Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

१६ दिने अभियानको सार्थकता

कानुनले मात्र होइन, चेतना र लगानीले घट्छ लैङ्गिक हिंसा

डीपी ढुंगेल
२२ मंसिर २०८२, सोमवार

देशका मातृशक्तिका रूपमा रहेका महिला तथा किशोरीहरूमाथि हुने विभिन्न प्रकारका हिंसाका रूप न्यूनीकरण गर्न तथा पूर्ण रूपमा हटाउन कानुन मात्र पर्याप्त नहोला । समाजमा चेतनाको गहिरो ज्योति जगाउनुपर्छ, महिला अधिकारको रक्षा र सम्मान गर्न जान्नुपर्छ, र समाज, राज्य तथा विश्व समुदायलाई यस विषयमा जिम्मेवार तथा जवाफदेही बनाउनु आजको अपरिहार्य आवश्यकता हो ।

प्रत्येक वर्ष अंग्रे‍जी नोभेम्बर २५ तारिखका दिनदेखि डिसेम्बर १० (अन्तर्राष्ट्रिय मानव अधिकार दिवस) सम्मको १६ दिनलाई लैङ्गिकहिंसा विरुद्धको अभियानका रूपमा विश्वभर मनाइन्छ । हिंसामुक्त समाज निर्माण, महिलाको सम्मान, सुरक्षा र समान हक अधिकार सुनिश्चित गर्नका लागि यो अभियान महत्वपूर्ण मानिन्छ ।

१६ दिने अभियानको ऐतिहासिक जग

लैङ्गिकहिंसा विरुद्धको १६ दिने अभियानको इतिहास सन् १९६० नोभेम्बर २५ तारिखमा डोमिनिकन गणतन्त्रका तीन दिदीबहिनी (मिराबल दिदीबहिनी) को निर्मम हत्याको घटनासँग जोडिएको छ ।

सो  घटनाको सम्झनामा ल्याटिन अमेरिकी क्षेत्रमा यस दिवसको आवाज उठाइयो । त्यसको धेरै वर्षपछि सन् १९९९ नोभेम्बर १७ मा संयुक्त राष्ट्रसंघले प्रत्येक वर्षको नोभेम्बर २५ तारिखलाई लैङ्गिकहिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको इतिहास पाइन्छ । तत्पश्चात् विश्वभर यो दिवस एक सामाजिक आन्दोलनका रूपमा मनाउन थालिएको हो ।

नेपालको सन्दर्भमा यो दिवस कहिलेदेखि मनाउन थालियो भन्ने सटीक तथ्याङ्क नभेटिए पनि, मानव अधिकारवादी संघसंस्था, एनजीओ, आईएनजीओ र एमनेस्टी इन्टरनेसनल नेपाल शाखाले सन् १९९२ (केही स्रोतअनुसार) मा राजधानी काठमाडौंमा १६ दिने महिला हिंसा विरुद्धको अभियान सुरु गरेको इतिहास पाइन्छ । ओरेक नेपाल लगायतका संस्थाहरूले पनि दशकौंदेखि यो दिवसलाई निरन्तरता दिंदै आएका छन् ।

यस वर्ष (२०८२ सालको सन्दर्भमा) यो अभियान मङ्सिर ९ गतेदेखि २४ गतेसम्म (नोभेम्बर २५ देखि डिसेम्बर १०) सञ्चालन भइरहेको छ ।

हिंसाका बहुआयामिक चुनौतीहरू :

तथ्याङ्कहरूले विशेषगरी अविकसित तथा विकासोन्मुख देशहरूमा महिला हिंसा अधिक भएको देखाउँछन् । यद्यपि, पछिल्लो एक दशकमा नेपालमा महिला हिंसाका घटनाहरू पहिलेको भन्दा कम हुँदै गएका भए पनि महिलाहरू समाज र राष्ट्रबाटै पछि परेका विभिन्न तथ्याङ्कले पुष्टि गर्छन् । महिला र किशोरीहरूले सामना गर्नुपरेका मुख्य चुनौतीहरू यसप्रकार छन् :

शैक्षिक अभाव र विचलन : गाउँमा विद्यालय छाड्ने किशोरीको संख्या धेरै छ । महिनावारी, गरिबी, बालविवाह र बालश्रमिकका कारण किशोरीहरूले विद्यालय छाड्ने गरेका छन् ।
स्वास्थ्य र पोषण : पोषणको कमी, किशोरी अवस्थामा शारीरिक÷मानसिक समस्याबारे जानकारीको अभाव र प्रजनन स्वास्थ्यमा ज्ञानको कमीले महिलाहरूको जीवनस्तर प्रभावित छ ।
सामाजिक कुरीति : दाइजो प्रथा र जबरजस्ती विवाहजस्ता कुरीतिहरूले महिलाको जीवनलाई कष्टकर बनाएको छ ।
आधुनिक हिंसाका रूप : साइबर बुलिङ, कार्यथलोमा दुव्र्यवहार, र डिजिटल माध्यमबाट हुने हिंसा पछिल्लो समयका नयाँ चुनौती हुन् ।
न्यायिक जटिलता : दुर्भाग्यपूर्ण पक्ष यो हो कि, धेरैजसो हिंसाका घटनाहरू दर्ता नै हुँदैनन्, जसले गर्दा अपराधीहरू दण्डहीनताको छायाँमा रहन्छन् ।
आर्थिक असमानता : पुरुष र महिला एकै प्रकारका तथा समान कामका लागि नियुक्त भए तापनि ज्यालामा बराबरता देखिंदैन । पैतृक सम्पत्तिमा अझै पनि महिलालाई समान अधिकार पूर्ण रूपमा सुनिश्चित भएको छैन ।
निर्णयमा कमजोर उपस्थिति : नेपालको संविधान र कानुनमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरिए पनि व्यवहारमा त्यो पूर्ण रूपमा लागू भएको देखिंदैन । विभिन्न राजनीतिक दलका समितिहरूमा र केन्द्रदेखि प्रदेश सरकारको मन्त्रीमण्डलमा महिलाको सङ्ख्या १० प्रतिशतभन्दा पनि कम देखिनु अर्को ठूलो चुनौती हो । महिलाको आवाज सुन्ने र निर्णय लिने शक्तिमा महिलालाई केन्द्रित गर्ने चलन हाम्रो समाजमा अझै स्थापित भइसकेको छैन ।

समाधान र सशक्तिकरणका लागि मार्गचित्र

महिला सशक्तिकरणका लागि तीनै तहका सरकारहरूले एकीकृत र परिणाममुखी योजनाहरू ल्याउनु आवश्यक छ । स्थानीय पालिकादेखि प्रदेश र संघीय सरकारसम्म महिला सशक्तिकरणका लागि निम्न क्षेत्रमा लगानी र अवसर बढाउनु जरुरी छः

शिक्षा र स्वास्थ्यमा लगानी : शिक्षालयहरूमा किशोरी स्वास्थ्य तथा शिक्षासम्बन्धी विषयको विकास गर्न सके लैङ्गिकहिंसा कम हुने थियो । शिक्षा, स्वास्थ्य, आर्थिक अवसर, रोजगारी, तालिम र सीप विकासका कार्यक्रमहरूमा महिलालाई व्यापक अवसर दिइनुपर्छ ।
संख्यात्मक उपस्थितिको सुनिश्चितताः स्थानीय पालिकामा महिलाहरूको सङ्ख्या राम्रो देखिए पनि प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभामा उनीहरूको संख्या न्यून छ । आधा आकाशभन्दा बढी ढाकेका महिला सशक्तिकरणका लागि तीनै तहका सरकारहरूले बढीभन्दा बढी बजेट विनियोजन गर्नुपर्ने आवश्यकता छ ।
अभियानलाई निरन्तरता : १६ दिने महिला हिंसा विरुद्धको अभियानलाई एक दिनको औपचारिकतामा सीमित नराखी वर्षभरि निरन्तर प्रयास गर्नुपर्छ । भाषण र कागजमा मात्र सीमित कार्यक्रमको कुनै औचित्य हुँदैन ।
सीप र अवसर : मातृशक्तिका रूपमा रहेका किशोरी तथा महिलाहरूलाई अवसरका साथसाथै शिक्षा, सीप, तालिम, गोष्ठी र सेमिनारमार्फत सशक्त बनाएर लैङ्गिकहिंसा न्यूनीकरण गर्न सकिन्छ ।
जवाफदेहिताः कानुनको प्रभावकारी कार्यान्वयन र हिंसाका घटनाहरूलाई दर्ता गरी अपराधीहरूलाई दण्डित गर्ने प्रणालीलाई मजबुत बनाउनु राज्यको जिम्मेवारी हो ।

लैङ्गिकहिंसा विरुद्धको १६ दिने अभियानको सार्थकता तब मात्र हुन्छ जब यो केवल एक औपचारिक कार्यक्रम नभई समाज परिवर्तनको एउटा प्रतिबद्धता बन्न पुग्छ । महिलाको सम्मान, सुरक्षा र समान हक–अधिकार सुनिश्चित गर्न सम्पूर्ण नागरिक, समाज र राज्यको एकीकृत प्रयास आजको आवश्यकता हो ।

View : 283

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved