Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
विचार

स्मृतिमा ताप्लेजुङ

पिँजडाको सुगा र दशैंको त्यो जामा

उद्‌घोष संवाददाता
२७ माघ २०८२, मङ्गलवार

बाल्यकालको दशैँको स्मृति मेरो हृदयमा अझैसम्म ताजै छ। पूर्वी नेपालको ताप्लेजुङमा जन्मेकी म, मेरो गाउँ झन्डै दशैँको एकल संस्कृतिमा हुर्किएको थियो र हामी त्यसैमा रमाउँथ्यौँ।

दशैँ सकिएको चार–पाँच महिनापछि पनि म अर्को पटक दशैँ कहिले आउला भनी जिज्ञासा राख्थेँ। आमाले "झ्याउँकीरी कराएको तीन महिनापछि" भन्ने उत्तर दिनुहुन्थ्यो।

त्यसपछि झ्याउँकीरी कहिले कराउला र दशैँ आउला भन्ने प्रतीक्षामा म हुन्थेँ। पुर्खाले बनाएको यो प्राकृतिक र सांस्कृतिक समन्वय मलाई अति प्रिय लाग्थ्यो।

बाल्यकालको मेरो रातो फेरो परेको जामा, सुरुवाल, चाँदीको कल्ली, कानको मारवाडी, पिङ र सेलरोटी, कुराउनी, केरा, अम्बा, मासु, चिउराजस्ता मीठा परिकारहरू बोकेर मेरो दशैँ आउँथ्यो।

वास्तवमा एउटा बालिकाका रूपमा यो मेरो बाल्ययात्राको सुखद प्राप्ति थियो। दशैँ र त्यसपछि आउने तिहार मेरा खुसीका आधार थिए। यी खुसी मेरा जीवनकला र शैलीसँग जोडिएका थिए।

म महिला, म किशोरी, मेरो छुट्टै वर्ग। मसँग एकाकार हुने वर्ग पनि महिला नै। बिस्तारै मैले महिलाका कुरा पनि बोध गर्न थालेँ।

मेरो शारीरिक परिवर्तन, रजस्वलाको समयमा बस्नुपर्ने १२ दिनको 'गुफा' को अन्धकार, मेरा लागि विशेष सुरक्षा र पुरुष साथीहरूसँग बोल्न लगाइएको प्रतिबन्धले मलाई "म महिला, म कमजोर" जस्ता कुराले बारम्बार विथोलिन्थ्यो। आमाबाट एउटै उत्तर पाउँथेँ- "तिमी छोरी हौ, छोरी!"

म सानोमा निकै चुलबुले थिएँ। धेरै कुद्थेँ, धेरै हाँस्थेँ। रानीवनको चिवेचरी मेरो साथी थियो। हाम्रो घरको सुगाले  मसँग बात मार्थ्यो। म उसलाई धान, भिजाएको चना र खुर्सानी खान दिन्थेँ।

उसले मलाई बिहानै "करुणा उठ्, उज्यालो भइसक्यो" भन्दै जगाउँथ्यो। आमाले जे भन्नुहुन्थ्यो, उसले पनि त्यही दोहोर्‍याउँथ्यो।

आमाले त्यसको पखेटा काटेर पिँजडाभित्र राख्नुभएको थियो। पछि लेखनाथ पौड्यालको 'पिँजडाको सुगा' पढेपछि मैले आमाले थाहै नपाउने गरी पिँजडाको ढोका खोलिदिएँ। मेरो सुगा आँगनमा आयो, रुखमा बस्यो, पखेटा फर्फरायो र मकैबारीतिर हरायो। मेरो त्यो साथी त्यसरी हरायो कि फेरि कहिल्यै भेट भएन।

बन्द समाजमा हामीले शिक्षा पायौँ, हाम्रो बाल्यकाल निकै लोभलाग्दो थियो। नासपाती, कटुस र मेलका मीठा चानाहरू सित्तैमा खान्थ्यौँ। सुन्तला र काँक्रा हाम्रा खाजा हुन्थे। एक पैसाको ६ दाना अम्बा पाइन्थ्यो। ६ पैसाको एक आना हुन्थ्यो र एक रुपैयाँको ३६ वटा अण्डा पाइन्थ्यो।

तौलमा धार्नी–बिसौली र अन्न नाप्न माना–पाथी एवं कुरुवाको चलन थियो। त्यो समयमा भारु पैसाको पनि चलन थियो। ताप्लेजुङको सुरम्य फाँटमा भानु स्कुल र ताप्लेजुङ बजार थियो।

तमोर नदीको सुकुटी माछा, तिते माछा, लाखे नाच, धान नाच, पल्टन जात्रा, हिले जात्रा, रानीवनको दाउरा र शनिबार लाग्ने तोक्मे डाँडाको हाटमा तरकारी किन्ने प्रतिस्पर्धा साह्रै रमाइलो हुन्थ्यो।

हामीले मनोरम जिन्दगीका अविस्मरणीय पलहरू बिताएका थियौँ। आज त्यो समय र अवस्थाको कल्पना गर्दा अचम्म लाग्छ।

कहाँ गए ती दिनहरू? त्यो समयको जीवनोपयोगी शिक्षाले मलाई पनि योद्धा बनायो। पाथीभरा माताको आशीर्वाद, तमोर र कावेली नदीहरूको निश्चल आवाज, र तोक्मे डाँडाको भानु हाइस्कुल मेरा जीवनका धुमिल तर प्यारा संस्मरण हुन्।

मानिसको जीवनमा उकालो–ओरालो मात्र होइन, कैयौँ घामछाया आउने–जाने गर्दा रहेछन्।

हामीले विद्यालयमा धेरै विषयहरू पढ्नुपर्थ्यो। अङ्ग्रेजीमा 'प्रोज', 'पोएट्री', 'नेस्फिल्ड ग्रामर', 'नेहरू लेटर' जस्ता किताबहरू थिए भने नेपालीमा 'गद्यसङ्ग्रह', 'पद्यसङ्ग्रह', 'लक्ष्मी निबन्ध सङ्ग्रह' र संस्कृतका विषयहरू थिए।

गणितमा बीजगणित र ज्यामिति आदि पढ्नुपर्थ्यो। मेरा लागि बीजगणितका समस्याहरू अति कठिन थिए। ज्यामितिका १ देखि ११ सम्मका साध्य कण्ठै पार्नुपर्थ्यो, बुझिँदैनथ्यो। यसरी बुझ्दै–नबुझ्दै एसएलसी पास गरियो र बुझ्दा–नबुझ्दै विवाह पनि भयो।

ताप्लेजुङकी छोरी म, भक्तपुरको नचिनेको–नदेखेको केटासँग विवाह भयो। विवाहपछि छोराछोरी पाउँदै र जागिर गर्दै मैले एमए, बीएड गरेँ। हाल म शिक्षण सेवाबाट निवृत्त भइसकेकी छु र विराटनगरमा सामाजिक सेवामा कार्यरत छु।

समयक्रमले भक्तपुर मेरो कर्मघर भयो, तर ताप्लेजुङ भन्नासाथ म बाल्यकालका ती कठिन तर रमाइला दिनहरूमा पुग्ने गर्दछु।

जीवनलाई यो अवस्थासम्म ल्याइपुर्‍याउने मेरा स्वर्गवासी पिता गणेशबहादुर श्रेष्ठ, आमा धनलक्ष्मी श्रेष्ठ एवं सम्पूर्ण गुरुजन, सहयात्री मित्रहरू, श्रीमान्, दिदीबहिनी तथा दाजुभाइ र कर्मघरका परिवार सबैलाई धन्यवाद दिन चाहन्छु। दिवंगत आत्माहरू प्रति हार्दिक श्रद्धाञ्जली।

View : 484

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved