र्धमा ‘भूमिगत गिरोह’ शब्दको क्वाइन यिनै थापाकाजीले गरेका थिए । 

कुनै खास कारणबिना नै प्रधानमन्त्रीबाट हट्नुपरेपछि उनले ‘सबै खेल भूमिगत गिरोहले गरेको हो’ भनेका थिए । 

पदमा रहँदा गिरोहको कुरा नगर्नु पदबाट हटेपछि चाहिँ गिरोह देख्नुलाई त्यसबेला उनका आलोचकहरूले बेलाबेलामा थापालाई लाग्ने गरेको ‘राजनैतिक छारे रोग’का कारणले गर्दा हो भन्थे । हुन पनि थापाले भूमिगत गिरोह को हुन् भनेर खुट्याएर कहिल्यै भनेनन् । 

आफूलाई मन नपरेका र असहयोग गरेकालाई भनिदिन भूमिगत गिरोह भन्ने शब्दावली चाहिँ प्रयोग गरिरहे । 

पञ्चायतकालमा व्यवस्थाभित्रकै एउटा खेमालाई भूमिगत गिरोह र व्यवस्थाविरोधी कम्युनिष्ट, कांग्रेसलाई अराष्ट्रिय तत्व भन्ने भाष्य खुबै चलेको थियो । त्यसैले राजनीतिमा अनेकन फत्तुर लगाएर अरूलाई निचा देखाउने वा बदनाम गराउने यस्तो प्रयास वा प्रयोग नयाँ होइन । 

पछिल्ला तीन–चार दशकभित्रै मुलुकमा यति धेरै राजनीतिक उथलपुथल भएका छन् कि ती घटना आजकै जीवित पुस्ताले देखेका भोगेका छन् । 

कसैले आज आफूलाई राष्ट्रभक्ति वा देशभक्ति घोषणा गरेर अरुलाई देशद्रोही, विध्वंशकारी, लुसिफर भनेर ट्याग लगाइरहँदा विगतमा आफूमाथि चाहिँ के कस्तो आरोप लागेको थियो ? सिंहावलोकन गर्ने कि नगर्ने ? जुन शक्ति वा समूह जो आफूलाई प्रखर राष्ट्रभक्ति, विकासवादी भन्छ त्यसले विगतमा विकासविरोधी, आतङ्कारीको बिल्ला भिर्नुपर्यो कि परेन ? 

धेरै पर जानै पर्दैन । पञ्चायती व्यवस्था ढाल्न २०४६ सालमा नेपाली कांग्रेस र विभिन्न घटकमा बाँडिएका कम्युनिष्टहरू संयुक्त वाममोर्चा बनाएर एकै ठाउँमा उभिएका थिए । 

कहिल्यै मिल्न नसक्ने कम्युनिष्टरू र कांग्रेससमेतको ऐतिहासिक एकता नै प्रजातन्त्र पुनस्र्थापनाको आधार बनेको थियो । 

देशभित्रै आन्दोलनको तयारी हुँदा त्यही समय छिमेकी मुलुक भारतले नेपालमाथि नाकाबन्दी लगायो । यस्तो अवस्थामा आन्दोलन थाती राखेर राष्ट्रिय स्वाभिमानको पक्षमा लड्नुपर्नेमा कांग्रेस, कम्युनिष्टले त्यसो गरेनन् । 

तत्कालीन सरकारले नाकाबन्दीविरुद्ध राष्ट्रिय एकता खोज्यो, तर आन्दोलनरत कांग्रेस र कम्युनिष्टले सहयोग गरेनन् । नाकाबन्दीको सामना गर्ने जिम्मेवारी तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहको काँधमा आयो । 

नाकाबन्दीले जनअसन्तोष चर्कायो । बरु आन्दोलनरत दलहरूले त्यसलाई आफ्नो अनुकूल राजनीतिक अवसरका रूपमा उपयोग गरे ।

त्यसबेला पञ्चहरूले आन्दोलनरत दललाई ‘विदेशीको भरिया’, ‘राष्ट्रघाती शक्ति’ भनेर आरोप लगाए । काठमाडौंको चाक्सीबारीमा भएको नेपाली कांग्रेसको भेलामा भारतीय नेता चन्द्रशेखरले आन्दोलनको पक्षमा भाषण नै गरे । 

पञ्चायत पक्षले यसलाई सार्वभौम राष्ट्रमाथिको ठाडो हस्तक्षेप भन्दै राष्ट्रवादी भाषणको मुख्य मसला बनायो । ठाउँठाउँमा पञ्चहरूले चन्द्रशेखरको भाषणको विरोध गरे । जनआन्दोलनलाई देशविरोधी आन्दोलन भनेर बताउन खोजे । तर जनताले पत्याएनन् । 

जनता एकोहोेरो भइसकेका थिए, पञ्चहरूको कुरा पत्याउनेवाला नै थिएनन् । आखिरमा २०४६ चैत महिनाको अन्त्यमा पञ्चायत ढल्यो, प्रजातन्त्र वहाली भयो ।

पञ्चायत ढालेर प्रजातन्त्र पुनर्वहाली गरेका तिनै कांग्रेस र कम्युनिष्टहरू २०४८ को आमनिर्वाचनमा भने शत्रुतापूर्ण अवस्थामा आमनेसामने उभिए । त्यही बेला नयाँनयाँ आरोप–प्रत्यारोप सुरु भयो । 

कांग्रेसले आफूलाई ‘स्वदेशी विचार बोकेको देशभक्त शक्ति’ र कम्युनिष्टलाई ‘विदेशी सिद्धान्त आयात गरेको विदेशी शक्ति’ भनेर चित्रित गर्यो । कम्युनिष्टहरूले पनि कांग्रेसलाई साम्राज्यवादी प्रभावमा परेको पुँजीपतिको रक्षाका लागि उभिएको नोकरशाही दलाल भनेर आरोप लगाए ।

प्रजातन्त्र पुनस्र्थापना भएको केही वर्षमै नेकपा माओवादीले जनयुद्ध सुरु गर्यो । शासनमा रहेका प्रजातान्त्रिक भनेका दलहरूले नै माओवादीलाई आतङ्कारी भन्यो । टाउकाको मोल तोक्यो ।

समय घुम्दै गयो । तिनै कांग्रेस र कम्युनिष्टहरूले पालैपालो शासन गरे । छुट्टाछुट्टै मात्र होइन, आपसमा मिलेर पनि सरकार चलाए । 

आज पनि चुनाव सँगै लडिरहेका छन् । भर्खरै राष्ट्रिय सभाको निर्वाचन एमाले कांग्रेस मिलेर लडेका छन् । 

कांग्रेसमा यदि शेरबहादुर देउवा सभापति हुन्थे भने एमाले र कांग्रेस आसन्न फागुन २१ को निर्वाचन पनि मिलेरै लड्थे होला । तर, कांग्रेसको विशेष महाविधेशनले एक्लाएक्लै चुनाव लड्ने निर्णय गरेपछि अहिलेलाई त्यो अवस्था रहेन ।

कांग्रेस, कम्युनिष्ट मिलेर होस् वा एक्लाएक्लै सरकार चलाउँदा शासनका प्रत्याभूति जनअपेक्षाअनुसार गर्न सकेनन् । सुशासन, रोजगारी, सेवा प्रवाह र प्रणाली सुदृढीकरणमा असफल हुँदा स्थापित र पुराना भनिएका यी दलहरूले क्रमशः जनविश्वास गुमाउँदै गए ।

यसरी जनताबाट विश्वास घटेपछि विकल्पका रूपमा स्वभाविक रुपमा नयाँ दलहरू जन्मिए । जब नयाँ दलहरू चुनौतीका रुपमा खडा भए त्यसपछि फेरि उही पुरानो हतियार झिकिदै छ । त्यो के भने नयाँ भनिएका शक्तिहरू विदेशीको इसारामा परिचालित, विध्वंसकारी, लुसिफर आदि इत्यादि ।

यो भाष्य विशेषतः एमाले, त्यो पनि केपी शर्मा ओली गुटले आक्रामक रूपमा प्रयोग गरिरहेको देखिन्छ । ओलीले आफूले रेल कुदाउन चाहेको, पानीजहाज चलाउन खोजेको, उत्तर–दक्षिण नाका खोलेको, चुच्चे नक्सा जारी गरेको आदिआदि दाबी गर्दै आफूलाई सच्चा राष्ट्रभक्तका रूपमा प्रस्तुत गरिरहेका छन् । र, आफूलाई सत्ताच्युत गर्नेलाई देशद्रोही भनिरहेका छन् ।

कुनै बेला सूर्यबहादुर थापाले प्रधानमन्त्रीबाट हटेपछि ‘अराष्ट्रिय तत्व’ को रटान लगाएझै ओली पनि त्यही गति र मतिमा आफू प्रधानमन्त्रीबाट हट्नुको कारण ‘लुसिफरहरूको कालो कर्तुत’ भनिरहेका छन् । ओली भदौ २३ गतेको आफ्नो असक्षमता र अकर्यण्यप्रति रत्ति पनि ग्लानी छैनन् । 

उनी षडयन्त्रको काल्पनिक कथा भनेर भदौ २३ र २४ गतेको घटनालाई सामान्यीकरण गर्न नै उद्यत छन् । त्यसैले उनी कसैलाई लुसिफर, कसैलाई अन्तबाटै परिचालित भनिरहेका छन् ।

ओलीले आफ्नो कमजोरी स्वीकार नगरी फेरि पनि षडयन्त्रको काल्पनिक कथा भनेर कसैलाई लुसिफर, कसैलाई परिचालित भन्नु भनेको उही सूर्यबहादुर थापाको सत्तामा हुँदा नदेखिने, नसुनिने तर सत्ता बाहिर हुनासाथ थापाको मुखबाट सुनिने भूमिगत गिरोह जस्तै हो । 

ओलीको हकमा यो पनि एक प्रकारको राजनीतिक छारो रोग नै हो । अब यसको उपचार आम नागरिकले कसरी गर्छन् त्यसका लागि भने फागुन २१ सम्म भने पर्खनै पर्ला ।

View : 388

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved