Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

जनता दुःखमा पर्दा नेताहरू किन बनाउँछन् आफ्नो प्रचार सामग्री ?

ओहोदामा हुँदा मात्रै होइन एक जना आममान्छेका रुपमा पनि नगरी नहुने कामहरू गर्दा पनि अचेल राजनीतिक दलका नेताहरू भिडियो खिच्न लगाउने, त्यसलाई सके समाचार बनाउन लगाउने, त्यो पनि नभए सामाजिक सञ्जालबाटै सार्वजनिक गर्ने होडमा छन् ।
उद्घोष सम्वाददाता
१७ असोज २०८१, बिहिवार

विराटनगर । गएको आइतबारको घटना हो । सामाजिक सञ्जालमार्फत एउटा भिडियो सार्वजनिक भयो । त्यो भिडियोमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी काभ्रे प्रहरी प्रमुख एसपी बसुन्धरा खड्कालाई फोन गरिरहेका छन् ।

फोनमा मन्त्री अधिकारीले अनुरोध गर्दै एसपी खड्कालाई भनेका छन्  ‘रोशीको बाढी क्षेत्र आसपास विराटनगरका तीन जना महिला फसेको खबर छ । उनीहरूलाई उद्धारमा सहयोग गरिदिनू होला ।’ संवाद केही लामो भए पनि उनले प्रकट गरेको आसय यही देखिन्छ । 

विराटनगरकै बासिन्दासमेत रहेका, वकालत पृष्ठभूमिबाट राजनीतिमा आएका मन्त्री अधिकारी तुलनात्मक रुपमा ‘डाउन टु अर्थ’ मान्यताका नेता मानिन्छन् । सबैलाई सहजै पहुँच दिने, सबैसित उस्तै व्यवहार गर्ने उनी खुला पनि सुनिन्छन् ।

तर, सामाजिक सञ्जालमा उनको उक्त संवादको भिडियो बाहिर आएपछि उनीमाथि धेरैले निर्मम टिप्पणीहरू बर्साएका छन् । त्यसबेलादेखि अहिलेसम्म गरी कोशी प्रदेशमा १८ जनाले बाढीपहिरोमा परेर ज्यान गुमाइसकेका छन् । १३ जना घाइते भएको प्रदेशमा ५ जना अझै बेपत्ता छन् । 

यस्तो बेलामा आफ्नै ठाउँका नागरिकको उद्धारका लागि मन्त्रीले प्रहरीलाई आग्रह गर्नु आधारभूत मानवीय दायित्व थियो । तर, उनले त्यसरी प्रहरीलाई आग्रह गरिरहेको भिडियो योजनाबद्ध रुपमा खिच्न लगाएर सामाजिक सञ्जालमार्फत बाहिर पुग्दा भने मन्त्रीको काम मानवीयभन्दा बढी प्रचारमुखी भएको टिप्पणी धेरैले गरे ।

हरिन्द्र आध्या बरालले फेसबुकमा लेखेका छन् ‘सहयोग यस्तो हुन्छ ? मन्त्री भएर सबै जनताको चिन्ता लिनुपर्ने । फोन गरेको भिडियो फेसबुकमा हालेर जनताका लागि परेशान मन्त्रीज्यू भनेर देखाउँदा हुन्छ ?’ यस्तो टिप्पणी सामाजिक सञ्जालमा अरु धेरैले गरेका छन् । 

राज्यको जिम्मेवार ओहोदामा हुँदा मात्रै होइन एक जना आममान्छेका रुपमा पनि नगरी नहुने कामहरू गर्दा पनि अचेल राजनीतिक दलका नेताहरू भिडियो खिच्न लगाउने, त्यसलाई सके समाचार बनाउन लगाउने, त्यो नभए सामाजिक सञ्जालबाटै भए पनि सार्वजनिक गर्ने होडमा लागेका छन् ।

मन्त्री अधिकारी यसको पछिल्लो उदाहरण मात्रै हुन्, यसअघि उनका नेतासमेत रहेका  मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस्तो अभ्यास गरेर मन्त्रीहरुका लागि बाटो खोलिदिएका थिए । 

साउन १५ गते शनिबार भोजपुरका प्रकाश तामाङ काठमाडौंबाट उनको गृहजिल्ला आउँदै थिए । हेर्ने कथा टिमले उनको कारुणिक कथा सार्वजनिक गरेपछि उनको उद्धार भएको थियो । उद्धारपछि उनी काठमाडौंबाट भोजपुर ओर्लिए ।

घर जाँदै थिए त्यहीबेला उनलाई घर लिएर गएको टोलीले मुख्यमन्त्री कार्कीसँग फोन गफको तारतम्य मिलायो । मुख्यमन्त्री कार्कीले प्रकाशलाई सहयोगको आश्वासन दिंदै फोन गरे । मुख्यमन्त्रीसँग बोल्न पाउँदा प्रकाश पनि पुलकित बने । यो दृश्यको पनि भिडियो नै तयार भयो, सामाजिक सञ्जालमार्फत सार्वजनिक भयो । 

मुख्यमन्त्रीकै दल एमालेका सांसदहरू नै पनि त्यसरी फोन गरेको विषयलाई प्रचारमा नलगेको भए अझै राम्रो हुने बताउँछन् ।

‘आफ्नो प्रदेशका नागरिकसँग मुख्यमन्त्रीले त्यसरी फोनमा कुरा गर्नु के नराम्रो  भयो र ?’, एमाले कोशीका एक प्रदेश सांसदले भने ‘हाम्रो मुख्यमन्त्री आफ्नो प्रदेशको नागरिकप्रति संवेदनशील रहेको देखिन्छ नि !’ उनले मुख्यमन्त्रीको कदमको बचाउ गरेपछि उद्घोषले सोध्यो ‘भिडियो नै बनाउनुपछिको उद्देश्य चाहिँ के हो ?’ जवाफमा ती सांसदले भने ‘त्यसको जवाफ त उहाँले नै दिनुहोला । नेताहरूलाई अलिअलि प्रचार होस् भन्ने सबैलाई हुन्छ नै । यस्तो बानी लगाउने तपाईहरू जस्तै पत्रकार होइन र ? यसरी प्रचारमै नलगे हुन्थ्यो जस्तो चाहिँ मलाई पनि लागेकै हो ।’ उनले मुख्यमन्त्री कार्की सरल स्वभावको भएका कारण यसलाई जटिल बनाउन नमिल्ने बताउँछन् । 

मुख्यमन्त्री कार्की र मन्त्री अधिकारीले यसो गरिरहँदा कोशीकै पूर्वमुख्यमन्त्री शेरधन राई पनि कम देखिएनन् । उनले पनि आफ्नै जिल्लावासी प्रकाश तामाङलाई दिल खोलेर खेतीपाती गर्ने सामग्री हस्तान्तरण गरे । हस्तान्तरण कार्यक्रमबारे सामाजिक सञ्जालमा ठूलै हल्लाखल्ला चल्यो । सञ्चारमाध्यमहरू समाचारले रंगिए । 

एमाले कोशीका यी तीन नेताको प्रचारमोह शैलीलाई माथ दिने ढंगको प्रचारमोह देखाउने अर्का पात्र हुन् भोजपुरका संघीय सांसद सुदन किराती । कार्यक्रममा खादा नलगाउने, मन्दिरमा जाँदा माला नलगाउने भन्ने माओवादी नेता किराती सार्वजनिक चासोका जे काम गरे पनि क्यामरापर्सन तयार पारेर मात्रै गर्छन् ।

मन्त्री हुँदा कार्यकक्षमा पोचा लगाएको, भोजपुरमा सवारी दुर्घटना हुँदा प्रमुख जिल्ला अधिकारीलाई फोन गरेको विषयलाई पनि भिडियो बनाएर फेसबुकमा हाल्ने किरातीले यस पटक प्रकाश तामाङको घर बनाउने अभियान चलाए । सिंगो जीवन साहुको चौरी चराएर बिताएका प्रकाशलाई बलियो आवास दिलाउने उनको लक्ष्य ‘पवित्र’ थियो कि ‘प्रचारमोहयुक्त’ ? उनले सार्वजनिक गरेका भिडियोहरूले प्रश्न उब्जाउँछन् । 

कांग्रेस नेतासमेत रहेका कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले गएको शनिबार भिडियो खिच्न लगाएर मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई ‘माटोमा कमिसन खाएको’ आरोप नै लगाए । बाढीपीडितको उद्धारमा बिहानैदेखि खटिने उनको जाँगर राम्रो भए पनि त्यो सबै दृश्यलाई भिडियोमार्फत सार्वजनिक गर्ने उनको कामलाई धेरैले प्रचारमोहका रुपमा अर्थ्याए । 

मुलुकका प्रमुख तीन दलका यी प्रतिनिधि नेताहरू हुन्, जसको दलहरू हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने लगायतका नयाँ राजनीतिज्ञहरूलाई ‘सामाजिक सञ्जालले कोरलेका स्टन्टबाज’ भनेर आरोप लगाउँछन् । तर, तिनै दलका नेताहरूको यस्तो प्रचारमोही गतिविधिले भने रवि र हर्कहरू बिर्साइरहेको देखाउँछ ।

नागरिक समस्यामा परेको घटना नेताहरूका लागि आफ्नो प्रचार गर्ने माध्यम किन बन्छ ? राजनीतिज्ञ अथवा राज्यका जिम्मेवार ओहोदामा रहेकाहरु कोही किन यति प्रचारमोही बन्छ ? के उनीहरू लोकप्रियतावाद (पपुलिज्म) को शिकार बनिसकेका हुन् ?

राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेल घटनाक्रमले त्यस्तै देखाएको बताउँछन् । ‘अनेक हिसाबले नागरिकलाई सहयोग गर्नु, गर्न खोज्नु स्वाभाविक हो’, पोखरेलले भने ‘तर, त्यसैलाई प्रचारको साधन बनाउनु उनीहरूमा झ्यांगिएको सस्तो प्रचारमोहको प्रमाण हो । यो माथिदेखि तलसम्मै फैलिने क्रममा छ ।’ 

प्राध्यापक पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीकै उदाहरण पस्किए । ‘मोवाइल बैकिङमा भइरहेको शुल्क असुलीबारे प्रधानमन्त्रीले सामाजिक सञ्जालमै लेखे तर परिणाम के भयो त ?’, उनले भने ‘अहिलेसम्म त्यसमा सुधार भएको छैन । प्रधानमन्त्रीले प्रचारमा होइन, परिणाममा ध्यान दिने हो । माथि त्यसो भइरहँदा तल पनि देखासिकी भइरहेको छ ।’ 

सत्ता सञ्चालन गरिसकेकाहरू, सत्तारुढ दलकै ठूलो तहका नेताहरू नागरिकलाई व्यत्तिगत सहयोग गरेको विषयलाई ठूलो प्रचार सामग्री बनाइरहेका छन् । तर, सत्ताको डाडुपन्यु आफ्नो हातमा हुँदा निर्धन नागकिरले राहत अनुभव गर्ने कार्यक्रम र योजना ल्याउन भने सधैँ चुकिरहेका छन् । यस्तै प्रवृत्तितर्फ संकेत गर्दै राजनीतिशास्त्रीका अर्का प्राध्यापक कृष्ण खनालले यसलाई राजनीतिले जनभरोसा गुमाउँदै जानुको परिणाम भनेका छन् । 

‘लोकआस्थाको संकटमा राजनीति’ शीर्षकको आफ्नो आलेखमा प्राध्यापक खनाल लेख्छन् ‘राजनीति स्टन्टबाजी र तिकडमको खेल भयो । यस्तै फोहोरी तिकडमबाजी हाम्रो राजनीतिक नेतृत्वको मानक नै बन्यो । परिणामस्वरूप दलहरू र नेताहरूप्रति मात्र होइन, राजनीतिमाथि नै जनविश्वास गुमेको छ । राजनीति त गालीगलौज र भ्रामक कुराको खेती भएको छ  ।’

View : 260

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved