Biratnagar, Morang, Nepal
१६ वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

‘रङ्गेली’ ले उब्जाएको प्रश्नः ‘सिक्वेल’ नआएसम्म अन्याय

सुदीप कोइराला
२७ फागुन २०८०, आइतवार

सुदीप कोइराला

महाशिवरात्रिको अवसर पारेर शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘रङ्गेली’ ले के साँच्चै रङ्गेली त्यस्तै हो ? भन्ने प्रश्न आम दर्शकमा उब्जाएको छ । मोरङ जिल्लाको पुरानो सदरमुकाम रहेको रङ्गेलीको व्यथाभाव पो समेटिएको हो कि भन्ने पूर्वेली दर्शकहरुको आकांक्षा यसमा सम्बोधन गरिएको छैन ।

बरु रङ्गेली संगठित अपराधको थलो हो भन्ने चित्रण गरेको छ । यो चलचित्र हेरिसकेपछि रङ्गेलीको सामाजिक सद्भाव, त्यहाँको ऐतिहासिकता, सदरमुकाम विराटनगर सरेपछि रङ्गेलीलाई राज्यले गर्न नसकेको न्याय र रङ्गेलीको विकासलगायतका विषय समेट्न पनि अर्को भाग बन्न जरुरी देखाएको छ ।

चलचित्रमा विपन्नताका कारण अपराधकर्ममा मान्छे लाग्छ भन्ने सँगै त्यसबाटै आर्थिक उन्नयन गर्न सकिन्छ भन्ने दृष्टान्त विजय भन्ने पात्रको माध्यमबाट देखाइएको छ । अपराधको विकल्प प्रस्तुत गर्न चलचित्र चुकेको छ । यस्तै ईंटाभट्टामा हुने बालश्रम शोषणदेखि लिएर विपन्नतामा समाज नै निर्दयी हुन्छ भन्ने भाव चलचित्रमार्फत व्यक्त गराइएको छ ।

लागूऔषध तथा नक्कली नोटको कारोबारमा चुर्लुम्म डुबेको रङ्गेलीको कथाले अन्य विषयलाई बिर्सेको छ । त्यही कारोबारमा रहेर नेता, प्रहरी र सरकारको समेत संलग्नता जबर्जस्त देखाइएको छ । अपराधको केन्द्र रङ्गेलीमा एकपछि अर्को समूह शक्तिमा आउन गरेको संघर्षले समाजका अन्य पाटोलाई समेट्न सकेको छैन ।

जुनकिरी र विजयको प्रेम सम्बन्धलाई पनि अपराधमै अन्त्य गरिदिएको छ । विपरीत कर्ममा रहेका जुनकिरी र विजयको प्रेमले सकारात्मक सन्देश दिन खोज्दै गर्दा पनि प्रेमले भन्दा अपराधले नै जितेको सन्देश चलचित्रमा देखाइएको छ ।

बेवारिसे बालक विजयलाई यादव परिवारले हुर्काएको बाहेक अन्य मानवीयताको भाव नदेखिएको चलचिक्रमा शत्तिको लागि जेसुकै हुन्छ भन्ने कुरा नै सशक्त रुपमा देखाइएको छ ।

भगवान दादा पात्रले समाजमा स्थापित मान्छेहरू पनि कुकर्ममा हुन सक्छन् भन्ने सन्देश प्रवाह गरेपछि उनीहरूका अगाडि राज्य र सुरक्षा निकाय निरीह हुन्छन् भन्ने अर्को सन्देश चलचिक्रले दिएको छ ।

गलत व्यत्तिलाई तह लगाउन मानबहादुर ढकालजस्ता सुरक्षाकर्मी पनि चाहिन्छ भन्दै गर्दा उसको पनि स्वार्थ देखाएर चलचित्रले सुरक्षा निकायको साख उठ्न दिएको छैन । यद्यपि अपराधको नजिक पुग्न सुरक्षाकर्मीले जस्तोसुकै काम गर्नुपर्छ भन्ने सन्देश जुनकिरी (दिलमाया मगर) को भूमिकाले देखाएको छ ।

अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको रङ्गेलीमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, भरत गुरागाँई, प्रवीण खतिवडालगायतको अभिनयमात्रै हेर्दा दर्शकका लागि न्याय मिलेको छ । त्यस्तै रङ्गेलीसँग सम्बन्ध राख्ने स्थान र स्थानीय कलाकारहरूको अभिनयले यस क्षेत्रलाई महत्व दिएको अनुभूति हुन्छ ।

अन्ततः चलचित्रको अर्को भाग आउने विश्वास कथा र कलाबाट दिलाइएको छ । त्यसैले रङ्गेलीको न्यायको लागि पनि अर्को भाग आउनै पर्छ भन्ने कुरामा फिल्म हेर्ने दर्शकहरुलाई चाहना बढाइदिएको छ ।

चलचित्रको विषयमा प्रतिक्रिया दिंदै रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडियाले पनि चलचित्रले रङ्गेलीलाई न्याय गर्न नसकेको बताइदिएका छन् । चलचित्र हेरेर रङ्गेलीप्रतिको धारणा बनाइए गलत हुने उनको भनाइ छ ।

View : 170

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved