Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

त्रिवि प्राध्यापक संघको चुनाव फेरि स्थगित

उद्घोष सम्वाददाता
१३ असार २०८१, बिहिवार

विराटनगर । देशका बौद्धिक वर्गको सबैभन्दा धेरै सदस्यता रहेको प्राज्ञिक संगठनको रुपमा कहलिएको त्रिभुवन विश्वविद्यालय(त्रिवि) प्राध्यापक संघ (टुटा) आफ्नै नीति र नेतृत्वको कारण छैटौं अधिवेशन गर्न नसकेर अलमलिएको छ । 

संघको नयाँ नेतृत्वका लागि असार ७ र ८ गते काठमाडौंमा तोकिएको अधिवेशन स्थगन भएपछि त्यहाँ पुगेका देशभरबाट गएका प्रतिनिधिहरु आक्रोसित हुँदै फर्किएका छन् । 

गत २०८० मंसिर ७, ८ र  ९ गते पनि छैटौं अधिवेशनका लागि गएका प्रतिनिधि काठमाडौं पुगेपछि स्थगनको घोषणा गरिएको थियो । 

२०७५ सालमा पाँचौ अधिवेशन भई २०७८ सालमा कार्यकाल सकिएपछि नयाँ नेतृत्वका लागि निर्धारित समयमा नै अधिवेशन गर्न आह्वान गरिता पनि सो समयमा छनोट भएका प्रतिनिधिलाई बोलाइने तय गरिएको सम्भावित मितिमा  अधिवेशन नहुने भएपछि कार्यक्रम स्थगन भएको थियो । 

तर दुई पटक अधिवेशनको नाममा त्रिविका देशभरका ६२ वटा आंगिक क्याम्पस तथा ४ वटा अनुसन्धान केन्द्रमा एकाइका प्रतिनिधि पुगेपछि स्थगन भएको हो । 

अधिवेशनका लागि सूदर पश्चिम जुम्ला, दार्चुला, हुम्लादेखि सुदुर पूर्व ताप्लेजुङबाट  प्राध्यापक प्रतिनिधि पुगेका थिए । 

अधिवेशन नहुनमा टुटाको नेतृत्व र नीति नै दोषी

टुटाको एकाई समितिदेखि सबै प्रतिनिधि छनोट एकल संक्रमणीय विधिबाट हुने गरेको छ । 

१० जना बराबर एक प्रतिनिधि हुने भएको र निर्वाचनमा सबै मतदाता उपस्थित नहुने भएकोले ९ मत ल्याउने पनि एकाई सदस्य भई एकाई सभापति हुने गरेका छन् । जसको कारण ९ जनाबाट प्रतिनिधि वा एकाई समितिमा आउने भएपछि अरु सदस्यसँग कुनै सरोकार र उत्तरदायी हुन सक्दैन  । 

यसरी सानो समूहबाट छानिएर गएको प्रतिनिधि सोही विधिबाट केन्द्रीय सभापति हुन्छ । गएका अधिकांश प्रतिनिधिसँग सरोकार नराखी सोही विधिबाट केन्द्रीय कुनै पनि प्रतिनिधि केन्द्रीय सभापति हुन सक्दछ । 
अब यसरी नेतृत्वमा पुगेको व्यक्ति जिम्मेवार भएर काम नसक्ने भएकोले टुटा पङ्गु भएको स्वयम् प्राध्यापकहरु बताउँछन् । 

महेन्द्र मोरङ क्याम्पसका पूर्व प्रमुख गोपाल कार्कीले पहिले बहुमतीय प्रणालीबाट नेतृत्व चयन गर्ने गरेकोमा पछि  वामपन्थी निकट प्रगतिशील प्राध्यापकहरुको एक संक्रमणीय विधिबाट नेतृत्व चयन गर्न थालिएको बताए । 

बामपन्थीहरुको अल्पमतमा भएकोले उनीहरुले आफू तत्कालको फाइदा हेरी आफू नेतृत्वमा पुग्न र भविश्यमा के परिणाम आउँछ भन्ने ध्यान नदिइ सोको लागि आन्दोलननै गरेपछि एकल संक्रमणीय विधि ल्याउनु परेको जानकारी दिए ।

यस सम्वन्धमा महेन्द्र मोरङ क्याम्पस व्यवस्थापन संकायका संयोजक एवम् कोशी प्रदेशका मुख्यमन्क्रीका सल्लाहकार डा मोहनकुमार सुवेदीले एकल संत्रमणीय विधि प्रयोगका लागि ल्याइएको र यो अहिले असफल भएको बताए । 

पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष यज्ञ जम्मरकट्टेलले एकल संक्रमणीय विधिबाट बनेको नेतृत्व जिम्मेवार नहुने बताए । 

उनले यस्तो विधिबाट नेतृत्वमा जान सबै प्रतिनिधिसँग सरोकार नहुने  भएकोले नेतृत्वमा पुगे पनि सबैको हुन नसक्ने बताए ।

यस पटक किन चुनाव भएन 

यसपटकको अधिवेशनमा प्रजातन्त्रवादी प्राध्यापक संघका महासचिव राजेन्द्र गौतमको नेतृत्वका प्राध्यापक तथा शिक्षकहरूले प्रतिनिधि छनोटमा असन्तुष्टि जनाउँदै टुटाको कार्यालय कीर्तिपुर र शंकरदेवमा रहेको निर्वाचन कार्यालयमा असार ७ गते ताला लगाएका थिए । त्रिवि प्राध्यापक संघका अध्यक्ष वसन्त ढकाल विगत दुई वर्षदेखि चुनाव गराउन भनेर आफू लागिरहे पनि विवादका कारण रोकिरहेको बताए ।


विश्वविद्यालय क्याम्पस कीर्तिपुर, त्रिचन्द्र क्याम्पस, सानोठिमी क्याम्पस भक्तपुर र जनकपुरको राराब (रामस्वरुप रामसागर बहुमुखी) क्याम्पस लगायतको प्रतिनिधि छनोटको विषयमा उजुरी परेको थियो । यसलाई लिएर प्राध्यापक तथा शिक्षकहरुले चुनाव गराउन लागेको निर्वाचन समिति (शंकरदेव क्याम्पस)को कक्षमा ताला लगाएपछि चुनाव स्थगित भएको थियो ।

त्योबेला राराब क्याम्पस, जनकपुरको इकाइ अधिवेशन नभएकाले प्रतिनिधि छनोट हुन सकेको थिएन ।

पृथ्वीनारायण क्याम्पस पोखराका एकाइ अध्यक्ष तथा केन्द्रीय प्रतिनिधि डा लक्ष्मीशरण अधिकारी कतिपय क्याम्पसमा साधारण सभा समेत नगरी आफूखुशी प्रतिनिधि छनोट गरिएकोले विवाद भएको बताए । महेन्द्र मोरङ क्याम्पस विराटनगर,  विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा पनि केन्द्रीय अधिवेशनका लागि प्रतिनिधि छनोटमा आफू खुशी गर्दै आएको बताइएको छ । 

विश्वविद्यालय क्याम्पस कीर्तिपुरका प्रतिनिधि सह–प्राध्यापक केशव पौडेल  निर्वाचनको अवसर नदिएर सर्वसम्मतबाट प्रतिनिधि चुनिएको बताउँछन् । उनी भन्छन्, ‘विधानले प्रष्ट निर्वाचनबाट प्रतिनिधि पठाउने तोकेको छ, तर निश्चित व्यक्तिहरू बसेर चुनाव गराउनुपर्दैन हामी पाँच जनाले टुंग्याउँछौं भनेर पाइन्छ र ? सर्वसम्मतले पनि यो पनि अपराध गर्ने कानुनले छुट दिंदैन ।’

टुटाका पूर्व महासचिव संयोजक केशवराज शर्मा भने प्रजातान्त्रिक प्राध्यापक संगठनको आन्तरिक द्वन्द्वका कारण चुनाव प्रभावित भएको बताउँछन् । यस्तै प्रगतिशील प्राध्यापक संगठन कोशीका अध्यक्ष डा गोपी खतिवडाले भने ‘त्रिवि प्राध्यापक संघको यो अवस्था आउनुमा विश्वविद्यालयमा क्रियाशील प्राध्यापकका संगठनहरू धेरथोर मात्रामा सबै दोषी छन्  तर पछिल्लो अवस्था सिर्जना हुनुमा बढी जिम्मेवार प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल देखिन्छ ।’

View : 229

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved