Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

अध्यात्म र दर्शनको अमृत प्रवाह

स्रष्टा लीलानाथ बरालको वैचारिक विरासत

उनका चारैवटा कृतिहरू सामान्य गृहस्थीले वुढेसकालका दिन विताउन लेखेका गन्थन मन्थन नभएर दशकौ अघिदेखि आफूले संकलन गरेका प्राज्ञिक खोज अनुसन्धान एवं शास्त्रका सारहरू समावेश गरिएका विशिष्ट श्रेणीका कृति हुन् ।
गोकुल अधिकारी
१० मंसिर २०८२, बुधवार

‘आखिर श्रीकृष्ण रहेछ एक’ भनिन्छ, सृष्टिकर्ताले हरेक प्राणीलाई आउने र जाने दोहोरै टिकट दिएर मात्र यो धराधाममा पठाउने गर्दछन् । ईश्वरको ंविधानमा एकतर्फी  टिकटको व्यवस्था छैन ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि आफ्ना लागि फिर्ती टिकटले तोकेको समय आइपुगेछ र त्यसलाई रद्द गर्न सक्ने व्यवस्था प्रकृतिको अलिखित संविधानमा छैन भन्ने कुरा बुझिसकेपछि नै जीवनको अन्तिम प्रहरमा आफूभित्रको काव्यिक चेतबाट माथि उल्लेखित कवितात्मक पङ्ति रचना गरेका थिए । 

देवकोटाजस्ता महान साहित्यकार वा दार्शनिकहरू बाहेक, समाजभित्र कतिपय मान्छे यस्ता स्वभावका हुन्छन् जो घर गृहस्थीमै रहेर सामान्य जीवनयापन गरिरहेजस्तो देखिए पनि जीवन जगतका बारेमा नजानिदो ढंगले गहन विश्लेषण गरिरहन्छन्, ।

लोक र परलोकसम्बन्धी विषयको चिन्तनमै आफूलाई समाहित पारिरहन्छन्, आत्मा र परमात्माजस्ता अदृश्य तत्वलाई मसिनोगरी केलाइरहन्छन् , अनि भेटेसम्मका धर्मग्रन्थको अध्ययन र विद्वतजनहरूसँग सत्संग गर्दै आफूभित्र ज्ञानगंगाका अमृत प्रवाह गराइरहन्छन् । 

गृहस्थाश्रमका दैनिक आवश्यकता र झमेलाहरूकै बीचमा रहेर पनि केही न केही समय निकाल्दै शरीर र आत्मा, अंश र अंशी, भौतिक र आध्यात्मिक अनि आत्मिक सुख र शान्तिजस्ता विषयमा स्वाध्यायका माध्यमबाट चिन्तन मनन र गहिरो अध्ययन गरिरहने आदत भएका थोरै मान्छेहरूमध्येका एक हुन् विराटनगर गोग्राहाका पुराना वासिन्दा लीलानाथ बराल । 

विराटनगरस्थित गोग्राहाको परिचय हिजोआज कतै दुर्गाचोक, कतै बरगाछीमार्ग कतै गोधूलिमार्ग त कतै भूपीमार्गजस्ता नाममा विभाजन भैरहेको अनि बराल निवासको घर रहेको भूगोलचैं हिजोआज दुर्गाचोक भन्ने नामले ज्यादा परिचित भए पनि लीलानाथ बराल लगायतका विराटनगरका पुराना वासिन्दाहरू यस क्षेत्रलाई महाभारतकालीन विराटराजाका गाईहरू हिंडडुल गर्ने ठाउँ भन्न ज्यादा रुचाउँथे ।

विराटनगरको पौराणिक विरासत अनि अध्यात्म केन्द्रित विषयको अध्ययन र चिन्तन गरेर कहिले नथाक्ने सामाजिक क्षेत्रका उनै अग्रज व्यक्तित्व लीलानाथ बरालको पनि गतः मंसीर १ गते भएकोे निधनसँगै यस ठाउँलाई गोग्राहा भन्न रुचाउने रहलपहल बूढापाकाहरू अव सबै समाप्त भैसके । 

विराटनगरको पौराणिक महत्वसँग जोडिएको कुनै पनि विषय अनि अध्यात्म र पूर्वीय दर्शनका कुनै पनि पुस्तक पाउनासाथ अद्योपान्त पढिहाल्ने र त्यसभित्रका सारगर्भित विषयलाई टिपोट गरी आफ्ना डायरीमा उतारी हाल्ने बराल वुवाको पुरानै बानी  हो ।

यसैगरी विभिन्न सन्त महन्तका सारगर्भित प्रवचन वा सन्देशबाट प्राप्त सारतत्वलाई पनि डायरीमा टिपोट गरेर राख्ने उहा“को पुरानै आदत हो ।

यसप्रकार कहिले अध्ययन अनुसन्धानको माध्यमबाट त कहिले सामाजिक संस्थाहरुको जिम्मेवारी वा नेतृत्वको माध्यमबाट सनातन धर्म संस्कृति र लोककल्याणकारी कर्मका क्षेत्रमा लागि पर्ने उहाँको यो आदतलाई मैले केही दशक अघिदेखि नै नजिकबाट प्रत्यक्षरूपमा देख्दै आएको हुँ । 

जीवन जगतका बारेमा निरन्तर अध्ययन मनन र प्राप्त ज्ञानको अभिलेखीकरण गर्ने यही अभ्यासका कारण जीवनको उत्तरार्धसम्म आइपुग्दा उनी अध्यात्म दर्शन र सनातन सस्कृतिमा केन्द्रित चारवटा कृति समाजलाई सुम्पन सफल भए ।

उनका यी चारैवटा कृतिहरू सामान्य गृहस्थीले वुढेसकालका दिन विताउन लेखेका गन्थन मन्थन नभएर दशकौ अघिदेखि आफूले संकलन गरेका प्राज्ञिक खोज अनुसन्धान एवं शास्त्रका सारहरू समावेश गरिएका विशिष्ट श्रेणीका कृति हुन् । जुन कुरा  सम्बन्धित क्षेत्रका विभिन्न विद्वान एवंं संस्कृतज्ञहरूले नै उल्लेख गरिसकेका छन् । 

अध्यात्म केन्द्रित विषयले भरिएका उनका केही डायरीहरू अझै पनि ज्ञानका गतिलो पुस्तक बन्न सक्ने अवस्थामा  छन् । आजसम्म पुस्तकको आकार लिइ नसकेका उनका त्यस्ता महत्वपूर्ण टिपोट र लामा लामा लेखहरू मैले उहाँकै मुखबाट उहाँको घरमा लामो समयसम्म बसेर धेरैपटक सुन्ने अवसर पाएको छु ।

अध्यात्म दर्शनका पुस्तक पढ्न चाहने जोकोहीका लागि पनि काम लाग्न सक्ने बरालबा कै डायरीमा सीमित ती विषयवस्तु र टिपोटहरूले पुस्तकको स्वरुप पाए भने त्यो पक्कै पनि समाजको लागि उपयोगी हुनेछ । यस्तै विषयमा रुची भएकी उनकी सहधर्मिणि विश्वमञ्जरी र उनका सन्ततीको प्रयत्नमा ती डायरीहरू पक्कै पनि पहिलेझैं भविष्यमा पनि पुस्तकको रूपमा आउने नै छन् । 

 ‘शरणागति’ र ‘भगवतप्रेम’ नामका दुई कृतिहरू केही वर्ष अगाडि नै प्रकाशनमा ल्याइसकेका लीलाबुवाले परलोक हुनुभन्दा दुई महिना अघि मात्र मात्र.‘वेदान्त दर्शन’ तथा ‘वेदको महत्त्व र अवतार चर्चा’ नामका थप दुई कृतिहरू आफ्नै निवासमा आयोजित विराटनगरका साहित्यकार एवं सामाजिक व्यक्तित्वहरूबीच एक विशेष सभामा सार्वजनिक गरेका थिए । 

आफूले लामो मेहनतनका साथ संकलन गरेका विषयवस्तुलाई कृतिको रूप दिदै गर्दा लीलबाबु आफ्नी पत्नी विश्वमञ्जरी बराललाई पनि साथै लिएर हिंड्ने गर्थे ।

खासगरी अध्यात्मभित्र पनि राधातत्वका बारेमा पढ्न जान्न सुन्न र जाने सुनेका कुरा धार्मिक प्रवचनमाार्फत वा लेख रचनामार्फत व्यक्त गर्न रुचाउने श्रीमती विश्वमञ्जरी बराल लीलानाथको कृति परिमार्जनको कार्यमा साथसाथै हुने गर्थिन् ।

यसप्रकार राधा तत्वका बारेमा आफूले संकलन गरेका सामग्रीहरू पनि त्यसभित्र समावेश गरेर प्रकाशोन्मुख कृतिलाई अझ व्यापक ज्ञानले भरिपूर्ण र पठनीय बनाउने काम विश्वमञ्जरीको साथ सहयोगबाट हुने गथ्र्याे । यही सत्प्रयत्नकै कारणले होला शरणागति र भगवतप्रेम नामका बराल बाका अघिल्ला दुई कृतिहरू बराल दम्पतीकै  संयुक्त नामबाट प्रकाशन भएको देखिन्छ । 

बराल वुवाका नाममा प्रकाशन भएका पछिल्ला दुई कृति तयारीका क्रममा पनि उहाँका डायरीमा संकलित वेदान्त दर्शनजस्ता विषयका सामग्रीहरुलाई डायरीबाट उतार गरी पुस्तकको स्वरुप प्रदान गर्न उनकी पत्नी विश्वमञ्जरीले गरेको प्रयत्न मूर्तियोग्य ढुंगालाई मूर्तिको वास्तविक आकार दिन कुशल कालीगढले गर्ने मेहनतभन्दा कम थिएन । 

अस्सी पचासी वर्षको हाराहारीमा रहेका पतिपत्नी सँगसँगै भएर विभिन्न धर्मग्रन्थहरू पल्टाउँदै त्यसमा उल्लेखित लोक परलोक र जीवन जगतजस्ता विषयमा आपसी छलफल एवं विवेचना गर्दै ती ग्रन्थमा आधारित पुस्तक संयुक्तरुपमा तयार पार्ने जस्तो सिर्जनात्मक काममा दुबैको मन मिल्नु स्वयंमा दुर्लभ उदाहरण हो ।

कृष्ण तत्वको अध्ययनमै ज्यादा केन्द्रित लीलावावु र जगतजननी राधाशक्तिको अध्ययन गरेर कहिले नथाक्ने विश्वमञ्जरीको दाम्पत्ययात्रा स्वयंमा आदर्शमय गृहस्थाश्रमकोे उत्कृष्ट नमूना थियो, जुन दुर्लभ दृश्यलाई मैले उहाँको घरै अगाडिको छिमेकीको नाताले नजिकबाट हेर्न पाएको थिएँ ।

जीवनका हरेक पाइलामा साथसाथ, देश विदेशको यात्रामा साथसाथ, तीर्थाटन र दानपुण्यका यज्ञहरूमा साथसाथ, त्यतिमात्र नभएर कृति लेखनजस्तो सिर्जनशील कार्य समेत एउटै हलोमा नारिएर बराल दम्पतीबाट एकसाथ सम्पन्न हुनुचैं मेरा लागि अझ लोभलाग्दो परिदृश्य थियो । 
अन्ततः भगवान श्रीकृष्णमै शरणागत हुनुभएका भगवान उनैका परम उपासक लीलावुवाको दिवंगत आत्माले उहा“ले लेख्नुभएको शरणागति नामको पुस्तकमा (पेज ६७ मा)उल्लेखित श्रीमद्भागवतको यो हरफले वताए जस्तै उनै परमेश्वर प्रभुको आलिंगन प्राप्त गर्न सकोस् , त्यही दिव्यलोक पुग्न सकोस् ।  

विषयान् ध्यायतश्चित्तं विषयेषु विषज्यते ।
मामनुस्मरतः चितं मय्येव प्रविलीयते ।।

(मानिसको मनले जसलाई चिन्तन गर्दछ, ऊ त्यसैमा बाँधिएर रहन्छ । यदि मनले भौतिक सुख र भोगलाई मात्र चिन्तन ग-यो भने, ऊ त्यसैको बन्धनमा पर्छ । तर, यदि उसले परमेश्वरको निरन्तर स्मरण ग-यो भने, उसको मन परमेश्वरमै लीन भएर मुक्ति (शान्ति) प्राप्त गर्दछ ।)

                                                       (अधिकारी नेपाल लेखक संघ, कोशीका अध्यक्ष हुन् ।)

View : 621

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved