बाजा, गीत र नृत्य विधागत रूपमा फरक–फरक हुन् तर बाजाबिना गीतको भाव खुल्दैन।
गीतबिना नृत्यको पनि अर्थ रहँदैन। त्यसैले बाजा, गीत र नृत्य एकअर्काका पूरक हुन्। यस सन्दर्भमा सङ्गीतका प्रकाण्ड विद्वान् सारङ्गदेवले भनेका छन्— ‘नृत्यं वाद्यानुगं प्रोक्तं वाद्यं गीतानुवृत्ति च, अतो गीतं प्रधानत्वादत्रादावभिधीयते।’ नृत्यले वाद्यवादनको अनुकरण गर्दछ, वाद्यवादनले गायनको अनुकरण गर्दछ। तसर्थ तीन विधा मध्ये गायन पहिलो, वाद्यवादन दोस्रो र नृत्य तेस्रो विधा अन्तर्गत पर्न आउँछ।
सङ्गीत भन्नाले सामान्यतया नाच्ने, गाउने र बजाउने कार्यलाई बुझ्ने गरिन्छ। यसरी गाउने, नाच्ने र बजाउने कार्यलाई कोरा रूपले सङ्गीत भनेर बुझ्दा सङ्गीतको अर्थ पूरा हुन सक्दैन।
तसर्थ यस सवालमा विद्वान्हरूको मतलाई हामीले हेर्नुपर्ने हुन्छ। साथै उहाँहरूका मतलाई मन्थन गर्दा मात्र सङ्गीतको सान्दर्भिक अर्थमा पुग्न सकिन्छ।
शाब्दिक अर्थअनुसार सङ्गीत शब्द गीतमा 'सम्' उपसर्ग लागेर (सम् + गीत) सङ्गीत हुन गएको देखिन्छ। त्यसैले 'सम्' को अर्थ सँगै र 'गीत' को अर्थ गीतमा भन्ने आशय हुन आउँछ।
जसअनुरूप गीतमा वा गीतको प्रयोग गर्दै गरिने अन्य क्रियाकलापहरू र गीतसँग आउने सबै पक्षहरूलाई 'सम्' ले समेटेको हुनाले गीतसँग आउने सबै पक्ष सङ्गीत हुन् भन्न सकिन्छ।
शाब्दिक अर्थसँगै मेल खाने अर्थ तेह्रौँ शताब्दीका सङ्गीतका प्रकाण्ड विद्वान् एवं ‘सङ्गीत रत्नाकर’ कृतिका रचनाकार सारङ्गदेवले आफ्नो रचनामा ‘गीतं वाद्यं नृत्यं त्रयं सङ्गीतमुच्यते’ भनी दिनुभएको परिभाषाले पनि बाजा, गीत र नाचको त्रिवेणीलाई सङ्गीत मान्नुभएको छ।
सङ्गीतले मानिसको मन प्रफुल्ल पार्नुका साथै जीवदेखि प्रकृतिसमेतलाई प्रभाव पार्न सक्ने शक्ति रहेको विद्वान्हरू बताउँछन्; तसर्थ यो उच्च कोटीको कला मानिएको हो।
ललित कलाका पाँचवटा विधाहरू— सङ्गीतकला, चित्रकला, वास्तुकला, काव्यकला र हस्तकलामध्ये सबैभन्दा उत्कृष्ट एवं उच्च कोटीको कला अन्तर्गत सङ्गीतकला पर्दछ।
हाम्रो परिभाषा अन्तर्गत सङ्गीतलाई हामीले यसरी बुझेका छौँ कि मानिसको जीवनमा निरन्तर चलिरहने नवरसहरू— वीर, शान्त, भयानक, रौद्र, करुण, हास्य, शृङ्गार, वीभत्स र अद्भुतको प्रभावले प्रत्येक मानव प्रभावित भइरहेको हुन्छ।
जसको प्रभावमा मानिसले विभिन्न प्रकृतिका सिर्जनाहरू गर्दछ; सोही सिर्जनालाई सुर, ताल र लय हाली भावमयी बनाई अतिरञ्जित गर्दै जीवदेखि प्रकृतिसमेतलाई प्रभाव पार्न सक्ने जीवन्त प्रस्तुति नै सङ्गीत हो।
अर्थात् सुर, ताल र लय हाली कुनै पनि प्राणीहरूको चित्ताकर्षण गरी उनीहरूमा आनन्द प्रदान गरेर चरम उत्कर्षमा पुर्याउनु र चेतनालाई पुनर्ताजगी बनाउन सक्ने सामर्थ्य नै सङ्गीत हो।
हामी सङ्गीतका अनुयायीहरूका लागि सङ्गीत मानव जीवनकै लागि हो भन्ने भइसकेपछि यसको उद्गम स्थान खोजिरहनु त्यति आवश्यक नहोला, किनकि यसका बारेमा खोजी गर्न नै असम्भव देखिन्छ।
हामीले बुझ्नुपर्ने कुरा के हो भने सङ्गीत नित्य, निरन्तर, अमर र अविनाशी विषय हो। यो कुनै पनि कालखण्डमा अभाव हुँदैन, बरु यसप्रतिको चेतना, अनुराग र लगनशीलतामा अभाव हुन सक्छ।
संसारका कुनै पनि अणुहरूमा ध्वनि रहेको हुन्छ र वस्तु तथा जीव सृष्टिको कारण पनि ध्वनि नै हुन्छ।
यो कहाँबाट सिर्जना भयो भन्ने विषय अलि जटिल मानिन्छ। भागवतको एउटा श्लोक छ— ‘ध्यानमवस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो’।
यसको अर्थ ध्यानको अवस्थामा योगीहरूका अन्तरघटले जुन सत्त्वलाई देख्दछ अर्थात् बोध गर्दछ, त्यही सत्त्वलाई माया वा चैतन्य भनिन्छ।
यही चैतन्य नै अन्तर्मुखी ध्वनि (नाद) हो। यही अन्तर्मुखी नादलाई बाह्य सङ्गीतोपयोगी ध्वनिसँग सङ्गत गरी प्रकट गराउँदा सङ्गीतमय चेतना खुल्न गई यसैलाई सङ्गीत भनेर बुझ्ने गरियो।
ब्रह्माण्डको सृष्टि एकाक्षरी ध्वनिबाट भएको भन्ने हाम्रो पौराणिक मान्यताअनुसार सङ्गीतको सृष्टिको कारण पनि ध्वनि नै हो। चैतन्य समाधिको पराकाष्ठामा यो ध्वनि अन्तरनादका रूपमा प्रकट हुँदा सङ्गीतका सात सुरहरू उत्पत्ति हुन गए।
तसर्थ यसको उत्पत्ति नादबाट भएको हो। सङ्गीतको उत्पत्तिका सम्बन्धमा विभिन्न खालका किंवदन्तीहरू र भनाइहरू छन्, जसलाई आधारका रूपमा लिन सकिन्छ। ती निम्न अनुसार छन्:
वेद ध्वनिका मूलकर्ता ब्रह्माजीका मुखारविन्दबाट सिर्जित सङ्गीत ध्वनिका रूपमा सात सुरहरू उत्पत्ति भए, जुन उहाँ स्वयंले महादेवलगायत देवीदेवताहरूलाई दिनुभयो। महादेवले सरस्वतीलाई, सरस्वतीले ऋषिमुनिहरूलाई, ऋषिमुनिहरूले नारदलाई र नारदले भरतमुनि हुँदै पछिल्ला पुस्ताहरूमा सार्दै ल्याए।
फारसी हजरत मुसा पैगम्बरले एउटा पत्थर देखे। त्यसै समयमा उनी पहाड घुम्दा जिब्राएल (देवदूत) प्रकट भए र त्यस पत्थरलाई यत्नसाथ राख्ने आदेश दिए।
एक दिन पैगम्बरलाई ज्यादै तिर्खा लाग्यो र उनले भगवान्को प्रार्थना गरे। पत्थर आफैँ सात टुक्रा भई फुट्यो। ती सात टुक्राबाट सात धारा उत्पन्न भए र फरक–फरक सुरहरू पैदा हुन गई सङ्गीतको उत्पत्ति हुन गयो भन्ने भनाइ छ।
यसरी महिला र शूद्रले वेद सुन्न नहुने वा वाचन गरेको हेर्न नहुने कुरा नारदलाई अस्वाभाविक लाग्यो। त्यसैले उनले ब्रह्माजीलाई शूद्र र महिलासमेतले सुन्दा मुक्ति पाउने वेद निर्माण गर्न अनुरोध गरे।
नारदको कुराले ब्रह्माजी प्रसन्न भई सामवेद प्रस्तुत गर्नुभयो। त्यही सामवेदमा भएका २२ श्रुतिहरूबाट सात स्वरहरूको उत्पत्ति भई सङ्गीतको सुरुआत भयो। तसर्थ सङ्गीतको सुरुआत नादबाट श्रुति, श्रुतिबाट स्वर हुँदै भएको तथ्य अहिले पनि मान्न सकिन्छ।
सङ्गीतको उत्पत्ति नादबाट भएको भनिएको छ। योगीहरू ध्यानमग्न हुँदा अन्तरघटको गहिराइसम्म जुन सत्त्वको अनुभूति गर्दछन्, त्यो सत्त्व नै अनाहत नाद हो। 'नाद' को शाब्दिक अर्थ 'ना' को नकार र 'द' को दकार दुवै अक्षर मिली बनेको छ।
'न' को अर्थ प्राणवायु र 'द' को अर्थ अग्नि हो। यी दुवैको मिलनबाट सङ्गीतोपयोगी ध्वनि निस्कियो र यहीँबाट सङ्गीतको उत्पत्ति भयो।
(शैलेन्द्रखतिवडा त्रियुगा सङ्गीत विद्यालय, त्रियुगा–१२ , उदयपुरका कार्यकारी निर्देशक हुन्।)
View : 168
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved