उदारवाद : उदारवाद पूँजीवादी अर्थव्यवस्थाको विकृत रूप हो । यसमा व्यक्ति प्रधान हुन्छ, समाज गौण हुन्छ । वैधानिक वा अवैधानिक जे भए पनि व्यक्तिको सफलता र असफलता उसको आर्जित धनमा मापन हुन्छ । यसले समाजलाई सामूहिक रूपमा जिम्मेवार बनाउन चाहँदैन, समाजलाई स्वार्थको थलो मात्र बनाउन चाहान्छ ।
अर्थतन्त्रमा राजकीय भूमिका र हस्तक्षेपलाई निस्तेज बनाउँछ, कल्याणकारी राज्यको अवधारणालाई तहस–नहस बनाउँछ ।
नियमनशून्य खुल्ला बजारको प्रभावकारिता र निजी क्षेत्रको वर्चस्व यसको मूल लक्ष्य हुन्छ । यसले जहिले पनि व्यक्तिगत स्वतन्त्रता र प्रतिस्पर्धाको वकालत गर्छ । यसको राजनीतिक दर्शन भनेको निजीकरण, उदारीकरण, नियमनशून्यता र विश्वबजारसँगको एकीकरण र लोककल्याणकारी खर्चको कटौती हो । उदारवादले समानता चाहँदैन, निरपेक्ष स्वतन्त्रता मात्र चाहन्छ ।
समाजवाद : समाजवाद सामूहिकता र समानतामा आधारित दर्शन हो । यसले आर्थिक–सामाजिक असमानतालाई जरो उखेलेर समानताको जग बसाल्न खोज्छ । विभेदको मूल जरो उत्पादन र स्वामित्वको असन्तुलन हो भन्ने मान्यता राख्छ ।
यो निरपेक्ष बजार स्वतन्त्रताको विपक्षमा रहन्छ । उत्पादनका साधनमा राजकीय नियन्त्रण, सम्पत्तिको समान वितरण, श्रमिक वर्गको अधिकार सुनिश्चितता यसको मान्यता हो ।
समानता बिनाको स्वतन्त्रताको अर्थ छैन भन्ने यसको मन्त्र हो । समाजवादले समानता पछिको स्वतन्त्रतामा वकालत गर्छ । उत्पादनको उद्देश्य नाफा मात्र होइन, समाजको आवश्यकताको पूर्णता हो भन्ने कुरामा जोड दिन्छ ।
श्रम, भूमि र पूँजीबीचको सम्बन्धलाई सहउत्पादन र सामाजिक जिम्मेवारीको आधारमा पुनर्संरचना गर्न खोज्छ । उदारवाद मुनाफाखोर हो भने समाजवाद लोककल्याणकारी ।
समाजवादी राजनीति र उदारवाद : परनिर्भरमुखी अर्थतन्त्र भएकोले नेपालको अर्थव्यवस्था अर्ध–औपनिवेशिक छ । आर्थिक ढाँचा, सामाजिक सम्बन्ध र राजनीतिक सत्ता विश्व शक्तिकेन्द्रसँग जोडिएका छन् । छाया“मा छ तर शक्तिकेन्द्रको प्रभुत्व बिना राजनीति र अर्थनीति चलायमान हुने अवस्थामा छैन ।
राज्यको नीति शक्तिकेन्द्रको शर्तभन्दा बाहिर जाने अवस्थामा छैन । जसले वर्गीय असन्तुलनलाई चुलीमा पु¥याएर धनी अझ धनी बन्दै जाने र गरिब दिनप्रतिदिन गरिबीमै सीमित रहनु पर्ने अवस्था छ । सुधार परियोजनाको नाममा अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैङ्क, विश्व व्यापार संगठनको प्रभाव र शर्त मान्नु पर्ने बाध्यता छ ।
पञ्चायतकालीन अर्थव्यवस्था
पञ्चायती व्यवस्थाले मिश्रित अर्थतन्त्रको अवधारणा अगाडि सार्यो । रोजगार र आत्मनिर्भरताको लागि सोभियत संघ, चीन जस्ता समाजवादी देशको सहयोगमा महत्त्वपूर्ण कलकारखानाहरू स्थापना गरायो ।
कृषिमा आधारित बाँसवारी छाला तथा जुत्ता कारखाना, हरिसिद्धि इँटाटायल कारखाना, भृकुटी कागज उद्योग, गोरखाकाली रबर, जनकपुर चुरोट कारखाना, धानचामल निर्यात कम्पनी जस्ता पचासौं उद्योगहरू खुले ।
त्यसले रोजगारी र आत्मनिर्भर अर्थतन्त्रलाई चलायमान गराएर स्वदेशी उत्पादनमा उल्लेख्य सहयोग पु-यायो । श्रमिकको बृत्ति विकास र भविष्यको सुनिश्चितता पनि गरायो । पञ्चायतको यो सकारात्मक कदम थियो । तर पछिल्लो अवधिमा, अर्थात् पञ्चायतको अन्त्यपछि यो अवस्था रहन सकेन ।
उदारवादको उदय
बहुदलको आगमनसँगै उदारवाद उदायो । घाटा भयो भन्ने नाममा सार्वजनिक संस्थानबाट राज्यले हात झिक्यो । दातृ निकायको शर्तमा राज्य नियन्त्रित उद्योगहरू कौडीको भाउमा बिक्री गरियो । औद्योगिकीकरणको यात्रा ओरालो लाग्दै गयो । स्वदेशी उद्योगहरू तहस–नहस भए ।
राष्ट्रिय पूँजीपति वर्ग टाट पल्टियो । ग्रामीण अर्थतन्त्र कमजोर भयो । उत्पादन क्षमतामा गिरावट आएर आयातनिर्भर अर्थतन्त्र बन्यो । लाखौं श्रमिकहरू बेरोजगार बने । विदेशी भूमि रोजगारको गन्तव्य बन्यो । जनशक्ति पलायन दैनिकी बन्यो । श्रमिक पैठारी राज्यको नीति बन्यो ।
विप्रेषण अर्थतन्त्रको आधार बन्यो । शिक्षा, स्वास्थ्य, बैंक, बीमा कम्पनीमा अभिजात वर्गको वर्चस्व भयो । स्वदेशी उद्यमी घाटामा जाने र बैंक तथा बीमा कम्पनीहरू खरवौं नाफा कमाउने कुरा सामान्य बन्यो ।
उदारवादको असर
उदारवादले दलाल नोकरशाही वर्गको जन्म गरायो । वर्गीय खाडल बढाउँदै लग्यो । समान रूपको गुणस्तरीय शिक्षा पाउने मौलिक हकलाई नामेट बनायो । स्वास्थ्य क्षेत्रहरू नाफामूलक बने । अन्तर्राष्ट्रिय गैर सरकारी संस्था ‘एनजीओ’को प्रभुत्वले समाजलाई विभत्स बनायो ।
नयाँ कारखाना खोल्नतर्फ राज्यको ध्यान गएन । भ्यू टावर जस्ता अनेकौं अनुत्पादकमुखी विकासमा राज्यको ध्यान केन्द्रित भयो ।
मध्यवर्ग र उच्चवर्ग आर्थिक, सामाजिक र सांस्कृतिक विकृतिको आहालमा डुबेर त्यसको छिटाले निम्न–मध्यवर्ग र गरीब वर्ग समेतलाई लतपत्यायो । निम्न–मध्यवर्ग र गरीब वर्गले शोषणको चपेटाबाट मुक्ति पाउने अवस्था बनेन । खोरियाहरू जंगलमा परिणत भए । विकासको नाममा पुरातात्विक प्राकृतिक सम्पदाहरू ध्वस्त भए । जनशक्ति निर्यात राज्यको नीति बन्यो ।
द्वैध चरित्रवादी राजनीति
उदारवादी अर्थतन्त्र र समाजवादी राजनीति नेपालको विशेषता हो । संविधान समाजवादोन्मुख छ, अर्थनीति उदारवादी छ । गैर–वामपन्थीहरू साँच्चो अर्थमा समाजवाद चाहँदैनन्, तर जन्मदेखि समाजवादको वकालत र औपनिवेशिक अर्थतन्त्रको विपक्षमा रहदै आएका वामपन्थी समेत उदारवादको नसामुत रहन सकेनन् ।
यो वैचारिक द्वैधताले जनतालाई अल्मल्याउन मात्र सकिन्छ । तर नीतिगत द्वैधताबाट समाजवाद सम्भव देखिदैन । उदारवादको जहाजबाट समाजवादी यात्राको गन्तव्य अनिश्चित हुन्छ ।
भूराजनीति र बाध्यता
राजनीतिक दलबीच विचारको विविधता भए तापनि उदारवादको सवालमा सन्तुलित विचार देखिन्छ । सबै दलले विकासको प्रमुख आधार निजी लगानीलाई नै बनाएका छन् । जसले सीमित अभिजात वर्गीय प्रतिनिधित्व मात्र गरेको छ ।
अर्थतन्त्रको वैकल्पिक मार्ग खोज्ने क्षमतामा ह्रास आउदै गएको देखिन्छ । विश्व अर्थतन्त्रको ठूलो हिस्सा उदारवादी दिशामा अग्रसर छ । भू–राजनीतिक जटिलतामा गुज्रेको र सानो तथा परनिर्भर अर्थतन्त्र भएका देशको लागि यो बाध्यात्मक अवस्था भएको कुरालाई भने नकार्न सकिन्न ।
वाम राजनीति र वर्गीय सवाल
विद्यमान वाम राजनीतिको वर्गीय संरचनामा फरक आएको छ । श्रमिक तथा किसान आन्दोलनको ढाँचामा परिवर्तन आएको छ । राजनीति शहरी मध्यमवर्गको कब्जामा छ । सर्वहारा अर्थात् राज्य–उपेक्षित वर्ग अस्तित्व संकटमा छ ।
सुविधाको चासोमा डुबेका वामपन्थीहरूले वर्ग संघर्षको कठिन मार्ग समात्न चाहेका छैनन् । उनीहरू पटक–पटक सरकारमा पुग्दा पनि अर्थतन्त्रको दीर्घकालीन वैकल्पिक मार्ग खोल्न चाहेनन् । बस्तु आयात र श्रम निर्यातमुखी अर्थतन्त्रले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न सक्दैन भन्ने कुरालाई उनीहरूले नजरअन्दाज गर्दै आएका छन् ।
साँच्चो अर्थमा वामहरू समाजवादप्रति इमान्दार हुने हो भने आत्मनिर्भर वैकल्पिक अर्थतन्त्रको मार्ग खोल्न सक्ने भनेका वामपन्थी दलहरू नै हुन् । यसको लागि उनीहरूले उत्पादन र वितरणमा वर्गीय पुनःसंरचना गर्ने आँट देखाउन सक्नु पर्छ ।
ढर्रावादी सांस्कृतिक उपभोक्तावादको विरुद्ध नयाँ अभियान थालनी गर्न सक्नु पर्छ । आफू भित्रको सामन्तवादी चेतनालाई सामूहिकताको कसीमा ढाल्न सक्नु पर्छ । वर्गीय न्याय, सामूहिक स्वामित्व र मानवकेन्द्रित विकासको मान्यतामा फर्कन सक्नु पर्छ । के वामहरूले यो हिम्मत राख्लान् ? यदि यसो गर्न सक्दैनन् भने उनीहरूले वामपन्थको पसल थाप्नुको कुनै अर्थ छैन ।
View : 316
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved