Biratnagar, Morang, Nepal
३० वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
शिक्षा

पूविका ७ हजार भन्दा बढी विद्यार्थी दीक्षित

उद्घोष सम्वाददाता
१६ वैशाख २०८१, आइतवार

सुन्दरहरैंचा । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) को बाह्रौं दीक्षान्त समारोहमा शुक्रबार विभिन्न संकायमा गरी ७ हजार ८ सय ५६ विद्यार्थी  दीक्षित भएका छन् । दीक्षान्त समारोहमा कला संकायमा स्नातक तह ८२ तथा स्नातकोत्तर तहतर्फ ७६ जनालाई दीक्षान्त उपाधि प्रदान गरिएको थियो ।

यसैगरी कानुन संकायमा स्नातकतर्फ २ सय ६४, स्नातकोत्तरतर्फ १ सय ७, शिक्षाशास्त्र संकायतर्फ स्नातक तह ६ सय ३६  र स्नातकोत्तरतर्फ १ सय ६७ जना दीक्षित भएका छन् ।

त्यसैगरी व्यवस्थापन संकायमा स्नातक तहतर्फ १ हजार ५ सय ४२, स्नातकोत्तरतर्फ ७ सय ६०, एमफिलतर्फ ३  जना, विज्ञान तथा प्रविधि संकाय  स्नातकतर्फ ६  सय ३४ र स्नाकोत्तरतर्फ ५२  जना विद्यार्थी दीक्षित भएका छन् ।  

इन्जिनियरिङ  संकाय  स्नातकतर्फ ८  सय ९२, स्नातकोत्तरतर्फ १ सय ८  जनालाई दीक्षित गरियो । साथै चिकित्साशास्त्र संकाय  स्नातकतर्फ २ हजार ४ सय ६३, स्नातकोत्तर तहमा १५ जना गरी  २ हजार  ४ सय ७८  जनालाई उपाधि प्रदान गरिएको छ ।

प्रधानमन्त्री तथा पूविका कुलपति पुष्पकमल दाहाल (प्रचण्ड) ले एक समारोहका बीच विद्यार्थीलाई दीक्षित गरी उपाधि प्रदान गरेका थिए । शैक्षिक क्षेत्रको उन्नयनमा आमूल रुपान्तरण गर्न नसक्नु दुःखद् विषय भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले शैक्षिक प्रणाली र यसले सिर्जना गरेको शैक्षिक बेरोजगारीको अवस्थालाई परिवर्तन गर्न जरुरी रहेको बताए ।

लामो समयदेखि विद्यालय तथा विश्वविद्यालय तहमा सिकाउनेभन्दा रटाउने शिक्षा पद्धति चलिरहेको अनुभूति भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले प्राविधिक ज्ञान र सीपलाई विशेष जोड दिन निर्देशन दिएका छन् ।

सो अवसरमा एमबीबीएस शैक्षिक कार्यक्रम सञ्चालनका लागि  नवनिर्मित भवनको पनि उद्घाटन गरिएको थियो ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति, शिक्षाविद् तथा पूर्वराजदूत केदारभक्त माथेमाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा पूविका कायम मुकायम उपकुलपति डा. शैलेषमणि पोखरेलले स्थानीय सरकारद्वारा सञ्चालित केही सामुदायिक शैक्षिक संस्थालाई शैक्षिक कार्यक्रम सञ्चालनको स्वीकृति प्रदान गर्नुका साथै प्रदेश, स्थानीय सरकार तथा समुदायको आवश्यकता र प्राथमिकताका आधारमा विश्वविद्यालयको अध्ययन, अनुसन्धानको दायरा क्रमशः विस्तार गर्दै लैजाने नीति लिइएको उल्लेख गरे ।

तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको पहलमा २०५२ सालमा विश्वविद्यालय स्थापना भएको हो । विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा नर्सिङ, पब्लिक हेल्थ, फार्मेसी, कृषि, वनविज्ञान लगायत विषयको पढाइ भइरहेको छ । 

View : 89

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved