Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेशका अधिकांश जिल्लामा आगलागीका घटना, धनजनको क्षति बढ्दै

उद्घोष सम्वाददाता
४ चैत २०८०, आइतवार

विराटनगर । कोशी प्रदेशका अधिकांश जिल्लामा आगलागीका घटना रेकर्ड भएका छन् । प्रिमनसुनको समयमा वन डढेलो बढ्नुका साथै ५० भन्दा बढि घर आगलागीबाट जलेका छन् । 

पछिल्ला दुई दिनमा मात्रै डढेलो र आगलागीले ठूलो जनधनको क्षतिसमेत पुर्याइसकेको जनाइएको छ । 

भोजपुरको हतुवागडी गाउँपालिका–७ मा शनिबार साँझ करीव ६ बजेतिर भएको आगलागीमा परी एकै घरका तीन बालबालिकाको ज्यान गएको छ ।

गए राति १२ बजेतिर मोरङको पथरीशनिश्चरे–१ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा आगलागी हुँदा एक करोड ५० लाख बढीको क्षति भएको छ । 

शनिबार दिउँसो मोरङकै रङ्गेली नगरपालिका–३ बाबुसाहेव टोलको सन्थाल बस्तीमा आगलागी हुँदा १९ घर जलेका छन् । त्यहाँ रहेका २५ परिवार पूर्ण रुपमा विस्थापित भएका छन् ।

उदयपुर रौतामाई गाउँपालिका–३ भोर्लेनीस्थित नवउदय सामुदायिक वनबाट वस्तीमा आगो त्यहाँ ६ वटा घर गोठ जलेका छन् ।

शनिबारमात्रै तेह्रथुम, ताप्लेजुङ, झापा, धनकुटा, खोटाङमा पनि डढेलो र आगलागीका घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

साथै कोशी प्रदेशका जिल्ला बाहेक काठमाडौँ, महोत्तरी, सुर्खेत, सप्तरी, कन्चनपुर, बझाङ, म्याग्दी, काभ्रे, धनुषा, हुम्ला, बाजुरा, बारा, दार्चुला, गोरखा र चितवन जिल्लामा पनि दुई दिनयता आगलागी र डढेलोका घटना प्राधिकरणको रेकर्डमा आएका छन् । 

यसपालि हिउँदमा पानी कम परेकाले पनि देशभर सुक्खा बढेको जनाइएको छ । यो मौसम हावाहुरी, आगलागी, डढेलो, चट्याङ र असिनापानीले सताउने समय भएपनि मनसुन भने सुरु हुन सकेको छैन ।

आगलागीका घटना बढेसँगै पूर्वसचेतना र नियन्त्रणका लागि आवश्यक तयारीमा बढि ध्यान जानुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले डढेलो धेरैजसो मानवीय कारणले फैलिने गरेको भन्दै सचेत हुन आह्वान गरेको छ ।

प्राधिकरणका उपसचिव एवं डढेलोविज्ञ सुन्दरप्रसाद शर्मा मानवीय लापरवाहीका कारण नेपालमा ६४ प्रतिशतभन्दा बढी डढेलोका घटना हुने गरेको बताए । उनले पछिल्ला दुई वर्ष डढेलो तुलनात्मकरूपमा कम भए पनि यो वर्षको सुरुवाती समयमै देखिएका घटनाले बढ्न सक्ने जानकारी दिए ।

प्राधिकरणका प्रवक्ता गोमादेवी चेम्जोङले प्राधिकरणकबाट सचेतनाका काम सुरु भइसकेको बताइन् । उनले पछिल्लो दुई–तीन दिनमा डढेलो र आगलागी एकदम बढेको बताउँदै तीनै तहको सरकार र सबै निकायसँगको समन्वयमा आवश्यक काम अघि बढाउने तयारी गरिएको जानकारी दिइन् ।

जल तथा मौसम विज्ञान विभागले यसपटकको हिउँदमा सरदरभन्दा कम पानी परेकाले सुक्खा भएको र सुक्खामा डढेलोको जोखिम देखिएको जनाएको छ ।

आगलागीका घटना बढेपछि जंगली जीवजन्तुहरु मर्न सक्ने र त्यसबाट पर्यावरणीय सन्तुलन खलबलिने वातावरणविद्हरुले बताए ।

View : 91

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved