Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

कुलेखानी जलाशय भरिएर फुट्ने त्रास, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइँदै

उद्घोष सम्वाददाता
११ असोज २०८१, शुक्रवार

विराटनगर । देशकै सबैभन्दा ठुलो जलाशययुक्त जलविद्युत आयोजना कुलेखानी (इन्द्रसरोवर) को जलाशय भरिन लागेको जनाइएको छ । निरन्तर वर्षाका कारण जलाशयमा प्रति तीन घण्टामा एक मिटरका दरले पानी भरिएको जनाइएको छ ।

पानी भरिएका कारण जलाशयको बाँध भत्किन सक्ने भन्दै सरोकारवालाहरूले सम्भावित जोखिम न्यूनिकरणका लागि पहल गर्न माग गरेका छन् । 

मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको जलाशय आयोजनाका प्रमुख तारादत्त भट्टले केही घण्टामै जलाशय भरिने सम्भावना रहेको बताएका छन् । उनले समुद्री सतहबाट १ हजार ५३० मिटरको तहमा भरिने जलाशयमा अहिले १ हजार ५२६ दशमलव ७७ मिटरको तहमा पुगेको जनाइएको छ । 

गृह मन्त्रालय अन्तरगतको विपद् व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव भीष्म कुमार भुसालले कुलेखानी बाँध भरिन लागेकोले सतर्क रहन भन्दै सूचना जारी गरेका छन् । उनले कुलेखानी ड्याम केही घन्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएको बताए । 

‘ड्याम खोलिएको अवस्थामा कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीहरूमा एक्कासि बाढी आउन सक्ने अवस्था देखिएको छ’ उनले भने, ‘तसर्थ कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू समेत उच्च सतर्कमा बस्न हुन अनुरोध गरिन्छ ।’ 

आकस्मिक अवस्थामा जलाशयको ढोका नखोलिए बाँध माथिबाटै पानी ओभरफ्लो भएर जाने र त्यस्तो अवस्थामा बाँध फुट्न सक्ने अवस्था समेत आउनसक्ने भएकोले अति उच्च सतर्कता आवश्यक रहेको जनाइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव बसन्त अधिकारीले विगतमा पनि जलाशय भरिँदा कुलेखानीको बाँध खोल्नु परेको बताए । त्यतिबेला सतर्कता नअपनाउँदा तटीय क्षेत्रमा जनधनको समेत क्षति भएको उनले बताए । 

अहिले पनि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता जरुरी रहेको अधिकारीले जानकारी दिए । कुलेखानीको निकास सिस्नेरी खोला हुँदै बाग्मतीमा गएर मिसिन्छ । बाँधमा पानी खोल्दा बाग्मती नदी हुँदै मकवानपुरको भीमफेदी हुँदै बाग्मती गाउँपालिका, सिन्धुलीको हरिहरपुरगढी, रौतहटको नुनथर, चन्द्रपुर र सर्लाहीको तटीय क्षेत्रमा समेत बहाव बढ्दछ । 

जोखिम न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले आवश्यक तयारीसहित तल्लो तटीय क्षेत्रमा माइकिङ सुरु गरिसकेको जनाएको छ । 

६० मेगावाट क्षमताको कुलेखानी–१ जलविद्युत आयोजना काठमाडौंमा सुक्खायाममा विद्युत आपूर्तिको समस्या टार्ने सबैभन्दा ठुलो आयोजना हो । इन्द्रसरोवरमा बाँध बाँधेर ६ किमि सुरुङमार्गबाट लगिएको पानीले धुर्सिङमा रहेको भूमिगत पावरहाउटबाट ६० मेवा विद्युत उत्पादन गर्ने गरेको जनाइएको छ ।

इन्द्रसरोबरको लम्बाइ ८ र गहिराई करीब ९७ मिटर रहेको जनाइएको छ । यो ताल २०३८ सालमा बनाइएको हो । कुलेखानी परियोजना अन्तरगत हाल कुलेखानी–२ (३० मेगावाट) र कुलेखानी–३ (१४ मेगावाट) पनि रहेका छन् ।

View : 108

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved