विभिन्न चाडपर्व, जात्रा र सांस्कृतिक विविधता रहेको देश नेपाल विश्वमै अद्वितीय मानिन्छ । सबैले धार्मिक धरोहरको काम गरेका छन् । पल, क्षण, दिन, महिना, वर्ष ऋतु, अयन आदिमा विभाजन गर्दै समय समयमा मनाउनु पर्ने जातिगत चाड परम्पराहरु नेपालका मौलिकता हुन् । धार्मिक पक्षलाई आधार मानेर मनाइने यस्ता चाडपर्वहरु जातिगत विविधता रहेको नेपालमा भिन्न भिन्न तरिकाबाट मनाइन्छ ।
नेपालमा मनाइने राष्ट्रियस्तरका पर्वहरु मध्येको एक मुख्य पर्व दशैं हो । आश्विन शुक्ल प्रतिपदाबाट पूर्णिमासम्म मनाइने यो पर्वलाई वडादशैं पनि भनिन्छ । शरद ऋतुमा पर्ने यो पर्वमा विशेषगरी शक्तिको उपासना गरिन्छ ।
वास्तवमा हाम्रो साधारण जीवनमा पनि व्यवहारका धेरै कामहरुको छिनोफानो गर्नका लागि हामीलाई शक्तिको आवश्यकता पर्दछ । आन्तरिक ऊmर्जा नै वास्तवमा शक्ति हो । हामीले शत्तिस्वरुपा भगवतीको गुणगान, स्तुति, आरती, भजन कीर्तन आदिबाट देवीको शक्तिका प्रार्थना गरिरहेका हुन्छौं । हामीले विभिन्न पुराण, कथा प्रवचन आदिम शक्ति स्वरुपाको वर्णन सुनिए पनि श्रीमद्भागवत अन्तर्गतको देवी भागवतमा शक्तिको व्याख्या विश्लेषण प्रशस्त गरिएको छ । सर्वेश्वर भगवान ब्रह्मा, विष्णु, महेश्वरले समेत आफूले गरेका महान कार्यका पछाडि शक्तिको आराधना गरेका घटना परिघटना हामीले कथाका रुपमा सुन्न पाउँछौं ।
श्रीकृष्ण चरित्रमा कृष्णका सम्पूर्ण लिलाको पछाडि देवी राधाको प्रेमको अधम्य शाहस र निष्ठाको मर्यादाको वर्णन गरिएको छ । विष्णु भगवानले आवश्यकता अनुसार विभिन्न रुपहरु धारण गरी जगतको रक्षा गरेका बेला आन्तरिक ऊर्जाका लागि शक्तिस्वरुपा भगवतीकै उपासना गरिएका प्रसंगहरु छन् । नरसिंह, वामन, मत्स्य, कुर्मावतारमा भगवानमा रहेको अदम्य शाहसको पछाडि देवीको हात रहेको र शक्तिको उपासना गरिएको छ । भगवान शंकरले पनि आदिशक्तिका रुपमा सती, पार्वतीका उपासना गरेका प्रसंगहरु हामीले धेरै बुझेका छौं । पार्वती, सतीले विभिन्न समयमा काली, चण्डी, सौम्यरुप धारण गरी शंकरका महान कार्यलाई सफल बनाएका दृष्टान्तहरु विभिन्न पुराणहरुमा व्याख्या गरिएका छन् ।
यसरी हाम्रा आस्थाले मानिएका भगवानले सम्पूर्ण जगतको रक्षाका लागि शाक्त ऊर्जाको आराधना गरिएको र त्यसैबाट समाजको साथै सारा जगतकै कल्याण भएका प्रसंगहरु सुनिएका छन् । अतः आन्तरिक ऊर्जाको आराधनाका लागि आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म ९ वटी भगवतीको आराधना गरी नवरात्री पर्व धुमधामसँग मनाइन्छ । पहिलो दिनबाट नवौं दिनसम्म क्रमशः शैलपुत्री, ब्रह्माचारीणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी तथा सिद्धदात्री भगवतीका पूजा आराधना गरी शाक्त उपासना गरिन्छ ।
देवीको अर्थात शक्तिको उपासना, आराधना गर्ने सम्प्रदायलाई वैदिक सनातन हिन्दु सम्प्रदायमा शाक्त सम्प्रदाय भनिएको छ । हामीलाई शक्ति प्राप्त गर्नका लागि शाक्तकै आराधना गर्नुपर्दछ । महिषासुर, चण्ड, मुण्ड, शुम्भ, निशुम्भ, रक्तबीज जस्ता शाहसी राक्षसलाई देवीले सजिलै मारेका प्रसंगहरु हामीले सुनेका छौं ।
यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः ।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः ।। (मनुस्मृति)
जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवता निवास गर्छन् । जहाँ नारीको पूजा हुँदैन त्यहाँ राम्रोका लागि गरिएका समस्त काम निष्फल हुन्छन् । यस श्लोकले नारीलाई सम्मान गर्ने कुरामा जोड दिइएको छ ।
चण्डीका अध्यायमा वर्णन गरिएका राक्षसले अवला नारी भनेर देवीको उपेक्षा र हेला गरेकाले ती राक्षसको मृत्यु भएको प्रसंगबाट अपहेलना खप्न नसकेपछि अवला नारी पनि शक्तिस्वरुपा बनेको प्रसंग छ ।
तसर्थ हामीले स्वच्छ भावले अन्तर्मनमा देवीका गुणानुवाद, निष्ठा र भक्तिपूर्वक उपासना गरेमा चामत्कारिक रुपमा शक्ति प्राप्त गर्नेछ । शक्ति स्वरुपा उनै भगवतीले सम्पूर्णमा मंगल, कल्याण गर्नुहोस् ।
या देवी सर्वभूतेषु मातृरुपेण संस्थिता
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनमः ।।
इति
View : 358