क्यान्सर रोगको चुनौती बढ्दै
विराटनगर । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुंच बढाऔं स्याहारको’ भन्ने नाराका साथ आइतवार बिभिन्न सचेतनामूलक कार्यक्रम गरी ‘विश्व क्यान्सर दिवस २०२४’ मनाइएको छ । संसारका फ्रत्येक व्यक्तिले क्यान्सरमुत्त विश्वका लागि प्रण गर्नुपर्ने सन्देश दिदै यस पटकको क्यान्सर दिवस मनाइएको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२२ मा करिब एक करोड व्यक्तिको मृत्यु अर्बुद रोग ( क्यान्सर)का कारण भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अर्बुद रोगबाट हुने मृत्यु मध्ये पनि करिब एकतिहाइ सुर्तिजन्य पदार्थको प्रयोग, मोटोपन, मदिरा सेवन, फलफूल तथा तरकारीको कम सेवन र शारीरिक क्रियाकलापको अभ्यास कमीका कारण हुने गरेको छ ।
नेपाल जस्ता विकासोन्मुख देशहरुमा भने करिव ३० प्रतिशत क्यान्सर हेपाटाइटिस, ह्युमन प्यापिलोमा भाइरस संक्रमणहरुका कारणले हुने गरेको छ ।
नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मृत्यु क्यान्सरबाट हुने गरेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विसं २०७७ सालको तथ्यांक अनुसार जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री अनुसार नेपालमा क्यान्सरसँग सम्बन्धित मृत्युदर ४० प्रतिशत बढी रहेको मन्त्रालयले जनाएको छ । नेपालमा प्रत्येक वर्ष करिव २० हजार जनाभन्दा बढी मानिसमा क्यान्सर पहिचान हुने गरेको पाइएको छ ।
ग्लोबोक्यान नामक एक सर्वेक्षणका अनुसार नेपालमा प्रत्येक वर्ष २० हजार जनाभन्दा बढी मानिसमा क्यान्सर पहिचान हुने देखाएको छ । सन् २०२० मा क्यान्सरकै कारणले नेपालमा १६ हजार ६ सय २९ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । नेपालमा देखिएका मुख्य क्यान्सरहरुमा फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्राको क्यान्सर छन् । पुरुषमा फोक्सो, पेट, आन्द्रा, मुख र थाइराइडको क्यान्सर बढी देखिएको छ भने महिलामा पाठेघरको मुख, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशयको क्यान्सर प्रमुख छन् ।
क्यान्सर जस्तो गम्भीर नसर्ने रोगबाट बर्सेनि हजारौं नागरिकको मृत्यु हुने गरेको भए पनि सरकारले त्यसविरुद्ध ठोस कदम चाल्न सकेको सरोकारवालाहरु बताउँछन् । सरकारले विपन्न नागरिक औषधि उपचार कोषबाट क्यान्सर पीडितहरुका लागि एक लाख रुपैंयाँसम्मको औषधि उपचारको व्यवस्था गरेको छ । तर, यसको प्रभावकारी कार्यान्वयन भने सजिलै हुन सकेको छैन ।
प्रदेश सरकारले पनि थप एक लाखसम्मको उपचार सहायता प्रदान गर्दै आएको छ । सरकारले उचित बजेटको व्यवस्थापन नगर्नु, ऐनहरु कार्यान्वयनमा चासो नदेखाउनु लगायतका कारण क्यान्सरविरुद्धको अभियान सार्थक हुन नसकेकको विज्ञहरु बताउँछन् ।
नेपालका क्यान्सर अस्पतालहरुका अभिलेख अनुसार अस्पतालमा उपचारका लागि आएका बिरामीहरुमा पुरुषमा मुख्यतय फोक्सो, आमाशय, कलेजो, मुखको क्यान्सर देखिएको छ भने महिलामा स्तन, पाठेघरको मुखको क्यान्सर, फोक्सोको क्यान्सर देखिएको छ । कलेजो र पेटको क्यान्सरको समस्या पनि नेपालमा चुनौतीका रूपमा उभिएको छ ।
नेपालमा महिलाहरूमा हुने क्यान्सरको अवस्था हेर्ने हो भने पाठेघरको क्यान्सर पहिलो र स्तन क्यान्सर दोस्रो समस्या बनेको छ ।
समस्या लिएर अस्पताल आउनेभन्दा पनि समस्यालाई लुकाएर राख्ने नेपाली महिलाहरुको संख्या धेरै भएको कारण महिलामा पाठेघरको क्यान्सर प्रमुख देखिएको विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालकी क्यान्सर रोग बिशेषज्ञ डा मोना प्रियादर्शनी बताउँछिन् । बढी मात्रमा फोक्सोको क्यान्सर हुनुको कारण भने धूमपान र प्रदूषण रहेको चिकित्सकहरूको भनाइ छ ।
‘क्यान्सर हुँदैमा मृत्यु नै भइहाल्छ भन्ने होइन’, क्यान्सर रोग बिशेषज्ञ डा. प्रियादर्शनी भन्छिन्, सचेतना अपनाउने हो भने शुरुका चरणमा फेला परेका क्यान्सर निको भएका थुप्रैं बिरामीहरु छन् त्यसैले यसका लागि सचेतना, आत्मबल र घरपरिवार–समाजको साथ जरुरी पर्दछ ।
View : 131
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved