Biratnagar, Morang, Nepal
२१ चैत २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
विचार

सनातन धर्मको परिपालना र सामाजिक उत्थान

७ साउन २०८१, सोमवार

एकराज भट्टराई

सनातन धर्मलाई वैदिक धर्म, हिन्दु धर्म र आर्य धर्मका रूपमा पनि जानिन्छ । सनातन धर्ममा ईश्वरलाई अजन्मा भनिएको छ । ‘म एक हुँ तर अनेक रुपमा आउँछु’ यसबाट प्रष्ट हुन्छ कि ईश्वरका अनेक रूप छन् । भगवानका अनेक रूपका आधारमा अनेक प्रकारका पूजा, पाठ, बली, जप, यज्ञ गरिन्छ । सनातन धर्मलाई संसारमा सबैभन्दा उच्चकोटीको धर्म मानिएको छ । यस धर्मले लालच र लोभतिर मान्छेलाई लादैन । सत्य, शिव र सुन्दर सनातन धर्मको पवित्र पक्ष हो । परब्रम्हा चाहिँ मोक्षको पक्ष हो । आत्मा ईश्वरको रुप हो । मोक्ष चाहिँ सत्य हो । 

जसको अन्त्य छैन त्यो सनातन हो । सत्कर्मबाट जीवन चलाउने पद्धतिनै सनातन धर्म हो । दया, अहिंसा, प्रेम, सेवा, दान, सद्भाव, परोपकार, श्रम जप तपलाई सनातन आदर्श स्वीकार गरिएको छ । मोक्ष हुनु भनेको आत्मज्ञान र ईश्वरको परिचय पाउनु हो । मोक्ष भनेको मृत्यु होइन । असत्यबाट सत्यमा, अन्धकारबाट उज्यालोमा अनि मृत्युबाट अमृततर्फ लैजाने सनातन धर्मको लक्ष्य हो । यसलाई मोक्षको यात्रा पनि भनिएको छ । मृत्यु अगाडिनै सनातन धर्ममा प्रवेश गर्दा अथवा दया, प्रेम, अहिंसातिर जाँदा मनमा शान्ति मिल्छ र मान्छेले दुःखबाट छुटकारा पाउन सक्छ । किन भने सनातन धर्म जगत ब्रह्ममय छ भन्ने कुरामा विश्वास गर्छ ।

सनातन धर्मले पञ्चभौतिक तत्वलाई वा प्रकृतिलाई पनि शाश्वत मानेको छ । जो निरन्तर छ अनि सृष्टिका लागि कारणरुप पनि छ । यसको रूप बदलिन्छ तर पनि पञ्चतत्वको सर्वनाश भने हुँदैन । वैदिक नियमअनुसार जीवन चलाउने मानव–समुदायलाई आर्य भनिएको छ । सभ्य, सज्जन, गुणी, सुन्दर गतिशील, वीर, दयालु, परोपकारी आदि अर्थमा आर्य–शब्दको उपयोग गरिएको पाइन्छ । आर्यहरुले घेरिएको वा वसोवासो गर्ने भूमिलाई आर्यावर्तको नामले जानिन्छ । जुन हिमालदेखि विन्ध्याचल र पूर्वी– समुद्रदेखि पश्चिम समुद्रसम्म फैलिएको विशाल भूभाग हो ।

आर्य शब्द जात, जाति, वर्ग, उच, नीचलाई छुट्याउन वा चिनाउनका लागि प्रयोग भएको छैन । वेदलाई सर्वात्मवादी वा विश्वपरिवारवादी भनिएको हुँदा सबै मानवलाई भनौ प्राणी जगतलाई समानताका आधारमा हेरिएको छ । धेरै समयपछि आएपछि मात्र वैदिक नियम अनुसार चल्नेलाई आर्य र नचल्नेलाई अनार्य भनिएको पाइन्छ । देवासुर संग्रामलाई पनि यस प्रसंगमा स्मरण गर्न सकिन्छ ।

खस–जातिको इतिहासमा प्रा बालकृष्ण पोखरेलले अफगानिस्तान र इरानतिरका धेरै रामको उल्लेख गर्नु भएको छ । तर नेपालकी सीतालाई विवाह गर्ने रामको समयलाई भने आज भन्दा ९ हजार वर्ष अगाडिको मानिएको छ । वैदिक समय त्यो भन्दा अगाडिको हो । रामायणमा युधिष्ठिरको उल्लेख पाइदैन । भगवान कृष्ण महाभारतकालीन हुन् । युधिष्ठिरको समयलाई ५ हजार वर्षभन्दा अगाडिको मानिएको छ । युधिष्ठिर सम्वत् लगभग ३ हजार वर्ष चलेको छ  । त्यस्तै भगवान बुद्धको चर्चा महाभारतमा नभएको हुँदा बुद्धको समय आजभन्दा लगभग २६ सय वर्ष पहिला मानिएको छ । वेदमा त्रेतायुगका राम, लक्ष्मण, हनुमान, रावण आदिको चर्चा नभएको हुँदा वेदको साल समय सम्वत् प्राप्त भएको छैन । यस कारण वेदलाई अपौरुषेय मानिएको छ । ईश्वरबाट ऋषिमुनिले प्राप्त गरेको शाश्वत ज्ञानलाईनै वेद भनिएको छ । 

वेदमा कतै पनि चार युगको विवरण पाइदैन । चार युगको कल्पना महाभारत कालमा आएपछि भएको छ । जवाहरलाल नेहरु र बालकृष्ण समले वैदिक युगलाई ६ हजार वर्ष अगाडिको मानेका छन् । तर डा सम्पूर्णानन्दजीले भनें वेदलाई आज भन्दा २५ हजार वर्ष पहिलाको बताएका छन् । जे भए पनि कर्म, ज्ञान र उपासनातिर जान प्रेरित गर्ने वेदको महत्व ज्यादै छ । वेद कुनै जाति धर्म लिङ्गको मात्र होइन । यो सम्पूर्ण मानव समुदायको कल्याण गर्नका लागि सिर्जना गरिएको अद्वितीय सनातन ज्ञानराषी हो । सबै सनातनी धर्मग्रन्थहरुले वेदलाईनै अन्तिम प्रमाण मान्छन् । यसलाई सर्वात्मवादी विशिष्ट रचनाको रूपमा स्वीकार गरिएको छ । धार्मिक व्यवहार वा कर्म पनि अरुलाई हानी गर्ने वा दुःख दिने भएमा त्याग गर्नु भन्ने उच्च विचार वा पवित्र सन्देश यसमा छ ।

वेदको सर्वार्त्मवादी उच्च ज्ञानलाई क्रमशः कर्मकाण्डमा परिणत गरियो । वेदमा कतै पनि छुवाछुत वा अपृश्यताको कुनै संकेत छैन । तर स्मृति ग्रन्थहरुमा अरुलाई दास बनाउनकै लागि ब्रह्माले सृष्टि गरेको कुरा थपियो । स्मृति ग्रन्थहरु जति लेखिए पछि गएर तिनमा धेरै कुरा थप्दै लगियो । असत्य अनि भ्रामक असम्भव कुराहरु थपेर मानव जातिमा भेदभाव बढाउने र वैरभाव सिर्जना गर्ने कुराहरू थप्दै वा लेख्दै लगेको पाइन्छ । ईश्वरले कहिल्यै पनि मान्छेमान्छेका बीचमा ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र भनेर सृष्टि गर्दैनन् न कामको बाँडफाँड नै गर्छन् । 

भागवद् गीता अध्याय ४ को १३ औं श्लोक पनि पछि थपिएको बताइन्छ । नेपाल चीन युद्ध, नेपाल अंग्रेज युद्ध, अमेरिका जापान युद्ध, चीन जापान युद्ध, भियतनाम अमेरिका युद्ध यस्ता अनगिन्ति युद्धहरु संसारमा भएका थिए । भई रहेका पनि छन् । रावण–राम युद्ध, कौरव–पाण्डव युद्धलाई पनि उदाहरणमा राख्न सकिन्छ । ‘धर्म संस्थापनार्थाय सम्भवामी युगे युगे’ पूर्व न्यायाधीश भीमेन्द्रबहादुर कार्की लेख्नु हुन्छ– ‘धर्ममा सामाजिक, राजनीतिक, आर्थिक, शैक्षिक, भौगोलिक तथा वातावरणीय उथलपुथलको पनि प्रभाव परिरहेकै हुन्छ  (चिन्तन चौतारी पृष्ठ २१७) । त्यस बेला धर्मका लागि र राज्य प्राप्त गर्नका लागि पनि साना–ठूला युद्ध भरहेका हुन्थे । राजा मारेर राज्य हत्याउने क्रम चलिनै रहन्थ्यो । ३०० ईश्वी पूर्व नन्दवंशी राज्यलाई समाप्त गरेर चन्द्र गुप्तले चाडक्यको निर्देशन र सल्लाहमा मगधको राज्यसत्ता आफ्नो हातमा लिएर मौर्यवंशको स्थापना गरेका थिए । चन्द्रगुप्त, विन्दुसार, सम्राट अशोक र उनका पनि उत्तराधिकारीले मगधको शासन गरे । यिनै मौर्यवंशी राजा बृहदरथलाई मारेर सेना प्रमुख पुष्पमित्र शुंगले मगधको शासन आफ्नो हातमा लिए ।

मुसलमानहरुको आक्रमण र बुद्ध धर्मको बढ्दो प्रभावका कारण मगधलाई बचाउन पुष्पमित्र शुंगले राजा बृहदरथलाई मार्नु परेको बताइन्छ । भनिन्छ– पुष्पमित्र शुंग शुद्र थिए ?
सम्राट अशोकले बुद्धधर्म अपनाए पछि हिन्दु धर्मको प्रभाव कम हुन थाल्यो । क्रमशः उनक सन्तान बृहदरथसँग आउँदासम्ममा हिन्दुधर्मको अस्तित्वमानै प्रश्न उठ्यो । यो यथार्थ बुझेका सेना प्रमुख पुष्पमित्र शुंगले बृहद रथलाई काट्नु परेको थियो भनिन्छ । 

आफूले राजाको पदवी नलिएरनै तिनले मगधको शासन गरे । बुद्ध धर्मलार्ई दवाउन यिनले हरसम्भव प्रयास गरे । भनिन्छ–पुष्यमित्र शुंगले नै दरबारिया पण्डित पतञ्जलीलाई मनु स्मृति लेख्न लगाएर त्यसलाई धर्म वा कानुनका रुपमा तत्कालीन समाजमा ल्याएका थिए । यसरी बुद्ध धर्मका प्रभावका कारणले घट्न लागेको अस्तित्वलाई बचाउन पुष्पमित्र शुंगले प्रयास गरेका थिए भन्ने कुरा इतिहासले पनि बताउँछ । 

सनातन धर्ममा वा हिन्दु धर्ममा जति पनि भ्रामक र विभेदकारी नीति नियमहरु आए ती सबै पुष्पमित्र शुंगको समयको प्रतिफल हो भन्ने भनाइ पनि छ । वेदमा नभएका कुराहरु थप्दै र लेख्दै लाँदा नारीहरुलाई पनि शुद्रसरह मानियो । तिनलाई वेद पढ्नमा बन्देज गरियो । पुनश्च वेदमा नभएका कुरालाई अंग्रेजी विद्वानहरु किथ, मेक्समुलर आदिले वेदका विषयमा गलत कुराहरु लेखिदिएर सनातनी समाजमा वैरभाव वा फुट सिर्जना गर्ने प्रयास गरेका थिए भन्ने कतिपय विद्वानहरुको राय छ । त्यस्ता कुराको प्रभाव नपढेका तत्कालीन राजा रजौटा र जनजातिमा पनि पर्न गयो । 

क्रिश्चियन धर्मको प्रचार पनि हुने सनातनी वैदिक धर्ममा फुट पनि हुने हुँदा शासन गर्न सजिलो हुन्छ भन्ने विश्वास अंग्रेजहरुमा थियो भन्ने चर्चा पनि व्यापक बनेर आयो । वेदको महत्व र त्यसको सर्वात्मवादी भावलाई समाप्त गर्ने उद्देश्य पूरा गर्नमा तिनले पर्याप्त प्रयास गरेका थिए भन्ने देखिन्छ ।

एकातिर वैदिक ज्ञानलाई कर्मकाण्डमा बदलिदै लगियो भने अर्कातिर वेदको अस्तित्व समाप्त गर्ने प्रयासहरु पनि हुँदै गए । सनातनी धर्मलाई मानवहित विपरित जातजातिमा उपयोग गर्न थालियो । छुवाछुत र उचनीचको बीउ रोपेर कतिपय ग्रन्थहरु लेखिए । सनातनी समाजलाई बिथोल्नसम्म बिथोलियो । धर्म ग्रन्थहरुलाई आधार बनाएर मान्छेका कर्मलाई जातमा परिणत गरियो । मनुस्मृतिले यो व्यवस्थालाई अझ दरिलो बनाइदियो तर पनि धर्मग्रन्थहरुलाई अपमान गर्न सकिदैन । अमान्य घोषणा गर्न पनि सकिदैन भन्ने मान्यता हिन्दु धर्ममा रहन गयो । यसरी हिन्दु धर्मका नाममा गरिएको सामाजिक विभेदको नीतिलाई बुद्धधर्म र जैन धर्मले विमति जनाए । 

सनातन धर्म सरल छ, सहज छ र उदार पनि छ । यसभित्र सर्वात्मभाव छ । ‘सर्वे भवन्तु सुखिनः’ को उज्यालोमा हिंड्छ । मानवताको पक्षमा छ । दया, माया, प्रेम, सदभाव, एकता, परोपकार, आदर सत्कार यस्ता तमाम कुराहरु यस धर्मका अनुकरणीय आदर्शहरु हुन् यति हुँदाहुँदै पनि सनातन धर्मलाई त्याग गरेर मान्छेहरु क्रिश्चियन बनेका छन् । बौद्धमार्गी भएका छन् । यस्तो हुनमा चाहिँ हिन्दू धर्ममा रहेको छुवाछुत प्रथा जातीय विभेद जस्ता कुराहरु कारण रहेका छन् । 

संविधान वा कानुनले त्यस्तो जातीय विभेदलाई समाप्त गरे पनि सामाजिक परम्परामा त्यो विभेद वा छुवाछुत प्रथा कायमनै छ ।  यादव, पासवान, चमार, धोवी, मुसहर, डोम, कामी, दमाई, सार्की आदि जातिलाई अप्रत्यक्ष, प्रत्यक्ष आज पनि छुवाछुत प्रथाले निचोरिरहेकै छ । एकले छोएको अर्काले नखाने प्रथा यहाँ पनि कायम छ । यो भन्दा बढी त छुवाछुत प्रथालाई वैष्णव र शैव्य, ब्राह्मण–क्षेत्री समाजले बचाएर ल्याएको छ । ब्राह्मण–क्षेत्री समाजका महिलाहरु छुवाछुतका मामलामा बढी कट्टर छन् । पूजाको थालीमा बोकेको फलफूल र नैवेद्यलाई कसैले छोएको मन पराउँदैनन् । अझ त्यसमा पनि शुद्रले छोएको थाहा पाए भने पूजाथालीनै घोप्ट्याइ दिन्छन् । तल्लो जातले चलाएको पसलमा खाने कुरा खादैनन् र किन्दैनन् पनि । आफ्ना छोराछोरीले तल्लो जातका छोराछोरीसँग सम्बन्ध बढाएको पनि रुचाउँदैनन् । स्कुलको साथी भनेर दमाई, कामी, सार्कीका छोरा–छोरीलाई घरमा ल्याएको ब्राह्मण–क्षेत्री समाजका मान्छेले मन पराउँदैनन् । विहेबारीको कुरा त धेरै परको विषय भयो । 

हिजो महिलाहरुले वेद पढ्नु हुँदैन भनेर शुद्रको श्रेणीमा राखिएका महिलाहरूले आज शुद्रमाथि गरिएका व्यवहारहरु अस्वाभाविक लाग्छन् । सबै क्षेत्रमा पुरुषको ज्यादती देख्ने वा पुरुषप्रधान समाज भनेर आफू बसेको समाजलाई धिक्कार्ने वा घृणा गर्ने प्रवृत्ति आजका कतिपय महिलाहरुमा छ । तर आफ्ना कमी–कमजोरीलाई उनीहरुले नियाली रहेका छैनन् ।
हिन्दु धर्ममा यति विघ्न विकृतिहरु जन्मिए कि त्यसलाई कसैले पनि अमान्य घोषणा गर्न सकेन । सामाजिक क्राश र धार्मिक त्राशबाट समाज मुत्त हुन सकेन । ब्राह्मणहरुले जे गरे पनि, जस्तो नियम बनाए पनि त्यसलाई हिन्दु धर्म मान्नु पर्ने अवस्था आयो । वैदिक ऋचाको भाव, अर्थ वा व्याख्यालाई धेरै पछाडि छाडियो । शासक वा राजाहरु बाह्मण वा पुरोहित विपरीत जान सक्दैन थिए । त्यसैले प्रजा वा जनताहरु पनि पुरोहितका निर्णयले बाँधिएका हुन्थे । क्रमशः धर्मका नाममा यति अराजकता बढ्यो कि समाजको शोषित पीडित वर्ग वा शूद्र वर्ग त्यसबाट मुक्त हुने प्रयासमा लाग्यो । परिणामतः हिन्दु धर्ममा आएको विषमता र बुद्धधर्ममा देखिएको समताले लाखौंलाख मान्छेलाई प्रभाव पार्‍यो । अनि लाखौं हिन्दुहरुले बुद्ध धर्मलाई र क्रिश्चियन धर्मलाई अपनाउन थाले । 

सन् १८०७ मा लोखिएको भारतीय दण्ड–विधान जात जाति, धर्म, वर्णबाट हुने भेदभालाई समाप्त गर्नका लागि थियो । तर त्यसको पनि निरन्तर विरोध चल्यो । धेरै समयपछि १९५४ मा डा अम्बेडकरले प्रस्तुत गरेको विधान लागू भए पनि यसका विपरीत थिए, भारतीय राष्ट्रपति डा राजेन्द्र प्रसाद । उनले जन्मपद्धतिलाई स्वीकार गर्ने विचार राखे । परम्परित हिन्दु पद्धति र संस्कृतिका वितरीत जान नसकिने कुरा राष्ट्रपतिले प्रम जवाहरलाल नेहरुलाई जानकारी गराए । यस कारण पनि भारतमा जातीय भेदभावले समूल नष्ट हुने अवसर पाएन । भनिन्छ यस परिस्थितिबाट आहत भएका दलित वर्गका र अन्य वर्गका करिव ५६ लाख जनताले २४ घण्टा नबित्तै बुद्ध धर्मलाई अपनाएका थिए ।

अन्त्यमा वैदिक धर्म वा सनातन धर्मका आदर्शहरुको परिपालन गर्ने र त्यही आदर्शमा समाजलाई लाने हो भने अनि, ऐन नियम र दण्डविधानलाई पनि त्यसै अनुसार निर्माण गर्ने हो भने हाम्रो समाजमा जात, जाति, उच्च नीच, छुवाछुत वा अपृश्यताका सबै भेदभावहरु क्रमशः हटेर जान्छन् । समतामूलक समाजको निर्माण गर्नमा यस कुराले सहयोग पुग्छ र सनातन धर्मको महत्व पनि बढेर जान्छ भन्ने कुरामा विश्वास गर्न सकिन्छ ।

View : 475

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved