Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

पहिलो झरीमै जलमग्न बन्यो महानगर

उद्घोष सम्वाददाता
१३ असार २०८१, बिहिवार

मंगलबार डुबानग्रस्त बनेको विराटनगरको वडा नम्बर ६ स्थित नहरभन्दा पश्चिमको क्षेत्र । तस्वीर: उद्घोष

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर पहिलो झरीमै जलमग्न भएको छ । बुधबारको बर्षाले महानगरका अधिकांश वडा डुबानको चपेटामा परेका छन् । बाक्लो बस्ती रहेको क्षेत्र जलमग्न भएको छ । सयौं घरहरू डुबानमा परेका कारण मानिसहरू घर छाड्न बाध्य भएका छन् । डुबानका कारण उनीहरूको खाद्यान्न, लत्ता कपडा लगायत भौतिक सम्पत्ति समेतमा क्षति पुगेको छ ।

बाढीका कारण विराटनगरलाई जोड्ने कोशी राजमार्गमा जलमग्न बन्यो । राजमार्ग पश्चिम र दक्षिणी क्षेत्र बढी डुबानमा परेका छन् । बुधबार बिहानको राति १ बजेदेखि विराटनगरमा भारी बर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार २४ घण्टाभित्र विराटगरमै सबैभन्दा बढी ३६१ मिलिमिटर बर्षा भएको जनाइएको छ । 

अविरल बर्षाका कारण विराटनगरमा सबैभन्दा धेरै डुबान वडा नम्बर ६, १२ र १६ नम्बरमा भएको छ । त्यसपछि वडा नम्बर ३, ४, ५ र १८ का बस्ती क्षेत्र डुबेका हुन् । धेरै मानिसहरूले घरभित्र पानी पसेका कारण तनाव सहनुपरेको बताएका छन् ।

विराटनगरमा बर्सेनि सडक स्तरोन्नति भइरहेको र सडकको उचाइ पनि बढ्दै गएका कारण बस्ती क्षेत्रमै बढी डुबान हुन थालेको पीडितहरूले बताएका छन् । उनीहरूले यसअघि कहिल्यै पानी नपसेका घरहरू पनि यस पटक पहिलो बर्षामै डुबानमा परेको बताएका हुन् ।

पहिलो झरीमै डुबानको समस्या सुरु भएका कारण धेरैले अहिलेको विकास निर्माणको शैलीलाई दोष दिएका छन् । महानगरपालिकाभित्र वडा नम्बर ६ मा डेढ सय मानिसहरूलाई घरबाट सुरक्षित स्थानमा सारिएको जनाइएको छ । डुबानको जोखिमपछि विराटनगर–१२ मा पनि ५० घर परिवारलाई सुरक्षित स्थानमा सारिएको महानगर प्रहरी प्रमुख राजन पौडेलले बताए ।

महानगरपालिकाले डुबानको जोखिमपछि सार्वजनिक गरेको द्रुत प्रतिकार्य टोलीका संयोजक अर्जुन थपलियाले लगातारको बर्षापछि डुबान भए पनि मंगलबार साँझसम्म सबै प्रभावितहरू घर फर्किएको जानकारी दिए । प्रभावितहरूलाई राहत सामग्री वितरण गरिएको उनले बताए ।

महानगरसँग छैन प्रभावितको तथ्यांक

पहिलो बर्षामै विराटनगर जलमग्न बनेपछि महानगरपालिकाले तत्काल राहत र उद्धारमा आफ्नो स्रोत साधन परिचालन गरेको छ । तर प्रभावित परिवार र क्षतिको विवरणसम्बन्धी वास्तविक तथ्यांक संकलन गर्न भने महानगरले नसकेको पाइएको छ ।

महानगरपालिकाकी सूचना अधिकारी अनिता न्यौपानेले डुबानबाट प्रभावित परिवारको विवरण प्राप्त नभएको बताइन् । उनले प्रभावितहरूलाई राहत प्रदान गर्ने विषयमा भने पहल भइरहेको जानकारी दिइन् । 

‘कतैबाट तथ्यांक उल्लेख भएको छैन, वडा नम्बर ६ मा विद्यालयमा दिउँसो बाढी प्रभावितहरूलाई राखिएको थियो, तर कति प्रभावित भए भन्ने कुरा आएको छैन’ उनले भनिन्, ‘यसको विवरण नगर प्रहरीसँग हुन सक्छ, म त घर आइसकेँ ।’

नगर प्रमुख प्रमुख पौडेलले भने वडा नम्बर ६ र १२ मा बढी प्रभावित भएको, त्यसैगरी वडा नम्बर १६ स्थित भारतीय सीमावर्ती क्षेत्रमा पर्ने नेपाली वस्तीमा पनि डुबानको समस्या देखिएको जानकारी दिए । उनले आफू उद्धार टोलीसहित दिनभर पानी ब्लक भएका स्थानमा नाला खोल्नका लागि खटिएकोले प्रभावितहरूको यकिन विवरण आफूसँग नरहेको बताए ।

‘आज हामीले धेरै ठाउँमा पानी निकास खोल्ने काम गरेका छौं’ उनले भने,‘१२ नम्बरमा ५० घरजति विस्थापित भएको जानकारी आएको थियो, तर पछि पानी घटेर उनीहरू घर फर्किएको जानकारी आएको छ ।’

कहिल्यै नडुबेका घरहरू डुबे

विराटनगरमा विगतदेखि नै डुबानको समस्या रहेको छ । यो समस्या घट्नुको साटो बढ्दो दरमा रहेको सरोकारवालाहरूले बताएका छन् । डुबानको समस्या थपिनुको नयाँ कारण महानगरभित्र निर्माण भइरहेका सडक नाला भएको स्थानीयले आरोप लगाएका छन् ।

महानगरपालिकाले विभिन्न वडामा नाला र सडक निर्माणका नाममा अग्लो संरचनाको डिजाइन गर्ने र घरहरू होचो हुँदै गएकोले डुबानको समस्या बढेको नागरिक अभियन्ता कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ ले बताए । त्यसको पछिल्लो उदाहरण विराटनगर–३ प्रताप मार्गमा निर्माणाधीन सडक नाला भएको उनले बताए ।

प्रताप मार्गमा अहिलेसम्म कहिल्यै नडुबेका घरहरू पनि यस पटक पहिलो बर्षातमै डुबानमा परेको उनले बताए । महानगरपालिकाले अव्यवस्थित रुपमा विकास निर्माणका कार्य अघि बढाएका कारण यस्तो समस्या भइरहेको मार्सेलीले बताए ।

सोही ठाउँका स्थानीय पीताम्बर बजगाईले आफ्नो घरमा यो वर्ष पहिलो पटक पानी पसेको भन्दै आक्रोस पोखे । उनले प्रताप मार्गमा महानगरपालिकाले नालाको उचाइ अग्लो बनाएका कारण विगतमा कहिल्यै पनि डुबानमा नपरेको घरमा यो पटक पहिलो झरीमै पानी पसेको दाबी गरे ।

‘विकासका नाममा हामीमाथि अपराध गरिएको छ, कहिल्यै पानीले नडुबेको घर डुबेको छ’ उनले भने, ‘महानगरपालिकाले अग्लो नाला र रोड बनाएर बस्तीलाई डुबाइरहेको छ, हाम्रो बाँच्न पाउने अधिकार नै हनन् भइरहेको छ ।’

विद्यालय बन्द

अविरल बर्षाका कारण विभिन्न विद्यालयहरूको पठनपाठन प्रभावित भएको छ । विद्यालयहरू समेत डुबानमा परेका कारण पठनपाठन प्रभावित भएको भन्दै केही विद्यालयले सूचना निकालेर बिदा दिएका छन् । बर्षाका कारण बाटो अवरुद्ध हुँदा विद्यार्थीहरूलाई विद्यालय आवत जावतमै समस्या परेको भन्दै विद्यालयहरूले बिदा दिएका हुन् ।

यत्रतत्र डुबान

लगातारको बर्षातका कारण विराटनगरसहित आसपासका ठाउँहरू मंगलबार डुबानमा परेका छन् । कोशी राजमार्ग अन्तरगत विराटनगरको धरान रोडमा घुँडामाथिसम्म पानी जमेपछि साना सवारी साधन चल्न सकेनन् । कोशी राजमार्ग अन्तरगत ढाट खण्डमा सडकमा दुई फिटसम्म पानी जमेको थियो । आरती स्ट्रिप्स उद्योगभित्र सडक नालाको पानी प्रवेश गर्दा उद्योग नै बन्द गर्नुपरेको जनाइएको छ ।

विराटनगर विमानस्थलमा बिहानदेखि उडान अवतरण प्रभावित बनेको छ । विमानस्थलभित्र प्रवेश गर्ने गेटसम्मै पानी जमेको र जहाजको पार्किङ वेमा समेत पानी जमेका कारण उडान अवतरण प्रभावित भएको थियो ।

अपरान्हमा पानी घटेका कारण केही उडानहरू भएको विमानस्थल कार्यालय स्रोतले जनाएको छ । तर विमानस्थल प्रवेश गेटसम्म साँझसम्म पनि पानी नघटेका कारण यात्रुहरुले जुत्ता खोलेर विमानस्थल प्रवेश र बाहिर निस्कनु परेको थियो ।

मुसलधारे बर्षाको पानीको निकास नहुँदा विराटनगर दुग्ध वितरण आयोजनाको कार्यालय पानीले भरिएको थियो । सुनसरीको दुहवी बजार पनि जलमग्न बन्यो । विराटनगरसहित मोरङको सुन्दरहरैंचाका विभिन्न ठाउँमा समेत डुबान भएको जनाइएको छ । 

जल तथा मौसम विज्ञान विभागले मंगलबारदेखि लगातार तीन दिन कोशी प्रदेशका विभिन्न ठाउँमा भारी बर्षा हुनसक्ने जनाएको छ । 

भारी बर्षा हुने भएकोले खोलानाला र आसपासका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम हुने विभागले जनाएको छ । त्यसका लागि आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

View : 237

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved